प्रा.डा. नन्दबहादुर सिंह मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकूलपति हुनुहुन्छ । उहाँ जिन विशेषज्ञ हुनुहुन्छ । द युनिभर्सिटी अफ टोकियोबाट नेपालका विभिन्न जनजातिहरुमा रोगका विरुद्ध लड्न सक्ने जिनहरुमा उहाँले पिएचडी गर्नुभएको छ । कोभिड–१९ को महामारी फैलिरहेका बेला कस्ता मानिसले रोगसँग प्रतिरोध गर्न सक्छन्, कस्ताले सक्दैनन् भन्ने सम्बन्धमा उहाँसित कुराकानी गरिएको छ । वरिष्ठ जिन विशेषज्ञ प्रा.डा. सिंह भन्नुहुन्छ–
बेलायतलगायत यूरोपमा सन् १३४७ देखि शुरु भएर १७ औं शताब्दीसम्म पटक–पटक गरी प्लेगको महामारीले ७ करोड ५० लाखदेखि २० करोडसम्म मानिस मरे । जसलाई ‘ब्ल्याक डेथ’ भनियो । सन् १९१८ मा स्पेनिस फ्लूले लाखौंको ज्यान गयो । सन् २००२ मा सार्स कोबले मानिस हताहत बने । त्यस्तै सन् २०१२ मा साउदी अरबमा मर्स कोबको महामारी आयो । अहिले २०१९/०२० मा कोरोना भाइरस (कोभिड १९) ले विश्वभर महामारीको रुप लिइरहेको छ ।
यो महामारीलाई जिनेटिक दृष्टिले यहाँ विश्लेषण गर्न खोजिएको छ । भाइरोलोजी अनुसार पृथ्वीमा धेरै भाइरस स्प्रेड हुन्छन् । खासमा भाइरस दुईखाले हुन्छन् । एउटा सिङ्गल स्ट्रान्डेड र अर्काे डबल स्ट्रान्डेड । कोभिड १९ सिङ्गल स्ट्रान्डेड mRNA भाइरस हो ।
चीनको उहानबाट कोरोना भाइरस (कोभिड १९) संक्रमण शुरु भयो । त्यहाँ शुरुमा पाँचजना संक्रमितलाई आइसोलेसनमा राखियो । तिनीहरुमा संक्रमित कोरोना भाइरसको जिनोम हेरियो । एनसिबिआईको डाटाबेसमा जिनमलाई फ्रि पाउनेगरी राखियो । यसलाई अमेरिकी र अष्ट्रेलियाली वैज्ञानिकले पनि अध्ययन गरे । त्यसबाट के पुष्टि भयो भने कोरोना भाइरस कुनै प्रयोगशालामा निर्मित वा ‘जेनेटिकल्ली मोडिफाइड’ नभई प्राकृतिक नै हो । बरु, यो चमेरा र प्याङ्गोलिनको डिएनएसँग मिल्न गयो । अझ चमेराको डिएनएसँग ९० प्रतिशत नै मिल्न गयो ।
कोभिड १९ लाग्दा कस्ता बाँच्छन्, कस्ताको मृत्यु हुन्छ ?
कोरोना भाइरस संक्रमित हुनेबित्तिकै मरिहालिन्छ भन्ने मनोवैज्ञानिक त्रास र आतङ्क मानिसमा देखिन्छ । तर यो सही होइन । यसलाई जेनेटिक्स कोणबाट हेर्नुपर्ने हुन्छ । कस्तो जिन भयो भने कोरोना भाइरस लागेपनि मानिस बाँच्न सक्छन् ? यो अहिलेको चासो हो । हामीसँग दुईखाले जिन हुन्छन् । एउटा रेजिस्टेन्ट र अर्काे ससेप्टिबल जिन ।
रेजिस्टेन्ट जिन जुन LY6E हो । यो जिनको बढी मात्रा भएका व्यक्तिसँग भाइरससँग लड्न सक्ने प्रतिरोधी क्षमता बढी हुन्छ । यसले Increased expression गराउँछ । हाम्रा ४६ वटा क्रोमोजोम हुन्छन् । तीमध्ये LY6E आठौंं हो । अमेरिकाको युनिभर्सिटी अफ टेक्सास साउथवेस्टर्न (UTSW) का एसोसिएट प्रोफेसर Dr. John Schoggins ले अध्ययन गरेर यो निष्कर्ष निकालेका हुन् । जो व्यक्तिसँग LY6E को मात्रा कम हुन्छ, इम्युनिटी पावर (प्रतिरोधी क्षमता) पनि ऊसँग कम हुन्छ । उसले भाइरससँग लड्न सक्दैन । उमेर पुगेका व्यक्तिसँग इम्युनिटी पावर कम हुने हुँदा उनीहरु भाइरसबाट बढी प्रभावित हुन्छन् ।
ससेप्टिबल जिनअन्तर्गत MBL पर्दछ । Mannose Binding lectin दशौं नं को क्रोमोजोममा पर्छ । MBL भएका व्यक्तिमा रोग प्रतिरोधी क्षमता कम हुन्छ । ससेप्टिबल जिनले भाइरसलाई उत्तेजित बनाउँछ । यसले Mutation अर्थात् उत्परिवर्तन गराउँछ । MBL जिनमा रहेको कोडन ५४ मा उत्परिवर्तन (mutation) भएका व्यक्तिको भाइरसबाट बढी हताहती हुने सम्भावना रहन्छ । यसमा छिटो संक्रमण हुन्छ । सानो रोग भएपनि प्रतिरोध क्षमता कम भएका कारण मान्छे मर्न सक्छ । इटाली, स्पेनलगायतका यूरोपेली देशमा कोरोना भाइरसबाट बढी मानिसको मृत्यु हुनुको कारण यही हुन सक्छ । त्यहाँका मानिसका MBL जिनमा म्यूटेसन भएको हुनु पर्छ ।
नेपालमा के होला ?
यदि नेपालको जनसंख्यामा LY6E को मात्रा कम र MBL जिनको codon 54 मा उत्परिवर्तन (mutation) भयो भने मात्र महामारी बढ्ने तथा मृत्युदर धेरै हुने खतरा हुन्छ । दक्षिण एशियाली देशहरुमा लसुन, अदुवा, कागती खाने प्रवृत्ति छ । भातभान्छामा यी चिज प्रायः हुने गर्छन् । योगा यहाँको जीवन पद्धति हो । यस्ता खाद्य पदार्थ र योगाले मानिसको इम्युन पावर बढाउँछ । जसले LY6E जिनलाई सक्रिय बनाउँछ । यहाँका मानिसमा LY6E जिनको प्रभाव बढी छकि छैन, अध्ययन नगरी भन्न सकिँदैन ।
मूलतः नेपालका विभिन्न जनजातिमा मोलिक्युलर विश्लेषण गर्न आवश्यक छ । यो उच्चस्तर (ए लेभल)को रिसर्च हो । मेडिकल जिनोमिक्स एण्ड मोलिक्युलर बायोलोजीको ल्याब खडा गरी रिसर्च गर्न आवश्यक छ । कुन जातमा कस्तो जिन छ भन्ने पत्ता लागेपछि त्यही अनुसारको उपचार सिफारिश गर्ने अवस्था आउँछ । यसलाई जिनोमिक्स मेडिसिन भनिन्छ । अहिलेको उपचार पद्धति जनरल मेडिसिन हो ।
आशा पनि जागेको छ
कोरोना भाइरस (कोभिड १९) को महामारीले विश्वमै आतंकित अवस्था सिर्जना गरिरहँदा यसविरुद्ध भ्याक्सिन बनाउने प्रयासमा वैज्ञानिकहरु जुटेका छन् । चीनमै पाँचवटा एप्रोचबाट भ्याक्सिन बनाइएको छ, जुन परीक्षणमा जाँदैछ । अमेरिकाले चीनभन्दा एक दिनअघि बनाएको बताएको छ । यति छिटो भ्याक्सिन बन्नु सुखद हो । तर यी सबै ट्रायलमै छन् ।
मुख्यतः भाइरसको DNA परिवर्तन भइरहन्छ । छिटो–छिटो डिएनए परिवर्तन भइरहने भाइरसविरुद्ध खोप बनाउन गाह्रो हुन्छ । छिटो र ढिलो हुने दुईखाले डिएनए छन् । न्यूक्लिएर र माइक्रोकोन्ड्रियल डिएनए । माइक्रोकोन्ड्रियल डिएनए न्यूक्लिएरभन्दा दशगुणा छिटो परिवर्तन हुन्छ ।
आशालाग्दो पक्ष के छ भने कोरोना भाइरसको डिएनए छिटो–छिटो परिवर्तन भएको देखिँदैन । HIV को तुलनामा कोभिड १९ को डिएनए धेरै ढिलो परिवर्तन भइरहेको छ । यसबाट पनि अहिले परीक्षणमा रहेका खोप तथा औषधी सफल बन्न सक्ने आशा गर्न सकिन्छ ।
अहिलेसम्म एन्टिबडी भ्याक्सिन आविष्कार गरिएका छन् । अब जेनेटिक भ्याक्सिनको युग आयो । कुनै न कुनै समयमा भाइरसको खतरा रहिरहन्छ । अब जिन विश्लेषणका आधारमा ‘पर्सनलाइज मेडिसिन’ दिने समय आएको छ ।
प्रस्तुतिः सुदर्शन सिग्देल
‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् । कार्टुन ...
प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले ...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिव फेरिएका छन् । सचिव गोपीनाथ मैनालीको ठाउँमा युवा तथा खेलकुद मन्त्रालयबाट रामप्रसाद थपलियालाई ल्याइएको छ । ...
Comments