२०७६ कार्त्तिक ६ गते / 23rd Oct 2019, Wednesday
investment investment

ह्याण्डराइटिङ राम्रा भए मन पनि राम्रो !

मध्यबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयकी सुजिता लम्साललाई ह्याण्डराइटिङ अर्थात् ‘हस्त लेखन’मा निकै रमाइलो लाग्छ । उहाँ कक्षा ९ मा पढ्नुहुन्छ । उहाँलाई आफ्नो जस्तो अक्षर अरुले पनि लेखुन् भन्ने लाग्छ । कक्षागत होस् वा प्रतिस्पर्धात्मक, ह्याण्डराइटिङ गर्न सुजिता तयार भइहाल्नुहुन्छ । ‘ह्याण्डराइटिङले लेखनमा सुधार त हुन्छ नै, शिक्षकको प्रिय पनि हुन पाइँदो रहेछ,’ सुजिताको अनुभव छ । अक्षरलाई राम्रो कसरी बनाउन सकिन्छ भनेर सधैं उहाँ तल्लिन देखिनुहुन्छ । सुजिताका अक्षर चट्ट सिधा परेका छन् । उहाँलाई आफ्नो अक्षरले आफंैलाई आकर्षण गर्छ ।


बालविनायक आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत राजन श्रेष्ठ जाडो विदा पाएर घरमै रहनुभएको छ । घरमा फुर्सद भएर बसेका बेला पनि उहाँ नेपाली विषयको पाठ लेख्दै हुनुहुुन्थ्यो । उहाँलाई ह्याण्डराइटिङ कसरी राम्रो पार्ने होला भन्ने परिरहन्छ । नेपाली विषय सजिलो लाग्ने र कपीको माथिल्लो पट्टिको लाइनमा झुण्ड्याएर लेख्ने बानी रहेछ । आफ्नो अक्षर राम्रो बनाउन परिवारको सदस्यबाट प्रेरित भएको उहाँले सुनाउनुभयो । राजनमा थरिथरिका अक्षर लेख्ने सौख पनि रहेछ । उहाँ अक्षर डबल बनाएर लेख्दा आकर्षक र राम्रो लाग्ने बताउनुहुन्छ । विद्यालयमा भएको ह्याण्डराइटिङ प्रतियोगितामा राजन दोस्रो बन्नुभएको थियो । उहाँ भन्नुहुन्छ, ‘राम्रो गरेर अझै ठूलो पुरस्कार पाउने धोको छ ।’

हस्तलेखन हरेक व्यक्तिका फरक–फरक हुन्छन् नै । भनिन्छ, मानिसको मन अनुसार अक्षरको रुप देखिन्छ । ठट्टामा भन्ने गरिन्छ–सिधा अक्षर हुनेको मन सिधा र बाङ्गो लेख्नेको स्वभाव बाङ्गै हुन्छ रे ! जे भनेपनि हस्तलेखनका केही साझा मानक छन् । नेपालीमा अक्षर लेखेर मात्र पुग्दैन । डिको अर्थात् छाना दिनु पर्छ । अंग्रेजीमा दिनै पर्दैन । अंक लेख्दाचाहिँ तरिका उस्तै हुन्छन् । अक्षरको बान्कीचाहिँ केही साझा पनि छन् । जस्तै, दायाँ छड्के, बायाँ छड्के, सिधा, खिरिलो र मोटो अनि ठूला–साना किसिमका अक्षर देख्न पाइन्छ । सामुदायिक वा निजी विद्यालयमा पढ्ने औषत विद्यार्थीको ह्याण्डराइटिङ कस्ता होलान् ? सबैमा चासोको विषय बन्ने गर्छ । कसैका अक्षर अब्बल हुन्छन् । कसैका मध्यम त कसैका ठिकै लाग्ने हुन्छन् । कोही अंग्रेजी अक्षर लेख्न मन पराउँछन् भने कोही नेपाली लेख्न ।


रेखा तोलाङ्गे ललितपुरको लुभूस्थित भ्याली पब्लिक बोर्डिङ स्कूलमा कक्षा ५ पढ्दै हुनुहुन्छ । उहाँलाई अंग्रेजी अक्षर लेख्न निकै मज्जा आउँछ । किनकि, उहाँलाई नेपालीमा शुद्ध लेख्न र वाक्य उच्चारणमा समस्या हुने रहेछ । ‘समय पनि नेपाली अक्षरको तुलनामा अंग्रेजी लेख्न कम लाग्छ,’ रेखा भन्नुहुन्छ । अक्षरलाई सानो र ठूलो दुबै किसिमको लेख्न उहाँको हात निकै पारखिलो छ । तोलाङ्गे भन्नुहुन्छ, ‘मेरो अक्षर छड्के जाने गर्छ, योचाहिँ त्यत्ति राम्रो देखिन्न ।’ सोही स्कूलका विराज तोलाङे कक्षा ६ मा पढ्नुहुन्छ । उहाँ विद्यालयले ह्याण्डराइटिङ नदिने बताउनुहुन्छ । उहाँ घरमै समय मिलाएर अक्षर राम्रो बनाउन अंग्रेजी ह्यान्डराईटिङ गर्ने गर्नुहुन्छ । उहाँलाई पनि अंग्रेजी अक्षर लेख्न सजिलो हुन्छ रे । विराजलाई नेपालीमा भएका लामो वाक्य देख्दैमा दिक्क लाग्छ । शिक्षकप्रति पनि विराजको उत्तिकै गुनासो छ । ‘विद्यालयमा एकपटक प्रतिस्पर्धा भएको थियो तर कक्षा–शिक्षकले ह्याण्डराइटिङ नै दिने गर्नुहुन्न,’ विराज भन्नुहुन्छ, ‘त्यसैले घरमा समय निकालेर ह्याण्डराइटिङ गर्ने गर्छु ।’


आजकाल हस्तलेखन क्रमशः छायाँ पर्दै गइरहेको महशूस गरिँदैछ । कम्प्यूटर र सूचना प्रविधिको बिस्तारसँगै पढेलेखेका व्यक्ति बढी टाइपिङ्गमा अभ्यस्त हुन थालेका छन् । कोही कम्प्यूटरमा त कोही मोवाइलकै स्क्रिनमा आफ्ना औंलाहरु सल्बलाइदिन्छन् । यसले गर्दा स्कूले जीवनमा निकै अब्बल अक्षर लेख्नेहरु पनि अहिले अल्छि मानिरहेका भेटिन्छन् । यस्तो प्रवृत्तिप्रति विद्यालयका शिक्षकहरु भने अलि बढी चिन्तित देखिएका छन् । काठमाडौं बानेश्वरस्थित रत्नराज्य माविकी प्रधानाध्यापक गीता खरेल विद्यार्थीका लागि लेखाई सुधार्न कस्ता उपाय लगाउँदा राम्रो होला भनेर अनेक योजना सोचिरहनुहुन्छ । उहाँको विद्यालयमा ह्याण्डराइटिङ प्रतियोगिता नै गर्ने गरिन्छ । जहाँ कक्षा १ देखि ९ सम्मका इच्छुक विद्यार्थीका लागि ह्याण्डराइटिङ प्रतिस्पर्धामा सहभागी हुने व्यवस्था छ । यसका लागि यो विद्यालयमा अतिरिक्त क्रियाकलापको व्यवस्थापक नै छुट्टै राखिएका छन् । यस विद्यालयका अतिरिक्त क्रियाकलाप व्यवस्थापक सुदर्शन थापा विद्यार्थीका लागि अग्रसर गराउन के गर्नुपर्छ भनेर पहिले योजना बनाई अन्तक्र्रिया गर्नुहुन्छ । अतिरिक्त क्रियाकलापलाई ‘ऐकेडेमी सेक्टर’ नाम दिइएको छ । विद्यार्थीको लेखनलाई अझ गुणस्तर बनाउन लेखनसम्बन्धी राम्रो तालिम दिने शिक्षकको खोजीमा रहेको थापाले बताउनुभयो ।


प्रअ खरेलले विद्यार्थीको हातको गतिलाई तीब्र गराउन र उनीहरुमा सोच्ने शक्ति बढाउन ह्याण्डराइटिङ गराउने गरिएको बताउनुभयो । ‘राम्रो गर्ने विद्यार्थीलाई पुरस्कार दिएर हौसला बढाउने गरेका छौं,’ उहाँले भन्नुभयो । यसै विद्यालयकी शिक्षक लता पौडेलले विद्यालयमा लामो विदा भएका दिन विद्यार्थीलाई ह्याण्डराइटिङ दिने गरेको सुनाउनुभयो । उहाँले ‘विद्यार्थीको लेखाइ शैलीलाई सुधार्न मद्दत पुग्ने भएकाले ह्याण्डराइटिङ विषयगतमा रहेर दिने गरेका छौं’ भन्नुभयो ।

 

प्रमुख समाचार

सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा  प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद

सरकारले अघि सारेको ‘योगदानका आधारमा सामाजिक सुरक्षा कोष’ लागू गर्न निजी विद्यालय सञ्चालकहरु तयार भएको भन्दै त्यसका निम्ति सूचीकृत हुन निजी ...

नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो

–शिक्षक महासंघको प्रथम परिषद्मा शिक्षक संघद्वारा पहिला बहिष्कार, पछि सहभागिता –विधान संशोधनमा कार्यकाल थप्ने/नथप्ने विषय नै विवादको मूल च ...

राजनीतिक खिचातानीका कारण ६ महिनादेखि विद्यालय व्यवस्थापन समितिबिहीन राजनीतिक खिचातानीका कारण ६ महिनादेखि विद्यालय व्यवस्थापन समितिबिहीन

राजनीतितक दलको भागभण्डा नमिल्दा कपिलवस्तुको गौतम बुद्ध माविको व्यवस्थापन समिति ६ महिनादेखि खाली भएको छ । बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा रहेक ...