२०७७ साउन २८ गते / 12th Aug 2020, Wednesday
investment investment

'वैकल्पिक शिक्षणमा विद्यार्थीको सहभागिता न्यून'

अब वैकल्पिक शिक्षण निर्देशिका ल्याउने तयारी 

प्रविधि प्रयोग गरेर शुरु गरिएको अनलाइन शिक्षालाई व्यवस्थित गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । 

कोरोना महामारीले निम्त्याएको लकडाउनका कारण विद्यालय खोल्ने अवस्था नभएको र घरबाटै प्रविधि प्रयोग गरेर भइरहेको अनलाइन शिक्षामा विद्यार्थीको सहभागिता न्यून भएको, सबै विद्यार्थीसँग पहुँच नभएको र अनलाइन शिक्षा प्रभावकारी हुन नसकेको भन्दै यसलाई व्यवस्थित गर्न सरोकारवालाले जोड दिएका हुन् ।


शिक्षा पत्रकार समूहले सोमबार गरेको आफ्नो नियमित साप्ताहिक भर्चुअल संवाद कार्यक्रमअन्तर्गत शिक्षाबारको १७ औं श्रृङ्खलाको ‘वैकल्पिक शिक्षा: प्रभावतकारिता र चुनौती’ विषयक कार्यक्रममा बोल्ने सरोकारवालाले चुनौतिपूर्ण समयमा लागू गर्न खोजिएको वैकल्पिक शिक्षा विस्तारमा थुप्रै चुनौती रहेको औंल्याए ।


शिक्षाविद् डा.मीनाक्षी दाहालले बालमनोविज्ञानलाई ख्यालै नगरी विद्यार्थीलाई दिनैभरी अनलाइन शिक्षाका नाममा विद्यार्थीलाई इलेक्ट्रोनिक डिभाइसमा राख्नु स्वास्थ्यका लागि हानिकारक रहेको बताउनुभयो ।


कक्षाकोठामा समेत बालमनोविज्ञान बुझेर पढाउने काम हुन नसकेका बेला वैकल्पिक शिक्षाका नाममा बालबालिकालाई जबर्जस्ती पढाउन लगाउनु उनीहरुका लागि फाइदाभन्दा बढी क्षति भएको उहाँको तर्क छ ।


विश्व स्वास्थ्य संगठनले बालबालिकालाई १ घण्टाभन्दा बढी इलेक्ट्रोनिक प्रविधिमा राख्नु उनीहरुको स्वास्थ्यका लागि हानिकारक हुने भन्दै उहाँले यसको उल्लंघन गर्दा भविष्यमा ती बालबालिकामा समस्या देखिन सक्ने औंल्याउनुभयो ।


बालबालिकाको इच्छा, चाहना, वातावरण, आवश्यकता र परिस्थितिलाई मध्यनजर नगरी जबर्जस्ती अनलाइन शिक्षा भन्दै रेडियो, टेलिभिजनदेखि जुममार्फत् पढाउन खोज्दा सहभागिता घटेको उहाँको भनाइ छ ।


‘विश्व स्वास्थ्य संगठनको मापदण्डलाई मान्ने हो भने कुनै पनि बालबालिका वा विद्यार्थीलाई एक घण्टाभन्दा बढी लगातार इलेक्ट्रोनिक डिभाइस अगाडि राख्नु स्वास्थ्यका लागि हानिकारक मानिन्छ,’ दाहालले भन्नुभयो, ‘हाम्रा अनलाइन शिक्षामा यो मापदण्डको प्रयोग भएको छ त ? छैन । त्यसैले यसले बालमनोविज्ञानलाई गम्भीर असर गरेको छ । यो तुरुन्त व्यवस्थित हुन जरुरी छ ।’


शिक्षक, विद्यार्थी र अभिभावकले प्रविधिको प्रयोगबाट अनलाइन शिक्षालाई शुरु गर्नु राम्रो भएपनि व्यवस्थित नगर्दा यसले उल्टो समस्या निम्त्याउने शिक्षाविद् दाहालको भनाइ छ । बालमनोविज्ञानलाई बेवास्ता नगर्न पनि उहाँले सम्बद्ध सरोकारवालासँग आग्रह गर्नुभयो ।


शिक्षा तथा मावन स्रोत विकास केन्द्रका उपमहानिर्देशक इमनारायण श्रेष्ठले लकडाउनको बेला पनि वैकल्पिक माध्यमबाट पठनपाठनलाई निरन्तरता दिन ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका २०७७’ जारी गरिएको बताउनुभयो ।


निर्देशिका अनुसार नै असार १ गतेदेखि रेडियो, टेलिभिजन, अनलाइनमार्फत् पठनपाठन भइरहेको पनि उहाँले जानकारी दिनुभयो । तर, यसको प्रभावकारिताका लागि स्थानीय तह, शिक्षक र अभिभावक जिम्मेवार हुनुपर्ने श्रेष्ठको कथन छ ।


‘लकडाउनमा अन्योल बढेका बेला सरकारले निर्देशिका जारी गरेर यसलाई सहज पार्ने प्रयास गरेको हो,’ उपमहानिर्देशक श्रेष्ठले भन्नुभयो, ‘शुरुका दिनमा चुनौती धेरै रहेपनि पालिका, प्रदेश, शिक्षक, अभिभावक सबै मिलेर यसलाई प्रभावकारी बनाउनु पर्छ ।’


श्रेष्ठका अनुसार सरकारले रेडियो, टेलिभिजन, अनलाइनको पहुँचमा हुने र नहुने विद्यार्थीलाई विभाजन गरी समूह बनाएर सिकाइ सहजीकरणका लागि निर्देशिका जारी गरेको छ । तर, निर्देशिकाअनुसार वैकल्पिक शिक्षा प्रभावकारी हुन सकेको छैन ।


कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष लक्ष्मण शर्माले वैकल्पिक शिक्षा सिकाइका लागि नयाँ र चुनौतिपूर्ण भएकाले सबै मिलेर यसलाई व्यवस्थित गर्नुपर्ने धारणा राख्नुभयो । शिक्षकहरु वैकल्पिक शिक्षाका माध्यमबाट पठनपाठनका लागि तयार रहेपनि सबैको समन्वय नहुँदा यो प्रभावकारी हुन नसकेको उहाँको भनाइ छ । ‘वर्षांैदेखि शिक्षकहरुले चक–डस्टर समातेर पढाए, तर अहिले रेडियो, टेलिभिजन, जुमबाट पढाउने काम नौलो हो । शिक्षकका लागि पनि चुनौतिपूर्ण छ,’ शर्माको भनाइ छ, ‘तर यसका लागि सबैले पहल गरेमा शिक्षकले वैकल्पिक शिक्षालाई प्रभावकारी बनाउन सक्छन् ।’

यस्तै एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले आफूहरुले शुरुदेखि अनलाइन शिक्षा शुरु गरेपनि विद्यार्थीको संख्या न्यून रहेको सुनाउनुभयो । सबै विद्यार्थी, अभिभावक र भौगोलिक अवस्थाअनुसार प्रविधिको पहुँच नहुँदा विद्यार्थीको सहभागिता बढ्न नसकेको उहाँको ठम्याई छ ।


सरकारले निर्देशिका जारी गरेर असार १ गतेदेखि रेडियो, टेलिभिजन तथा जुम लगायत प्रविधिको प्रयोग गरेर सिकाइ सहजीकरण गरेको दाबी गरेपनि यसको सर्वेक्षण हुन सकेको छैन । शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा विकास तथा मावन स्रोत विकास केन्द्रका उपमहानिर्देशक इमनारायण श्रेष्ठले सातै प्रदेशमा वैकल्पिक शिक्षा पठनपाठन प्रभावकारी भए/नभएको विषयमा सरकारले अनुगमन गरिरहेको जानकारी दिनुभयो ।


वैकल्पिक माध्यमबाट पढाउन शिक्षकलाई गाह्रो परिरहेकाले यो समस्या समाधानका लागि वैकल्पिक शिक्षण निर्देशिका ल्याउन लागिएको पनि उहाँले जनाउनुभयो । सातै प्रदेशमा वैकल्पिक शिक्षाको अनुगमन, सर्वेक्षण गरेपछि यसलाई व्यवस्थित गरिने श्रेष्ठले बताउनुभयो ।


जुममार्फत् गरिएको भर्चुअल छलफलमा शिक्षक, सरोकारवालासहित पत्रकारहरुको सहभागिता थियो । लकडाउनले शिक्षामा परेको असर र नयाँ विकल्पका विषयमा शिक्षा पत्रकार समूहले साप्ताहिक रुपमा संवाद कार्यक्रम गर्दै आएको छ ।

 

 

प्रमुख समाचार

 लकडाउन डायरी निबन्ध लेख्ने उत्कृष्ट १० विद्यार्थीसँग महानायक राजेश हमालको अन्तरमन्थन लकडाउन डायरी निबन्ध लेख्ने उत्कृष्ट १० विद्यार्थीसँग महानायक राजेश हमालको अन्तरमन्थन

‘सूर्य गुराँसे रङ्गमा पोतिएर आफ्ना कोमल स्पर्शहरु छर्न आतुर थियो र पहाडका अन्तराकुन्तराबाट चिहाइरहेको थियो । चराचुरुङ्गीहरु चाचा र चुचु गर्दै रम ...

‘एसइइको आन्तरिक मूल्याङ्कन प्रक्रियामा स्थानीय तहलाई भूमिका नदिनु दुःखद’ ‘एसइइको आन्तरिक मूल्याङ्कन प्रक्रियामा स्थानीय तहलाई भूमिका नदिनु दुःखद’

२०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ)को आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशनको तयारी भइरहँदा स्थानीय तहको भूमिकालाई वेवास्ता गरिएको भन्दै जनप ...

२०७६ सालको एसइइ नतिजा आउँदो साता प्रकाशन गरिँदै २०७६ सालको एसइइ नतिजा आउँदो साता प्रकाशन गरिँदै

२०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजा आउँदो साता हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) का परीक्षा नियन्त्रक रामराजा खकुरेलले य ...