२०७७ असार २९ गते / 13th Jul 2020, Monday
investment investment

शिक्षक तालिमः केन्द्रमा सिक्ने, बाटोसम्म सम्झिने अनि कक्षामा बिर्सिने !

नेपालमा सामुदायिक विद्यालयका ९८ प्रतिशत शिक्षकहरु तालिम प्राप्त छन् भन्ने सरकारी आँकडा छ । तर, तालिमको प्रभावकारिता कक्षासम्म पुगेन भन्ने गुनासो आइरहँदा यसबारे ठोस अध्ययनको तथ्यचाहिँ बाहिर ल्याइएको छैन ।


कोरोना संक्रमणको अहिलेको अवस्थामा हिजोकै तालिम शिक्षकका निम्ति पर्याप्त होला त ? ‘अबको तालिम कस्तो ?’ भन्ने विषयमा शिक्षा पत्रकार समूहले बुधबार गरेको अनलाइन छलफलमा सहभागीहरुको सामुहिक मत थियो, ‘विगतमा तालिम केन्द्रमा शिक्षकले तालिम लिए, फर्किएर बाटोसम्म आउँदा सम्झिए अनि कक्षाकोठा पुग्दा बिर्सिए ।' हुम्लाका पत्रकार राजन रावतले यही दृष्टान्त दिँदै कक्षाकोठामा तालिम पुग्न नसकेको यथार्थ सुनाउनुभएपछि सबैको एकै निचोड रह्यो, 'अबचाहिँ त्यस्तो नहुने प्रकारको तालिम चाहिन्छ ।’


यस्तो किन भयो त ? शिक्षक तालिममा लामो समयसम्म अनुभव सम्हाल्नुभएका शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसी थपलियाले भन्नुभयो, ‘मूलतः तालिमको प्रभावकारिता चार तहमा जाँचिन्छ । पहिलो, तालिम लिने शिक्षकहरुले नै तालिम प्रभावकारी रह्यो रहेन भनेर तत्कालै दिने जवाफ । दोस्रो, तालिममा सिकेको हो कि होइन भनेर प्रमाणित गर्ने काम । यो पनि एउटा मूल्याङ्कन नै हो । तेस्रो, तालिम लिनेको शिक्षण व्यवहार । र, चौथोचाहिँ विद्यार्थीको सिकाइमा रुपान्तरण ।’ विद्यार्थीको सिकाइमा रुपान्तरण भयो/भएन ? त्यो महत्वपूर्ण विषय भएको डा. थपलियाले बताउनुभयो । तेस्रो र चौथो प्रभावको खोजीमै अहिले शिक्षक तालिमप्रति खास प्रश्न उठिरहेको उहाँको भनाइ छ ।


उहाँका अनुसार १० दिन केन्द्रमा र ५ दिन विद्यालयमा अभ्यास हुनेगरी अहिलेको तालिम मोड्युल रहेको छ । ‘तालिम’ शब्द सुन्नेबित्तिकै शिक्षकले भत्ता बुझ्ने र समय खेर फाल्ने पद्दति भइदियो भनेर यसको आलोचना हुने गरेको छ । त्यसैले पनि तालिम नभनी शिक्षकको पेशागत विकास (टिपिडि)का रुपमा शिक्षण क्षमता बढाउन तालिम दिने गरेको डा. थपलिया प्रष्ट्याउनुहुन्छ ।


हिजोकै तालिम पद्दतिले शिक्षकलाई सहयोग गर्छ त ? यो प्रश्नको उत्तरमा महानिर्देशक डा. थपलिया भन्नुहुन्छ, ‘अवश्य नहुने रहेछ । परिस्थिति र प्याकेज फरक हुन्छन् । एउटै स्ट्याण्डर्डले हुँदो रहेनछ । अब निश्चित स्टाण्डर्डचाहिँ चाहिन्छ तर परिवेशअनुसार विविध स्वरुपमा लचकता अपनाउनेगरी तालिमको डिजाइन हुँदैछ ।’ उहाँको यो भनाइले सरकार शिक्षक तालिम दिने विधि र स्वरुप बदल्ने तयारीमा छ भन्ने बुझिन्छ ।

हिजोकै तालिम पद्दतिले शिक्षकलाई सहयोग गर्छ त ? यो प्रश्नको उत्तरमा महानिर्देशक डा. थपलिया भन्नुहुन्छ, ‘अवश्य नहुने रहेछ । परिस्थिति र प्याकेज फरक हुन्छन् । एउटै स्ट्याण्डर्डले हुँदो रहेनछ । अब निश्चित स्टाण्डर्डचाहिँ चाहिन्छ तर परिवेशअनुसार विविध स्वरुपमा लचकता अपनाउनेगरी तालिमको डिजाइन हुँदैछ ।’ उहाँको यो भनाइले सरकार शिक्षक तालिम दिने विधि र स्वरुप बदल्ने तयारीमा छ भन्ने बुझिन्छ ।


कोरोनाको कहरमा बालविकास कक्षादेखि १२ सम्मका ८२ लाख ५७ हजार विद्यार्थी लकडाउनमा छन् । तिनलाई पढाउने झण्डै ३ लाख शिक्षक पनि यतिबेला घरभित्रै रहनु परेको छ । पठनपाठन ठप्प छ । यस्तो बेला खासगरी अनलाइन, रेडियो÷टिभि, एप्स तथा रेकर्डेड माध्यमबाट पठनपाठन गराउनुपर्ने बाध्यता आइसकेको स्थितिमा शिक्षकहरु प्रविधिमैत्री नभएकाले उनीहरुको विगतको तालिमले अब नपुग्ने ठम्याई छ ।


शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला त हिजो तालिम निःशुल्क दिइएकाले समस्या भएको र अब आवश्यकताका आधारमा सशुल्क हुनुपर्ने बताउनुहुन्छ । ‘तालिम किन्ने हो किन्ने । तिर्छ कसले भन्ने मात्र कुरा हो,’ प्रा.डा. कोइरालाले भन्नुभयो, ‘शिक्षकले कति जाने ? त्यसको प्रोफाइल बनाउन सकिन्छ । शिक्षक स्वयंले आफूलाई के कुरा नपुगेको हो, तिनलाई मोड्युलर तालिम दिऊँ ।’


कोरोना कहरको यो बेला डाक्टर, प्रहरी अनि पत्रकार काममा खटिने अनि तीन लाखको हाराहारीमा रहेको शिक्षक चूपचाप घरमा बसिरहेकोप्रति प्रा.डा. कोइरालाले प्रश्न उठाउनुभयो । अनलाइन, रेडियो/टिभि, एप्स तथा रेकर्डेड माध्यमबाट केगरी पढाउन सकिने हो ? सातदिने वा कति दिने हुने हो ? त्यसका लागि शिक्षक स्वयंलाई तालिम प्याकेज बनाउन दिनुपर्ने प्रा.डा. कोइरालाको सुझाब छ ।


यता, शिक्षक महासंघका अध्यक्ष बाबुराम थापा भने आलोचना बढी सुन्नुपर्ने पंक्तिमा शिक्षक रहेको भन्दै डा. कोइरालाको भनाइप्रति असहमत देखिनुभयो । उहाँको प्रतिवाद थियो, ‘अनलाइनको पहुँच जहाँ छ, त्यो अनुसार शिक्षक सक्रिय रहेको तर एकाङ्की रुपमा शिक्षक घरभित्र बसे भन्न मिल्दैन ।’ यद्यपि, ‘निश्चय नै शिक्षा प्रणालीभित्रको पाठ्यक्रमलाई विद्यार्थीसम्म पुर्याउने पात्र शिक्षक नै रहेकाले ऊ योग्य हुनुपर्नेमा शंका नरहेको थापाको कथन छ । ‘तर, शिक्षकहरुको अवस्था के छ भनेर पहिला बुझ्नु पर्छ,’ शिक्षक तालिम समय–सान्दर्भिक हुनु पर्छ भन्ने मतमा आफ्नो समर्थन रहेको अध्यक्ष थापाले भन्नुभयो ।


संवाद कार्यक्रममा सहभागी शिक्षकहरुले तालिमलाई अनावश्यक रुपमा अनिवार्य नगरी आवश्यकताका आधार दिइनुपर्ने मत राखे । निलबाराही मावि कालीमाटी काठामाडौंकी प्रधानाध्यापक डा. जानुका नेपाल पौडेलको तर्क छ, ‘नभोकाइकनै शिक्षकलाई तालिम दिइयो । बरु, विद्यालयलाई नै तालिम व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी दिऊँ, आवश्यकताका आधारमा तालिमका भोका शिक्षकले अवसर पाउँनेछन् ।’ यसको जवाफमा शैक्षिक तालिम केन्द्र बागमति प्रदेशका प्रमुख डा. तोयनाथ खनालले आवश्यकतामा आधारित पुनर्ताजगी तालिम दिने गरेको जानकारी दिनुभयो । ‘त्यहीँ पुनर्ताजगीलाई टेकेर हामीले अहिले शिक्षकलाई आवश्यकताकै आधारमा अनलाइन तालिम दिइरहेका छौं,’ उहाँको प्रष्टोक्ति थियो ।

काबासोती नगरपालिका नवलपुरका स्रोत शिक्षक तीर्थ कँडेलले भने शिक्षक तालिमलाई ‘ओखती’को संज्ञा दिनुभयो । ‘यो धेरै खाइरहनुपर्ने अवस्था आउनुहुँदैन,’ पूर्व अंग्रेजी शिक्षकसमेत रहनुभएका कँडेलको भनाइ छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार २०२८ यता शिक्षक तालिममा करिव १६ अर्ब रुपैयाँ खर्च भएको छ । ४९ वर्षको यो अवधिमा भएको १६ अर्ब खर्च शिक्षक तालिमका लागि बढी हो या असाध्यै घटी होला ? यो पनि अध्ययनकै विषय हो । यद्यपि, तालिमको प्रभावकारितामाथि पनि अध्ययन हुनुपर्ने धारणा शिक्षा पत्रकार समूहका महासचिव जनक नेपालको छ ।

प्रमुख समाचार

सिन्धु विद्यालय स्थापनाका साक्षी अंग्रेजी शिक्षाका पक्षधर पोषप्रसाद नेपालको निधन सिन्धु विद्यालय स्थापनाका साक्षी अंग्रेजी शिक्षाका पक्षधर पोषप्रसाद नेपालको निधन

सिन्धुपाल्चोकका पुराना शैक्षिक अभियन्ता एवं शिक्षक पोषप्रसाद नेपालको शनिबार राती ९५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि विरामी पर्नुभएका नेपालको ...

सामाजिक विकास मन्त्रीहरुलाई शिक्षामन्त्रीको आग्रह–सिटिइभिटिका कार्यक्रममा दोहोरोपना नगरौं सामाजिक विकास मन्त्रीहरुलाई शिक्षामन्त्रीको आग्रह–सिटिइभिटिका कार्यक्रममा दोहोरोपना नगरौं

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संघीय शिक्षा ऐन नआउँदासम्म प्राविधिक शिक्षा एवं व्यावसायिक तालिम कार्यक्रममा दोहोरोपना नआउनेगरी ...

 सीपप्रदायक संस्था एकातिर, रोजगारदाता अर्काेतिर  सीपप्रदायक संस्था एकातिर, रोजगारदाता अर्काेतिर

‘बजारको मागअनुरुप रोजगारी र सीप दिनेबीच अन्तर्सम्बन्ध जरुरी’ राष्ट्रिय आवश्यकता र बजारको मागअनुरुप जनशक्ति उत्पादन नहुँदा नेपालमा प्राविधि ...