२०७८ मंसिर १२ गते / 28th Nov 2021, Sunday
investment investment

शिक्षक साथीहरुलाई अपिल


आदरणीय शिक्षक साथीहरु ! सादर नमस्कार ।


जीवनको महत्वपूर्ण समय बालबालिकाको भविश्य सुधारमा समर्पण गरेका हामी शिक्षकहरु अन्य राष्ट्र सेवकभन्दा विशिष्ट र संवेदनशील पेशामा कार्यरत छौं । हाम्रो अथक मेहनतले एउटा बालकको भविश्य सुध्रिने मात्र नभई सिङ्गो राष्ट्रको समृद्धिमा महत्वपूर्ण योगदान पुगेको हुन्छ । हामी शिक्षकहरु आफ्ना निजी स्वार्थलाई त्यागेर मैनवत्ति झैं आफू पग्लेर पनि अरुलाई ऊज्यालो दिइरहेका छौं । सामुदायिक विद्यालयमा पढाउने हामी शिक्षकले धेरै मेहनत गरेका छौं र व्यवहारिक ज्ञान भएका असल नागरिक तयार पारेका छौं । तथापि, हाम्रा विद्यार्थी परीक्षामा राम्रो अंक ल्याउन नसक्ने हुनाले हामीलाई चौतर्फी आलोचनाको निशानी बनाइएको छ । तसर्थ, हाम्रा विद्यार्थीले परीक्षामा राम्रो अंकका साथ उत्तीर्ण हुनका लागि अहिले प्रयोगमा ल्याइएको शिक्षण क्रियाकलापमा केही परिमार्जन र परिवर्तन गर्नुपर्ने देखिन्छ । शिक्षण पेशाको लामो अनुभव तथा अध्ययनका आधारमा शिक्षणमा सुधार गर्नुपर्ने निम्न ११ बुँदा उल्लेख गरेको छु ।


१. शिक्षकले ठिक समयमा पाठयोजनाका साथ कक्षाकोठामा प्रवेश गरेर पूरै समय विद्यार्थीसित रहिदिनाले उनीहरु फुर्सदिला हुन नपाई अनुशासनमा बस्दा रहेछन् ।


२. साना कक्षाका विद्यार्थीलाई खेल्ने, कुद्ने, गाउने, नाच्ने विधिबाट पढाउँदा बढी प्रभावकारी हुँदो रहेछ । यी कक्षामा सस्वर वाचन, पाठ लेखन (अंग्रेजी कपी, गणित कपीमा), शुद्धाशुद्धीमा ध्यान पुर्याउनुपर्ने र कुनै पनि किसिमको दण्ड–सजाय दिन नमिल्ने रहेछ । कक्षा कार्यलाई नियमित बनाउँदा गृहकार्य दिन जरुरी हुँदो रहेनछ ।


३. हाम्रा विद्यालयमा अंग्रेजी विषयलाई नेपालीमा उल्था गरेर पढाउने तरिका गलत रहेछ । शिक्षकले तल्लो कक्षादेखि अंग्रेजी मात्र बोल्ने गरेमा र विद्यार्थीलाई बोल्न प्रेरित गरेको खण्डमा उनीहरुको अंग्रेजी बोल्ने बानी विकास हुँदो रहेछ । विद्यालयमा अंग्रेजी विषयका सबै शिक्षकहरुले एक–आपसमा अंग्रेजी बोल्नुका साथसाथै अंग्रेजी शब्दार्थ र शब्द निर्माणमा विशेष जोड दिनुपर्ने रहेछ ।


४. हामी गणित विषय पढाउँदा विद्यार्थीलाई धारणा विकासमा कम ध्यान दिँदा रहेछौं । यसका लागि ठोस वस्तु, खेल मैदान, कक्षाकोठाको आकार, चित्र आदि शैक्षिक सामग्रीको रुपमा प्रयोग गर्नुपर्दो रहेछ । किताबमा दिइएको हिसाब हल गरिदिनाले कण्ठ गर्ने विद्यार्थीलाई त केही हदसम्म सहयोग पुग्छ होला, तर दिगो बुझाई र सिकाइ हुँदो रहेनछ ।


५. हामी सबैजसो विषयमा प्रवचन विधि नै बढी प्रयोग गर्दा रहेछौं जुन विद्यार्थीको लागि रुचिकर रहेनछ । यो विधिलाई घटाउनैपर्ने हुन्छ । सामाजिक, विज्ञान, वातावरण जस्ता विषयको शिक्षण त प्रदर्शन र प्रयोगात्मक विधिबाट नै गर्नुपर्ने रहेछ । सामाजिक अध्ययन विषयमा हाम्रा चाडपर्व, होली, पुत्ला, देउडा, झ्याउरे, भोटेसेलो, धामी नाँच, सखिया नाँच, देउसी–भैलो आदि स्थानीय परिवेश अनुसार कक्षाकोठामा नै अभिनयका साथ शिक्षण गर्नसकेको खण्डमा विद्यार्थीलाई रमाइलोगरी सीप पनि सिकाउन सकिने हुँदो रहेछ । बोट–विरुवाबारे पढाउँदा किताबको चित्र वा बोर्डमा बनाइएको चित्रको व्याख्या गर्नुभन्दा विद्यालयको वरिपरि रहेका कुनै बोट–विरुवालाई नै लगेर कक्षामा प्रदशनी गर्न वा सम्भव भएमा नजिकैको खेतबारी तथा जंगलमा लगेर देखाइदिनाले बढी प्रभावकारी हुने रहेछ । विज्ञानलाई जीवनसित जोडेर पढाउनु वेश रहेछ जस्तो उत्तोलकका वारेमा मुसलले धान कुट्नु, जातो पिस्नु, गल हालेर ढुङ्गा पल्टाउनु जस्ता थुप्रै कार्यहरु देखाउन सकिँदो रहेछ ।


६. खेलकुदले बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिक स्वच्छनदतामा टेवा पु¥याउने रहेछ । विद्यार्थीलाई अनुशासित र चरित्रवान बनाउन खेलकुदले विशेष महत्व राख्ने हुँदा सबै विद्यार्थीलाई खेल्न पाउनेगरी उमेर, रूचि र क्षमता अनुसारका खेल सामग्री उपलब्ध गराउने र शिक्षकले पनि सँगसँगै खेल्नु पर्दो रहेछ । विद्यार्थीलाई जाँगरिलो, फूर्तिलो, चलाख, आत्मविश्वासी र मेहनती बनाउने विद्यालयमा नियमित अतिरिक्त क्रियाकलापको पनि त्यत्तिकै महत्व हुने रहेछ ।


७. एउटा सफल शिक्षक स्थानीय स्रोतबाट शैक्षिक सामग्री निर्माण र प्रयोग गर्न निपूर्ण हुँदो रहेछ । कतिपय शैक्षिक सामग्रीहरु स्थानीय स्रोतबाट प्राप्त हुन नसक्ने भएकाले ती सामग्री विद्यालयले प्रबन्ध गर्नुपर्ने हुन्छ ।


८. विद्यालय एउटा विशिष्ट परिवार हो । शिक्षक र विद्यार्थी विद्यालयका भित्री सदस्य हुन् भने विद्यालय व्यवस्थापन समिति र अभिभावक विद्यालय हाता बाहिरका सदस्य रहेछन् । यो परिवारको मेलमिलाप नै विद्यालयका लागि सबैभन्दा महत्वपूर्ण हो । अतः विद्यालयमा सदस्यहरुको आपसी मेलमिलाप, माया, सद्भाव र सम्मान कायम राखिराख्न घरमूली (प्रधानाध्यापक)ले विशेष भूमिका निर्वाह गर्नुपर्दो रहेछ ।


९. विद्यालयमा गयल हुने वा विद्यालयबाट भागेर जाने विद्यार्थीका कारण अभिभावकले शिक्षकको बढी नै आलोचना गर्दा रहेछन् । विद्यालयमा गयल हुने विद्यार्थीको घरमा जानकारी दिने र कक्षाबाट भागेर जाने विद्यार्थीको निगरानी प्रत्येक कक्षा शिक्षकले गर्ने हो भने यो समस्या नियन्त्रणमा आउँदो रहेछ ।


१०. कुनै पनि शिक्षक मनलाग्दी गरेर विद्यालयमा अनुपस्थित हुँदैनन् । शिक्षक विदामा बस्नुपर्ने बाध्यता हुन्छन् । यस्तो अवस्थामा आफ्नो कक्षा खाली नहोस् भनेर सहपाठी शिक्षकसित सहयोग लिने/दिने गर्नु पर्छ । प्रधानाध्यापकले पनि पिरियड फुर्सदमा भएका शिक्षकलाई खाली कक्षामा पठाउने प्रबन्ध गर्नुपर्दो रहेछ ।


११. सामुदायिक विद्यालयका शिक्षक साथीहरुको सबैभन्दा ठूलो कमजोरी आफूप्रतिको विश्वासमा कमी हुनु देखिन्छ । नेपालमा देश चलाउने मन्त्री, सांसद, नगर तथा गाउँपालिका प्रमुख सबैजसो सामुदायिक विद्यालयबाट पढेकाहरु नै छन् । उच्चपदस्थ कर्मचारी (सचिव, सहसचिव), प्रहरी–सेना, शिक्षक, कर्मचारी, ड्राइभर, मजदूर सबै त सामुदायिक विद्यालयका उत्पादन छन् । विदेशमा दुःख गरी रेमिट्यान्स पठाउने ९० प्रतिशतभन्दा बढी युवाहरु सामुदायिक विद्यालयका विद्यार्थी छन् । राष्ट्र, राष्ट्रियता, प्रजातान्त्रिक समाजवादप्रति समर्पित श्रमको सम्मान गर्ने स्वाभिमानी नागरिक तयार गर्ने काम हामीले गरेका छौं । अतः हामीले सामुदायिक विद्यालयको शिक्षक हुनुको हिनताबोध त्यागेर विश्वास र गौरवका साथ आफ्ना छोराछोरीलाई पनि सामुदायिक विद्यालयमा नै पढाउनुपर्ने रहेछ ।


अन्त्यमा, विद्यालयमा सुधार स–सानो चिजले पनि गर्न सकिँदो रहेछ । शिक्षकको मेहनतविना गुणस्तरीय शिक्षा कल्पना गर्नै नसकिने विषय हो । यी माथि उल्लिखित बुँदा मेरो अनुभवका आधारमा तयार पारिएका निजी विचार हुन् । आफ्ना भोगाईलाई शिक्षक साथीमाझ सेयर गरेको छु । सही लागेमा ग्रहण गरी अनुशरण र प्रयोग गरी दिनुभएमा विद्यालय शिक्षामा केही थप सुधार हुने आशा राखेको छु र यस्तै विचार सम्प्रेषण गरी आदान–प्रदान गर्नु हुन सबै शिक्षक मित्रहरुमा हार्दिक अपिल गर्दछु ।


तपाईँको मित्र शिक्षक
तिलक कुँवर

प्रमुख समाचार

 सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै  सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै

सरकारले कोरोना महामारीका बेला वैकल्पिक सिकाइका लागि भन्दै ३४ लाख विद्यार्थीलाई सियुजी (क्लोज युजर ग्रुप) सेवामा जोड्ने लक्ष्य राखेपनि जम्मा ५ हजार बाल ...

‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष ‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष

‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् । कार्टुन ...

गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले ...