२०७७ साउन २८ गते / 12th Aug 2020, Wednesday
investment investment

 सीपप्रदायक संस्था एकातिर, रोजगारदाता अर्काेतिर

‘बजारको मागअनुरुप रोजगारी र सीप दिनेबीच अन्तर्सम्बन्ध जरुरी’

राष्ट्रिय आवश्यकता र बजारको मागअनुरुप जनशक्ति उत्पादन नहुँदा नेपालमा प्राविधिक तथा व्यवसायिक शिक्षा प्रभावकारी हुन नसकिरहेको सरोकारवालाहरुले बताएका छन् ।


एकातिर लाखौं युवाहरु बेरोगार बनिरहने र अर्कोतर्फ उद्योग व्यवसायमा आवश्यक जनशक्ति नपाउने अवस्था रहेको भन्दै राष्ट्रिय आवश्यकता र मागका आधारमा प्राविधिक तथा व्यवसायिक शिक्षा दिइनुपर्नेमा उनीहरुको जोड थियो ।


प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटि)लाई स्वतन्त्र र स्वायत्त निकाय बनाइनुपर्ने, पूर्वाधारबिनाका प्राविधिक शिक्षालयलाई अनुमति दिन बन्द गर्नुपर्ने, दिएकाहरुको वर्षैपिच्छे नवीकरणको व्यवस्था हुनुपर्ने, सिटिइभिटि, प्राविधिक शिक्षालय र उद्योग व्यवसायबीच सम्बन्ध र सहकार्य स्थापित गरेमात्रै व्यावसायिक शिक्षा प्रभावकारी हुने उनीहरुको भनाइ थियो ।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सरकारको एउटै लक्ष्य प्राविधिक तथा व्यवसायिक शिक्षाको विकास, विस्तार र गुणस्तर सुधार रहेको स्पष्ट पार्नुभयो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम बजारको माग, राजनीतिक रुचि, विकास र बिस्तार गर्ने सरकारी नीति पनि यसका लागि मन्त्रालय क्रियाशील रहेको उहाँको भनाइ थियो ।


प्राविधिक शिक्षा ऐनको मस्यौदा अन्तर मन्त्रालय छलफलमा रहेको र त्यसमा सिटिइभिटिको संघीय मर्मअनुरुपको विकेन्द्रीकरण, उपाध्यक्ष नराखी सिइओ राख्नेलगायतका विषयमा छलफल भइरहेको उहाँले जानकारी दिनुभयो । यसमा अझै छलफल गर्न मन्त्रालय सधैँ खुला रहेको उहाँको भनाइ थियो । कानून र संरचनाको बारेमा कार्यदल बनाएर छलफल गरिरहेको उहाँले जानकारी दिनुभयो ।


प्राविधिक तथा व्यवसायिक शिक्षालाई राष्ट्रिय मात्रै नभइ अन्तर्राष्ट्रिय बजारको माग, आवश्यकतासँग जोड्दै प्रतिस्पर्धी जनशक्ति उत्पादनकेन्द्रित बनाउँदै लग्नुपर्ने उहाँको भनाइ थियो । बजारका हरेक चुनौती सम्बोधन गर्न सक्ने प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्न सोही अनुसारको संरचना, पूर्वाधार र पाठ्यक्रम सोही अनुसार नै विकास गर्दै लग्नुपर्ने प्रवक्ता शर्माले बताउनुभयो । तालिम सञ्चालन गर्न पहिले तालिम आवश्यकता र बजार मागको पहिचान हुनुपर्नेमा उहाँको जोड थियो ।


नेपाल उद्योग वाणिज्य महासंघ, वस्तुगत परिषद्का सह-सभापति सुमित केडियाले उद्योग वाणिज्य महासंघ, साना तथा घरेलु उद्योग व्यवसाय महासंघलगायतसँग छलफल गरी बजारमा आवश्यक जनशक्तिको पहिचान र प्रक्षेपण गर्दा उपयुक्त हुने सुझाब दिनुभयो ।


प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम सञ्चालन गर्न सिटिइभिटिलाई मात्रै दिँदै यसलाई स्वायत्त निकाय बनाउनुपर्ने भन्दै विभिन्न मन्त्रालयले आफुखुसी प्राविधिक शिक्षा सञ्चालन गर्न नहुने उहाँको भनाइ थियो । विदेशिने जनशक्तिलाई मात्रै आधार मानि पाठ्यक्रम बनाइने गरेकोप्रति असहमति व्यक्त गर्दै केडियाले नेपालका उद्योग व्यवसाय र राष्ट्रिय आवश्यकताका आधारमा पनि पाठ्यक्रम बनाइनुपर्ने बताउनुभयो ।


उद्योग वाणिज्य महासंघअन्तर्गतको उद्योग समितिका सभापति रविनकुमार श्रेष्ठले सरकारले प्राविधिक शिक्षा र तालिम लिन साथ प्रमाणपत्र बोकेर विदेश जाने होइन कि स्वदेशका उद्योगधन्दामा रोजगार हुने किसिमको नीति ल्याउन आवश्यक रहेको छ भन्नुभयो । अब प्राविधिक तालिम उद्योग धन्दामै गर्ने र सैद्धान्तिक शिक्षा मात्रै शिक्षालयहरुमा चलाउने गरी व्यवस्था हुनुपर्ने उहाँको भनाइ थियो ।


हिजोका दिनमा सिटिइभिटिले बजारको आवश्यकतालाई भन्दा स्वरोजगार जनशक्ति उत्पादनलाई प्राथमिकतामा राख्दा उद्योग धन्दामा आवश्यक जनशक्ति आयात गर्ने अवस्था थियो । उहाँले भन्नुभयो, ‘पछिल्लो दिनमा केही सुधार आएपनि उद्योग धन्दाको आवश्यकताका आधारमा जनशक्ति उत्पादन गर्ने कामको शुरुवात अझै हुन सकेको छैन ।’ नेपालमा अहिले निर्माण, कृषि र पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको आवश्यकता रहेको भन्दै उहाँले यस विषयका दक्ष जनशक्तिलाई रोजगारीको कुनै समस्या नरहने बताउनुभयो ।


उद्योग मन्त्रालयसँग सहकार्य गरी फुटवेयर क्षेत्रमा वार्षिक २–३ सय जनालाई तालिम दिएर रोजगारी दिने गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै तत्काल १२ सय जनशक्तिलाई तालिम दिएर रोजगारी दिन मन्त्रालयबाट अनुरोध आएको र त्यसमा काम भइरहेको उहाँले बताउनुभयो ।


नवलपुरको कावासोती नगरपालिका स्रोत शिक्षक तीर्थराज कँडेलले आवश्यकता एकातिर जनशक्ति उत्पादन अर्कोतिर हुँदा प्राविधिक शिक्षा प्रभावकारी नभएको टिप्पणी गर्नुभयो । प्राविधिक शिक्षामा आवश्यकता, माग र उत्पादनसँग तालमेल नहुँदा एकातिर बेरोजगारी बढिरहने, उद्योग-धन्दाले जनशक्ति नपाएर बाहिरबाट आयात गरिरहेने र अर्कोतर्फ सिटिइभिटिले आफ्नै सुरमा जनशक्ति उत्पादन गरिरहेने अवस्था रहेको उहाँको भनाइ थियो । यि तीनै पक्षबीच तालमेल मिलाउन जरुरी रहेको उहाँले बताउनुभयो ।


सिटिइभिटिका निर्देशक महेशप्रसाद भट्टराईले आफूहरुले व्यवसायिक शिक्षालाई रोजगारी तथा उद्योग धन्दाको आवश्यकता र जनशक्तिको मागमा आधारित भएर अगाडि बढाइरहेको बताउनुभयो । श्रम, उद्योग र शिक्षा मन्त्रालयले स्वामित्व लिने गरी यसलाई अगाडि बढाइएको उहाँको भनाइ थियो ।


‘हाम्रो अहिलेको परम्परागत मान्यता शिक्षाले रोजगारी ल्याउँछ, रोजगारीले व्यवसाय प्रबर्द्धन हुन्छ त्यसैले शिक्षामा लगानी गरियो भने व्यवसाय प्रबर्द्धन प्राकृतिक रुपमा हुन्छ, रोजगारी पनि स्वाभावलै हुन्छ,’ भन्दै यी तीन कुराहरुलाई छुट्टाछुट्टै हेर्ने चलन रहेको उहाँले बताउनुभयो । अब यस अवधारणा बदल्नुपर्ने भन्दै उहाँले व्यवसाय प्रबर्द्धनले मात्रै रोजगारी ल्याउने र रोजगारी भए पैसा तिरेर पनि सिक्ने भएकाले लगानीको दिशा परिवर्तन गर्नुपर्ने खाँचो औंल्याउनुभयो ।


व्यवसायिक शिक्षा सिक्ने र सिकाउने थलो उद्योग–व्यवसाय हुनुपर्ने यसले व्यवसाय प्रबर्द्धन पनि हुने र शिक्षा र सीपको पुस्तान्तरण पनि हुने उहाँको भनाइ थियो । त्यसैले सिटिइभिटिले औद्योगिक क्षेत्रभित्र शिक्षालय राख्ने, कार्यगत तालिमको व्यवस्था मिलाउने काम गरेको भन्दै निर्देशक भट्टराईले प्राविधिक तथा व्यवसायिक शिक्षा उद्योग व्यवसायकै लागि भएको बताउनुभयो । उद्योग व्यवसायहरु प्राविधिक शिक्षाको पाठ्यक्रम निर्माण, तालिम सञ्चालन, प्रमाणिकरणमा सहभागी हुने उहाँको भनाइ थियो । सरकारले पनि राष्ट्रिय योग्यता प्रारुप बनाएर यही क्षेत्रलाई जोड दिएको उहाँले बताउनुभयो ।


शिक्षालाई रोजगार प्रबर्द्धनमा जोड्दै अगाडि बढाउनुपर्ने, उद्योग धन्दाका दक्ष कालिगडलाई प्रशिक्षकको रुपमा परिचालन गर्नुपर्ने, त्यहाँका कार्यशालालाई प्रयोग शाला बनाउनुपर्ने, त्यहाँको लगानीलाई शिक्षा र उत्पादनको खर्चको रुपमा परिभाषित गर्ने गरी अगाडि बढ्नुपर्ने भट्टराईले आवश्यकता औंल्याउनुभयो ।

आजको शिक्षा साप्ताहिकको संवाद श्रृंखलाअन्तर्गत मंगलबारको ‘व्यवसायिक शिक्षा र रोजगारदातासँगको अन्तर्सम्बन्ध’ विषयक चौंथो भर्चुअल संवादमा उद्योग-व्यवसायी, प्राविधिक शिक्षालयका सञ्चालन, निजी क्षेत्रका प्रतिनिधि, शिक्षा मन्त्रालयका कर्मचारी,शिक्षक पत्रकारलगायतको सहभागिता रहेको थियो । 

प्रमुख समाचार

 लकडाउन डायरी निबन्ध लेख्ने उत्कृष्ट १० विद्यार्थीसँग महानायक राजेश हमालको अन्तरमन्थन लकडाउन डायरी निबन्ध लेख्ने उत्कृष्ट १० विद्यार्थीसँग महानायक राजेश हमालको अन्तरमन्थन

‘सूर्य गुराँसे रङ्गमा पोतिएर आफ्ना कोमल स्पर्शहरु छर्न आतुर थियो र पहाडका अन्तराकुन्तराबाट चिहाइरहेको थियो । चराचुरुङ्गीहरु चाचा र चुचु गर्दै रम ...

‘एसइइको आन्तरिक मूल्याङ्कन प्रक्रियामा स्थानीय तहलाई भूमिका नदिनु दुःखद’ ‘एसइइको आन्तरिक मूल्याङ्कन प्रक्रियामा स्थानीय तहलाई भूमिका नदिनु दुःखद’

२०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ)को आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशनको तयारी भइरहँदा स्थानीय तहको भूमिकालाई वेवास्ता गरिएको भन्दै जनप ...

२०७६ सालको एसइइ नतिजा आउँदो साता प्रकाशन गरिँदै २०७६ सालको एसइइ नतिजा आउँदो साता प्रकाशन गरिँदै

२०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजा आउँदो साता हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) का परीक्षा नियन्त्रक रामराजा खकुरेलले य ...