२०७६ भदौ १ गते / 18th Aug 2019, Sunday
investment investment

गाउँपालिकाले शिक्षक दरबन्दी मिलान गर्न पाउनु पर्छ


राजकुमार मल्ल, अध्यक्ष, राक्सीराङ गाउँपालिका, मकवानपुर

राजकुमार मल्ल, मकवानपुर जिल्लास्थित राक्सीराङ गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ । बाल्यकाल यहीको अठारेमा रहेको स्कूलमा कक्षा ७ सम्म पढेपछि हेटौडामा गई अरुको घरमा काम गर्दै उहाँले एसएलसीसम्म अध्ययन पूरा गर्नुभयो । मकवानपुरको दुर्गम ठाउँमा पर्ने यस गाउँपालिकामा चेपाङ समुदायको जनसंख्या ५५ प्रतिशत रहेको छ । त्यस्तै, ४५ प्रतिशत तामाङ र अन्य ५ प्रतिशत रहेका छन् । आफ्नो गाउँपालिका शैक्षिक स्थितिमा निकै पछि परेको महशूस गर्नुभएका अध्यक्ष मल्लसँग सुधारका केही महत्वपूर्ण योजना र कार्यक्रम रहेका छन् । रिपोर्टिङका क्रममा गत साता राक्सीराङ पुग्नुभएका आजको शिक्षा साप्ताहिकका सम्पादक सुदर्शन सिग्देलले अध्यक्ष मल्लसँग संक्षिप्त कुराकानी गर्ने मौका पाउनुभयो । प्रस्तुत छ, सो कुराकानी ।


चेपाङ समुदाय बाहुल्य रहेको तपाईँको गाउँपालिकाको शैक्षिक अवस्था कस्तो छ ?


राक्सीराङ गाउँपालिकालाई मकवानपुरको ‘कर्णाली’ भने हुन्छ । अहिले अलि–अलि ब्यूँतिन लागे जस्तै छ । अन्त टिक्न नसकेपछि बल्ल यहाँ शिक्षक पठाइन्छन् । पर्याप्त दरबन्दी पनि छैन । काठ बेचेर मास्टरको तलब खुवाउनु परेको छ । मावि पढ्न ६ घण्टा र निमावि पुग्न १२ घण्टा हिँड्नुपर्ने बाध्यता छ । यसले गर्दा कि बीच बाटैमा कि त विद्यालयमै बास बस्नुपर्ने हुन्छ । जनताको जीवनस्तर पनि ज्यादै गरिबीमा छ । ३ देखि ६ महिना मात्र खाना पुग्ने जनता छन् । चेपाङ समुदायका अभिभावक सिस्नु, साग, गिठ्ठा, भ्याकुर खोज्न वन जान्छन् । कोही माछा मार्न खोलामै दिन बिताउँछन् । यस्तो काम गर्दा ढुङ्गा उचाल्नु पर्छ । अनि खान्की पनि बढी नै चाहिन्छ । उत्पादनको तुलनामा खाना पुग्दैन । अर्काे कुरा, विद्यार्थी अभिभावकबिहीन बनेका छन् । विद्यालय भर्ना भएकाले पनि बीचैमा पढाइ छोड्ने गर्छन् ।


अभिभावकबिहीनचाहिँ कसरी ?


जबान उमेरका अभिभावक जेलमा छन् । गाउँबाट गाजा ओसारपसार गरेको अभियोगमा युवाहरु जेलमा परेका छन् । भिमफेदी कारागारमा अझै दुई सयभन्दा बढी युवा यही अभियोगमा थुनिएका छन् । विवाह गरेपछि बालबच्चा भए तर बेरोजगारै बस्नु पर्यो । भारतदेखि आएका गाजा तस्करले यस्ता युवालाई पैसाको लालच देखाएर ओसारपसारमा संलग्न गराउँदा रहेछन् । परिबन्दमा परी ६५ वर्षका वृद्धले पनि यतिबेला मुद्दा खेपिरहेको अवस्था छ । ठूलो संख्यामा युवा पक्राऊ परेपछि बालबालिका अभिभावकबिहीन बन्न पुगेका छन् । पारिवारिक समस्याका कारण विद्यालय आउन उनीहरु सकिरहेका छैनन् ।


गाजा तस्करमै युवाहरु कसरी फसे त ?


मकवानपुरको यो क्षेत्र गाजा प्रभावित स्थान हो । मूल कुरा, यातायातको असुविधा यसको कारण हो । तलबाट पूर्व–पश्चिम राजमार्ग र माथि बाइरोडको बाटो भएपनि यो बीच भागलाई कहिल्यै मोटर बाटोले छोएन । गाउँपालिकाका जमिन तरकारी खेतीका निम्ति अति उर्बर छ । काउली, च्यूरी र महका लागि ठूलो सम्भावना बोकेको ठाउँ हो यो । तर के गर्नु ? बजार छैन । यातायात नहुँदा किसान निराश छन् । अनि पैसा कमाउन युवाहरु कुबाटोमा फसेको देखिन्छ ।


शिक्षा र यातायातको समस्या भन्नुभयो, समाधानका लागि गाउँपालिका के गरिरहेको छ ?


हामी २० वर्षदेखि मोटरबाटो अभियानमा छौं । ‘मोटरबाटो पुर्याइदेउ, शिक्षा देऊ, गाजा लाउँदैनौं’ भन्ने अभियान छ । यतिबेला गाउँपालिकाको प्रयासमा ५५ लाख रुपैयाँमा मनहरि–चैनपुर ६ किमि मोटरबाटो बन्दैछ । त्यस्तै, चैनपुर–खैराङ गरी जम्मा २९ किमि मोटरबाटो बन्ने क्रममा छ । जम्मा ५० किमिमा मलेखुसँग यहाँको बाटो जोडिन्छ ।


टाढाबाट माध्यमिक शिक्षा पढ्न आउनेका लागि सिलिङ्गे र खैराङमा छात्राबास बनाउने योजनामा छौं । सूर्याेदय माविलाई प्राविधिक शिक्षालय बनाउने कार्यक्रम छ । यसो भयो भने कोही जेटिए बन्लान्, कोही राम्रो कृषक त कोहीचाहिँ कृषि प्राविधिज्ञ बन्न सक्लान् । गाउँपालिकाका युवालार्ई बेरोजागार हुन नदिने हाम्रो लक्ष्य हो ।


शिक्षा सुधारका लागि गाउँपालिका तत्काल के गर्दैछ ?


पहिला त समग्र गाउँपालिकाकै पढ्न नपाउने बालबालिकाको तथ्याङ्क संकलन गर्नेछौं । त्यसपछि एउटा क्याम्प नै खडा गरी ती बालबालिकालाई पढाउने कार्यक्रम लागू गरिनेछ । अर्काे महत्वपूर्ण कुरा, हामी शिक्षक दरबन्दी मिलान गर्न तयार छौं । शिक्षक दरबन्दी मिलान गाउँपालिकाले गर्न पाउनु पर्छ । यसका लागि केन्द्र बाधक बन्नु हुँदैन । हुन त, यो स्थानीय तहले नै गर्न पाउने हो तर अहिले नपाउने भनी विभिन्न बाधा खडा गरिएका छन् । हामीले संवैधानिक अधिकार प्रयोग गर्ने हो । ‘ज्ञानकेन्द्र’ र ‘ध्यानकेन्द्र’का नाममा शिक्षक वा शिक्षाका कर्मचारी केन्द्रमै बसिदिने प्रवृत्ति देखिन्छ । यता आउनै मान्दैनन् । पहुँचका भरमा उतै अडिएका छन् । हामीकहाँ गाउँपालिकास्तरको ‘स्थानीय शिक्षा ऐन २०७४’ जारी भइसकेको छ । गाउँपालिकाको स्पष्ट योजना र कार्यक्रम छन् । यो अनुसार काम बढाउँदा हामी हाम्रो सुधारको लक्ष्यमा पुग्न सक्छौं ।

 

प्रमुख समाचार

आयोगबाट सिफारिश भएको डेढ महिनापछि बल्ल शिक्षकहरुको पदस्थापना शुरु आयोगबाट सिफारिश भएको डेढ महिनापछि बल्ल शिक्षकहरुको पदस्थापना शुरु

शिक्षक सेवा आयोगबाट सिफारिश भएका माध्यमिक तहका शिक्षकहरुको डेढ महिना पछि बल्ल पदस्थापना शुरु भएको छ । आयोगले खुला प्रतिस्पर्धाबाट छनोट गरेका शिक्षकहरु ...

पहिलो पटक प्रदेशगत रुपमा एसइइको नतिजा सार्वजनिक पहिलो पटक प्रदेशगत रुपमा एसइइको नतिजा सार्वजनिक

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसइइ परीक्षाको नतिजा सार्वजनिक भएको छ । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल नहुने परीक्षा बोर्डले ...

शिक्षक लाइसेन्स परीक्षाको विज्ञापन खुल्यो शिक्षक लाइसेन्स परीक्षाको विज्ञापन खुल्यो

  शिक्षक सेवा आयोगले शिक्षण अनुमति पत्र (लाइसेन्स)को परीक्षाका लागि विज्ञापन आज असार २ गतेबाट खुलाएको छ । प्रशासकीय प्रमुख डा. तुलसी थपलियाका अन ...