२०७७ असोज १३ गते / 29th Sep 2020, Tuesday
investment investment

दैलेखमा एउटा कक्षालाई नियाल्दा...

भ्रमण डायरी


दैलेखमा रिपोर्टिङ गर्ने क्रममा गुराँस गाउँपालिकास्थित नेपाल लक्ष्मी आधारभूत विद्यालय गाइबान्ना पुग्ने मौका पाइयो । जहाँ अर्थपूर्ण दृश्य देखिए । प्रारम्भिक बालविकासदेखि कक्षा ३ सम्म पढाइ हुने यस विद्यालयमा विद्यार्थीलाई सिकाउन यहाँ गरिएका प्रयास उदाहरणीय छन् । यहाँ त्यसको संक्षिप्त वर्णन गर्ने प्रयास गरिएको छः


आहा ! टेलिभिजन


सफा सिनित्त कार्पेट । पिफर्म राखेर लचकदार भूईँ । चिसोको चिन्तै छैन । गुचुमुच्च भएर विद्यार्थी एकै ठाउँ बसेका । प्रारम्भिक बालविकास (इसिडि) भएपनि कक्षा ३ सम्मकै विद्यार्थी त्यहाँ उत्सुकतापूर्वक टेलिभिजन स्क्रिनमा हेरिरहेका छन् । गणितको गुणा होस् वा ए वी सी डी, सबै गीती लयमा स्क्रिनमा कार्टुनसहित आइहाल्छ । बालविकासका लागि टेलिभिजन भएपनि अरु कक्षाका विद्यार्थी त्यहीँ जम्मा हुन खोज्दा रहेछन् । गुराँस गाउँपालिकाले आफ्ना २२ वटै प्रारम्भिक बालविकासका लागि टेलिभिजन दिएको छ । विद्युत्तीकरण नगरिएको भएपनि सोलार जडान गरिएको छ । टेलिभिजनबाट विद्यार्थीले चाँडो सिक्न सकेको शिक्षकहरुको भनाइ छ ।


विद्यार्थीका नाममा खामै खाम


कक्षाकोठाका भित्ता–भित्तामा दैनिक उपस्थिति तालिका टाँसिएका छन् । त्यसमा कक्षामा भएका सबै विद्यार्थीका नामसहितका खाम राखिएका छन् । जो विद्यार्थी उपस्थित छन्, खाममा हरियो रङ्गको स्लिप राखिन्छ भने अनुपस्थित हुनेको खाममा रातो स्लिप । अर्काे टाँसिएको देख्न पाइन्छ, दैनिक कार्य विभाजन । जसमा टोली नेता, कक्षाकोठाको सरसफाइ, हाजिरी व्यवस्थापन, समाचारवाचक, पानी व्यवस्थापन, पुस्तकालय व्यवस्थापन, मौसम तालिका व्यवस्थापन आदि लेखिएका खाम राखिएका छन् । ज–जसलाई जुन कामको जिम्मेवारी दिइएको हो, तिनको नाम खाममा राखिन्छ । जस्तै, कक्षाकोठाको सरसफाइ लेखिएको खाममा देवेन्द्र लेखिएको छ, उनले आजको दिन सरसफाइको नेतृत्व गर्नु पर्छ भनेर विद्यार्थी आफैं बुझिहाल्छन् । अर्काे कुरा पनि देख्न सकिन्छ कक्षा कोठाको भित्तामा । त्यो हो–निरन्तर मूल्याङ्कन पद्धतिसम्बन्धी अभिलेख । विद्यार्थीको निरन्तर मूल्याङ्कन, रेजा र अभिलेखसम्बन्धी रेकर्ड त्यसमा राखिने गरिएको छ ।


आफ्ना लागि आफ्नै नियम


कक्षा कोठामा विद्यार्थीले पालना गर्ने नियम पनि भित्तामा देख्न पाइन्छ । ‘झ्याल ढोका बन्द गर्नेछौं,’ ‘मनिटरको आज्ञा पालना गर्नेछौं,’ ‘समूह कार्य गर्दा निर्देशन पालना गर्नेछौं,’ ‘कक्षा शिक्षकको निर्देशन पालना गर्नेछौं,’ ‘पिसाब फेर्न र पानी खान जान पालो पर्खनेछौं,’ अनि ‘केही कुरा सोध्नुपर्दा हात उठाएर सोध्नेछौं,’ भनी नियममा लेखिएका छन् । चार्टलाई आकर्षक ढङ्गले बनाइएको छ । पानको पातको चित्र बनाई त्यसभित्र नियमहरु प्रष्ट र देखिनेगरी उल्लेख गरिएका छन् । विद्यार्थी केहीगरी उट्पट्याङ्ग भइहाले भने शिक्षकहरुले गाली गर्नुको सट्टा भित्तामा टाँसिएका नियम देखाउने गर्छन् । त्यसपछि विद्यार्थी आफैं लाज मान्दै शान्त हुने गरेको शिक्षकहरुको अनुभव छ ।


अनौठा लाग्ने ‘लठ्ठी अक्षर’


कक्षा कोठामा नौला खालका अक्षरहरु टाँगिएका छन् । ती स्थानीय सामग्री बटुलेर बनाइएका हुन् । शिक्षकहरुबाटै बनाइएका यस्ता अक्षरका किसिम र नाम पनि थरिथरिका छन् । कुनैको नाम ‘लठ्ठी अक्षर’ त कुनैको ‘अक्षर गोटी ।’ कुनै ‘झ्याले पत्ति’ त कुनै ‘डायस अक्षर’ रे ! यस्ता अक्षर कलात्मक तरिकाले क देखि ज्ञ र ए देखि जेटसम्म बनाइएका छन् । ‘विद्यार्थीले यस्ता अक्षर छिटो सिक्दा रहेछन्,’ प्रधानाध्यापक शान्तिकुमारी शर्माले भन्नुभयो ।


सात बार अनि खाजा र विदाइ गीतमै


कक्षाकोठाको भित्तामा हेर्नलायक सामग्री हो रमाइलो गीत । ‘आज के बार हो ?’ भन्ने शीर्षकमा ‘भन, भन साथी हो, आज के बार ?’ भनेर गीतमा सोधिएको चार्ट राखिएको छ । सोही प्रश्नको उत्तरमा ‘सुन, सुन साथी हो, आज...’ भनेर सातै बारहरुको उत्तर राख्नेगरी गीती चार्ट बनाइएको छ । त्यस्तै, ‘खाजा खाने बेला भो,’ अनि ‘जाऔं न घर साथी हो, बेला भएछ...’ भनेर विदाई गीत पनि लेखिएको छ । बालबालिकाले तिनै गीत भाका मिलाएर गाउने गर्छन् । यसले सधैं विद्यालय वातवरण रमाइलो हुने गर्छ ।


आहा ! त्यो पुन्टे डोको !


‘हेर्नाेस् त ! पुन्टे डोको,’ बालविकास कक्षामा झुण्ड्याइएको सानो डोको देखाउँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद उपाध्यायले निकै फूर्तिसाथ भन्नुभयो, ‘यी सामग्री हाम्रै हातले बनेका हुन् ।’ हुन पनि, कक्षाकोठामा डोको, नाम्लो, हलो, जुवा, ढिकी, परालले बुनिएको चकटी आदि सजाएर राखिएका रहेछन् । विद्यार्थीलाई यसबारे सजिलै जानकारी दिन सकिएको शिक्षकहरु बताउँछन् ।


माथि चर्चा गरिएका विषय केवल एउटा विद्यालयको पनि कक्षाभित्रका हुन् । पढाइ अब्बल बनाउन र सिकाइमा राम्रो उपलब्धि हासिल गराउन कक्षा कोठामा विद्यार्थी रमाउनु पर्छ । त्यसका लागि कक्षाकोठाको वातावरण साँच्चै रमाइलो र ज्ञान दिने हुनु पर्छ भन्ने हेक्का यो विद्यालयका शिक्षक, विव्यस पदाधिकारी अनि गाउँपालिकालाई रहेछ । त्यसैले त दैलेख आएका शिक्षा सरोकार राख्ने नयाँ व्यक्तिले यो विद्यालय एकपटक भएपनि हेर्न छुटाउँदा रहेनछन् ।

प्रमुख समाचार

शिक्षा पत्रकार समूहको सचिवमा रोशन क्षेत्री गाउँले शिक्षा पत्रकार समूहको सचिवमा रोशन क्षेत्री गाउँले

  शिक्षा पत्रकार समूहको केन्द्रीय कार्यसमितिले सचिवमा रोशन क्षेत्री गाउँलेलाई चयन गरेको छ । गत फागुन ५ गते सम्पन्न समूहको २० औं साधारणसभाले  ...

प्रदेश १ का पालिकाहरु तत्कालै विद्यालय खोल्ने तयारीमा प्रदेश १ का पालिकाहरु तत्कालै विद्यालय खोल्ने तयारीमा

सामाजिक विकास मन्त्री घिमिरे भन्नुहुन्छ–हामीले स्थानीय तहलाई डिक्टेड गर्न मिल्दैन तर स्कूल खोल्नु पर्छ प्रदेश नं १ का पालिका जनप्रतिनिधि र शिक्ष ...

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा अर्याल, मन्त्रालयको योजनामा थपलिया शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा अर्याल, मन्त्रालयको योजनामा थपलिया

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आफ्नो योजना महाशाखा प्रमुख र शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशक बदलेको छ । मन्त्रालयले केन्द्रम ...