२०७८ मंसिर १२ गते / 28th Nov 2021, Sunday
investment investment

शिक्षक व्यवस्थापनमा चीनबाट हामीले धेरै सिक्नु छ


बाबुराम थापा, अध्यक्ष, नेपाल शिक्षक महासंघ


बाबुराम थापा, हक्की र स्पष्ट व्यक्तित्वका रुपमा चिनिनुुहुन्छ । नेपाल शिक्षक महासंघका केन्द्रीय अध्यक्ष थापा ललितपुर खोकनास्थित रुद्रायणी माविका प्रधानाध्यापक हुनुहुन्छ । यही २०१८ अक्टुबर ५–२५ मा छिमेकी मित्रराष्ट्र चीनको सांघाईमा आयोजित २० दिने बृहत् शैक्षिक कार्यशालामा भाग लिएर हालै स्वदेश फर्किनुभएका थापाले त्यहाँ के कस्ता अनुभव र सिकाइ हासिल गर्नुभयो ? नेपालको तर्फबाट कसरी प्रस्तुत हुनुभयो भनेर आजको शिक्षाले कुराकानी गरेको छ । प्रस्तुत छ, उहाँसित गरिएको शिक्षा–संवाद ।


चीनको २० दिने भ्रमण सकेर आउनुभएको छ, त्यहाँ जानुको मूल उद्देश्य के थियो ? अनि सिकाइ र अनुभव के–के रह्यो ?


सांघाई सिटी नेपालको छिमेकी मुलुक चीनको सबैभन्दा ठूलो शहर र संसारकै तेस्रो ठूलो शहरका रुपमा परिचित छ । त्यहाँ एउटा वर्कसप आयोजना गरिएको थियो । आयोजक थिए- रिसर्च इन्स्टिच्युट फर इन्टरनेसनल एण्ड कम्प्यारेटिभ–सांघाई र टिचर एजुकेसन सेन्टर युनेस्को चीन । यसको मुख्य उद्देश्यचाहिँ ‘पिसा’ र ‘टालिस’ परियोजना अनुसार शिक्षा विकास गर्नु हो । पिसाको अर्थ ‘प्रोजेक्ट फर इन्टरनेसनल स्ट्रेन्थ एसिसमेन्ट’ हो । सांघाईले सन् २००९ बाट यो पिसा प्रोजेक्ट शुरु गरेको रहेछ । शिक्षाका बारेमा विश्व कसरी अघि बढिरहेको छ ? यसका विकसित, अद्र्धविकसित र विकासोन्मुख देशहरु कुन ढङ्गले अघि बढिरहेको छन् भन्ने कुराको मूल्याङ्कन गर्ने यो परियोजना रहेछ । अहिलेसम्म यसको निरन्तरता छ । पिसा प्रोजेक्टको मातहत्मा टि ए एल आइ एस अर्थात् ‘टालिस’ परियोजना पनि सँगसँगै रहेछ, यसलाई ‘टिचिङ एण्ड लर्निङ इन्टरनेसनल सर्वे’ भनिन्छ । शिक्षामा विश्व कसरी अघि बढिरहेको छ ? विश्वभरिका विद्यार्थी र शिक्षक कस्तो वातावरणमा अध्ययन गरिरहेका रहेछन् ? कुन ढङ्गले अध्ययन गर्दा रहेछन्, शैक्षणिक पद्धति कस्तो छ ? यी दुईटै सन्दर्भलाई मिलाएर २० दिने वर्कसप यही अक्टोबरमा आयोजना भएको थियो । यसमा विश्वका चारवटा महादेशका १५ देश सहभागी थिए । वर्कसपमा बङ्गलादेश, ब्राजिल, चेक रिपब्लिक, फिजी, जर्मनी, केन्या, मलेसिया, मेक्सिको, नेपाल, पाकिस्तान, पपु न्यू गिनिया, सिङ्गापुर, स्पेन, थाइल्याण्ड र भियतनामबाट सहभागी थियौं । अलि बढी संख्या एसियाको थियो । ती राष्ट्रको प्रकृति हेर्दा अत्यन्त विकसितदेखि विकासोन्मुख देशहरु सहभागी राष्ट्र थिए । यसमा सानो मुलुक फिजीसम्म थियो । चेकोस्लाभाकिया, चेक गणतन्त्र, स्पेन जस्ता शिक्षालाई उच्च प्राथमिकता राख्ने अत्यन्त ‘एड्भान्स’ राष्ट्र पनि सहभागी बने । सहभागी प्रतिनिधिहरु शिक्षणमा सरोकार राख्ने संस्थाका व्यक्तित्वहरु हुनु हुनुहुन्थ्यो । विशेषगरी, ती देशका मन्त्रालयमा काम गर्ने कर्मचारीहरुको पनि प्रतिनिधित्व थियो । नेपाल, बङ्गलादेश र ब्राजिलकाचाहिँ शिक्षक थिए । वर्कसपको विशेषगरी २० दिनमध्ये पाँच दिनचाहिँ चीनले शिक्षामा कसरी विकास गरिरहेको छ ? शिक्षाको इतिहास, शैक्षणिक पद्धति प्रारम्भ कहिलेबाट कसरी भयो भन्ने कुराको व्याख्या सहभागीहरुलाई गरियो भने चौथो दिनदेखि तीन दिनसम्म सांघाई कसरी संसारको तेस्रो विकसित शहर बन्न सक्यो भन्ने जानकारी गराइयो ।
सांघाईको शैक्षणिक पद्धति, शिक्षक व्यवस्थापन र पाठ्यक्रमको प्रबन्ध हेर्दा त अमेरिकाभन्दा पनि विकसित लाग्यो । हामीलाई त्यहाँको बसाई अवधिभर चारवटा स्कूलहरुमा भ्रमण गर्न लगियो । ती स्कूलहरु ‘पेपरलेस’ थिए । पाठ्यपुस्तक लिएर गइरहनु नपर्ने र सबै कम्प्यूटरबाटै पठनपाठन हुने । सांघाईका अधिकांश विद्यालय, महाविद्यालयहरुमा चाहिँ पेपरलेस शिक्षण रहेछ । कतिपय विद्यालयहरुमा चाहिँ पेपर स्टडीको व्यवस्था पनि थियो । मलाई पनि यस खालको व्यवस्था गरेर त्यही प्रकारको मोटिभेसन नेपालमा कहिले गर्न पाइएला भन्ने लाग्यो । शिक्षकहरुका बारेमा पनि वर्कसपमा पर्याप्त छलफल भयो । मुख्यगरी, पिसा र टालिसका बारेमा सांघाईले इन्फर्मेसन लिने र चीनमा त्यसमा पनि सांघाईमा कसरी शिक्षाको प्रबन्ध गरिएको रहेछ भनेर हामीलाई तथ्य–तथ्याङ्क दिइएको थियो ।


सांघाईमा विद्यालयहरु निःशुल्क छन् । त्यहाँ निजी विद्यालयहरु मैले पाएँ । प्राइभेट विद्यालयहरुचाहिँ अत्यन्त ‘वेल टुडु’ परिवारले चलाउने र वेल टुडु फेमिलीकै बालबालिका त्यहाँ जाने रहेछन् । मैले ‘तपाईँहरु किन प्राइभेट विद्यालय पठाउनु हुन्छ त ? जबकि सामुदायिक विद्यालयमै यति राम्रो पठनपाठन छ ?’ भनेर सोधेँ । यसमा मैले त्यहाँका अभिभावकहरुबाट दुई कारण पाएँ । एक त, निजी स्कूलहरुमा साना नानीहरुलाई अलि लामो समयसम्म हेरचाह गरिँदो रहेछ । पब्लिक स्कूलमा चाहिँ ९ देखि ४ बजेसम्मको समय मात्र छ । प्राइभेट स्कूलमा ‘इन्डिभिजुअल टेक केयर’ छ । र, त्यहाँ बढी समय सामुदायिक विद्यालयमा भन्दा अलि बढी व्यवस्थित तरिकाले टेक केयर गरिने भएकाले हामी निजीमा बालबच्चा लैजान्छौं भनेर अभिभावकहरुले भने । मैले त ठानेको थिएँ–कम्युनिष्ट देश हो, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा सबै राज्यले ब्यहोर्छ, प्राइभेट विद्यालय हुँदैन होला । तर, त्यस्तो होइन रहेछ ।


चीनमा निजी विद्यालयको निकै चाखलाग्दो जानकारी दिनु’भो, त्यहाँको निजी विद्यालय यहाँको जस्तो सरकारको समानान्तर ढङ्गले चलेका त छैनन् नि ?


बिल्कुल छैन । त्यहाँको पूरै नियमन गर्ने र शिक्षण व्यवस्थापनमा सरकारको हात हुने व्यवस्था छ । अर्थ उपार्जनभन्दा पनि सरकारले जुन ढङ्गले शिक्षामा लगानी गरेको छ, त्यसलाई सहयोग पुग्नेगरी निजी स्कूललाई उपयोग गरेको पाएँ । यहाँ जस्तो होइन । भारत, बङ्गलादेश, पाकिस्तानमा पनि निजी विद्यालय छन्, त्यहाँ जस्तो पनि होइन । चीनमा रहेका निजी विद्यालयचाहिँ नियमलाई आत्मसाथ गर्ने सेवामुखी र राज्यप्रति बढी उत्तरदायी देखिन्छन् ।


वर्कसप मुख्यगरी के–के विषयमा केन्द्रित थियो ?


वर्कसपमा विशेषगरी दुईटा कुरालाई फोकस गरिएको थियो । एउटाचाहिँ चीनको शैक्षिक इतिहासबारे जानकारी गराउने र वर्तमान अवस्थाबारे तथ्य दिने थियो । माओत्सेतुङका पालादेखि चीन कसरी अघि बढ्यो, त्यहाँको साँस्कृतिक क्रान्तिका बेला शिक्षण संस्थादेखि लिएर मुलुक कसरी धराशायी भयो ? त्यो ऐतिहासिक पृष्ठभूमि हुँदै सि जिनपिङसम्मका शैक्षिक नीतिहरुमा त्यहाँका पार्टीले गरेको योगदानका विषयमा ४–५ दिनसम्म हामीलाई सुनाइयो । शिक्षामा त्यहाँ पार्टीको उच्च चासो हुने, सरकार कसरी चलिरहेको छ, जनताको अपेक्षा अनुसार काम गर्न सकिरहेको छ कि छैन ? भन्ने कुरामा पार्टीको प्रत्यक्ष निगरानी हुने गर्दछ । जन अपेक्षा अनुसार काम हुँदो रहेछ भन्ने मलाई महशूस भयो ।


शिक्षामा विद्यार्थीको सिकाइ नै मूल पक्ष हो । तपाईँहरुले घुमेका विद्यालयमा के पाउनुभयो ?


विद्यार्थीका लागि स्कूलमा मात्र नभई विद्यालयभन्दा बाहिर अफ आवरमा पनि के गराउनु पर्छ ? कसरी बिताइरहेको छ ? भनेर ध्यान दिइएको पाइयो । नेपालमा अभिभावकले १० बजे पठाइदिने अनि ४ बजेपछि स्कूलसँग वास्तै नगर्ने हाम्रो चलन छ । त्यहाँ त स्कूलले पनि चासो राख्छ । विद्यार्थीलाई स्कूल आवरबाहेकको समयमा ट्युटोरियल कक्षामा व्यस्त बनाउने चलन रहेछ । ९–१० बजेपछि तपाईँको नानी के गर्छ ? उसको रुचि के छ ? भनेर उसलाई ट्युटोरियल कक्षामा सहभागी गराइन्छ । ट्युटोरियल कक्षा पनि त्यहाँ प्रशस्त रहेछन् । ती ट्युटोरियल कक्षा यहाँ जस्तो चाहिँ होइन । त्यहाँ ट्युटोरियल कक्षा केवल बिहान र बेलुका चल्छन् । अभिभावकले आफ्ना नानीहरुलाई अतिरिक्त केही गराउन चाहन्छन् भने ट्युसन क्लासमा पठाउने गरिन्छ । ट्युसन क्लास पनि शिक्षकले चाहिँ चलाउन नपाउने नियम रहेछ । यदि शिक्षकले पढाएको पाएमा उसलाई तुरुन्तै बर्खास्त गरिन्छ । ट्युसन कक्षाका लागि त्यहाँ छुट्टै जनशक्ति हुने गर्छ । जो जागिरमा छैनन, तिनले मात्र ट्युसन पढाउन पाउँछन् । त्यसकारण ट्युसनको धेरै गुञ्जायस त्यहाँ रहेछ । त्यसैले पनि धेरै बालबालिका बिहान–बेलुका ट्युसनमै व्यस्त बन्ने गरेको त्यहाँ देखियो ।

अर्काे कुरा, त्यहाँको शिक्षा प्रणाली अति विद्यार्थीकेन्द्रित छ । गुणस्तरका निम्ति सबभन्दा महत्वपूर्ण पक्ष भनेको भौतिक पूर्वाधार हो भनिँदो रहेछ । जब विद्यालय भौतिक पूर्वाधारले सम्पन्न हुँदैन, तबसम्म विद्यार्थीमा भएका क्षमतालाई बाहिर ल्याउन सकिँदैन । ‘क्लासरुम एक्टिभिटिज’भन्दा कक्षा बाहिर गरिने सहक्रियाकलाप महत्वपूर्ण हो, त्यसैले विद्यालयलाई भौतिक रुपमा चाहिँ सम्पन्न पार्नु पर्छ भन्ने मुख्य कुरा रहेछ । हामीले भ्रमण गरेका सबै विद्यालयमा फुटबल, बास्केट बल ग्राउण्ड भएको पायौं । कतिपयमा स्वीमिङ पुल पनि पायौं । ती भित्र जु पनि छ । म्युुजियम पनि छ । तर जु र म्युजियमसहितका विद्यालय चाहिँ न्यून संख्यामा रहेछन् । साधारण स्कूलमा पनि भौतिक पूर्वाधार पर्याप्त देखिन्छ । सबै विद्यालयमा पुस्तकालय, कम्प्यूटर आदिको उचित प्रबन्ध गरिएको देखियो । को–करिकुल्ला एक्टिभिटिजलाई विशेष जोड दिइएको पाइयो ।
हुन त, गरीब त त्यहाँ पनि देखियो । सांघाईमा पनि मगन्तेहरु देखिए । तर हामीलाई चीनियाँहरुले भने कि ती गरिबीमा पर्नेहरु अल्छि भएर त्यो अवस्थामा पुगेका हुन् । ९५ प्रतिशतभन्दा बढी साक्षर छन् । ‘शतप्रतिशत साक्षरता दर पुर्याउने लाइनमा हामी छौं’ भनेर उनीहरुले प्रस्तुत गरेका थिए ।


शिक्षक व्यवस्थापन कसरी भइरहेको रहेछ ?


शिक्षकहरुको पनि उचित प्रबन्ध गरिएको छ । प्रत्येक पाँच वर्षमा पाठ्यक्रम परिवर्तन गर्ने प्रणाली रहेछ । पाठ्यक्रम परिवर्तन गर्दा अधिकांश काम शिक्षकहरुलाई नै लगाउने प्रावधान छ । शिक्षकले रिसर्च गर्नैपर्ने, सकेसम्म पाठ्यपुस्तक लेख्नैपर्ने, जर्नलहरुमा लेख प्रकाशन गर्नैपर्ने र त्यहीँ आधारमा उसको बढुवा हुने नियम रहेको छ । शिक्षकका निम्ति चारवटा श्रेणी हुँदो रहेछ । एउटा श्रेणीबाट अर्काे श्रेणीमा जानका निम्ति शिक्षकहरुले धेरै मेहनत गर्नुपर्ने हुन्छ । त्यो मेहनतबाट शिक्षकको स्टाटस नै फरक हुँदो रहेछ । श्रेणीमा फरक । तलबमा फरक । सुविधामा फरक । त्यसैले, त्यहाँका शिक्षकहरु अतिरिक्त कडा परिश्रमी, सिर्जनात्मक र ‘रिसर्च ओरियन्टेड’मा काम गर्ने हुँदा रहेछन् । कुनै विद्यार्थी कमजोर भयो भने किन कमजोर भयो ? घरायसी वातावरण पो बिग्रिएको छ कि अथवा के छ ? आनीबानी बिग्रिनुमा साथी संगत हो कि ? कुलतमा लाग्या छ कि ? जस्ता विषयमा रिसर्च गर्नु पर्छ । रिसर्च भनेको एकेडेमिक रिसर्च मात्र होइन कि विद्यार्थीसँग सरोकार राख्ने विषयमा अध्ययन गरी समाधान पहिल्याउनु रहेछ । यी सबै कुरा पूरा गरेपछि मात्र शिक्षक अपग्रेड हुने अवस्था आउँछ । शिक्षकले विद्यार्थी, पाठ्यक्रम, मुलुकको शैक्षिक प्रणालीको पक्षमा काम गर्नुपर्ने हुन्छ । अझ उनीहरुले विदेशमा कसरी शिक्षा अघि बढिरहेको छ भन्नेसम्मको चासो राख्नैपर्ने हुन्छ । चीनमा शिक्षकहरुको प्रबन्ध गर्ने र अपग्रेड गर्ने मापदण्ड निर्माण गरिएको छ, त्यसले उनीहरुलाई मेहनती बनाउन प्रोत्साहित गरेको देखिन्छ । शिक्षामा मुख्य पात्र भनेका शिक्षक नै हुन् भन्ने कुरा त्यहाँको राजनीतिक र प्रशासनिक नेतृत्वले बुझेको देखियो । राजनीतिक नेतृत्वले राष्ट्रले तयार गरेको पाठ्यक्रम कार्यान्वयनकर्ता भनेका शिक्षक नै हुन्, त्यसैले शिक्षकलाई अध्ययन–शोधमुखी बनाउनु पर्छ । उनीहरुलाई ‘मोटिभेसनल’ ढङ्गले तयार पार्नु पर्छ भन्नेमा स्पष्ट भएको देखियो । युनेस्कोले पनि के भन्छ भने शिक्षकका चारवटा कुरा हुनै पर्छ । शिक्षक तालिमयुक्त हुनुपर्यो । योग्य एवं क्षमतावान् हुनु पर्यो । ‘मोटिभेटेट’ र ‘सपोर्टिभ’ हुनुपर्यो। यी चार खालको योग्यता भएका शिक्षकबाट मात्र राज्यले तय गरेका शैक्षणिक पद्धति र नीतिलाई लागू गर्न सक्छ भन्ने त्यहाँको विश्वास छ । मैले शिक्षकलाई दिइने सुविधाका विषयमा पनि सोधेँ कि मिलिटरी, पुलिस, निजामती सेवामा र शिक्षकलाई दिइने तलब सुविधामा फरक छकि छैन भनेर । ‘सेनामा चाहिँ केही बढी छ तर कर्मचारी र शिक्षकबीच कुनै फरक छैन, हामीले समान तलब दिएका छौं’ भनेर चीनियाँ अधिकारीहरुले भने । अर्काे कुरा, त्यहाँ पनि स्थायी र अस्थायी शिक्षक नियुक्तिको व्यवस्था रहेछ । शिक्षकलाई उच्च प्राथमिकतामा राख्दाराख्दै पनि राम्रो ड्युटी गर्न नसके सोझै ‘हायर एण्ड फायर’ गर्ने कानून छ । त्यसको कहीँ सुनुवाई हुँदैन । एक किसिमको कडा र ‘अटोक्रेटिक’ ढङ्गको राजनीतिक नेतृत्व पनि मैले त्यहाँ महशूस गरेँ ।


तपाईँले नेपालको स्थितिका विषयमा त्यहाँ के–के कुरा प्रस्तुत गर्नुभयो ?


मेरो प्रस्तुति अन्तिम दिनमा थियो । मैले ‘नेपालमा शिक्षक नियुक्ति पद्धति, प्रक्रिया र शैक्षिक विकास’का विषयमा प्रस्तुत गरेँ । नेपालमा शिक्षक छनौटमा भइरहेका पद्धति र प्रक्रिया तदर्थवादमा चलिरहेको तर अहिले क्रमशः यो दीगो प्रणालीतर्फ अघि बढिरहेको बताएँ । किनभने, उच्चस्तरीय शिक्षा आयोग गठन भई काम गरिरहेको अवस्था छ । यो आयोगले मुलुकको २५ वर्षे शिक्षा नीति तय गर्नेछ र आयोगमा नेपाल शिक्षक महासंघ र म आफूले पनि भर्खरैदेखि सहभागिता जनाउन थालेको छु भनेर जानकारी गराएँ । त्यसबाट हामी नेपाली शिक्षकहरुको नियुक्तिको पद्धतिका कुरा, सेवा–सुविधा र साथसाथै शैक्षणिक पद्धतिलाई प्रभावकारी पार्ने अनि यसलाई गुणस्तरीय बनाउने हो भने अहिलेको पाठ्यक्रमलाई नै परिवर्तन गर्नु पर्छ भनेँ । अहिले नेपालमा तीन खालका विद्यालय छन्, साधारण माध्यमिक, संस्कृत माध्यमिक र व्यावसायिक माध्यमिक विद्यालय भनेर मैले व्याख्या गरेँ । सँगसँगै मैले उहाँहरुलाई चीनमा पनि प्राविधिक विद्यालयहरु देखेँ तर ती थोरै छन्, तपाईँहरुको उच्च प्राथमिकता पनि साधारण विद्यालयमै रहेछ भनेँ । यहाँ चीनमा पनि साधारण विद्यालयलाई नै कसरी प्राविधिक र व्यावसायीकरण बनाउने भन्ने रहेछ र हामी पनि अहिले यही लाइनमा छौं, शिक्षक महासंघले पनि यही माग गरिरहेको छ भनेँ । नेपालमा भौतिक पूर्वाधार कमजोर छ, तीन वर्ष अघि भूकम्प गयो । भूईँचालोले भत्काएका विद्यालय बनाउन सकिएको छैन । औषत एक हजार चार सय मात्र प्रतिव्यक्ति आयस्रोत भएका नेपालीलाई शिक्षा विकासका निम्ति सहयोग चाहिन्छ भन्ने कुरा राखेँ । संसारमै तीन/चारवटा कुरामा चीन अघि छ । त्यहाँ आठ मीनेटमा ४० किमि पार गर्ने त रेल नै छ । यस्तो विकसित चीनको छिमेकी मुलुक नेपाल पनि यतिबेला पाठ्यक्रम परिवर्तनको मुखमा छ । यी सबै प्रयत्नमा तपाईँहरुको टालिस र पिसाको कार्यक्रममा सहभागी बनाउनोस् भनेँ । वास्तवमा शिक्षामा एकाङ्की प्रयत्नले सोचेको परिणाम आउँदैन । शिक्षक, विद्यार्थी, अभिभावक र सरकार सबैको सामुहिक प्रयत्न हुनु जरुरी छ ।


तपाईँले योग्य र क्षमताका आधारमा चीनमा शिक्षक बन्न पाइने सुनाउनुभयो । नेपालमा शिक्षकहरु आन्दोलनका भरमा स्थायी गर्नुपर्नेलगायतका माग राख्ने प्रवृत्ति देखिएकै हो । चीनको शिक्षकहरुको योग्यता र शर्त हेर्दा, नेपालमा के अहिलेसम्म गरिएका शिक्षक आन्दोलनको दिशा सही रहेछ त ?


शिक्षक आन्दोलनको दिशाचाहिँ ठीक ढङ्गले अघि बढिरहेको छ । किनभने, आन्दोलनको विषयवस्तु भनेको खाली शिक्षकको हक–हित र अधिकारको मात्र कुरा छैन । यसले पाठ्यक्रममा परिमार्जन गर्ने, संविधानले भनेको आधारभूत तहमा निःशुल्क र अनिवार्य अनि माध्यमिकमा निःशुल्क गर्ने भन्ने जुन प्रावधान छ, त्यसलाई व्यवहारिक रुपमा लागू गर भन्ने कुरा छ । हाम्रो बहु साँस्कृतिक, बहुजातिय, बहुभाषिक मुलुकमा मूल प्रवाहमा पछि परेकालाई मूलप्रवाहीकरण गर भन्ने हाम्रो आन्दोलनको मागहरु हुन् । त्यसकारण आन्दोलन ठीक ढङ्गले अघि बढिरहेकै छ भन्ने हो । शिक्षाको एउटा मुख्य अभियानकर्ता नै सन्तुष्ट नभइकन उपलब्धि प्राप्त हुन्छ भन्ने त मलाई लाग्दैन । शिक्षकहरुलाई सन्तुष्ट पार्ने काम राज्यले गर्नै पर्छ । तर, हामी शतप्रतिशत ठीक थियौं भन्ने होइन । हाम्रो आन्दोलन पनि परम्परागत र ‘कन्जरभेटिभ’ ढङ्गको चाहिँ भएकै हो र यो अझै पनि छ । अब त्यसलाई परिवर्तन गर्नेगरी अघि बढ्न जरुरी छ । खासमा पेशा र जिम्मेवारीलाई सँगसँगै आत्मसाथ गर्नु पर्छ । त्यसैले पनि नेपाल शिक्षक महासंघले ‘अधिकार र कर्तव्यका निम्ति शिक्षक एकता’ भनेको छ । यसरी परम्परागत आन्दोलन नभइरहनुको मूल कारक राज्य नै हो । शुरुमै ठीक ढङ्गले शिक्षक छनौटका गरेको भए योग्यतम् शिक्षक भर्ना हुन्थे र त्यही अनुसार प्रबन्ध पनि हुन सक्थ्यो । त्यसैले अब शिक्षकहरुको समस्या किनारा लाग्दै गएकाले हाम्रो यो नेपाली शिक्षकहरुको पंक्ति राज्यले अवलम्बन गरेको समृद्धिको दिशामा आफूलाई समाहित गर्दै जानु पर्छ । यसका निम्ति राज्यका तीनवटै स्थानीय, प्रान्तीय र संघीय निकायले यो पंक्तिको क्षमता, योग्यता, अनुभवलाई यथोचित ढङ्गले परिचालित गर्नपट्टि लाग्नु पर्छ ।


तपाईँहरु ‘ट्रेड युनियनिजम’लाई निकै महत्व दिनुहुन्छ, चीनमा शिक्षकको ट्रेड युनियन छ कि छैन ?


छ तर त्यहाँ ट्रेड युनियन ‘हाइ साइज’मा छैन । शिक्षक युनियन त छ तर ट्रेड युनियनका रुपमा भन्दा पनि सामाजिक र प्रोफेसनल युनियनिजमका रुपमा छन् । त्यसले यहाँको जस्तो आन्दोलन गर्दैन र गर्नुपनि पर्दैन । मैले उहाँहरुलाई जिज्ञासा राखेको थिएँ–तपाईँले मलाई त महासंघको हैसियतले बोलाउनुभयो । म त विश्व शिक्षक महासंघ एसिया प्यासिफिकको बोर्ड मेम्बर पनि हुँ भनेँ । चीनमा शिक्षक युनियनको भूमिका के छ भनेँ । उहाँहरुले भन्नुभयो–हामीकहाँ पनि युनियन छ । स्कूल–स्कूलमै छ तर ट्रेड युनियनका रुपमा छैनन् ।


त्यो दिन यहाँ कहिले आउँला त ?


त्यो दिन ल्याउनका निम्ति नेपालका राजनीतिक नेतृत्व र सरकार सचेतका साथ अघि बढ्नु पर्छ । हामीले आफ्नो व्यवसायलाई मजबूत पार्ने कुरामा चेत सबैमा नआई हुँदैन ।


चीनको २० दिने कार्यशालामा भाग लिएपछिको उपलब्धि कसरी लिनुभएको छ ?


सारमा मलाई चीनको २० दिने बसाई अवधिमा शैक्षणिक पद्धतिसम्बन्धी सांघाईले जुन बुझ्ने मौका दियो, १४ वटा राष्ट्रमध्ये अति विकसितदेखि एसिया प्यासिफिक राष्ट्र फिजीसम्मले आ–आफ्ना स्थिति दर्शाए । नेपालभन्दा सानो मुलुक फिजीले पनि धेरै कुरामा प्रगति गरेको रहेछ । त्यहाँबाट शिक्षा विभागका निर्देशकले गर्नुभएको प्रस्तुतिले म झन् प्रभावित भएँ । यसबाट पनि के देखिन्छ भने हाम्रो सिङ्गो सरकारले शिक्षामा उच्च प्राथमिकता दिनु पर्छ भन्नेमा चेत हुनै पर्छ । चीन कम्युनिष्ट पार्टीका सचिवले भन्नुभएको थियो कि हाम्रो बढी हेराइ नै शिक्षाबाट हुन्छ । उहाँले एक–दुई दिन पछि हामी पुलको उद्घाटन गर्दैछौं भन्नुभएको थियो । हुन पनि, त्यहाँ भर्खरै ५५ किमिको पुल उद्घाटन भयो । समुद्रमुनि हुँदै पहाड छेड्दै त्यो पुल बनेको छ । सबैभन्दा दु्रुतगतिको रेल चीनमै छ । यी सबै कुरा शिक्षालाई उच्च प्राथमिकतामा राखेकै कारण त्यहाँ सम्भव भएको हो । मलाई चीनियाँ प्रतिनिधिहरुले भनेका छन्–तपाईँले पनि नेपाल सरकारलाई भन्नोस् कि प्रत्येक साल टालिस र पिसामा नेपालबाट प्रतिनिधि गराउन हामी तयार छौं । सम्भवतः सांघाईले नेपालको प्रतिनिधित्व गराउन मसँग कन्सल्टेन्सन गर्छ होला र म पनि यो कुरा नेपाल सरकार शिक्षा मन्त्रालयलाई रिपोर्टिङ गर्ने नै छु ।


प्रस्तुतिः सुदर्शन सिग्देल

 

प्रमुख समाचार

 सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै  सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै

सरकारले कोरोना महामारीका बेला वैकल्पिक सिकाइका लागि भन्दै ३४ लाख विद्यार्थीलाई सियुजी (क्लोज युजर ग्रुप) सेवामा जोड्ने लक्ष्य राखेपनि जम्मा ५ हजार बाल ...

‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष ‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष

‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् । कार्टुन ...

गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले ...