२०७८ असोज ४ गते / 20th Sep 2021, Monday
investment investment

सीपमूलक तालिममार्फत् नै उत्पादनशील रोजगारी

देशले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को दीर्घकालीन सोंच परिपूर्तिका लागि दक्ष जनशक्तिको आवश्यकता पर्छ । दक्ष जनशक्तिहरूलाई रोजगारी तथा स्वरोजगारीमा संलग्न गराई राष्ट्रिय उत्पादकत्वमा वृद्धि गरी दिगो र फराकिलो आर्थिक वृद्धि, उत्पादकत्वमा वृद्धि र उत्कृष्ट सेवा मार्फत दिगो विकास लक्ष्य हासिल गर्न सकिन्छ । यसका लागि प्राविधिक तथा व्यावसायिक शिक्षा र सीप विकास तालिम कार्यक्रम मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारको माग अनुसार योग्य, सक्षम, प्रतिस्पर्धी र उद्यमशील दक्ष जनशक्ति तयार गरी उत्पादनशील रोजगारीमा संलग्न गराउनु अत्यावश्यक हुन्छ ।


संसारभर फैलिएको कोभिड–१९ का कारणले देशमा अहिले शिक्षा, स्वास्थ्य, पर्यटन, यातायात, सेवा, निर्माण, कृषि, उद्योग आदि सबै क्षेत्रहरूमा नकारात्मक असर परेको छ । कोभिड–१९ का कारण स्वास्थ्यमा क्षेत्र उच्च जोखिमा छ । यस महामारीबाट जोगिन सरकारले सबै खालका उद्योग तथा कलकारखाना बन्दाबन्दी गरेको कारणले नेपालमा वस्तु तथा सेवाको उत्पादन गर्ने उद्योग व्यावसाय सञ्चालनमा छैनन् । यस क्षेत्रमा काम गर्ने अधिकांश कामदारहरूको रोजगारी गुमेको अवस्था छ । साथै, महामारीका कारण उद्योग व्यावसाय धाराशायी वनेका छन् । कोराना भाइरसको विश्वव्यापी महामारीको कारणले वैदेशिक रोजगारमा गएका नेपाली युवाहरूको समेत रोजगारी गुमेको छ । ठूलो संख्यामा रहेका उनीहरू नेपाल फर्कन तयार भएर बसेको अवस्था छ । यसबाट वार्षिक श्रम बजारमा आउने युवाहरूलाई समेत रोजगारीको चाप बढ्ने देखिन्छ ।


आगामी दिनमा सीपमूलक तालिम सञ्चालन गर्दा यस क्षेत्रका सरोकारवालाहरूसँग समन्वय तथा सहकार्य गर्दै तालिममा समावेशी र समतामूलक पहुँच विस्तार गर्नु अत्यावश्यक छ । श्रम बजारको माग अनुसार सीपयुक्त जनशक्ति उत्पादन गरी उत्पादनशिल रोजगारीका अवसरहरू सिर्जना गरेर देशलाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्नुपर्ने अवस्था छ । 

महामारीको विश्वव्यापी प्रभावका सन्दर्भमा हालसम्मको अनुमानमा आउँदो वर्ष करिव २६ लाख युवाहरूलाई देशभित्रै रोजगारी उपलब्ध गराउनेगरी सरकारले उच्च प्राथमिकताका साथ आय–आर्जन औद्योगिकरण तथा स्वरोजगारका कार्यक्रम ल्याउनुपर्ने देखिन्छ । यसको लागि नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, रोजगारीलाई उच्च प्राथमिकता दिइएको छ । रोजगारी सिर्जनाका लागि कृषि, वन, निर्माण, पर्यटन, सेवा, साना तथा मझौला उद्योग आदि क्षेत्रहरूको पहिचान गरी यसका लागि आवश्यक पर्ने सीपयुक्त जनशक्ति तयार गर्न पर्याप्त मात्रामा तालिमको व्यवस्था गर्नु आवश्यक छ ।


आगामी दिनमा सीप विकास तालिम सञ्चालन गर्दा रणनीतिक अभ्यास हुन अत्यावश्यक हुन्छ । पहिलो, स्थानीय तथा प्रदेश सरकारले प्राथमिकता तोकेको क्षेत्रमा केन्द्रित रही सो अनुसारका विषयगत क्षेत्र र तहका जनशक्ति तयार गर्ने । दोस्रो, उत्पादित जनशक्तिलाई स्थानीय तहमा नै रोजगारीका पर्याप्त अवसरहरू सिर्जना गर्ने । तेश्रो, उत्पादित सीपयुक्त जनशक्तिलाई श्रम बजारसँग जोड्न उद्योगी, व्यवसायी, संघ–संस्थाहरूसँगको सहकार्यमा तालिमका कार्यक्रम तयार गरी आपसी समझदारी र समन्वयमा सञ्चालन गर्ने । चौथो, तालिमका प्रशिक्षार्थीलाई कामको वास्तविक संसार (World of Work) सँग जोड्नका लागि प्रशिक्षणको क्रममा नै कार्यस्थलको सिकाइका विभिन्न प्रारुपहरू (on-the-job Training, Apprenticeship, Worker's Further Training, School based enterprises) को अवलम्बन गर्ने । पाँचौ, तालिमप्रदायक संस्थाहरूले विषयसँग सम्बन्धित ज्ञानका साथै पर्याप्त मात्रामा सीप सिक्ने अवसर सिर्जन गराउने । छैटौं, पर्याप्त मात्रामा पाठ्यक्रममा आधारित शिक्षण सिकाइ सामग्री विकास, प्रशिक्षणका लागि योग्य प्रशिक्षकहरू तयारी, पाठ्यक्रमअनुसार प्रयोगात्मक अभ्यासको सुनिश्चित गर्ने । सातौं, सीप विकास तालिमका कार्यक्रमहरूलाई प्रधानमन्त्री रोजगार कार्यक्रम तथा अन्य रोजगारीका कार्यक्रमहरूसँग जोड्ने । आठौं, तालिमपश्चात् उद्यमी बन्न चाहने युवाहरूलाई युवा स्वरोजगार कोष तथा अन्य वित्तिय संस्थाका उद्यमशीलता विकास कार्यक्रमहरूसँग जोडी साना उद्योग र व्यावसाय सञ्चालन गर्न प्रोत्साहित गर्ने ।


यी रणनीतिका आधारमा सीपमूलक तालिमहरू सञ्चालन गरी दक्ष जनशक्ति तयार गर्न सकेमा महामारीबाट अर्थतन्त्रमा पर्न सक्ने थप नकारात्मक प्रभावलाई कम गर्न सकिने देखिन्छ ।


बजारको माग अनुसार सीपयुक्त जनशक्ति तयार गर्ने उद्देश्य सरकारको आगामी वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा समावेश भएको अवस्था छ । सीपमूलक तालिमका कार्यक्रमहरूलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने उद्देश्यले एकीकृत तालिम सञ्चालन अवधारणालाई आत्मासाथ गरिएको छ । सरकारको यस कार्यक्रमलाई मूर्त रुप दिन तालिमप्रदायक संस्थाहरूले विगत वर्षहरूमा गर्दै आएका अभ्यासमा परिवर्तन हुन अत्यावश्यक छ । आ–आफ्नो संस्थागत क्षमता र विज्ञता अनुसार सीपमूलक तालिमका कार्यक्रमहरू सञ्चालन गर्दा प्राविधिक तथा व्यावसायिक शिक्षा र सीप विकास तालिम सम्बद्ध निकायहरू जस्तैः श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, श्रम तथा सीप विकाससम्बन्धी निकायहरू, निजी क्षेत्रका उद्योग व्यावसायीहरूको पेशागत संघ–संगठनहरू, रोजगारदाता, प्रदेश सरकार, स्थानीय सरकार, विकास साझेदार संस्था र अन्य तालिम प्रदायक संस्थाहरूसँग प्रभावकारी समन्वय र सहकार्य गर्नु आवश्यक छ ।


तालिमप्रदायक संस्थाले तालिम सञ्चालन गर्नुपूर्व उपर्युक्त निकायहरूसँग समन्वय र सहकार्यका लागि देहायको विधि र प्रक्रिया अवलम्बन गरी सीप विकास तालिमहरू सञ्चालन गर्ने वातावरण तयार गरेमा श्रम बजारको मागअनुसारका सीपयुक्त जनशक्ति उत्पादन गरी उत्पादनशिल रोजगारीका अवसरहरू सिर्जना गर्न सकिने देखिन्छ ।


क) श्रम बजारको माग विश्लेषणः तीनैै तहका सरकारहरू सँग समन्वय गरी सरकारले तय गरेका प्राथमिकताका क्षेत्रहरूको अध्ययन गर्ने । क्षेत्रगत आवश्यकताअनुसार स्थानीय स्रोत र साधनको पूर्वानुमान गर्ने । उपलब्ध स्रोत र साधनको समुचित उपयोग हुनेगरी विशिष्टिकृत सीप विकास तालिमको पहिचान गर्ने । स्थानीय आवश्यकतामा विषय, क्षेत्र र तहमा समावेशी र समतामूलक पहुँच पुग्ने गरी तालिम कार्यक्रम सञ्चालन हुनु पर्छ । सरकारले पहिचान गरेको राष्ट्रिय गौरवका आयोजना, रुपान्तकारी आयोजना (Game Changer Project) र स्थानीय उद्योगग्रामका लागि आवश्यक प्राविधिक जनशक्तिहरूको प्रक्षेपण गर्न सो को आधारमा प्रावधिक जनशक्ति तयार गरी श्रम बजारमा आपूर्ति गर्नु पर्छ ।


ख) प्रशिक्षार्थीको पहिचान तथा छनोटः आवश्यक जनशक्तिको प्रक्षेपणमा केन्द्रित भई सीप सिक्न रुचि र क्षमता भएका व्यक्तिहरूमध्येहरूबाट प्रशिक्षार्थी छनोट गर्नु पर्छ । तालिममा सहभागी हुने तर अधिकतम प्रयास र प्रतिबद्धताका साथ सीप विकासमा सक्रिय नहुने एवं तालिमपश्चात् रोजगारीका क्षेत्रमा प्रवेश गर्न आकर्षित नहुनेखालका प्रशिक्षार्थीहरू छनोट भएको तितो अनुभवका कारणले आगामी दिनमा प्रशिक्षार्थी छनोट गर्दा प्रदेश सरकार तथा स्थानीय तहसँगको समन्वय र सहकार्यमा तालिमपश्चात् तालिमको सही उपयोग हुने सुनिश्चिता गरी प्रशिक्षार्थी छनोट गर्नु पर्छ । प्रशिक्षार्थीहरूको छनोट गर्दा आवश्यकता, व्यक्तिको रुचि र क्षमतालाई विशेष ध्यान दिनु पर्छ ।


ग) बजार सान्दर्भिक पाठ्यक्रमको निर्माणः सीप विकास तालिमको उपयोगिता त्यस तालिमको पाठ्यक्रमले निर्धारण गर्दछ । पाठ्यक्रम निर्माण तथा परिमार्जन गर्दा श्रम बजारको आवश्यकता विश्लेषण गरी सोही आधारमा गर्नु पर्छ । बजार सापेक्ष पाठ्यक्रम विकासका लागि उद्योगी, व्यवसायी र संघ–संस्था (BIAÚs) एवं रोजगारदाताको संस्थागत सहभागितामा हुनु पर्छ । उत्पादन र सेवासँग सम्बन्धित विशेष पेशाका विषयहरूमा आधारित पाठ्यक्रम निर्माणमा प्राथमिकता दिनु पर्छ। व्यक्तिको सर्वाङ्गीण विकासको लागि नैतिक एवं राष्ट्रिय हितप्रति समर्पित दक्ष प्राविधिक जनशक्ति तयार गर्न पाठ्यक्रमका विषयसँग सम्बन्धित ज्ञान र सीपको साथै व्यावहारिक सीप (soft skill) समेत समावेश गर्नुपर्ने देखिन्छ ।


घ) प्रशिक्षक तयारीः प्रशिक्षण कार्यमा संलग्न हुने प्रशिक्षकहरूमा तोकिएका तालिम क्षेत्रसँग सम्बन्धित सक्षमता हुनु नितान्त जरुरी छ । विषयगत योग्यताका अतिरिक्त प्रशिक्षण विधि र तालिम सञ्चालनसम्बन्धी दक्षता हुनुको साथै वास्तविक कामको संसारको अनुभवसमेत भएको हुनु पर्नेछ । जसबाट प्रशिक्षकहरूले प्राविधिक शिक्षाका विद्यमान सिद्धान्त र श्रम बजारमा हुने अभ्यासलाई जोडी तालिम सञ्चालन गर्न सक्छन् ।


ङ) तालिम सञ्चालनः कार्यस्थलको सिकाइ सुनिश्चित हुनेगरी तालिम कार्यक्रम सञ्चालन गर्नु पर्छ । तालिमको अवधिमा सहभागीहरूलाई सैद्धान्तिक ज्ञानको साथै सम्बन्धित विषयमा बढीभन्दा बढी प्रयोगात्मक अभ्यास गर्ने वातावरण बनाउनु पर्छ । यसका लागि तालिमप्रदायक संस्थाहरूले स्थानीय तहमा रहेका विषयगत क्षेत्रका सहकारी, कृषक एवं वन समूह, उपभोक्ता समिति, उद्योगी, व्यावसायी र रोजगादातासँग समन्वय गरी प्रयोगात्मक अभ्यासको सुनिश्चितता गर्नु पर्छ । यसरी प्रयोगात्मक अभ्यास गराउँदा तालिमको पाठ्यक्रम निर्माण तथा परिमार्जनका क्रममा सहभागी भएका उद्योगी, व्यवसायी र संघ–संस्था (द्यक्ष्ब्’क) एवं रोजगारदातासँग सहकार्य तथा समन्वय गरी रोजगारीको प्रत्याभूत हुने अवस्था सिर्जना गर्नु पर्छ ।


च) नियमित अनुगमन तथा मूल्याङ्कनः तालिमका प्रशिक्षार्थीहरूले पाठ्यक्रममा तोकिएअनुसारका ज्ञान र सीप सिक्न सक्ने वातावरण तालिमप्रदायक संस्थाहरूबाट सम्पन्न गरे/नगरेको एकिन गर्न अनुगमन तथा मूल्याङ्कन गर्ने व्यवस्था गर्नु पर्छ । तोकिएको कार्यतालिका अनुसार प्रशिक्षण भए/नभएको, शैक्षिक सामग्रीको उपलब्धता, प्रशिक्षकको योग्यता र अनुभव आदिको सम्बन्धमा प्रदेश सरकार, स्थानीय सरकार, रोजगारदाता तथा विज्ञहरूको सहभागितामा अनुगमन तथा मूल्याङ्कन गर्नुपर्छ । अनुगमन तथा मूल्याङ्कनलाई दुई प्रकारबाट व्यवस्थित गर्नु पर्छ । पहिलो नियमनसँग सम्बन्धित गर्ने । तोकिएका पाठ्यक्रम समय तालिका विधि तथा प्रक्रिया अनुसार तालिम कार्यक्रम सञ्चालन भए /नभएका यकिन गरी व्यवस्थित गरिने । दोस्रो अनुगमन तथा मूल्याङ्कन बढी सहयोगात्मक प्रकृतिको हुनु पर्छ । तालिम सञ्चालनमा परेमा समस्या पहिचान गरी कार्यथलोमा आधारित सहजीकरण तथा प्रशिक्षणमा उचित सहयोग र सल्लाह प्रदान गरी गुणस्तरीय प्रशिक्षणको सुनिश्चित गर्ने गरी व्यवस्थित गरिनु पर्छ ।


छ) तालिमको प्रमाणीकरणः तालिमका प्रशिक्षार्थीहरूले तोकिएको पाठ्यक्रम अनुसार प्राप्त हुनुपर्ने ज्ञान र सीप प्राप्त गरेको सुनिश्चिता भएपछि तालिमप्रदायक संस्थाहरूबाट तालिम सम्पन्न गरेको प्रमाण पत्र वितरण गर्नु पर्नेछ ।


ज) सीप प्रमाणीकरणः औपचारिक तथा अनौपचारिक पद्धतिबाट सिकेका वा कार्य अनुभवबाट प्राप्त गरेको ज्ञान, सीप र दक्षतालाई परीक्षण गरी व्यक्तिले आफूभित्र रहेको सीपलाई प्रमाणीकरण गर्ने गरेका छन् । यसबाट व्यक्तिले हासिल गरेको तल्लो तहको सीपबाट माथिल्लो तहको सीपमा र शिक्षा पद्दतिमा विभिन्न तहमा जाने बाटो खुल्ला गर्ने र यस प्रमाणपत्रलाई स्वदेश तथा विदेशका श्रम बजारमा समेत मान्यता पाउने व्यवस्था छ । प्रशिक्षार्थीहरूलाई तालिमपश्चात् राष्ट्रिय सीप परीक्षण समितिको सीप प्रमाणिका मुताविक निर्धारित प्रक्रिया पूरा गरी सीप परीक्षण गराइ परीक्षणमा सफल हुने सबै प्रशिक्षार्थीहरूलाई निर्दिष्ट स्तरको राष्ट्रिय सीप प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गर्नु पर्नेछ । वैदेशिक रोजगारीबाट विभिन्न सीप आर्जन गरी स्वदेश फर्केका युवाहरुलाई यस कार्यक्रममा समावेश गर्न सकेका उनीहरुले रोजगारीको सम्भावना बढी हुने देखिन्छ ।


झ) तालिमपश्चात्को सहयोगः तालिम सम्पन्न गरेका प्रशिक्षार्थीहरूलाई स्वरोजगार तथा उद्यमी बन्नका लागि वित्तिय संस्थाहरू जोड्ने कार्यमा सहजीकरण गर्नु पर्छ । तालिम सम्पन्न गरेको प्रमाणपत्रका र सीप प्रमाणीकरणको आधारमा युवा स्वरोजगार कोषलगायत अन्य वित्तिय संस्थाहरूले अनुदान उपलब्ध गराउने, सहुलियत व्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गर्नु पर्छ । प्रधानमन्त्री रोजगारका कार्यक्रमहरूलाई समेत तालिमसँग जोड्दै आवश्यकताअनुसारका सीप विकास तालिमहरू सञ्चालन गर्नु पर्छ ।


ञ) उत्पादनको बजारीकरणः तालिमपश्चात् उद्यमी बनेका प्रशिक्षार्थीहरूबाट उत्पादित वस्तु तथा सेवाको बिक्री वितरणमा स्थानीय सरकारबाट सहजीकरणको आवश्यकता पर्छ । उत्पादित वस्तु तथा सेवाको बिक्री वितरण हुने सुनिश्चितता गराई उत्पादनमुखी कार्यमा लाग्न हौसला बढाउनु पर्छ ।


ट) पुनर्ताजगी तालिम सञ्चालनः विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको लागि विशेष प्रकृतिको तालिम कार्यक्रम तय गर्नु पर्छ । वैदेशिक अनुभवमा प्राप्त सीपको विश्लेषण गरी सक्षमता सक्षमता अभिवृद्धि हुनेगरी पुनर्ताजगी तालिम सञ्चालन गर्नु पर्छ । स्थानीय श्रम बजारमा जोड्ने गरी पुनर्ताजगी तालिम सञ्चालन गर्नु अत्यावश्यक छ । विदेशमा सिकेका सीप र ज्ञानलाई स्वदेशमा प्रयोग गर्ने वातावरण सिर्जना गर्न उनीहरूको रुचि र क्षमता अनुसारका पुनर्ताजगी तालिम प्रदान गर्नु पर्छ ।


ठ) स्रोत व्यवस्थापनः सीपमूलक तालिम कार्यक्रमहरूलाई तालिमप्रदायक संस्था, संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, सहकारी, उद्योगी, व्यावसायी तथा रोजगारदाता, विकास साझेदार संस्था र निजी क्षेत्रबीच लागत साझेदारीका आधारमा सञ्चालन गर्न सकिएमा तालिमको प्रभावकारी लाभ लिन सकिने देखिन्छ । तीनैै तहका सरकारले यस क्षेत्रमा गर्ने लगानीलाई एकीकृत गरी एकद्वार प्रणालीबाट गर्न सकेमा कार्यक्रम सञ्चालनमा देखिएका दोहोरोपनामा कमी र लागत प्रभावकारी हुने देखिन्छ । तालिम सञ्चालन खर्च, प्रशिक्षार्थीको आर्थिक तथा सामाजिक अवस्थाअनुसार आवसीय सुविधा, तालिमपश्चात् उद्यमी बन्नका लागि वित्तिय तथा भौतिक सहयोग जस्ता शीर्षकमा हुने खर्चहरुलाई विभिन्न निकायहरुबीच समन्वयकारी ढङ्गले स्रोतको व्यवस्थापन गरी कार्यक्रम सञ्चालन गर्न सके स्रोत र साधनको समुचित प्रयोग भई गुणस्तरीय तालिम सञ्चालन हुने निश्चित छ । समन्वयकारी ढङ्गले सञ्चालन भएका यस्ता कार्यक्रमहरुबाट बढी प्रतिफल प्राप्त गर्न सक्ने देखिन्छ ।


अन्त्यमा,


कोभिड–१९ बाट विश्व अर्थतन्त्रमा परेको प्रभाव जस्तै नेपालमा पनि नकारात्मक असर परेको छ । अर्थतन्त्रलाई चलायमन बनाउन उत्पादकत्वमा वृद्धि गर्ने र दिगो एवं फराकिलो आर्थिक वृद्धिका लागि युवाहरूको क्षमता विकास र उद्यमशीलता निर्विकल्प सावित भएको छ । एकातर्फ धरासायी हुने अवस्थाका उद्योग कलकारखानाको पुनर्जीवन दिनुपरेको छ भने अर्कोतर्फ कृषि, वन, पर्यटन, निर्माण, उर्जालगायतका उत्पादनमुखी क्षेत्रहरूमा विविधिकरण र आधुनिकीकरण गरी रोजगारीका पर्याप्त अवसरहरू सिर्जना गर्नुपर्ने राष्ट्रिय दायित्व बन्न गएको छ । यसका लागि प्राविधिक तथा व्यावसायिक शिक्षा र सीप विकास तालिमलाई थप प्राथमिकरण तथा विविधिकरण गरी व्यवस्थित गर्नु अपरिहार्य भएको छ ।


आगामी दिनमा सीपमूलक तालिम सञ्चालन गर्दा यस क्षेत्रका सरोकारवालाहरूसँग समन्वय तथा सहकार्य गर्दै तालिममा समावेशी र समतामूलक पहुँच विस्तार गर्नु अत्यावश्यक छ । श्रम बजारको माग अनुसार सीपयुक्त जनशक्ति उत्पादन गरी उत्पादनशिल रोजगारीका अवसरहरू सिर्जना गरेर देशलाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्नुपर्ने अवस्था छ । सरकारले घोषणा गरेअनुसार आगामी वर्षमा सीप विकासमा कार्यक्रमहरू सञ्चालन गर्दा प्रदेश सरकार, स्थानीय सरकार एवं श्रम बजारसँगको समन्वय र सहकार्यमा सरकारी क्षेत्रमा कार्यरत प्राविधिक जनशक्ति विकास तथा परिचालनमा सक्रिय निकायहरूसँगको सहकार्य र समन्वय समेतका आधारमा गर्नु पर्छ । यसो हुन सकेमा कोभिडबाट सिर्जित अर्थतन्त्रमा परेको गम्भीर प्रभाव कम गर्न र सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ निर्माणमा कोशेढुङ्गा सावित हुन जान्छ । यसका लागि सरकार, श्रम बजार, सीपमूलक तालिमप्रदायक निकायहरू, गैरसरकारी निकाय, निजी लगानीमा सञ्चालित तालिमप्रदायक निकायहरू, उच्च शिक्षामा संलग्न प्राविधिक विश्विविद्यालयहरूसमेतको समन्वय, सहकार्य र प्रतिबद्धता जरुरी छ । देशको प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिमको क्षेत्रमा कार्य गर्न शीर्ष संस्था (Apex Body) को रुपमा स्थापना भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् यस प्रकारको कार्यक्रम कार्यान्वयन गर्न समन्वय र सहकार्यमा सहजिकरणको भूमिकामा सक्रिय हुनु आजको आवश्यकता बनेको छ ।


(लेखक, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का निर्देशक हुनुहुन्छ ।)

 

प्रमुख समाचार

 सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै  सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै

सरकारले कोरोना महामारीका बेला वैकल्पिक सिकाइका लागि भन्दै ३४ लाख विद्यार्थीलाई सियुजी (क्लोज युजर ग्रुप) सेवामा जोड्ने लक्ष्य राखेपनि जम्मा ५ हजार बाल ...

‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष ‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष

‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् । कार्टुन ...

गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले ...