२०७७ कार्त्तिक १४ गते / 30th Oct 2020, Friday
investment investment

वाणी विकास र पढाइ सीप विकासको अन्तरवस्तु

विभिन्न जीवहरूले आफ्नो इच्छा, सुख, दुःखलाई विविध सङ्केत, आवाजका माध्यमबाट प्रकट गर्छन् । यसरी प्रकटित आवाजका आधारमा त्यस जीवको अवस्थाको बारेमा जानकारी लिन सकिने जीवशास्त्रीहरूको ठम्याई छ । मान्छेबाहेकका जीवहरूले प्रकट गर्ने यस्ता आवाज सङ्केतहरू सीमित प्रकारले वर्गीकरण वा विशिष्टिकृत गर्न सकिने हुन्छ । तर, मान्छेले आफ्नो आवाज वा ध्वनिलाई धेरै किसिममा विशिष्टिकृत मात्रै गरेन बरु यसलाई प्राकृतिक स्वरुपबाट परिष्कृत गर्दै अभ्यास गर्न योग्य अनि तिनै अभ्यासबाट सिक्न योग्यसमेत बनायो । हाल संसारमा रहेका विभिन्न भाषा र तिनको सिकाइलाई यसको उदाहरणका रूपमा लिन सकिन्छ ।


लिपिको विकास हुनुपूर्व भाषालाई भौतिक रूपमा देख्न, पढ्न, बुझ्न सकिने अवस्था थिएन । ध्वनि सचेतनाकै अभ्यासबाट भाषा सिकिने र व्यवहार चलाउने हुन्थ्यो, जुन कुरा आज पनि निरक्षर वृत्तमा चल्दै आएको छ । लिपिको विकास हुनुपूर्व पनि थुप्रै ज्ञान सङ्ग्रहित भएका थिए । ती ज्ञान सङ्ग्रह श्रुति परम्पराबाटै बाँचेका थिए र सोही परम्पराबाटै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै आएका थिए । यसरी पुस्तानुपुस्ता श्रुति पद्धतिबाट हस्तान्तरण हुँदै आएका ज्ञानलाई श्रुति भनियो । त्यसैले वेदलाई श्रुति भनिने कथन प्रसिद्ध छ ।


हुन त, लिपिको विकास नहुँदै पनि पठनपाठन प्रक्रिया चलेचलाएको कुरा माथिकै श्रुति परम्पराले प्रमाणित गर्यो । जब लिपिको विकास भयो तब ज्ञान गठरीको अभौतिकतालाई (देख्न पढ्न नसकिने अवस्थालाई) भौतिक स्तरमा (देख्न, पढ्न सकिने अवस्थामा) रूपान्तरण गर्न सकिने भयो । यसले ज्ञान तथा सीप सुरक्षणमा पनि ठूलो मद्दत पुर्यायो । उच्चारण अङ्गको अक्षमताका कारण भाव सम्प्रेषणमा पर्न जाने समस्या पनि लिपि विकासका कारणले केही हदसम्म हल भयो । (जस्तो र लाई ल उच्चारण गर्ने समस्या भएका व्यक्तिले ‘रामुका खलक खरकमा गए’ भन्नुपर्दा ‘लामुका खलक खलकमा गए’ भनिने हुन्थ्यो । तर अक्षर वा भनौं लिपिको विकास भएपछि शुद्धसित भन्न नजाने पनि शुद्धसित लेखेर देखाउन सकिने भयो ।)


सामान्य रूपमा भन्नुपर्दा कण्ठ, तालु, मूद्र्धा, दाँत, ओँठ, जिभ्रो, नाक आदि अङ्गको संयोजनबाट अर्थपूर्ण ध्वनि निकालेर आफ्नो भावना अरूलाई सम्प्रेषण गर्ने ध्वनिलाई वाणी भनिन्छ । माथि उल्लिखित अङ्गहरूमा केही गडबडी भएमा चाहेको जस्तो, सोचेको जस्तो ध्वनि निकाल्न सकिँदैन । जसले गर्दा स्थापित मानक ध्वनिको अभावमा भाव वा भनौं भावना, विचार सम्प्रेषणमा बाधा, अबरोध सिर्जना हुन्छ ।


के ध्वनि उच्चारणका अङ्गहरूको खराबीले मात्रै वाणी निर्माणमा अबरोध आउने हो ? यसका लागि के कस्ता आधारभूत पृष्ठभूमिको आवश्यकता पर्छ ? यी प्रश्नहरूका बारेमा प्राचीनकालदेखि नै निकै खोज अनुसन्धान हुँदै आएका छन् ।


पहिलो कुरा त, वाणी वा ध्वनि उच्चार्य अङ्गहरू सबल स्वस्थ भएपनि जसले सुन्न सक्दैैन, उसले बोल्न सक्दैन भन्ने स्थापित प्रमाण छँदैछ । यसले के देखाउँछ भने वाणी श्रुति सिकाइको अमूल्य पुख्र्यौली निधि सङ्ग्रह हो । अन्तर्क्रियात्मक सिकाइको बेजोड नमूना हो । यही कारणले गर्दा वाणी उच्चार्य अङ्गको बनोटमा वैयक्तिक भिन्नता रहेपनि अभ्यासका कारणबाट नै कुनै पनि भाषाको साझा ध्वनि उच्चारण गर्न सम्भव हुन सकेको हो ।


घर परिवारले एक बच्चालाई भाषा सिकाउन धेरै समय र प्रयत्नको लगानी गरेको हुन्छ । यसको खासै लेखाजोखा गरिएको हुँदैन । त्यसमा पनि सबैभन्दा धेरै लगानी आमाको हुन्छ । त्यसैले कसैको उसको परिवारमा बोलिने भाषालाई निजको मातृभाषा भन्ने गरिएको हो । आमाको, परिवारको, ऊ आफ्नै वैयक्तिक भिन्नताअनुसार बालबालिकाले आ–आफ्नै किसिमले कुनै ध्वनि, शब्द, वाक्य उच्चारण गर्न सिकेको हुन्छ । जस्तो कि कुनै परिवारमा सबैको अलि चर्को बोल्ने स्वभाव छ भने त्यस्ता परिवारमा हुर्केको बालबालिकाले सामान्य अवस्थामै पनि अलि चर्को बोल्छन् । शुद्ध उच्चारण गर्ने परिवार छ भने त्यस परिवारका बालबालिकाले पनि शद्ध उच्चारण गर्ने गर्छन् ।


परिवारमा थुप्रै प्रारम्भिक भाषिक सीप सिकेका बालबालिका विद्यालय आउँदा उनीहरूको भाषिक सीपले थुप्रै ठाउँमा हन्डरठक्कर खाने अवस्था आउँछ । साथीसित, शिक्षकसित, समुदायका व्यक्तिसितको अन्तर्क्रियाले उनीहरूले आफ्नो भाषिक सीपलाई परिमार्जित तथा परिष्कृत गर्दै, माझ्दै जान्छन् र त्यस विद्यालय क्षेत्रभित्रको साझा भाषा बनाउने प्रयत्नमा रहन्छन् । परिवार, छरछिमेक, साथीसितको बोलीचालीबाट सिकिएको कथ्य भाषाले बालबालिकाको अन्तर्क्रिया गर्ने सीप विकासमा सहयोग पु¥याउँछ । कथ्य भाषाको सम्वाद अभिलेखित नहुने, ज्यादा अनौपचारिक हुनुले पनि बालबालिकालाई भाषिक त्रुटि सच्याउँदै अभ्यास गर्दै अघि बढ्न सजिलो हुन्छ । अर्थात् अलिखित भएकाले सानोतिनो गल्तिमा चर्को मुद्दा बन्ने समस्या हुँदैन ।


वाणी विकासका सन्दर्भमा धेरै खोज अनुसन्धान भएका छन् । वाणी मानव जातिकै एक विशिष्ट अभिव्यक्ति कार्य क्षमताको सूचक हो । त्यसो त, सबै मान्छेमा वाणी क्षमता हुँदैन भन्ने कुरा स्पष्ट भइसकेको छ । श्रवण शक्ति शून्य हुनेको के वाणी विकासको पृष्ठभूमि पनि शून्य नै हुन्छ त ? यस्ता प्रश्नका जवाफका लागि हाम्रा पूर्वजले वाणी विकासका चार चरणहरूको व्याख्या गरेका छन् । ती चरणहरू यस प्रकार छन्—


१.परावाक्— बोल्नका लागि सबैभन्दा पहिले मस्तिष्कले योजना गर्छ । परावाक् अवस्था व्यक्तिले बोली बोल्ने योजनाका लागि मष्तिष्कमा भावना तरङ्गित हुने अवस्था हो । यो अव्यक्त अवस्था हो । यसलाई वाणी विकासको सुषुप्ति अवस्था भन्न सकिन्छ । जसरी सुख्खा मकैको बीउको दानामा हेर्दा कुनै टुसो वा अंकुर देखिँदैन तर माटोमा रोप्दा टुसाउँछ । सो दानामा सुषुप्त रहेको टुसो उपयुक्त वातावरण आउनासाथ प्रकट हुन थाल्छ । वाणी विकासमा परावाक् चरण पनि त्यस्तै सुषुप्त र अव्यक्त चरण हो । यस चरणमा वाणी विकासका अति प्रारम्भिक तरङ्गहरू तरङ्गित हुन्छन् र दोस्रो चरणतिर सङ्क्रमित हुन्छन् ।


२. पश्यन्तिवाक्— परावाक् चरणमा सुषुप्त अवस्थामा तरङ्गिएको वाणी यस चरणमा आन्तरिक रूपमा दृश्यमान हुन्छ । अर्थात्् मन मस्तिष्कमा कता कता देखे जस्तो, कता–कता सुने जस्तो भान सिर्जना हुन्छ । चिन्तनमा नव सिर्जना टुसाउने अवस्था पनि यही हो । वेदका मन्त्र सिर्जना गर्ने ऋषि ऋषिकालाई ‘मन्त्र द्रष्टा’ भनिनुको अर्थ पनि यही हो । माटोमा रोपिएको मकैको बीऊ टुसाउने तर माटोबाहिर नआइसकेको अवस्था जस्तो ।


पश्यन्तिवाक् सन्दर्भमा बेन्जिन रसायनका सूत्र आविष्कारक जर्मन वैज्ञानिक केकुलेको सपनाको घटना बडो अनौठोको छ । केकुलेले बेन्जिनको अध्ययन गर्दा त्यसका धेरै गुण हाइड्रोकार्बनसित मिल्दाजुल्दा पाउँथे । तर आणविक विश्लेषणमा कुरो मिल्दैनथ्यो । त्यसैले केकुलेले सो रसायनको सूत्र तयार गर्न नसकेर दिक्क थिए । यस्तै चिन्तनको हैरानीमा रहेका वैज्ञानिक केकुलेले एक रातको निद्रामा अनौठो सपना देखे । सो सपनामा कार्बनका अणुहरू कुनै एक नृत्य मञ्चमा नाचिरहेका थिए । ती कार्बनका अणुहरू नाच्दानाच्दै केही अणुहरू ६÷६ वटा अणुहरूको समूहमा मिलेर उभिए । त्यसको लगत्तै एउटा सर्प आयो र ती ६ वटा अणुहरूको समूहलाई फनक्क फन्को मारेर घेरी आफ्नो पुच्छर आफैंले टोकेर एक वृत्त जस्तो बन्न पुग्यो । सपनापछि केकुले जागे । अनि त्यो सपनाको बारेका सोच्न लागे । तर्कवितर्क गर्दै जाँदा विपनामा नसुल्झेको समस्याको समाधान सपनामा आएको होला र भन्ने सोंच आयो । मैले आजसम्म सूत्र व्याख्या गर्न नसकेको यो पदार्थ (बेन्जिन) के सरल रेखीय बनोट नभएर षट्भुजाकारमा होला र ? भन्दै षट्भुजाकारमा काबन र हाइड्रोजनका अणु मिलाएर सूत्र तयार गरे । अनि षट्भुजाकार सूत्रमा कार्बन र हाइड्रोजनका अणुहरू मिलाउँदा समस्याको समाधान निस्कियो ।


यस घटनाले के देखायो भने ज्ञानका तरङ्गहरू अभिव्यक्त हुनका लागि विभिन्न चरण पार गर्दै आउँछन् । यो पश्यन्तिवाक् चरण अभिव्यक्तिको झझल्को चरण हो ।


३. मध्यमावाक्— मध्यमावाक् चरणमा वाणीले लगभग मूर्तरूप लिने सँघारमा पुगेको हुन्छ । यो चरणमा वाणीले अभिव्यक्तिका लागि माध्यम खोजिरहेको हुन्छ । यस अवस्थामा वाणी व्यवस्थित भएर, खिपिएर, माझिएर अभिव्यक्तिका लागि तयार हुन्छ । यो अभिव्यक्ति प्रस्फुटनको पूर्वावस्था हो । मनमा आएको छ मुखमा आएन भन्ने अवस्था हो । धामी झाँक्री काम्दा, कबल्दा, पतुर्दा उच्च कम्पन छुटेर पनि बक्न नसकेको उकुसमुकुसको अवस्था हो । मकैको बीउ टुसाएर माटो उचालेर जमिन पट्ट फुटेर टुसो बाहिर निस्कनै लागेको अवस्था जस्तै हो ।
बहिरोपनका कारणले होस् वा वाणी उच्चारण अङ्गहरूको (घाँटी, तालु, जिभ्रो... आदि) कमजोरीका कारणले वाणीअवरुद्ध भएका व्यक्तिहरूको पनि मध्यमावाक् चरणसम्म अरू सरह नै वाणी विकास हुन्छ । जब यस चरणपछि अभिव्यक्तिको मार्ग रोकिन्छ तब विभिन्न सङ्केत, अभाषिक आवाज वा ध्वनिबाट वाणीको अभिव्यक्ति प्रकट हुन्छ ।


४. बैखरीवाक्— यो वाणीले मूर्त रूप लिएको अवस्था हो । वाणी उच्चारणका अङ्गहरूमा हुने वैयक्तिक फरकका कारण सबै व्यक्तिको बोलीमा केही न केही फरक पर्छ । कुनै बेला त शब्द उच्चारणको गडबडीले अर्थको अनर्थ पनि हुन पुग्छ । जस्तो कुनै व्यक्तिलाई र ध्वनिको उच्चारण ल ध्वनि र त ध्वनिको उच्चारण ट ध्वनिको रूपमा हुने समस्या भएको अवस्थामा ‘मेरो रातो माटो भएको बारी छ’ भन्नुपर्दा ‘मेलो लाटो माटो भएको बाली छ’ भन्ने हुन पुग्छ । वाणीमा आउने यस्ता समस्या अर्थात् शब्द उच्चारणमा आउने यस्ता समस्या समाधान गर्ने उपाय छन् कि छैनन् ?


यसको जवाफ हो अवश्यै छन् । यसका लागि हाम्रा प्राचीन शिक्षाविद्ले सन्था विधिको विकास गरे । यस विधिलाई गुरुमुखी विद्या पनि भने । गुरुमुखी विद्यालाई आधिकारिक, भरपर्दो मान्ने संस्कारको निर्माण गरे । ‘म फलाना गुरुको गुरुमाको चेलो हुँ चेली हुँ’ भनी गर्व गर्ने संस्कारको निर्माण गरे ।


सन्था भनेको गुरुगुरुमाले आफ्ना चेलाचेलीलाई पाठ दिनु हो । चेलाचेलीले गुरुगुरुमासित पाठ लिनु हो । यो पाठ लिनुदिनुमा झट्ट हेर्दा सुन्दा आज्ञा गरे जस्तो र आज्ञा पालन गरे जस्तो देखिए पनि सन्थामा त्योभन्दा बढ्ता थुप्रै कुरा छन् । सन्थामा विद्यार्थीले शिक्षकले कुनै वर्णको उच्चारण, शब्दको उच्चारण, वाक्यको र छन्दको उच्चारण गरेको प्रत्यक्ष सुन्छ, हेर्छ, अनुभूति गर्छ र शिक्षकले जस्तै गरी दोहोर्याउँछ । विद्यार्थीले कुनै वर्ण, शब्द, वाक्य र छन्दको सही उच्चारण गर्न नसकेमा शिक्षकले तुरुन्तै सुधारी शुद्ध उच्चारणका लागि अभ्यास गराउँछन् । सन्था विधि वैयक्तिक शिक्षणको उत्कृष्ट नमूना हो । सहसिकाइको राम्रो उदाहरण हो । सन्था दिँदाखेरि नै शिक्षकले कुन विद्यार्थीलाई कहाँ अप्ठ्यारो पर्छ भन्ने कुरा थाहा पाउँछन् र त्यो समस्या समाधानका लागि लागिरहन्छन् ।


पुरानू जमानामा सन्थालाई शिक्षण विधि मात्रै होइन एक अनुशासनको रूपमा समेत लिइन्थ्यो । गुरुसित सन्था नलिई कुनै पनि शास्त्र पढ्नुहुँदैन भन्ने बलियो मान्यता थियो । यसको मूल मर्म सुरुवाती चरणमा उच्चारण बिग्रियो, व्याख्या बिग्रियो, यति, गति, लय, छन्द बिग्रियो भने विषयवस्तुले दिन खोजेको अर्थ बिग्रिन्छ । यसले उक्त सिकारुको पढाइको आधारशिलालाई पछिसम्म नकारात्मक प्रभाव पारिरहन्छ । एक पटक बिग्रेको समझको छाप पछिका दिनमा मेटाउन गाह्रो हुन्छ । सिकारुको आत्मविश्वास दह्रो हुन सक्दैन ।


प्राचीन गुरुकुल शिक्षण शैली बहुकक्षा बहुस्तर किसिमको थियो । एक जना शिक्षकले विभिन्न तह र स्तरका विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउँथे, सिकाउँथे । शिक्षकलाई कुन विद्यार्थी पढाइको कुन तहमा छ भन्ने कुरा याद हुन्थ्यो, जानकारी हुन्थ्यो । जानेका विद्यार्थीले नजानेका विद्यार्थीलाई सिकाइदिने सहसिकाइको पनि राम्रो व्यवस्था हुन्थ्यो ।


अहिले विशेष गरी सानो कक्षामा (कक्षा १—३) सन्था विधिको अभावमा पढाइ सीप विकासका लागि निकै समस्या भएको छ । राम्रोसित वर्ण नचिनेका विद्यार्थी कक्षा २ मा पुगेका, शब्द उच्चारण गर्न नसक्ने विद्यार्थी कक्षा ३ मा पुगेका तथ्य विभिन्न सर्वेक्षणले देखाएका छन् । यसले पनि साना कक्षामा शिक्षक र विद्यार्थीको निकट सम्बन्ध छैन भन्ने कुरालाई थप स्पष्ट पारेको छ । कक्षामा ५÷७ जना विद्यार्थी भए पनि लेख्ने पाटीकै छेउमा गएर पढाउने चलनलाई सुधार गर्नुपर्ने देखिएको छ । अर्थात् नजिकै बसेर सबैलाई सिकाउन सकिने अवस्थामा पनि अछट्ट भएर सिकाउने अवस्थामा सुधार गर्नुपरेको छ ।


सानो कक्षामा बालबालिकाले शुद्धसँग छिटोछिटो पढ्न सकेमा मात्रै पनि आजको विश्वको गरिबीलाई १२ प्रतिशतले घटाउन सकिन्छ भनी ग्लोबल मनिटरिङ रिपोर्ट युनेस्कोले भनेको छ । कक्षा १—३ का बालबालिकाले पढ्नका लागि सिक्ने सीप सिक्छन् भने कक्षा ३ देखि माथिका बालबालिकाले सिक्नका लागि पढ्छन् । त्यसैले साना कक्षाको मुख्य ध्येय शुद्धसित छिटोछिटो पढ्ने नै हो । साना कक्षामा छिटोछिटो र शुद्धसित पढ्ने सीप राम्रोसित सिक्न सकेका बालबालिका माथिल्लो कक्षाको पढाइमा अब्बल हुने गरेको तथ्यले पनि पढाइको जग प्रारम्भिक कक्षा नै हो भन्न थप बल मिल्छ । जसरी बिरुवाका जरामा मलजल गरे बिरुवाले राम्रो उत्पादन दिन्छ त्यसै गरी साना कक्षामा राम्रो लगानी गरे देशको भविष्य उज्ज्वल हुन्छ भन्न सकिन्छ ।


वाणी विकास र पढाइ सीप विकासबीच सम्बन्ध— भाषा सिकाइमा सुनाइ, बोलाइ, पढाइ र लेखाइ मुख्य सीप मानिन्छन् । भाषा सिकाइका सुरुवाती चरणमा माथि उल्लिखित सीपहरूको प्राथमिकीकरण पनि उल्लिखित क्रममै हुनुपर्छ । पढाइ सीपलाई विशेष जोड दिनुपर्ने हेतुले विशेष गरी भाषाको पढाइ सीप विकासका सहजताका लागि पढाइ तत्वको परिभाषा गरिएको छ । पढाइ तत्वहरू यस प्रकार छन् —


१. ध्वनि सचेतीकरण २. लेख्यवर्ण सचेतीकरण३. शब्द भण्डार४.पठन प्रवाह ५. पठन बोध


१. ध्वनि सचेतीकरण— उच्चार्य ध्वनिप्रति आफ्नो सचेतता प्रकट गर्ने र सोअनुसारको प्रतिक्रिया जनाउने सीप बालबालिकाले विद्यालय नजाँदै आफ्नै घर, छरछिमेकमा सिकिरहेका हुन्छन् । यस सीपलाई विद्यालयमा पद्धतिबद्ध गर्ने काम गरिन्छ । वर्ण वा अक्षरका सार्थक ध्वनिलाई पहिचान गरी सोअनुसारको सकारात्मक प्रतिक्रिया दिने सीप ध्वनि सचेतीकरणअन्तरगत पर्छ । सुनिएको ध्वनिलाई टुक्राउने(संभवलाई), टुक्रिएका ध्वनिलाई जोड्ने सीप पनि यसअन्तरगत पर्छन् । यसमा बालबालिकाले लेखिएका वा छापिएका अक्षर वा वर्ण चिन्ने, शब्द चिन्ने सीपको प्रयोग गर्नुपर्दैन । केवल मौखिक क्रियाकलाप गरिन्छ । बैखरीवाक् चरणमा अभिव्यक्त सार्थक ध्वनि पहिचान र प्रतिक्रिया आदानप्रदान यसअन्तरगत पर्छ । यो सीप विकासका लागि सन्था अत्यन्त महत्वपूर्ण हुन्छ । शिक्षकले गर्ने क्रियाकलाप ‘म गर्छु तिमी हेर, सुन । हामी सँगैसँगै गरौँ । तिमी गर म हेर्छु, सुन्छु ।' जस्ता कुराले सन्थाको मर्म सार्थक पार्छ । अहिले चलनचल्तीमा रहेको ‘म गर्छु, हामी गरौँ, तिमी गर‘ (ग्य्राजुयल रिलिज मोडल)को सारभूत कुरा पनि त यही हो ।


२. लेख्यवर्ण सचेतीकरण— लेखिएका वा छापिएका वर्ण, शब्द तथा वाक्यलाई शुद्ध उच्चारण गर्ने तथा कसैद्वारा उच्चारित ध्वनिलाई पहिचान गरी लेखिएका वा छापिएका वर्ण, शब्द वा वाक्यसित सम्बन्धित गर्ने वा बताउन सक्ने सीपको विकास यस पठन तत्वअन्तरगत आशा गरिएको हुन्छ । कुनै वस्तुको चित्रलाई दिइएको विभिन्न नाम समूहबाट सही नाम छान्नसक्नु पनि लेख्यवर्ण सचेतीकरणमा सक्षम भएको प्रमाण हो । बोली वा ध्वनिको श्रुति सङ्केतलाई लिपि चिह्नका माध्यमबाट दृश्य सङ्केतमा अवतरण हुने यो अवस्था पठन सीपको निकै महत्वपूर्ण अवस्था हो । कसैले बोलेको ध्वनिलाई सुनेर सङ्केतन(कोडिङ) गरी त्यसलाई लिपि सङ्केतमा सही किसिमले विसङ्केतन(डिकोडिङ) गरेर देखाउनु निकै चुनौतीपूर्ण सीप हो । सुनेका आधारमा (वाणी विकासका चरणहरू छिटोछिटो तरङ्गित गर्दै)सुनिएको ध्वनिलाई लिपि सङ्केतसित विसङ्केतन गरी मिलान गर्ने कलाको विकासले पढाइ सीपलाई नयाँ उचाइमा पुर्याउँछ ।


३. शब्द भण्डार— बालबालिकासितको सहज ज्ञान तहको पहुँच स्तर, औपचारिक प्रचलन स्तर, पारिभाषिक वा अर्थ गाम्भीर्यता स्तरका हिसाबले कक्षा, तहमा प्रयोग हुने शब्द समूहलाई तीन तहमा वर्गीकरण गरिएको हुन्छ । यस्ता शब्दहरू वर्गीकरणका लागि पाठ्यक्रमले दिग्दर्शन गरे पनि यहाँ सामान्य बुझाइका लागि चलनचल्तीका खानेकुरा, लगाउने कपडा, शरीरका अङ्ग, वस्तुभाउ, आफ्ना घर वरपर देखिने सामान तथा भाँडाकुँडा, वस्तुका नाम जस्ता शब्दहरू पहिलो तहमा पर्छन् ।


विद्यालय जाँदा, पुस्तक पढ्दा, विशेष ठाउँमा जाँदा देखिने सुनिने शब्द दोस्रो तहमा पर्छन् । जस्तै कालोपाटी÷सेतोपाटी, चक, डस्टर, घन्टी, पिरियड, कक्षाकोठा, रजिस्टर, हाजिरी, प्रार्थना, गयल, हाजिर, पाठ, अभ्यास, शिक्षक आदि ।


त्यसैगरी प्राविधिक वा पारिभाषिक शब्दहरू तेस्रो तहका शब्दहरूमा पर्छन् ।जस्तै कार्यालय, समय सारिणी, प्रधानाध्यापक, बैठक आदि ।


उल्लिखित तहका शब्द भण्डारसित परिचित र अभ्यस्त भई पढाइ सीपलाई राम्रो बनाउनु पर्ने आशा प्रारम्भिक कक्षाको पठनपाठनमा राखिएको हुन्छ ।


४. पठन प्रवाह / पढाइ गति— कुनै पनि कुरा पढेर बुझ्नका लागि पढिने वाक्यका शब्दको अर्थ ज्ञान हुनु जरुरी छ । शब्दको अर्थ ज्ञान भए पनि पढाइको गति, यति मिलेन, शब्द उच्चारण वा पढ्ने तरिका ठीक भएन, पढ्ने गति उपयुक्त भएन, शुद्धसँग शब्द उच्चारण गर्ने सीप भएन भने पढेर पनि बुझिदैन । एक अनुसन्धानले के देखाएको छ भने १२ सेकेन्ड भित्र ७/८ वस्तु हेरिएको छ भने त्यसलाई मष्तिष्कले व्यवस्थित रूपमा सम्झन बुझ्न सक्छ । यो कुरा पढाइका सन्दर्भमा पनि लागू हुन्छ ।


साना नानीहरूका लागि वर्ण, मात्रा, शब्दहरू छुट्टाछुट्टै वस्तु जस्तो लाग्न सक्छ । अब एक उदाहरण लिउँ — एउटा वाक्य ‘हाम्रो खेतमा धान फलेको छ,’ लाई पढ्न कुनै एक विद्यार्थीले २० सेकेन्ड लगायो भने माथिको सिद्धान्तअनुसार उसले सो वाक्यले भन्न खोजेको पूरै अर्थ बुझ्न सक्दैन । मानौं उसले ‘हाम्रो खेत’ पढ्न ८सेकेन्ड लगायो र ‘धान फलेको छ’ पढ्न १२ सेकेन्ड लगायो भने सो विद्याथीलाई सो वाक्य पढी सिद्धाउनासाथ ‘के फलेको छ ?’ भन्ने प्रश्न गर्दा ‘धान फलेको छ‘ भन्ने जवाफ दिन सक्छ । तर ‘कहाँ फलेको छ ?’ भन्ने प्रश्नको जवाफ भने दिन सक्दैन । किनकि उसको मष्तिष्कले अन्तिम १२ सेकेन्डमा पढी सिद्धाएको कुराको अर्थपूर्ण संयोजन गर्छ ।


अर्को एक व्यवहारिक उदाहरणको सन्दर्भ लिऊँ । अलि परिपक्क पढालेखाले पनिअलि गाह्रा शब्दसितको लामो वाक्य पढ्नुपर्दा अर्थ नबुझेर दोहो¥याउनु पर्ने अवस्था आउँछ । यसको कारण पनि गाह्रा शब्दका कारणले पढाइ गति मन्द हुनु नै हो । त्यसैगरी टेलिभिजन पर्दामा घुमुवा समाचार (स्क्रोलिङ न्यूज) पढ्दा सजिला शब्द र सजिला वाक्य भए पढ्दै जान सकिने हुन्छ । गाह्रा शब्द संयोजन भएको समाचार भए पढ्दापढ्दै फुस्किहाल्छ । यसको कारण पनि गाह्रा शब्दले हाम्रो पढाइ गति सुस्ताउनु हो । यी सबै कुराले के देखाउँछ भने राम्रो बुझाइसितको पढाइका लागि पढाइको गति पनि राम्रो चाहिन्छ । निचोडमा के भन्न सकिन्छ भने छिटो पढाइले राम्रो बुझाइ हुन्छ । पाठ्यक्रम विकास केन्द्रले ४५ शुद्ध शब्द प्रति मिनेट पढाइ गति र बुझाइको प्रतिशत पनि ८० प्रतिशत हुनुपर्ने भनी आधार रेखा (बेन्चमार्क) तोकेको छ ।


५. पठन बोध— पढाइ तत्वको अर्को महत्वपूर्ण तत्व हो पठन बोध अर्थात् बुझाइ । कुनै कुरा पढ्न त शुद्ध पढियो तर अर्थ बुझिएन, विषयवस्तुले स्पष्ट पार्न खोजेकोकुरा बुझिएन भने पढाइको अर्थ हुँदैन । हुन त प्रारम्भिक कक्षामा(कक्षा १—३) पढ्नका लागि सिक्ने ( लर्निङ टु रिड) सीपको विकास गर्ने मुख्य उद्देश्य रहेको हुन्छ । कक्षा ३ देखि माथि लागेपछि सिक्नका लागि पढ्ने (रिडिङ टु लर्न) मुख्य उद्देश्य हुन्छ । त्यसैले साना कक्षामा शुद्ध र छिटोछिटो पढ्नु नै महत्वपूर्ण हुन्छ । पठन गति र बुझाइको आधार रेखाका बारेमा त माथि उल्लेख गरिसकिएको छ ।


वाक्य वा अनुच्छेद पढ्दा वर्ण, मात्रा शुद्ध र छिटोछिटो पढे पनि गति, यति मिलाएर शब्दलाई ठीकसित उच्चारण गरिएन भने अर्थको अनर्थ हुन्छ । जस्तो ‘राम बिहानै स्कूल जान्छ’ भन्ने वाक्यलाई ‘रा म बिहा नै स्कू लजान् छ’ जसरी पढियो भने वर्ण मात्रा शुद्ध उच्चारण गरेर पनि अर्थ लाग्दैन । शब्द टुक्रिएका हुनाले वाक्य अर्थहीन बन्न पुगेको हो । त्यसैले कसरी शुद्धसित छिटोछिटो र अर्थपूर्ण तरिकाले पढ्ने भन्ने कुरा शिक्षकले बालबालिकाको पढाइको शुरुवाती चरणमा राम्रोसित सन्था दिनुपर्छ । अनि विद्यार्थीले पनि शिक्षकको सन्थालाई ध्यानपूर्वक ग्रहण गरी पछ्याउनुपर्छ ।


सस्वर पठन गर्दा एकै पढाइमा दुई पटक पढे सरह हुन्छ । मौन पठन नभइकन सस्वर पठन हुँदैन । त्यसैले पहिलो पढाइ उच्चारण गर्नका लागि नबोली पढ्दा हुने भयो । दोस्रो पढाइ उच्चारण गरेपछि आफ्नो बोली आफैंले सुन्दा हुने भयो । सस्वर पढ्दा यदि गलत उच्चारण गरियो भने आफैले पढेको सुनेर सच्याउने अवसर थुप्रै आउँछन् । त्यसैले सस्वर पठनले पढाइ अभ्यास निकै राम्रो हुने गर्छ । साना कक्षाका बालबालिकालाई सस्वर पढ्न प्रेरित गर्ने र अभिभावकले उनीहरूले पढेको सुनिदिनुपर्ने भन्नुको मुख्य कारण पनि पढाइ सीप सुधार नै हो ।


अन्त्यमा, शुरुवाती अवस्थामा बालबालिकाले वर्ण, मात्रा ठह¥याएर पढ्ने बानीको विकास गर्ने वातावरण मिलाइदिनुपर्छ । देखेका शब्दहरू बालबालिकाले तस्बिर पढे जसरी पढ्ने गर्न सक्छन् । बालबालिकाको विसङ्केतन क्षमता (डिकोडिङ अविलिटी) बढाउन वा जाँच्न उनीहरूलाई उनीहरूले नदेखेका शब्द दिएर उच्चारण गर्न लगाउँदा राम्रो हुन्छ । यसका लागि बालबालिकालाई उनीहरूले नदेखेका शब्द पढ्न दिने गर्नुपर्छ । कक्षा १—३ का बालबालिकाको प्रारम्भिक कक्षा पढाइ सीप परीक्षण (अर्ली ग्रेड रिडिङ असेस्मेन्ट— एग्रा) मा बालबालिकाको विसङ्केतन क्षमता मापन गर्नका लागि निरर्थक शब्द उच्चारण उपकार्य राखिएको हुन्छ ।


सानो कक्षामा शुद्धसित छिटोछिटो पढ्ने अभ्यासले बालबालिकाको वाणी विकासका चरणमा हुने क्रियाकलापमा तीव्रता आउँछ । यसले उनीहरूमा नव प्रवर्तनात्मक सोंचको विकास हुने, तत्काल उचित प्रतिक्रिया दिने (प्रत्युत्पन्न मति) क्षमताको विकास तथा वृद्धि हुन्छ ।


राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सञ्चालन भएको पाँच वर्ष पूरा भएको छ । हालसम्म ३० जिल्लामा लागू भइसकेको यो कार्यक्रमको मध्यावधि मूल्याङ्कनले समग्रमा यो कार्यक्रम प्रभावकारी रहेको देखाएको छ । औसतमा परीक्षणको नतिजा सकारात्मक देखिए पनि केही जल्दाबल्दा मुद्दाहरू पनि परीक्षणले औँलाएको छ ।


नेपाली भाषाबाहेकका मातृभाषा हुने बालबालिकाको पढाइ कमजोर देखिएको छ । यो समस्या समाधानका लागि स्थानीय मातृभाषा जान्ने बुझ्ने परीक्षक राखेर परीक्षण गर्ने अभ्यास भएको छ । तर पनि यसमा खासै सुधार आएको छैन । यहाँ मननीय कुरा के छ भने ती नेपाली भाषा मातृभाषा नभएका बालबालिकाले वर्ण उच्चारण, शब्द उच्चारण गर्ने क्रियाकलापमा पनि निकै कमजोर देखिएका छन् । पठन बोध कमजोर हुनु दोस्रो भाषाका कारणले स्वभाविक मान्न सकिन्थ्यो । उच्चारणको हदसम्म त मातृभाषाका कारणले यति ठूलो समस्या नआउनुपर्ने हो । यसले के देखाउँछ भने ती बालबालिकाहरू शिक्षण क्रियाकलापकै कमजोरीका कारणले समस्यामा छन् । एउटा सानो उदाहरण लिउँ । रुपन्देही, कपिलवस्तु, नवलपरासी क्षेत्रका बालबालिकाले ङ को उच्चारण अङ्ङ भनी गर्छन् । यस्ता सुधार योग्य कुरा थुप्रै छन् । यो सुधार शिक्षकबाटै हुनुपर्छ ।


नचिनेका परीक्षकसित साना बालबालिका राम्ररी खुलेर नबोल्ने समस्यालाई सम्बोधन गर्न सकिएको छैन । हाम्रा विद्यालयमा अतिथि शिक्षक प्रयोग गरी पठनपाठन गर्ने प्रचलन छँदैछैन भन्दा पनि हुन्छ । त्यसैले बालबालिकाले पाठनपाठन सन्दर्भमा कुनै नचिनेको व्यक्तिसित खुल्ने संस्कार बन्न सकेको छैन । नचिनेका परीक्षक परीक्षण गर्न जाँदा बालबालिकाहरू जानेको कुरा पनि बोल्न हिच्किचाउँछन् । अहिले विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माण तथा कार्यान्वयनको सन्दर्भ छ । यसमा स्थानीय विषय विज्ञलाई कक्षामा सहजकर्ताका रूपमा प्रयोग गर्ने गरियो भने बाहिरी व्यक्तिसित दकस मान्ने, मन खोलेर बोल्न गाह्रो हुने समस्या समाधान हुने आशा गर्न सकिन्छ ।


बालबालिकाको दृष्टि क्षमता, श्रवण क्षमता र सुस्त मानसिक क्षमताका हिसाबले उनीहरूमा विभिन्न फरक क्षमताका हुन्छ । तर यस राष्ट्रिय कार्यक्रमले यस्ता फरक क्षमता भएका बालबालिकालाई पढ्नका लागि पाठ्यसामग्री उत्पादन तथा विकास र ती फरक क्षमता भएका बालबालिका मैत्री परीक्षणको व्यवस्था गर्न अझै सकिरहेको छैन । अबका दिनमा ती बालबालिकाको पढाइ सीप विकासका लागि सही सम्बोधन हुने गरी पाठ्यसामग्री, शिक्षण क्रियाकलाप र परीक्षणका कार्यक्रमको योजना तर्जुमा गर्नु आवश्यक छ ।


राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमलाई आगामी वर्षहरूमा कसरी लैजाने भनी कार्यक्रम दस्तावेज परिमार्जन गर्ने क्रममा रहेको छ । यस क्रममा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम (नेशनल अर्ली ग्रेड रिडिङ प्रोग्राम)को नाम परिवर्तन गरी राष्ट्रिय प्रारम्भिक कक्षा सिकाइ कार्यक्रम (नेशनल अर्ली ग्रेड लर्निङ प्रोग्राम) बनाउने तर्क पनि आएका छन् । कुनै पनि कार्यक्रम त्यसको कामले प्रभावकारी हुने हो । त्यसैले विगत पाँच वर्षसम्म स्थापित भइसकेको नामलाई नफेरी कार्यक्रमलाई प्रभावकारी बनाउन दस्तावेजका अन्तरवस्तु परिमार्जन गर्नु उचित हुनेछ । ध्वनि सचेतीकरणलगायतका पठन तत्वको कुरा गर्दा, विश्वव्यापी रूपमा स्थापित परीक्षण एग्रा जस्ता परीक्षणले पनि हामीले नाम फेर्दा भोलिका दिनमा हाम्रो कार्यक्रम परिभाषित गर्ने झन्झटले पछ्याइरहनेछ । शब्दको कुनै बेला अर्थ बिस्तार हुन्छ, कुनै समयमा अर्थ संकुचन हुन्छ । अहिले इजिआरपीलाई अर्थ बिस्तारको हिसाबले बुझी इजिएल्पीतिर नजानु नै श्रेयस्कर हुनेछ ।

प्रमुख समाचार

दिवा खाजाको बजेट रकामान्तर गरेर विद्यार्थीलाई इन्टरनेट उपलब्ध गराउने सरकारको योजना दिवा खाजाको बजेट रकामान्तर गरेर विद्यार्थीलाई इन्टरनेट उपलब्ध गराउने सरकारको योजना

शिक्षा सचिव भन्नुहुन्छ–संघीय शिक्षा ऐनका लागि सबैको साथ चाहिन्छ   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को महामारीमा विद्य ...

राज्यमन्त्रीलाई विद्यालय खुलाउनेभन्दा संविधानको शिक्षा अधिकारसम्बन्धी अनुसूचिको चिन्ता राज्यमन्त्रीलाई विद्यालय खुलाउनेभन्दा संविधानको शिक्षा अधिकारसम्बन्धी अनुसूचिको चिन्ता

प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अविराम शर्माले माध्यमिक शिक्षा स्थानीय तहलाई दिइएको सम्बन्धमा अब सबभन्दा पहिला संविधानले दिएको अधिकार सूचीमाथि ...

कर्णाली प्रदेशमा  रेडियो र घर–घरमा शिक्षक परिचालन गरिने कर्णाली प्रदेशमा  रेडियो र घर–घरमा शिक्षक परिचालन गरिने

हिमाली क्षेत्रमा छुट्टै सिकाइ विधि ल्याउने तयारी कोरोना भाइरस (कोभिड–१९) को महामारीका बीच सिकाइ निरन्तरताका लागि कर्णाली प्रदेशमा विशेष सिकाइ वि ...