२०७८ कार्त्तिक १ गते / 18th Oct 2021, Monday
investment investment

विद्यालयमा दिवा खाजाका लागि अब ६० किसिमका मेनु

सरकारले विद्यालयमा दिवा खाजाका लागि ६० प्रकारका सूची अर्थात् खाजा मेनु सार्वजनिक गरेको छ ।


सरकारले चालू आर्थिक वर्षबाटै विद्यालयमा प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका सबै विद्यार्थीलाई दिवा खाजा खुवाउने कार्यक्रम लागू गरेपछि त्यसको प्रभावकारी कार्यान्वयनका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एउटा पुस्तिकामार्फत् मेनु सार्वजनिक गरेको हो ।


‘विद्यालयमा दिवा खाजा व्यवस्थापन क्षेत्रगत मेनु र विद्यालय सहयोग पुस्तिका, २०७७’ तयार पारी यही फागुन ३ गते केन्द्रले सानोठिमी भक्तपुरस्थित आफ्नै हलमा खाजाका प्रकारसम्बन्धी सूची प्रस्तुत गरेको थियो । खाजाको मेनु देशको भूगोललाई १० क्षेत्रमा विभाजन गरी तयार पारिएको केन्द्रले जनाएको छ । अन्तर्राष्ट्रियस्तरमा स्थापित मापदण्ड र खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागको ‘फुड कम्पोजिसन टेबल’का आधारमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपि) र अमेरिकी सरकार कृषि विभाग (युएसडिए)को आर्थिक एवं प्राविधिक सहयोगमा खाजा मेनु तयार गरिएको हो ।


शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार देशभर २९ हजार ५ सय ८७ इसिडिका ५ लाख ४१ हजार ४ सय ८० र २७ हजार ५ सय ४० विद्यालयका २३ लाख ९८ हजार ८ सय ९ जना गरी जम्मा २९ लाख ४० हजार ७ सय ८९ जना विद्यार्थीले दिवा खाजा खान पाएका छन् । यति विद्यार्थीका लागि ७ अर्ब ७२ लाख ९३ हजार ३० हजार रुपैयाँ बजेट छुट्याइएको छ । कर्णालीबाहेक प्रतिविद्यार्थी प्रतिदिन १५ रुपैयाँबराबर खाजा खुवाइदै आएको छ । कर्णालीमा भने प्रतिविद्यार्थी प्रतिदिन २० रुपैयाँबराबर खाजा खुवाउने गरिएको छ । समग्रमा वार्षिक १२० दिनका हिसाबले प्रतिविद्यार्थीलाई कम्तिमा ३० प्रतिशत पोषण परिपूर्ण हुनेगरी अहिलेको खाजा कार्यक्रम लागू गरिएको छ । जसमा विभिन्न खाद्य पदार्थहरुको क्यालरीसमेतलाई सूक्ष्म तरिकाले विश्लेषण गरिएको छ । हाल दिइएको १५ रुपैयाँभित्र प्रतिविद्यार्थीलाई ३० प्रतिशत पोषण पुग्नेगरी मेनु तयार पारिएको देखिन्छ । ४ देखि ११ वर्ष उमेरसमूहका बालबालिकालाई १५० ग्रामबराबर खाजा खुवाउनेगरी मेनु तयार पारिएको विश्व खाद्य कार्यक्रम (डब्लुएफपि)का प्रतिनिधि मनोज साहले बताउनुभयो । उहाँका अनुसार खाजाका लागि एक डलर लगानी गर्दा पाँच गुणा अर्थात् ५ डलरबराबर प्रतिफल बालबालिकामा देख्न सकिने प्रक्षेपण गरिएको छ ।


मेनु र सहयोगी पुस्तिका सार्वजनिकीकरण/प्रबोधीकरणसमेत रहेको सो कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले विद्यालयमा खाजा खुवाउने कार्यक्रमले विद्यार्थीको स्वास्थ्य, पोषण र सिकाइ उपलब्धिका निम्ति सहयोग पुर्याउनुका साथै गाउँ–गाउँमा आर्थिक एवं सामाजिक पक्षमा टेवा पुग्ने बताउनुभयो । ‘हेर्दा प्रतिविद्यार्थी १५ रुपैयाँ मात्र देखिन्छ । समग्रमा साढे सात अर्बभन्दा बढी रकम सोझै गाउँमा पुगेको छ । यसबाट गाउँका कुनामा पूँजी परिचालन हुने देखिन्छ,’ अर्यालको दाबी छ, ‘उत्पादन जनस्तरमा जोडिन्छ । स्थानीय खाद्यवस्तुको पोषण पक्ष पत्ता लाग्न सक्छ । आमा समूहहरु परिचालित हुन्छन् । स्थानीय उत्पादनले नै ठाउँ पाउँछ ।’ उहाँले विद्यार्थीलाई रकम दिने नभई खाजा नै खुवाउन विद्यालय र अभिभावकहरुलाई आग्रह गर्नुभयो ।


अर्यालले १५ रुपैयाँ प्रतिविद्यार्थी खाजाको रकम भविष्यमा बढ्न सक्ने बताउनुभयो । ‘अहिले त कमसेकम ट्रयाक खोलिएको जस्तो भएको छ, बजारको अवस्था अनुसार अहिलेको रकम कम हुन सक्छ तर भविष्यमा यसलाई बढाउन सकिन्छ,’ महानिर्देशक अर्यालको भनाइ थियो । अहिलेको रकम अपुग हुने अवस्थामा अरु पक्षबाट साझेदारिता पनि खोजिएको उहाँले प्रष्ट्याउनुभयो ।


दिवा खाजा व्यवस्थापन सहयोगी पुस्तिका २०७७ मा दिवा खाजाको अवधारणा, प्रभाव, स्थानीय तहबाट बजेट माग गर्ने तरिका, खाजाको मापदण्ड, व्यवस्थापनका मोडालिटी, विद्यालयले गर्ने खरिद योजना, खाजा तयारी तथा वितरण, खाद्य सुरक्षा र स्वच्छतासम्बन्धी नियम, खाजा बनाउँदा, वितरण गर्दा वा खाँदा ख्याल गर्नुपर्ने कुरा, सहकार्य समन्वयका क्षेत्रहरुलगायतका विषयहरु उल्लेख छन् ।


शिक्षाका लागि खाद्यान्न कार्यक्रमका महानिर्देशक खगेन्द्र नेपालले दिवा खाजा तयारीका निम्ति स्थानीयस्तरमा क्षमता विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । यसका निम्ति ७० वटा पालिकामा तालिम दिने योजनासमेत अघि सारिएको छ ।


शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गणेश पौडेलले दिवा खाजा कार्यक्रमको प्रभावकारिताबारे प्रस्तुति गर्नुभयो । विद्यार्थीको स्वास्थ्य पोषणलाई सुधार्न र स्थानीय उत्पादनसँग शिक्षालाई जोड्न खाजा कार्यक्रम निकै प्रभावकारी देखिएको उहाँको प्रस्तुति थियो ।


मेनु र विद्यालय दिवा खाजा व्यवस्थापन सहयोगी पुस्तिका सार्वजनिकीकरण तथा प्रबोधीकरणसमेत रहेको सो कार्यक्रममा सहभागीहरुले १५ रुपैयाँ प्रतिविद्यार्थी रकम अपुग हुने बताए । मेनु प्रस्तुत गरेपनि सोही अनुसार खाजा तयार पार्ने व्यक्ति अभाव रहेकाले दिवा खाजा कार्यक्रमले यसको पनि प्रबन्ध गर्नुपर्ने उनीहरुको सुझाब थियो । नेपाल शिक्षक महासंघका उपाध्यक्ष तिलक कुँवरले भन्नुभयो, ‘बरु हरेक अभिभावकले विद्यालयमा एक दिन खाजा बनाउन तयार हुनपर्ने बुँदा खाजा व्यवस्थापन सहयोगी पुस्तिकामा उल्लेख किन नगर्ने ?’


नेपालमा सन् १९६७ देखि विद्यालयमा खाजा कार्यक्रम शुरु भएको थियो । शुरुमा समाज कल्याण परिषद्अन्तर्गत ३७ जिल्लामा थालिएपनि सो कार्यक्रम सन् १९९६ मा शिक्षा मन्त्रालयमातहत्मा सञ्चालन गर्न थालियो । मन्त्रालयको मातहत्मा ल्याइएपछि १६ जिल्लामा लागू गरियो । सन् २००८ मा विद्यार्थीलाई खाजाका लागि नगद नै दिइन्थ्यो । तर, अहिले भने रकम दिनुको साटो विद्यालयमा प्रत्यक्ष रुपमा खाजा नै खुवाइन्छ ।

 

प्रमुख समाचार

 सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै  सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै

सरकारले कोरोना महामारीका बेला वैकल्पिक सिकाइका लागि भन्दै ३४ लाख विद्यार्थीलाई सियुजी (क्लोज युजर ग्रुप) सेवामा जोड्ने लक्ष्य राखेपनि जम्मा ५ हजार बाल ...

‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष ‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष

‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् । कार्टुन ...

गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले ...