२०७६ कार्त्तिक २७ गते / 13th Nov 2019, Wednesday
investment investment

शिक्षकप्रति उपराष्ट्रपतिको कडा प्रश्न–सार्वजनिक विद्यालयमा खराब नतिजा किन आयो ?

उपराष्ट्रपति नन्दकिशोर पुनले नेपाल शिक्षक महासंघको कार्यक्रममा खराब नतिजा ल्याउने र आश्चार्यजनक सफलता हासिल गर्ने विद्यालयका शिक्षकहरु एकै ठाउँ जम्मा भएकाले सार्वजनिक शिक्षा सुधार्नका निम्ति समीक्षा गर्न सुझाब दिनुभएको छ ।


यही ४–५ असोजसम्मका लागि आज ललितपुरमा आयोजित महासंघको प्रथम राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले सार्वजनिक विद्यालय नसुधारिनुको कारणबारे शिक्षकहरुप्रति नै गुनासो गर्नुभयो । ‘सार्वजनिक शिक्षामा राज्यको लगानी बढेकै छ तर प्रतिफल निजीको तुलनामा निकै कमजोर हुनुमा यसको जिम्मेवार राजनीतिक नेतृत्व मात्र हुन सक्दैन,’ उपराष्ट्रपति पुनले शिक्षकहरुलाई कडा भाषामा औंल्याउनुभयो, ‘यसमा पक्कै पनि शिक्षकको भूमिकाको कुरा हुन्छ । पछिल्लो समयमा आश्चार्यजनक सफलता हासिल गर्ने सामुदायिक विद्यालयहरु पनि छन् । खराब नतिजा ल्याउने विद्यालय त छँदैछन् । सफलता हासिल गर्ने, खराब नतिजा ल्याउने सामुदायिक र निजी विद्यालयका शिक्षकहरु यहाँ हुनुहुन्छ होला, किन यस्तो भयो होला ? पक्कै पनि एक अर्कामा समीक्षा गर्नुहुनेछ ।’


उपराष्ट्रपति पुन पनि राजनीति शुरु गर्नुअघि शिक्षक नै हुनुहुन्थ्यो । उहाँले के, किन र कसरी जस्ता जिज्ञासा मेट्ने नागरिक तयार पार्ने काम शिक्षकको हो तर ‘समाजको यथास्थितिवादको प्रतिनिधिपात्र’ भएर सिकाउने प्रवृत्तिका कारण प्रगति हुन नसकेको बताउनुभयो । कुनै पनि विषयमा प्रश्न र समाधान हुने भन्दै उपराष्ट्रपति पुनले सिकाउने शिक्षक परम्परागत हुनाले सिकाइ प्रभावकारी हुन नसकेको औंल्याउनुभयो । ‘बच्चा जन्मे/हुर्केको समय एउटा छ, शिक्षकले घोकेको ज्ञान दिएर हुँदैन । यो अहिलेको चुनौती हो,’ उहाँले भन्नुभयो ।


उपराष्ट्रपति पुनले बोल्नु अघि मन्तव्य राख्दै पूर्व शिक्षामन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता गंगालाल तुलाधरले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवदेन लागू नगरेकोमा आफ्नै दलको सरकारप्रति असन्तुष्टी व्यक्त गर्नुभयो । ‘नेपालका विद्वान व्यक्तिहरुले दश महिना ७ दिन लगाएर मेहनतपूर्वक बनाएको प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएन र लागू गरिएन,’ तुलाधरले भन्नुभयो, ‘सरकारले अपनत्व लिएन, यो दुखद कुरा हो । यदि त्यो प्रतिवेदन लागू भएको भए आज शिक्षक देशकै सबैभन्दा सम्मानित भइरहेका हुन्थे र यो सरकार पनि सबैभन्दा लोकप्रिय हुनेथ्यो ।’ उहाँले प्रतिवेदन लागू नगराउन ठूला–ठूला खेल भइरहेको र त्यसका लागि ‘खेलाडीहरु’ सक्रिय भइरहेको समेत खुलाउनुभयो । एक अर्काे प्रसङ्ग जोड्दै पूर्वमन्त्री तुलाधरले शिक्षा ऐनको आठौं र नवौं संशोधन शिक्षक हकहितको पक्षमा ‘कोशेढङ्गा’ भएको दाबी गर्नुभयो । ‘त्यत्तिबेला शिक्षक, विद्यार्थीलगायत विभिन्न पक्षले विरोध गरेकै हुन् । ऐन संशोधन गराएर यदि मैले गल्ति गरेको थिएँ भने म शुलीमा चढ्न तयार छु भनेकै थिएँ । अहिले हेर्नाेस् त, यसले शिक्षकहरुलाई नै अवसर दियो, जुन ऐन संशोधन गराउन मेरो खास भूमिका थियो,’ उहाँले भन्नुभयो ।


शिक्षक महासंघका केन्द्रीय अध्यक्ष बाबुराम थापाले शिक्षकहरुको माग पूरा गराउन महासंघ डटिरहने बताउनुभयो । उहाँले परिषद्बाट महत्वपूर्ण निर्णय गरेर महासंघले आगामी कदम चाल्नेछ भन्नुभयो । यसैगरी, महासंघका सहअध्यक्ष पूर्णप्रसाद दवाडीले अहिले पनि इसिडिका शिक्षक र विद्यालय कर्मचारीले असाध्यै थोरै तलबमा काम गर्नुपर्ने, द्वन्द्वपीडित शिक्षक झन् पीडित हुनुपर्ने अनि समग्र शिक्षक स्थानीय तहबाट सताइनुपर्ने विशष्टि अवस्था रहेको बताउनुभयो ।


सत्यमोहनदेखि हरिबहादुर रोकायसम्म सम्मानित


महासंघले शताब्दीपुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशी र अन्तर्राष्ट्रिय म्याराथन धावक हरिबहादुर रोकायलाई सम्मानित गरेको छ । उहाँहरु दुबैलाई उपराष्ट्रपति पुनले दोसल्ला ओढाई सम्मानपत्र प्रदान गर्नुभयो । जुम्लाका रोकायले म्याराथन दौडमा गिनिज बुक अफ रेकर्डमा नाम दर्ता गराइसक्नुभएको छ । साथै, राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई पनि एकसाथ सम्मान गरिने कार्यक्रम भएपनि उहाँ उपस्थित हुन सक्नु भएन ।


नेपाल शिक्षक संघले गर्यो बहिष्कार


महासंघले ‘भव्य र ऐतिहासिक’ भन्दै आयोजना गरेको भएपनि परिषद् भेलालाई मुख्य घटक नेपाल शिक्षक संघले बहिष्कार गरेको छ । संघ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट रहेको छ । परिषद उद्घाटन समारोहमा संघ समर्थित कुनै पनि शिक्षक नेता उपस्थित भएनन् । सत्तारुढ दल नेकपा निकट नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठनलगायत अन्य घटकहरु भने परिषद्मा सहभागी छन् । महासंघको विधान संशोधन मस्यौदा समितिसँग कुनै पनि सल्लाह नगरी परिषद्बाट विधान संशोधन गर्न लागिएकोप्रति संघले असहमति जनाउँदै बहिष्कार गरिएको बुझिएको छ । संशोधन गर्न लागिएको महासंघको विधानमा पदाधिकारीहरुको कार्यावधि ४ वर्षे बनाउन लागिएको छ । यसमा पनि शिक्षक संघले असहमति राखेको बताइएको छ ।

प्रमुख समाचार

राष्ट्रिय शिक्षा नीति पूर्णांशको सट्टा मन्त्रीकै वक्तव्यमा सार्वजनिक राष्ट्रिय शिक्षा नीति पूर्णांशको सट्टा मन्त्रीकै वक्तव्यमा सार्वजनिक

-उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सुझाएको मूल मर्म ‘निजी विद्यालयलाई १० वर्षभित्र गैरनाफामूलक बनाउने’ विषय नै गायब -विश्वविद्यालयमा हुने ...

सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा  प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद

सरकारले अघि सारेको ‘योगदानका आधारमा सामाजिक सुरक्षा कोष’ लागू गर्न निजी विद्यालय सञ्चालकहरु तयार भएको भन्दै त्यसका निम्ति सूचीकृत हुन निजी ...

नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो

–शिक्षक महासंघको प्रथम परिषद्मा शिक्षक संघद्वारा पहिला बहिष्कार, पछि सहभागिता –विधान संशोधनमा कार्यकाल थप्ने/नथप्ने विषय नै विवादको मूल च ...