२०७७ कार्त्तिक १४ गते / 30th Oct 2020, Friday
investment investment

डा. अतुल गवण्डेः शैक्षिक व्यक्तित्वका पर्याय




औैपचारिक शिक्षा र ‘स्कुलिङ’का बारेमा विश्वमा धेरै वहसहरु भएका छन् । अभिभावकले आफ्ना छोराछोरीलाई कस्तो बनाउने भन्नेबारे विश्वभरी नै चिन्ता र चासो छ । अझ यस्तो चिन्ता र चासो नेपाल जस्ता विकासोन्मुख र कमजोर देशहरुमा ज्यादा छ । नेपाली समाजमा केही दशकदेखि आफ्ना छोराछोरीलाई उनीहरुको रुचि र क्षमतामा आधारित नभएर बाबुआमाको रहर अनि करकाप अनि समाजको देखासेखीमा पढाइको विषय र पेशा जबर्जस्ती तय हुने गरेकै छ । यताका वर्षमा यो प्रवृत्तिसँगै आफ्ना छोराछोरीलाई विदेश पठाउने रहर अधिकांश अभिभावकको देखिन्छ र यसले नयाँ पुस्तालाई पनि आकर्षित गर्दै लगेको छ ।


औपचारिक शिक्षा र अभिभावकको मार्गदर्शनलाई सबै सन्दर्भमा नकार्न त सकिँदैन तर स्कूल, शिक्षक अथवा अभिभावकको बाहिरी प्रयासले एउटा बालकको व्यक्तित्वलाई कसरी आकार दिने भन्ने सवाल सदैव उठेको देखिन्छ । बालबालिकाको आन्तरिक सम्भावना र उर्जाको पहिचान गर्दै आगामी बाटो देखाउन आधुनिक शिक्षाको सार्वकालिक चुनौती हो । यसका लागि डा. अतुल गवण्डेको व्यक्तित्वबाट नेपाली शिक्षाकर्मी, विद्यार्थी, अभिभावक, लेखक, राजनीतिज्ञ र पत्रकारले समेत प्रेरणा लिन सकिन्छ ।


भारतीय मूलका ५२ वर्षीय अमेरिकन डा. अतुल गवन्डे मेडिकल सर्जन, लेखक, आम स्वास्थ्य क्षेत्रका अनुसन्धानकर्ता, पत्रकार र राजनीतिक कार्यकर्ताका रुपमा पनि समकालीन विश्वमा चर्चित छन् । उनको संलग्नताको क्षेत्र, लगाब र गतिशीलता विश्वव्यापी वहसको विषय बनेको छ ।


भारतबाट अमेरिका बसाई सरेका डाक्टर आमाबाबुबाट नोभेम्बर ५, १९६५ मा जन्मेका गवन्डेले अमेरिकामै सन् १९८३ का विद्यालय तहको अध्ययन पूरा गरे । सन् १९८७ मा स्टान्फोर्ड विश्वविद्यालयबाट जीव विज्ञान र राजनीतिशास्त्रमा अन्डरग्राजुयट डिग्री लिए । सन् १९८९ मा बालिअल कलेज अक्सफोर्ड युनिभर्सिटीबाट दर्शनशास्त्र, राजनीतिशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरे । सन् १९९५ मा हार्वाड मेडिकल स्कूलबाट मेडिसिनमा विद्यावारिधी गरे र सन् १९९९ मा हावार्ड स्कूल अफ पब्लिक हेल्थबाट पब्लिक हेल्थमा स्नातकोत्तर गरे र फेरि सन् २००३ मा हावार्डबाट जनरल आवासीय सर्जिकल तालिम लिए ।
डा. अतुल डाक्टर मात्र होइनन्, उनले आफूलाई पत्रकारितामा पनि उत्तिकै सक्रिय बनाएका छन् । उनी स्लेट म्यागाजिनमा स्तम्भ लेख्थे । विश्वप्रशिद्ध म्यागाजिन ‘द न्यूयोर्कर’मा १९९८ देखि त स्टाफ लेखककै रुपमा स्तम्भ लेख्न थालेका थिए । जुन २००९ मा न्योर्करमा प्रकाशित उनको ‘कर्पोरेट संस्कृति’ले स्वास्थ्य सेवालाई कसरी महंगो बनाउँछ भन्ने निष्कर्षसहितको लेख चर्चित बनेको थियो । उनको लेख ‘मेड वेभ्स’लाई कंग्रेसबाट हेल्थ केयर विल पास गर्ने क्रममा तत्कालीन राष्ट्रपति ओवामाले आधार बनाएका थिए । तत्कालीन सिनेटर रोन वाइडेनले बताएअनुसार सो लेखले ओबामाको सोंचलाई नाटकीय रुपमा प्रभावित पा¥यो । न्यूयोर्करको उनको लेख पढेर वारेन बफेटका दीर्घकालीन व्यापारिक साझेदार चार्लमुन्गरले डा. गवण्डेलाई सामाजिक रुपमा अति उपयोगी विचार दिएकाले धन्यवादस्वरुप उनलाई २० हजार डलरको चेक पठाएका थिए । पछि डा. गवण्डेले उक्त चेक एउटा अस्पताललाई दान दिएका थिए ।


पत्रपत्रिकामा पपुलर लेखनका अलावा उनी न्यू इंग्ल्याण्ड जर्नल अफ मेडिसिन जस्ता जर्नलमा मिलिटरी सर्जरी सम्बन्धी सोधमूलक लेखहरु लेख्थे । उनी विश्व स्वास्थ्य संगठनको विश्वव्यापी रुपमा विरामीको सुरक्षा चुनौतीसम्बन्धी अध्ययन गरेर जोखिम न्यूनीकरण गर्ने कार्यक्रमका निर्देशक पनि थिए । ‘उत्कृष्ट अमेरिकन निबन्ध संकलन २००३’ मा उनका लेखहरु समावेश भएका थिए । उत्कृष्ट विज्ञान लेखन सन् २००२, उत्कृष्ट विज्ञान लेखन सन् २००९ र उत्कृष्ट अमेरिकन विज्ञान तथा प्रकृति लेखन सन् २०११ मा पनि उनका प्राज्ञिक लेखहरु छापिएका थिए ।


सन् २००२ मा उनको पहिलो पुस्तक ‘अ सर्जनर्स नोट अन एन ईम्परफ्येक्ट साईन्स’ थियो । उनको पुस्तक राष्ट्रिय पुस्तक पुरस्कारको अन्तिम चरणमा छनोट भएको थियो भने सो पुस्तक एक सयभन्दा बढी देशमा प्रकाशित भएको थियो । उनको अर्को पुस्तक ‘वेटर ः अ सर्जन्स नोट अन पर्फम्मेन्स’मा सफल डाक्टरहरुको उदाहरण दिँदै उनले मेडिसिन विधामा सफल हुन सही काम, सावधानी र रचनात्मकता आवश्यक पर्ने कुराको व्याख्या गर्दै उक्त पुस्तक लेखेका थिए । उनले ग्राहकको खर्च बढाउनमा डाक्टरको भूमिका लगायत अस्पतालै पिच्छेको फरकफरक उपचारको अवस्थालगायतका विवादास्पद मेडिकल सवालहरुका बारेमा पनि चर्चा गरेका थिए ।


गवण्डेको तेस्रो पुस्तक सन् २००९मा प्रकाशित ‘द चेकलिष्ट मेनुफेस्टो’ थियो । उक्त पुस्तकमा उनले कसरी कुनै पनि कुरा सही तरिकाले प्राप्त गर्ने भन्ने व्याख्या गरेका थिए । यस पुस्तकमा मेडिसिन लगायत अन्य क्षेत्रमा पनि उनले संगठित संस्था र कुनै काम गर्नुभन्दा अघिको पूर्व योजनाको महत्वबारे व्याख्या गरेका थिए । ‘चेकलिष्ट मेनुफेस्टो’ सन् २०१० को नन फिक्सन वेष्ट सेलरको सूचीमा परेको थियो । सन् २०१२ मा उनले ‘हाउ डु वी हिल मेडिसिन’ शीर्षकमा विश्वप्रशिद्ध टेड (त्भ्म्० टेलिभिजन शो कार्यक्रममा प्रस्तुति दिएका थिए । सन् २०१४ मा उनको ‘विईङ मोर्टल ः मेडिसिन एण्ड ह्वाट्स म्याटर ईन द ईन्ड’ पुस्तक प्रकाशित भएको थियो । यो पुस्तक पनि न्यूयोर्क टाईम्सको वेष्ट सेलरको सूचीमा परेको थियो । यो पुस्तकमा आधारित भएर सन् २०१५ मा ‘फ्रन्टलाईन’ भन्ने टेलिभिजन सिरियल नै निर्माण गरिएको थियो ।


डा. अतुल गवण्डे मेडिसिन, लेखन, पत्रकारिता मात्रै नभएर राजनीतिमा समेत उनको सक्रियता उल्लेखनीय छ । ग्य्राजुएसनपछि उनी सन् १९८८ मा राष्ट्रपतिय चुनाबका शुरुवाती डेमोक्र्याट उम्मेदवार ग्यारी हार्टको क्याम्पियनमा स्वयंसेवक थिए । पछि आधिकारिक उम्मेदवार एलगोरको राष्ट्रपति अभियानमा लागेका थिए । रिपब्लिकन जिम कोअपर जो ‘म्यानेज्ड कम्पिटिसन’का लेखक हुन् । डा. गवण्डेले उनको हेल्थ केयर रिसर्चरको रुपमा काम गरेका थिए । उक्त दस्तावेज कन्जर्भेटिभ डेमोक्र्याटिक रिपब्लिकनको तर्फबाट हेल्थ केयर प्रस्ताव थियो ।


उल्लेखनीय पक्ष त के छ भने डा. गवण्डेले सन् १९९० पछि मात्रै मेडिकल स्कूल प्रवेश गरेका थिए । तर सन् १९९२ मा विल क्लिन्टनको हेल्थकेयर कार्यक्रमको सहायक बनेर काम गरेका थिए । पछि विल क्लिन्टन राष्ट्रपति भएपछि डिपार्टमेन्ट अफ हेल्थ एण्ड ह्युमन सर्भिसेसको निर्देश बनेका थिए । क्लिन्टनको हेल्थ केयर टास्क फोर्सको तीनमध्ये एउटा कमिटीलाई डा. गवण्डेले नेतृत्व गरेका थिए जहाँ उनको मातहतमा ७५ जना काम गर्थे । सन् १९९३ मा उनले पुनः मेडिकल स्कूल भर्ना भए र सन् १९९५ मा मेडिकल डिग्री हासिल गरेका थिए ।


डा. गवण्डेका योगदानलाई कदर गर्दै धेरै निकायहरुले पुरस्कृत गरेका थिए । उनलाई सन् २००६ मा आधुनिक सर्जिकल अभ्यास र मेडिकल नैतिकता वहन गरेकोमा ‘म्याकआर्थर फेलो’ दिइएको थियो । उनलाई अप्रेशनबाट मुत्यु घटाउने विश्व स्वास्थ्य संगठनको कार्यक्रममा निर्देशक बनाइएको थियो । सन् २००९ मा उनी हास्टिङ सेन्टर फेलोमा निर्वाचित भएका थिए । हास्टिङ फेलो स्वास्थ्य क्षेत्रमा विश्वभरका उत्कृष्ट सदस्य व्यक्तिहरुबाट निर्वाचित हुने परम्परा भएको संस्था हो । यस्तै, सन् २००४ मा न्यूजविक पत्रिकाले डा. गवण्डेलाई २० ज्यादा प्रभावशाली दक्षिण एसियालीको सूचीमा राखेको थियो ।
सन् २०१०को टाईम १०० जना विश्व चिन्तकमध्ये उनलाई पाँचौ चिन्तकमा सूचीकृत गरेको थियो । सन् २००४ मै ‘फरेन पोलिसी म्याजिन’ले उत्कृष्ट विश्व चिन्तकको सूचीमा राखेको थियो । उनले स्वास्थ्य सेवा क्षेत्रमा अनुसन्धान र विज्ञानबारे सोध र लेखनबारे दुईवटा अवार्ड जितेका थिए । सन् २०१४ मा म्यासेचुसेट्स सरकारबाट त्यहाँको जनताको स्वास्थ्य सुधार्न योगदान दिएबापत् म्यासेचुसेट्स सरकारबाट प्रतिष्ठित पुरस्कार पाएका थिए । सन् २०१४ मा उनले विविसीको रेथ लेक्चर ‘फ्युचर अफ मेडिसिन’मा बोस्टन, लण्डन, ईडिनबर्ग र दिल्लीमा प्रवचन दिएका थिए ।


डा. गवण्डेको समग्र व्यक्तित्वको समीक्षा गर्दा नेपालको सन्दर्भमा पनि उपयोगी र प्रेरणादायी बन्न सक्छ । विश्वमा बहुप्रतिभाका विषयमा वहसहरु हुने गरेका छन् । व्यक्तिभित्र कुनै एउटा मात्रै प्रतिभा हुँदैनन् । व्यक्तिभित्रका बहुप्रतिभामध्ये कुनै खास प्रतिभाले विकास हुने अवसर पाएर एउटा विषयमा प्रतिभाशाली देखिएपनि व्यक्तिको अन्तरसम्बन्धमा बहुव्यक्तित्व निर्माण हुनसक्छन् भन्ने उदाहरणको रुपमा डा. गवण्डेलाई लिन सकिन्छ । विश्वविद्यालयका शुरुवाती दिनमा राजनीतिशास्त्र, दर्शनशास्त्र र अर्थशास्त्रका विद्यार्थी रहेका गवण्डेले एकाएक मेडिकल शिक्षातिर लागेर चामत्कारिक योगदान दिएका देखिन्छन् । उनको गतिशिल भूमिका देख्दा आफ्नो विज्ञतालाई खार्दै समाजका लागि योगदान दिने र आफ्ना ज्ञान तथा अनुभवलाई संश्लेषित गर्ने स्वभावलाई नेपाली विज्ञहरुले पनि सिक्नुपर्ने विषय हो । मिडियामार्फत् आफ्ना ज्ञानलाई प्राज्ञिक क्षेत्रका अतिरिक्त आमजनताले बुझ्ने भाषामा संप्रेषण गर्ने शैलीलाई पनि हामीले उनीबाट सिक्न सक्छौं । आफ्नो पेशामा मात्रै सीमित नभई समाजप्रतिको दायित्व र योगदान पनि डा. गवण्डेबाट सिक्नुपर्ने अर्को पाठ हो ।


आन्तरिक इच्छाशक्ति हुने हो भने जुनसुकै विषयमा पनि दक्षता हासिल गर्न सकिन्छ । समाज विज्ञानका विषयका विद्यार्थीले समेत इच्छाशक्ति हुँदा मेडिकल शिक्षा जस्तो प्राविधिक विषय पनि पढ्न सक्छन् भन्ने बलियो उदाहरण पेश गरेर विभिन्न परिस्थतिजन्य कारणले आफ्नो रुचिको विषय पढ्न नसकेका नेपाली युवाहरुका लागि डा. गवण्डे प्रेरणा स्रोत बन्न सक्छन् ।

प्रमुख समाचार

दिवा खाजाको बजेट रकामान्तर गरेर विद्यार्थीलाई इन्टरनेट उपलब्ध गराउने सरकारको योजना दिवा खाजाको बजेट रकामान्तर गरेर विद्यार्थीलाई इन्टरनेट उपलब्ध गराउने सरकारको योजना

शिक्षा सचिव भन्नुहुन्छ–संघीय शिक्षा ऐनका लागि सबैको साथ चाहिन्छ   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को महामारीमा विद्य ...

राज्यमन्त्रीलाई विद्यालय खुलाउनेभन्दा संविधानको शिक्षा अधिकारसम्बन्धी अनुसूचिको चिन्ता राज्यमन्त्रीलाई विद्यालय खुलाउनेभन्दा संविधानको शिक्षा अधिकारसम्बन्धी अनुसूचिको चिन्ता

प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अविराम शर्माले माध्यमिक शिक्षा स्थानीय तहलाई दिइएको सम्बन्धमा अब सबभन्दा पहिला संविधानले दिएको अधिकार सूचीमाथि ...

कर्णाली प्रदेशमा  रेडियो र घर–घरमा शिक्षक परिचालन गरिने कर्णाली प्रदेशमा  रेडियो र घर–घरमा शिक्षक परिचालन गरिने

हिमाली क्षेत्रमा छुट्टै सिकाइ विधि ल्याउने तयारी कोरोना भाइरस (कोभिड–१९) को महामारीका बीच सिकाइ निरन्तरताका लागि कर्णाली प्रदेशमा विशेष सिकाइ वि ...