२०७६ भदौ १ गते / 18th Aug 2019, Sunday
investment investment

विद्यार्थी नियमित बनाउन अभिभावकलाई सधैं फोन गर्ने स्कूल !

‘रेखा मुखिया, बासमति मुखिया र जानकीदेवी आज खोई त ?’
एकजना शिक्षकले प्रधानाध्यापक मञ्जु कट्टेलतिर फर्केर प्रश्न गर्नुभयो ।
‘विद्यालयमा बोलाउन आज उहाँहरुलाई चाँडै जानकारी भएन, खेतमा गइसक्नु भएछ,’ प्रत्युत्तर आयो ।


यी तीनजनाको नाम विद्यालयमा हुने हरेक बैठकमा छुट्ने गर्दैन । विद्यालयको हरेक निर्णय र काममा उहाँहरु चासो राख्नुहुन्छ अनि सहभागी बन्नुहुन्छ । विद्यार्थी टन्न छन् र विद्यालय सधैं आउँछन् पनि । तर, आमा अभिभावकहरु विद्यालय आएर बालबालिकाको हाजिरी एकपल्ट नपल्टाई चित्तै बुझाउँदैनन् । माइ अर्थात् समूह यो विद्यालयमा निकै सक्रिय छ ।


धनुषाको बरमभझिया–९ लालबहादुर टोलमा रहेको जनता राष्ट्रिय आधारभूत विद्यालयमा आजकाल अभिभावकको सक्रियता यस्तै हुने गर्छ । यो यत्तिकै भएको भने होइन । यसमा खास हात छ शिक्षकहरुकै अनि व्यवस्थापन समितिको पनि । ‘दुई–तीन दिन बच्चा नआउँदा फोन गरिहाल्छौं,’ फोन डायरी पल्टाउँदै प्रधानाध्यापक मञ्जु भन्नुहुन्छ, ‘यी हेर्नाेस् न, प्रत्येक अभिभावकको ठेगाना, सम्पर्क नम्बर अनि उहाँहरुको नामनामेसी सबै छ ।’ शुरु–शुरुमा विद्यार्थी संख्या त हुन्थ्यो तर आधाभन्दा बढी नै अनुपस्थित । विद्यालयका निम्ति निकै टाउको दुखाई भयो–अब कसरी सधैं विद्यार्थी आउने बनाउने ? शिक्षक र विव्यस छलफलमा जुटे । अब प्रत्येक अभिभावकको सम्पर्क नम्बर राख्ने अनि हरेक विद्यार्थीको छुट्टाछुट्टै फाइल बनाउने । यो निष्कर्षलाई व्यवहारमै उतार्न थालियो । मेलापातमा रहेका अभिभावकको फोनमा घण्टि बज्न थाल्यो । अभिभावकले ‘हेलो !’ भन्न नपाउँदै ‘हेलो ! कता हुनुहुन्छ ? खेततिर कि घरमा ? सञ्चै छ ?’ आदि प्रश्न ओइरिहाल्छन् । ‘ठीकै छु हजुर को बोल्नु’भो...?’ अभिभावकको प्रतिप्रश्नको उत्तर आइहाल्छ, ‘म स्कूलका शिक्षक हुँ । तपाईँका छोरछोरी तीन दिनदेखि स्कूल आएका छैनन्, के कारण हो ?’ यसरी विद्यालयबाट प्रत्यक्ष फोन नै आउन थालेपछि अभिभावक शुरुमा त अक्क न बक्क परे तर बिस्तारै यो आफ्नै लागि हो रहेछ भन्ठाने । शिक्षकहरु यत्तिकै सोधेर मात्र छोड्ने गर्दैनन् । बालबालिका कहाँ, किन र कुन अवस्थामा छन् ? अभिभावकले दिएको जवाफका आधारमा शिक्षकहरु कारणसहितको फाइल भर्छन् । फाइलको नाम राखिएको छ, ‘निक शिक्षा दिअ–विद्यार्थीको नियमितता अनुगमन पुस्तिका ।’ यस पुस्तिकामा अभिभावकहरुले आफ्ना बालबच्चा कोही ‘मामा घर गएको,’ कोही ‘स्कूल गएको त थियो तर बाटैबाट फर्केर आएछ’ भन्ने गर्दारहेछन् । तिनै अभिभावकलाई विद्यालयले बोलाएर छलफल गर्दाे रहेछ । अनि नियमित पढ्न पठाउने प्रतिबद्धता व्यक्त गराउँदो रहेछ । यसरी फोन नै गरेर बालबालिका कहाँ छन् भनेर विद्यालयबाट शिक्षकले सोध्दा अभिभावकले ‘ए मलाई त फोन पो गरे, मेरो पनि विद्यालयमा ठूलै स्थान रहेछ’ भन्ठान्ने रहेछन् । यो विधि अपनाउँदा अहिले यस विद्यालयमा विद्यार्थीको उपस्थिति सोचेभन्दा बढी भएको शिक्षकहरु सुनाउँछन् । हुन पनि, यो स्कूलमा विद्यार्थी संख्या १८७ रहेको छ । ‘फोनिङ’ र ‘फाइल प्रणाली’का कारण अहिले प्रायः सबै विद्यालय आउँछन् ।


यति मात्रले विद्यार्थी विद्यालयमा नटिक्लान् कि भन्ने चिन्ता व्यवस्थापन समिति अध्यक्ष सहदेव मुखियामा परेको छ । उहाँ विद्यालयमा स्वच्छ वातावरण बनाउन प्राङ्गणभित्र रुख रोप्ने योजनामा हुनुहुन्छ । बुवाको मृत्युपछि गरिएको काजक्रियामा भोज खुवाउनुभन्दा गाउँलेहरुले विद्यालयलाई जग्गा देऊ भनेपछि आफूले दुई कठ्ठा जमिन उपलब्ध गराएको उहाँ बताउनुहुन्छ ।


रमाइली ‘ठूलदिदी’


यही स्कूल वरिपरिका बालबालिकालाई भर्ना गराउन गजबको बुद्धि अपनाइएको छ । त्यसका लागि गाउँको आमा समूहमार्फत् ‘ठूलदिदी’ खट्नुहुँदो रहेछ । भर्ना भएर पनि विद्यालयमा को–को जाँदा रहेनछन् ? तिनलाई स्कूलसम्म ल्याउन ठूलदिदीको ठूलो सक्रियता हुने गर्छ । जसको बालबालिका विद्यालय आउँदैनन्, तिनका घरसम्मै पुग्ने गर्नुहुन्छ ठूलदिदी । अभिभावकसँग ठूलदिदीले ‘घरभेट’ गरेपछि बालबालिका विद्यालय लाजले पनि पठाउने गर्छन् । ठूलदिदीले बच्चालाई सरसफाई गरिदिएर अझ ड्रेस लगाइदिएर विद्यालय पठाउन मद्दत गर्ने गरेको अभिभावकहरु सुनाउँछन् ।


आमा समूहले ल्याएको परिवर्तन


‘निक शिक्षा दिअ’ अर्थात् राम्रो शिक्षाका निम्ति धनुषाका आमा अभिभावकहरु निकै सक्रिय देखिनुभएको छ । बबिता देवी धनुषा गणेशमान चारनाथ गाउँपालिका महराटोलकी बासिन्दा हुनुहुन्छ । उहाँको टोलमा अधिकांश दलित समुदाय छन् । शुरु–शुरुमा बालबच्चालाई विद्यालयमा राम्ररी पोशाक लगाइदिएर पठाउनु पर्छ भन्नेसम्म बबिता देवीमा ज्ञान थिएन । ‘अहिले त म यसमा निकै ध्यान दिने गर्छु,’ उहाँ भन्नुहुन्छ । बालबालिकाको लगाइमा मात्र नभई पोषण र खुवाइमा पनि उहाँ विशेष ख्याल गर्नुहुन्छ । शुरुमा बालबालिकालाई विद्यालय पठाउनै नमान्ने अभिभावक थिए । निक शिक्षा दिअ परियोजना शुरु भएपछि टोलमा आमा समूह जम्मा गरी अभिमुखीकरण दिइएछ । त्यसपछि आमाहरुले ‘पार्वती आमा समूह’ बनाए । नजिकैको मावि बरमझियामा बालबच्चालाई पठाउन थाले । पठाउन नमान्ने अभिभावकलाई फकाएर भएपनि उनीहरुका बालबच्चा विद्यालय पठाइए । बालबालिका पठाउन त पठाइयो तर विद्यालयभित्र बसिसक्नु थिएन । डेस्क–बेञ्च नै भएन । विद्यालयभित्र पूरै फोहोर । विद्यालय पठाइएका बालबालिका बीचैमा कक्षा छोडेर घर फर्कन थाले । यस्तो स्थितिमा आमा समूहले स्कूलमै गई शिक्षकहरुसँग छलफल गरे । सफा–सुग्घर विद्यालय बनाउन सल्लाह दिए । त्यत्ति मात्र नभएर घर–घरमा पनि बालबालिकालाई राम्ररी हातगोडा धुन सिकाए । एक–दुई महिनामा गाउँ र विद्यालयमा गजबको परिवर्तन महशूस देखिन थाल्यो । यो महशूस खासगरी अभिभावक र शिक्षक दुबैले गरेछन् । आमा समूहकी सदस्य तथा अभिभावक अमृति देवीले भन्नुभयो, ‘हामीले यति मात्रैले चित्त बुझाएनौं । स्कूलमा पढाइ भइरहेको छ कि छैन, शिक्षक नियमित छन् कि छैनन् भनेर निरीक्षण गर्ने गर्छाैं ।’ अहिले त मावि बरमझियामा आमा समूहकै एकजना दलित महिला विद्यालय व्यवस्थापन समितिकी सदस्य हुनुभएको छ । आमा समूहको निगरानीले गर्दा बालबालिकालाई विद्यालय प्रशासनले छात्रवृत्ति पनि दिएको छ । छात्रवृत्तिस्वरुप पाइएको रकमले आफ्ना बालबालिकाका लागि ब्याग, किताब, खाजा खाने टिफिन बट्टा अभिभावकहरुले किनेका छन् । यस पछि त कलिला बालबालिका फुरुङ्ग हुँदै विद्यालय जान थालेको अमृति देवी सुनाउनुहुन्छ ।


तराईमा बालबालिका विद्यालय भर्ना भएपनि नियमित नआउने ठूलो समस्या छ । खासगरी दलित, पिछडिएको तथा सीमान्तकृत समुदायका बालबालिका विद्यालय नियमित जाँदैनन् । वार्षिक परीक्षामै झण्डै दुई तिहाई विद्यार्थी सामेल नभएको तथ्य नगराइन नगरपालिकाले प्रस्तुत गरेको थियो । यस्तो अवस्थामा विद्यालयमा विद्यार्थी र शिक्षकलाई नियमित गराउन आमा समूह, विद्यालय आफैंले गरेका प्रयत्न उदाहरणीय मोडल लाग्छन् । तथापि, बालबालिका किन विद्यालय गइरहेका छैनन् भन्ने मूल कारणचाहिँ आर्थिक र चेतनाको कमी नै हो भन्नेमा दुई मत देखिन्न । सरकार तथा गैरसरकारी संस्थाहरुको ध्यान खासमा यसैमा केन्द्रित हुनुपर्ने टड्कारो देखिन्छ ।


साभारः बाल आवाज, शिक्षा पत्रकार समूह

प्रमुख समाचार

आयोगबाट सिफारिश भएको डेढ महिनापछि बल्ल शिक्षकहरुको पदस्थापना शुरु आयोगबाट सिफारिश भएको डेढ महिनापछि बल्ल शिक्षकहरुको पदस्थापना शुरु

शिक्षक सेवा आयोगबाट सिफारिश भएका माध्यमिक तहका शिक्षकहरुको डेढ महिना पछि बल्ल पदस्थापना शुरु भएको छ । आयोगले खुला प्रतिस्पर्धाबाट छनोट गरेका शिक्षकहरु ...

पहिलो पटक प्रदेशगत रुपमा एसइइको नतिजा सार्वजनिक पहिलो पटक प्रदेशगत रुपमा एसइइको नतिजा सार्वजनिक

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसइइ परीक्षाको नतिजा सार्वजनिक भएको छ । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल नहुने परीक्षा बोर्डले ...

शिक्षक लाइसेन्स परीक्षाको विज्ञापन खुल्यो शिक्षक लाइसेन्स परीक्षाको विज्ञापन खुल्यो

  शिक्षक सेवा आयोगले शिक्षण अनुमति पत्र (लाइसेन्स)को परीक्षाका लागि विज्ञापन आज असार २ गतेबाट खुलाएको छ । प्रशासकीय प्रमुख डा. तुलसी थपलियाका अन ...