२०७७ साउन २८ गते / 12th Aug 2020, Wednesday
investment investment

सामाजिक विकास मन्त्रीहरुलाई शिक्षामन्त्रीको आग्रह–सिटिइभिटिका कार्यक्रममा दोहोरोपना नगरौं

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संघीय शिक्षा ऐन नआउँदासम्म प्राविधिक शिक्षा एवं व्यावसायिक तालिम कार्यक्रममा दोहोरोपना नआउनेगरी संघ र प्रदेशबाट समन्वय गरिने बताउनुभएको छ ।

उहाँले राष्ट्रिय नीति तय, पाठ्यक्रम फ्रेमवर्क, योग्यता निर्धारण, मापदण्ड एवं प्रारुप निर्माण, दीर्घकालीन योजना जस्ता कामहरु संघीय तहबाट गरिनेगरी प्राविधिक तथा व्यावसायिक शिक्षासम्बन्धी संघीय ऐन ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।

संघीय संरचनाबमोजिम संघ, प्रदेश र स्थानीय तहबाट प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि)का कार्यक्रम सञ्चालन/ व्यवस्थापनका सम्बन्धमा मंगलबार आयोजित भर्चुअल छलफलमा सातै प्रदेशका सामाजिक विकास मन्त्री सहभागी हुनुहुन्थ्यो । सिटिइभिटिका अध्यक्षसमेत रहनुभएका मन्त्री पोखरेलले आफ्नै अध्यक्षतामा आयोजित सो छलफलमा भन्नुभयो, ‘संघ, प्रदेश र स्थानीय तहबीच आपसी समन्वय र सहकार्यमै कार्यक्रमको दोहोरोपना नहुनेगरी अघि बढ्नु पर्छ ।’

उहाँले सामाजिक विकास मन्त्रीहरुलाई प्रत्येक प्रदेशमा एउटा नमूना बहुप्राविधिक शिक्षालय स्थापना गर्ने योजना सुनाउनुभयो । ‘सिटिइभिटिबाट सञ्चालित आङ्गिक बहुप्राविधिक शिक्षालयलाई प्रदेशबाट सञ्चालनका लागि क्रमशः हस्तान्तरण गरिनेछन्,’ मन्त्री पोखरेलले थप्नुभयो ।

छलफलमा सामाजिक विकास मन्त्रीहरु क्रमशः प्रदेश १ का जीवन घिमिरे, २ का श्री नवलकिशोर साह, बागमति प्रदेशका युवराज दुलाल, गण्डकी प्रदेशका नरदेवी पुन मगर, प्रदेश ५ का सुदर्शन बराल, कर्णाली प्रदेशका दल रावल, सुदूरपश्चिम प्रदेशका कृष्णराज सुवेदी हुनुहुन्थ्यो । साथै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. सञ्जय शर्मा, सिटिइभिटिका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारी, सदस्य–सचिव डा. पुष्परमण वाग्लेलगायत हुनुहुन्थ्यो । उपाध्यक्ष अधिकारीले स्वागत भाषण गर्दै छलफलबाट संघीय संरचनामा प्राविधिक शिक्षा र व्यावसायिक तालिमसम्बन्धी एउटा प्रष्ट मार्गनिर्देश हुनसक्ने विश्वास व्यक्त गर्नुभयो ।

छलफलमा मन्त्री पोखरेलले स्थानीय आवश्यकताको आधारमा व्यक्तिको रूचिअनुसार रोजगारउन्मुख सीपमूलक तालिम प्रदान गर्ने कार्यक्रम खाँचो रहेको औंल्याउनुभयो । उहाँले थप्नुभयो, ‘यसका लागि सामुदायिक विद्यालयहरूको सञ्चालन तथा व्यवस्थापन स्थानीय तहबाटै गर्नेगरी योजनाबद्ध कार्यक्रम अघि बढाउन उपयुक्त हुन्छ ।’

विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण यतिबेला शिक्षालयमा उपस्थित भई नियमित प्रशिक्षण कार्य गर्न कठिनाई भइरहेको अवस्था छ । मन्त्री पोखरेलले महामारीबाट अनुकूल अवस्था नबन्दासम्म प्राविधिक तथा व्यावसायिक शिक्षा, तालिमका सैद्धान्तिक विषयवस्तु र सीप प्रदर्शन (डेमोन्स्ट्रेसन) लाई वैकल्पिक माध्यमबाटै गराउन निर्देशन दिनुभयो । तर, यसमा प्रविधिमैत्री प्रशिक्षण हुनुपर्नेमा उहाँको जोड थियो ।

सामाजिक विकास मन्त्रीहरूले जनशक्ति प्रक्षेपणको आधारमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम कार्यक्रमहरू सञ्चालन हुनुपर्ने धारणा राख्नुभयो । पाठ्यक्रम र मूल्याङ्कन पद्धतिमा एकरुपता कायम गर्न प्राविधिक धार (९–१२) र डिप्लोमा तहका कार्यक्रमहरूलाई समायोजन गर्नुपर्नेमा विशेष जोड दिइएको थियो ।

यसैगरी, विभिन्न निकायहरूबाट सञ्चालन गरिँदै आएका प्राविधिक शिक्षा र व्यावसायिक तालिम कार्यक्रमहरूको सीप नक्साङ्कन गरी एकद्वार प्रणालीमा आबद्ध गर्नुपर्ने विषयलाई छलफलमा विशेष उठान गरिएको थियोे ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिममा गुणस्तर कायम गर्न प्रयोगात्मक अभ्यास र कार्यस्थलको सिकाइमा जोड दिनुपर्ने, पाठ्यक्रमलाई क्रमशः परिमार्जन गर्नुपर्नेमा छलफलमा सहभागीहरुले जोड दिए । साथै, सिटिइभिटिका कार्यक्रमहरूको गुणस्तर सुनिश्चितताका लागि संघीय तथा प्रदेश तहबाट नियमित नियमन र अनुगमन गर्नुपर्ने निष्कर्ष निकालिएको थियो ।

छलफल कार्यक्रम सञ्चालन गर्नुभएका सिटिइभिटिका सदस्य–सचिव डा. वाग्लेले शिक्षामन्त्री र प्रदेशका सामाजिक विकासमन्त्रीस्तरीय संवादबाट संघीय संरचनामा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको व्यवस्थापनसम्बन्धी निचोड निस्कने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमसम्बन्धी कार्यक्रममा दोहोरोपना नहोस् भन्ने उद्देश्य रहेको सुनाउनुभएको थियो ।

प्रमुख समाचार

 लकडाउन डायरी निबन्ध लेख्ने उत्कृष्ट १० विद्यार्थीसँग महानायक राजेश हमालको अन्तरमन्थन लकडाउन डायरी निबन्ध लेख्ने उत्कृष्ट १० विद्यार्थीसँग महानायक राजेश हमालको अन्तरमन्थन

‘सूर्य गुराँसे रङ्गमा पोतिएर आफ्ना कोमल स्पर्शहरु छर्न आतुर थियो र पहाडका अन्तराकुन्तराबाट चिहाइरहेको थियो । चराचुरुङ्गीहरु चाचा र चुचु गर्दै रम ...

‘एसइइको आन्तरिक मूल्याङ्कन प्रक्रियामा स्थानीय तहलाई भूमिका नदिनु दुःखद’ ‘एसइइको आन्तरिक मूल्याङ्कन प्रक्रियामा स्थानीय तहलाई भूमिका नदिनु दुःखद’

२०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ)को आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशनको तयारी भइरहँदा स्थानीय तहको भूमिकालाई वेवास्ता गरिएको भन्दै जनप ...

२०७६ सालको एसइइ नतिजा आउँदो साता प्रकाशन गरिँदै २०७६ सालको एसइइ नतिजा आउँदो साता प्रकाशन गरिँदै

२०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजा आउँदो साता हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) का परीक्षा नियन्त्रक रामराजा खकुरेलले य ...