२०७७ साउन २८ गते / 12th Aug 2020, Wednesday
investment investment

‘व्यावसायिक शिक्षा विकास गर्ने भए हाम्रै कौशलको खोई त प्याटेन्ट राइट्स ?’

व्यावासयिक शिक्षामा पहुँच बढाउन परम्परागत सीप–कौशललाई आधुनिकीकरण र बजारीकरण गर्नुपर्ने सुझाब


हाम्रै मौलिक परम्परागत सीपलाई आधुनिकीकरण गर्दै व्यवसायीकरण र बजारीकरण गरेमात्रै व्यवसायिक शिक्षामा पहुँच र सहभागिता बढाउन सकिने सरोकारवालाहरुले बताएका छन् ।


आयातितभन्दा पनि मुलुकको धरातल, परम्परा र आवश्यकताअनुरुपको सीपको संरक्षण, प्रबद्र्धन साथै आधुनिकीकरण गर्दै उत्पादन एवं बजारसँग जोड्नुपर्नेमा उनीहरुको जोड थियो ।


आजको शिक्षा साप्ताहिकको नियमित संवाद श्रृंखलाअन्तर्गतको शनिबार आयोजित ‘व्यवसायिक शिक्षामा पहुँच र सहभागिता’ विषयक भर्चुअल छलफलमा बोल्दै सरोकारवालाहरुले प्राविधिक तथा व्यवसायिक शिक्षालाई मूलधारमा ल्याउनुपर्नेमा जोड दिए ।


शिक्षाविद प्रा.डा. विद्यानाथ कोइरालाले संस्थागत ढङ्गमा मात्रै अगाडि बढ्दा प्राविधिक तथा व्यवसायिक शिक्षा महङ्गो हुने भएकाले परम्परागत सीपको आधुनिकीकरण गर्दै सर्बसुलभ बनाउनतिर लाग्नुपर्ने बताउनुभयो । प्राविधिक शिक्षालय मात्रै खोल्दै जाँदा त्यो सीमित वर्गका लागि मात्रै हुने भएकाले सबैका लागि बनाउन जनतासँग जोडिनुपर्ने लोक सीपलाई आधुनिकीकरण गर्दै जानुपर्ने डा. कोइरालाको भनाइ थियो ।


उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनले पनि परम्परागत सीपलाई आधुनिकिकरण गरेर बजारमा लग्ने नीतिगत व्यवस्था गर्न सुझाब दिएको डा. कोइरालाले स्मरण गराउनुभयो । प्राविधिक शिक्षालाई मूलधारमा लैजानका लागि परम्परा र जातिगत सीप सिकेकाहरुलाई प्रमाणीकरण गरिदिएर जाने नीति लिनुपर्ने उहाँको भनाइ थियो ।


स्थानीय तहहरुमा प्राविधिक शिक्षाको बिस्तारसँगै त्यसलाई ‘जनताको कार्यशाला’सँग जोड्नुपर्ने सुझाब दिँदै डा. कोइरालाले भन्नुभयो– ‘अब हरेक ठाउँमा कार्यशाला बनाएर सम्भव हुँदैन त्यही भएको सुनको काम गर्ने, आरन, सिकर्मी र डकर्मी, डोको नाम्लो बनाउने स्थल, खेतबारीलाई नै कार्यशालाको रुपमा जोड्दै जानु पर्छ ।’ राष्ट्रले परम्परागत सीप र प्रविधिलाई प्याटेन्ट राइट्स (प्रतिलिपि अधिकार) लिन पहल गर्नुपर्ने उहाँको सुझाब छ । सरकारले निःशुल्क शिक्षा भन्न पनि नछाड्ने, गर्नपनि नसक्ने भन्दै डा. कोइरालाले अब सक्नेसँग शुल्क लिने नसक्नेलाई निःशुल्क गर्ने मोडलमा जान सुझाउनुभयो ।


अनेरास्ववियुका सह–संयोजक रञ्जित तामाङले प्राविधिक शिक्षाका सम्बन्धमा आवश्यकताको पहिचान र प्राथमिकीकरण हुन नसकेको बताउनुभयो ।

उहाँले वर्गीय अवस्था, भूगोललाई पनि आधार मानेर आवासीय छात्रवृत्तिसम्मको व्यवस्था गरेमात्रै यसको विकास र बिस्तार भई शिक्षाको मूलधार बन्न सक्छ भन्नुभयो ।


तामाङले भौगोलिक विविधता र जटिलताहरुलाई सम्बोधन गर्नेगरी प्राविधिक तथा व्यवसायिक शिक्षाको व्यवस्थापन तथा विद्यार्थीको पहुँच सुनिश्चित गरिनुपर्ने बताउनुभयो । निजी विद्यालयमा जाने बाध्यतालाई कम गर्नका लागि सरकारको लगानीमा प्रत्येक निर्वाचन क्षेत्रमा बहुप्राविधिक वा प्रत्येक जिल्लामा प्राविधिक/बहुप्राविधिक विद्यालय सञ्चालन गरेर सुलभ शुल्क लिने र राम्रो फ्याकल्टी, पाठ्यक्रम, मल्टिमिडिया टेक्नोलोजीको वातावरण बनाउनेबित्तिकै गुणस्तरमा पनि व्यवस्थापन गर्न सकिने उहाँको सुझाब थियो । उत्पादित जनशक्तिको बजारीकरणको लागि पनि राज्यले पहल लिनुपर्ने तामाङको भनाइ थियो ।


नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले पहिले आवश्यकता के हो त्यसको नक्साङ्कन गरी विद्यार्थीको रुचि, पहुँच, सक्षमताका आधारमा मात्रै प्राविधिक शिक्षाको बिस्तार र विकास गरिनुपर्ने धारणा राख्नुुभयो । प्राविधिक धार भनेर द्वैध नीति आउन भएन भन्दै भण्डारीले सिटिइभिटिको सुदृढिकरण गर्दै लगानी वृद्धि, जनशक्ति प्रक्षेपण, भावी आवश्यकताको निक्र्योल गरी प्राविधिक तथा व्यवसायिक शिक्षाको एकीकृत नीति तथा योजना आउनुपर्ने बताउनुभयो ।


आय–आर्जन र उत्पादनको वृद्धि ज्ञानमूलक, सीपमूलक, चेतनामूलक र वैज्ञानिक ढङ्गले अगाडि बढाउनका लागि योजनाबद्ध कार्यक्रम बनाउनुपर्ने र त्यसको कार्यान्वयन सिटिइभिटिलाई दिएर जाने व्यवस्था हुनुपर्ने उहाँको भनाई थियो । समाजमा श्रमको सम्मान गर्ने भावना विकास गर्नुपर्ने भन्दै उहाँले सीपलाई ‘ग्ल्यामर्स’सँग जोडेर आकर्षण पैदा गर्नुपर्ने बताउनुभयो । ‘सूचीकार नभनेर ड्रेस डिजाइनर भन्दा आकर्षण हुँदो रहेछ,’ उहाँले भन्नुभयो ।


प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटि)का निर्देशक महेश भट्टराईका अनुसार प्रत्येक स्थानीय तहका प्राविधिक तथा व्यवसायिक शिक्षा पुर्याउने सरकारको नीतिअनुरुप हाल ६०७ स्थानीय तहमा यसको पहुँच पुगेको अवस्था छ । सिटिइभिटिले डिप्लोमा र प्राविधिक एसइइ गरी २ हजार ३ सय २२ कार्यक्रममार्फत् ९४ हजार बढी विद्यार्थीलाई भर्ना गरेर पढाउन सक्ने क्षमता बिस्तार गरेको छ । सिटिइभिटिले १५ करोड रुपैयाँबराबर करिव १५ सय विद्यार्थीलाई छात्रवृत्तिमा अध्यापन गराउँदै आएको छ । १ अर्ब १५ करोड खर्च हुनेगरी ४८ हजार २ सय ४० जनालाई सीप विकाससम्बन्धी तालिम दिने गरेको छ । कर्मचारीको क्षमता विकास कार्यक्रमका लागि ६ करोड खर्च गरेको देखिन्छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमका लागि सिटिइभिटिले प्रदेश, केन्द्र सबै गरेर करिव ६ अर्ब ८ करोड खर्च गरेको छ ।


सिटिइभिटिका निर्देशक भट्टराईले प्राविधिक शिक्षा मूलधारमा नआएकैले यसमा बजेट कम भएको र शिक्षकको व्यवस्थापनलगायतमा समस्या आएको प्रष्ट्याउनुभयो । अहिले सिटिइभिटि र साविक शिक्षा विभागमार्फत् सञ्चालन भइरहेको प्राविधिक शिक्षाले व्यवस्थापकीय अन्योल सिर्जना गरिदिएकाले पहिले व्यवस्थापनको पाटो स्पष्ट हुन जरुरी रहेको उहाँको भनाइ छ । व्यवस्थापनमा भएको गडबढीले नै विभिन्न समस्या देखापरेको उहाँले बताउनुभयो ।


निर्देशक भट्टराईले प्राविधिक शिक्षाको बिस्तार भनेको प्रत्येक स्थानीय तहमा शिक्षालयहरु खुल्नु मात्रै नभई जे काम भइरहेको छ, त्यहाँको परम्परागत सीपको मूल प्रवाहीकरण, व्यवसायीकरण र आधुनिकीकरण गर्नु हो भन्नुभयो । त्यसो गर्दा कार्यस्थलको तालिम हुने, उत्पादन र सिधै रोजगारीसँग जोडिने उहाँको भनाइ थियो ।


आजको शिक्षा साप्ताहिकले सिटिइभिटिसँगको सहकार्यमा शनिबार आयोजना गरेको तेस्रो भर्चुअल संवाद श्रृंखलामा प्राविधिक शिक्षालयका सञ्चालक, शिक्षक, विद्यार्थी, अभिभावक, सम्बद्ध कर्मचारी, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

 

 

प्रमुख समाचार

 लकडाउन डायरी निबन्ध लेख्ने उत्कृष्ट १० विद्यार्थीसँग महानायक राजेश हमालको अन्तरमन्थन लकडाउन डायरी निबन्ध लेख्ने उत्कृष्ट १० विद्यार्थीसँग महानायक राजेश हमालको अन्तरमन्थन

‘सूर्य गुराँसे रङ्गमा पोतिएर आफ्ना कोमल स्पर्शहरु छर्न आतुर थियो र पहाडका अन्तराकुन्तराबाट चिहाइरहेको थियो । चराचुरुङ्गीहरु चाचा र चुचु गर्दै रम ...

‘एसइइको आन्तरिक मूल्याङ्कन प्रक्रियामा स्थानीय तहलाई भूमिका नदिनु दुःखद’ ‘एसइइको आन्तरिक मूल्याङ्कन प्रक्रियामा स्थानीय तहलाई भूमिका नदिनु दुःखद’

२०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ)को आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशनको तयारी भइरहँदा स्थानीय तहको भूमिकालाई वेवास्ता गरिएको भन्दै जनप ...

२०७६ सालको एसइइ नतिजा आउँदो साता प्रकाशन गरिँदै २०७६ सालको एसइइ नतिजा आउँदो साता प्रकाशन गरिँदै

२०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजा आउँदो साता हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) का परीक्षा नियन्त्रक रामराजा खकुरेलले य ...