२०७७ साउन २८ गते / 12th Aug 2020, Wednesday
investment investment

सिन्धु विद्यालय स्थापनाका साक्षी अंग्रेजी शिक्षाका पक्षधर पोषप्रसाद नेपालको निधन

सिन्धुपाल्चोकका पुराना शैक्षिक अभियन्ता एवं शिक्षक पोषप्रसाद नेपालको शनिबार राती ९५ वर्षको उमेरमा निधन भएको छ ।


लामो समयदेखि विरामी पर्नुभएका नेपालको बुढानिलकण्ठ रुद्रेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो । सिन्धुपाल्चोकको सिन्धुकोट गाउँ (हाल मेलम्ची नगरपालिका–५) मा वि.सं. १९८३ सालमा जन्मिनुभएका नेपालले पारिवारिक वातावरणमै कखरा सिक्नुभएको थियो । पछि कक्षा ८ सम्म रानीपोखरीस्थित संस्कृत विद्यालयमा पढ्नुभयो ।


वि.सं. २०१६ सालबाट शिक्षण पेशा शुरु गर्नुभएका नेपालले करिव १६ वर्ष पढाएर छोड्नुभएको थियो । सिन्धुपाल्चोकको भोटेचौरस्थित जैसीगाउँको जाल्पादेवी प्राविबाट शिक्षण थाल्नुभएका नेपालले काठमाडौंको बाँसबारीमा रहेको एउटा विद्यालयमा एक वर्ष पढाउनुभयो । फेरि सिन्धुपाल्चोकमा फर्किएर थकनी हुँदै सिन्धुकोटको विद्यालयमा पुग्नुभयो । उहाँ २०३१ देखि २०३२ साल पुससम्म तत्कालीन सिन्धुपुरानागाउँ प्राथमिक पाठशालामा प्रधानाध्यापक हुनुभयो ।


वि.संं. २००६ सालमा सिन्धु पाठशाला (हाल सिन्धुपुरानागाउँ मावि) स्थापना गर्ने अभियन्तामध्ये नेपाल पनि एकजना हुनुहुन्थ्यो । ’श्री ३ पद्म शमशेर महाराजाले लालमोहर लगाएपछि सिन्धु पाठशालाले स्थापनाको अनुमति पायो...’ २०६७ सालमा विद्यालयको वृत्तचित्र निर्माणका क्रममा गरिएको कुराकानीमा नेपालले जानकारी दिनुभएको थियो । उहाँले बोल्नुभएको सोही भिडियो क्लिप्स सिन्धुपुराना गाउँ माविलाई ‘सात सालभन्दा अघिको विद्यालय’ सूचीमा देखाउने आधिकारिक प्रमाणहरुमध्ये एउटा बलियो तथ्य बन्यो । विद्यालयले सोही आधारमा सरकारसित सात सालभन्दा अघिका विद्यालयले पाउने आर्थिक अनुदान प्राप्त गर्न सकेको थियो ।


राणाकालताका शिक्षित हुनु र दुनियाँका निम्ति विद्यालय स्थापना गराउनका लागि अगुवा बन्नु चानचुने ठानिँदैनथ्यो । शिक्षामा सिन्धुपाल्चोकका दुई ठाउँ निकै चर्चित थिए भनिन्छ । एउटा, सिन्धु (सिन्धुकोट) र अर्काे बसन्तपुर/तीनघरे भेक । त्यसै भएर सिन्धुकोटका अगुवाहरूले राणाकालमै पाठशाला स्वीकृत गराएर ल्याउन सकेको स्थानीयहरु बताउँछन् ।


स्व. नेपाललाई सिन्धुमा अंग्रेजी शिक्षा पढाउनु पर्छ भन्ने मान्यताका पक्षधर मानिन्थ्यो । सिन्धु भेकमा ‘अंग्रेजी शिक्षा पढाउनु हुँदैन’ भन्ने मान्यता प्रबल थियो । तर, त्यसविरुद्ध उभिँदै नेपालले अंग्रेजी शिक्षा पढाउन भोटेचौर निवासी सिद्धिबहादुर श्रेष्ठलाई जैसीगाउँको स्कूलबाट सिन्धुकोट लैजानुभएको बताइन्छ ।


स्थानीयका अनुसार २०३० को दशकमा सरकारी विद्यालयमा भर्ना शुल्क एक मोहर अर्थात् ५० पैसा लाग्थ्यो । गाउँमा लाठेले दिनभरी खन्दा पनि त्यत्ति पैसा हात लाग्न गाह्रो पर्थ्यो । ‘त्यस्तो अवस्थामा बाले शुल्क तिर्न नसक्ने विद्यार्थीहरुलाई विद्यालयमा भर्ना गरिदिनुभएको थियो,’ छोरा बलराम नेपालले भन्नुभयो । शिक्षा अभियानमा त्यसबेला उहाँका समकालीन रोहिणीराज सिग्देल र उपेन्द्र सिग्देलले साथ दिनुभएको थियो ।


नेपालले सिन्धुकोटमा ‘आफ्नो आधुनिक पुस्तकालय’ स्थापना गर्न पनि भूमिका खेल्नुभएको छोरा बलराम बताउनुहुन्छ । उसबेला नापी आउँदा सिन्धु विद्यालयका नाममा सार्वजनिक जग्गालाई नापी गराउन बुवाको सक्रियता रहेको उहाँको भनाइ छ ।


शिक्षण पेशा छोडेपछि तत्कालीन सिन्धुकोट गाउँ पञ्चायतका प्रधानपञ्च दीपबहादुर रायामाझीको सचिवका रुपमा नेपालले काम गर्नुभयो । पछि राजनीतिप्रति पनि नेपाललाई चाख बढ्दै गयो र प्रधानपञ्चकैविरुद्ध २०३९ मा उहाँ चुनाव उठ्नुभएको थियो तर हार्नुभयो ।


गीताको सारसम्बन्धी पुस्तकसमेत लेख्नुभएका स्व. नेपाल धार्मिक स्वभावका, सरल, मृदुभाषी तथा सिन्धु शिक्षाका एक साक्षी हुनुहुन्थ्यो । काठमाडौंको शंखपार्कमा शिव मन्दिरको स्थापना र व्यवस्थापन गर्न उहाँले योगदान दिनुभएको थियो । सिन्धुकोटका नेपाल वंशसम्बन्धी किताबका साथै वेद स्तुतिसमेत लेख्नुभएको छ ।


उहाँको निधनलाई लिएर सामाजिक सञ्जालहरुमा पुराना तथा नयाँ पुस्ताहरुले गहिरो दुःख मनाऊ गर्दै स्मरण गरेका छन् । पुराना शिक्षक बद्रि आचार्यले आफ्नो फेसबुक पोस्टमा लेख्नुभएको छ, ‘२०३१ साल भाद्रदेखि २०३२ साल पुससम्म तत्कालीन सिन्धुपुरानागाउँ प्राथमिक पाठशालामा उहाँसँग काम गर्ने मौका मिलेको थियो । उहाँ अत्यन्तै सरल, सहयोगी एवं मृदुभाषी हुनुहुन्थ्यो । उहाँको स्वर्गारोहणको खबरले मर्माहत भएको छु ।’


स्वर्गीय नेपालका पाँच छोरा र ३ छोरी हुनुहुन्छ ।

प्रमुख समाचार

 लकडाउन डायरी निबन्ध लेख्ने उत्कृष्ट १० विद्यार्थीसँग महानायक राजेश हमालको अन्तरमन्थन लकडाउन डायरी निबन्ध लेख्ने उत्कृष्ट १० विद्यार्थीसँग महानायक राजेश हमालको अन्तरमन्थन

‘सूर्य गुराँसे रङ्गमा पोतिएर आफ्ना कोमल स्पर्शहरु छर्न आतुर थियो र पहाडका अन्तराकुन्तराबाट चिहाइरहेको थियो । चराचुरुङ्गीहरु चाचा र चुचु गर्दै रम ...

‘एसइइको आन्तरिक मूल्याङ्कन प्रक्रियामा स्थानीय तहलाई भूमिका नदिनु दुःखद’ ‘एसइइको आन्तरिक मूल्याङ्कन प्रक्रियामा स्थानीय तहलाई भूमिका नदिनु दुःखद’

२०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ)को आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशनको तयारी भइरहँदा स्थानीय तहको भूमिकालाई वेवास्ता गरिएको भन्दै जनप ...

२०७६ सालको एसइइ नतिजा आउँदो साता प्रकाशन गरिँदै २०७६ सालको एसइइ नतिजा आउँदो साता प्रकाशन गरिँदै

२०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजा आउँदो साता हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) का परीक्षा नियन्त्रक रामराजा खकुरेलले य ...