२०७६ भदौ १ गते / 18th Aug 2019, Sunday
investment investment

परीक्षण घटाऔं, हातलागी र जिम्मेवारी बढाऔैं

जाँड–रक्सीको कुलतबाट हुने हानी सिकाउन गुरुले एउटा प्रयोगात्मक जुक्तिको प्रदर्शन गर्न पुगे । एउटा पारदर्शी गिलासमा शुद्ध पिउने पानी र अर्कोमा तीनपाने रक्सी राख्दै दुईवटै गिलासमा पालैपालो ज्यूँदोे शंखेकिरा हाल्न पुग्छन गुरुले । केही क्षणमा रक्सीमा हालिएको शंखेकिराको जीवन गति सकिन्छ भने पानीमा खसालिएको शंखेकिरा चलायमान अवस्थामा नै देखिन्छ । जुन स्वाभाविक थियो । यो स्वभाविक प्रयोगको परिणामसँगै गुरुले यसलाई हेर्नेहरुलाई प्रश्न गर्न पुग्छन्, ‘ल आफैं बुझ्नुहोस्, यो प्रयोगबाट के बुझाउन खोजिएको हो ? के बुझ्नुभयो ? र, के सिक्नुभयो त ? ‘रक्सी पिउनेहरुको त पेटमा परेका किराहरु शंखेकिरा झैं स्वात्तै उत्तानो पर्ने रहेछन्,’ केही अवलोकनकर्ताको यो बुझाइसँगै वातावरण हासोले गुञ्जायमान हुन्छ । यो प्रसङ्ग प्रायःजसो पाठकहरु र सामाजिक सञ्जालमा चासो राख्नेका लागि नयाँ पक्कै पनि होइन । तर, अब प्रश्न आउँछ, गुरुको कुलतबाट हुने हानीको प्रयोगात्मक अभ्यास गलत थियो त ? पक्कै पनि थिएन । के त्यो व्यवहारिक प्रदर्शन थिएन त ? पक्कै थियो । के त्यो उपयुक्त शिक्षण रणनीति थिएन त ? उपयुक्त नै थियो । के सिकाउने तरिका नमिलेको हो त ? नमिलेको त प्रश्न नै आउँदैन । त्यसो हो भने भयो के त ? दिन खोजेको सन्देश किन बटारिएर बुझे ? अहम् प्रश्न यही हो । पठनपाठनमा आउने समस्या यसै विन्दुबाट शुरुवात भएका छन् । मूल समस्यालाई नजर अन्दाज गरे समाधानको बाटो आउने त प्रश्न नै आउँदैन । कक्षाकोठामा भएको यही हो । शिक्षकले पढाएकै छ । मानौं, सिकाएको पनि छ । बुझाउने प्रयत्न पनि गरेकै छ । तर, सिकारुले के र कुन रुपमा सिकेको छ ? त्यसको खासै हेक्का नराखी सिकाउनेले आफ्नै गतिमा पाठ्यपुस्तकका पाठहरु सक्ने धुनमा केन्द्रित छ प्रायःजसोको ध्यान ।


पढाउने तरिका ठिक तरिकाले भयो भन्दैमा सबैले समान रुपले बुझिहाल्छन् भन्ने कदापि हुँदैन । सिकाउनेले कुन विधि प्रयोग गरेर के सिकायौ भन्दा पनि सिकारुले त्यो विधिबाट के सिक्यो भन्ने महत्वपूर्ण हो । शिक्षकले के भन्यो भन्दा पनि विद्यार्थीले के ग्रहण ग¥यो ? त्यसको हेक्का हुनु अपरिहार्य छ । ग्रहण गर्ने (विद्यार्थी)को ज्ञान सीपको मापन पाठ्यक्रमले निदृष्ट गरिएको मापदण्ड अनुरुप नै हुने हो । तर, त्यो पूरा भएको छ त ?


निश्चित समय अन्तरालमा लिइने अध्यावधिक परीक्षा मात्रले बालबालिकाका ज्ञानको आधारशिला नै कमजोर भयो, एकथरी शिक्षाविद्हरुको निचोड रह्यो । र, परिणामस्वरुप विद्यार्थीको सिकाइ मापदण्डको निर्धारण गर्न हेतु निरन्तर मूल्याङ्कन पद्धतिको शुरुवात गरियो । निश्चित विषयमा दिइने अङ्कलाई ‘शत्रु’ मानियो र त्यो अङ्कगणितीय शत्रुलाई विस्थापित गरियो अक्षर रुपि ग्रेड प्रणालीले । त्यो अक्षर रुपि ग्रेड आउने कताबाट ? त्यही अङ्कबाट होइन त ? के त्यो अक्षर रुपि ग्रेड राख्दैमा परिवर्तन आयो त ? समस्या के हो ? त्यसको जडसम्म पुग्नुको साटो शब्दहरुको खेलमा फस्ने गरेको देखिन्छ । अङ्कको ठाउँमा ग्रेड राख्दैमा र ग्रेडको साटो अङ्क वा अरु कुनै नयाँ शब्दावली राख्दैमा मूल गुणस्तरमा कायापलट हुने प्रश्न नै आउँदैन । एकातिर कक्षा एकदेखि निरन्तर मूल्याङ्कन पद्धति लागू भएसँगै प्रायः शिक्षकहरु विद्यार्थीको गुणस्तर खस्कनुको दोष सरकारको फितलो शिक्षा नीतितर्फ औंला ठड्याउँदै आफूलाई दुधले धोएको सिद्ध गर्न आफ्नो वाकपटुतामार्फत् अग्रसर देखिन्छन् । अर्कोतर्फ निरन्तर मूल्याङ्कन पद्धति (क्यास)का पक्षधरहरु विद्यार्थीको शैक्षिकस्तर खस्कनुको पूरापूर दोष शिक्षकको टाउकोमा थुपार्दै ग्रेडिङ प्रणालीको बचाऊ गर्नमा केन्द्रित देखिन्छन् । अङ्क बढी आए माथिल्लो ग्रेड मानिने हो त तल्लो ग्रेडले कम अङ्क आएको संकेत गर्ने हो । अतः ग्रेड र अङ्क एक आपसमा परिपूरक नै छन् । यसमा दोहोरी खेल्नुको कुनै तुक छैन ।


निरन्तर मूल्याङ्कन पद्धति लागू गर्नुभन्दा अगाडि र लागू भएपश्चात् वास्तविक उपलब्धिमा खासै फरक देखिँदैन । प्रायःजसो विद्यालयमा विद्यार्थीले सिकेको वास्तविक मूल्याङ्कन गर्ने हो भने उपलब्धि हात लागी तिनको हाराहारीमा भन्दा माथि जान सकेको छैन । अर्थात्, ३० देखि ३९ अङ्कबीचको हातलागी तीन । हातलागीको उच्चतम अंक दश अर्थात् सयमा सय अङ्कको प्राप्ति प्रायः असम्भव नै हो तर पनि हातलागी सातभन्दा माथि पुर्याउने सबैको ध्येय पूरा हुन अझै सकेको छैन । हातलागी वृद्धि गर्न पुनः अङ्क प्रणालीमा फर्कने कि निरन्तर मूल्याङ्कनको नै दह्रो वकालत गर्ने ? या कुनै अर्को परीक्षण गर्ने ? फेरि नयाँ परीक्षणले मूल्याङ्कन पद्धतिलाई अर्को रनभुल्ल दिशातर्फ धकेल्ने प्रायः निश्चित भएकाले यसको कुनै तुक छैन । निश्चित समयमा लिइने अध्यावधिक परीक्षालाई मात्र आधार मानी पुरानै मूल्याङ्कन पद्धतितर्फ फर्कनुको पनि कुनै औचित्य पुष्टि हुँदैन । आधारभूत तहमा अपनाइएको मूल्याङ्कन प्रणालीको ध्येय आफैंमा गलत थिएन । तर, विद्यालय तहमा प्रायः शिक्षकहरुले बुझ्ने तरिका जाँड–रक्सीको प्रभावलाई प्रयोगात्मक तरिकाले बुझाउने गुरु र बुझ्ने केही चेलाहरुसँग ठ्याक्कै मेल खायो । परिणामस्वरुप सिकाएर कक्षोन्नति गर्नुपर्ने ठाउँमा प्रायः सिकाउनेहरुले सिकाउनै बिर्सेर कक्षोन्नतिमा मात्र केन्द्रित भए । शहरदेखि दुर्गम गाउँ–बस्तिका विद्यालय घुम्ने क्रममा पाइएको तितो यथार्थ हो यो । शिक्षकले सरकारद्वारा प्रयोगमा ल्याइएको मूल्याङ्कन प्रणालीलाई बोझिलो र कार्यभार थपिएको रुपमा बुझे । लागू गरिएको मूल्याङ्कन पद्दति थप कार्यभार नभई प्रत्येक दिन नियमित गरिने शिक्षण सिकाइको एउटा हिस्सा हो भन्ने स्वयं सरकार पक्ष र त्योसँग सम्बन्धित निकायले बुझाउन सकेन । सम्बन्धित निकायले ‘उपयुक्त तरिकाले बुझाएँ’ त भन्यो तर बुझ्नेले अर्कै रुपमा बुझे । अब नयाँ शिराबाट सिकाउनेले सिकारुले सही रुपमा बुझेको सुनिश्चितता गरी अगाडि बढ्नुको विकल्प छैन । यसो भएमा शिक्षक स्वयं जिम्मेवार भई विद्यार्थीले कुन रुपमा सिकेको छ भन्नेमा केन्द्रित हुनेमा विश्वास गर्न सकिन्छ ।


आममानिस र शिक्षासँग सरोकार राख्ने अधिकांशको बुझाइलाई सुन्ने, बुझ्ने, अध्ययन र विश्लेषण गर्ने हो भने दश कक्षा उत्तीर्ण गर्ने परीक्षाको नाम एसएलसीबाट एसइइ राख्दैमा, प्राप्ताङ्क प्रतिशतलाई ग्रेडमा परिणत गरी दातालाई चित्त बुझाउन ‘परीक्षा दिने सबै सफल’ जस्ता परीक्षण र शब्दावलीले शिक्षाको ऊधो गतिलाई रोक्ने प्रश्न नै आउँदैन । त्यो त कसै–कसैको आँखामा छारो हाल्ने काम मात्र हो । अतः यस्ता खाले नवीनतम् परीक्षणलाई बढाउनुको साटो शिक्षक स्वयम्लाई जिम्मेवार बनाउनु अपरिहार्य छ । शिक्षक स्वयम्ले जिम्मेवारीको बोध गरी सोहीअनुरुप आफूमा रहेको क्षमतालाई कक्षाकोठामा प्रयोग गर्न÷गराउन सके हातलागी क्रमशः वृद्धि हुनेमा विमती रहँदैन । एउटा परीक्षणको नतिजा विश्लेषण नगरीकनै कसैको दबाबमा वा निहित स्वार्थका लागि नयाँ–नयाँ परीक्षण गर्नुको साटो आ–आफ्नो जिम्मेवारीलाई निष्ठापूर्वक निर्वाह गर्ने/गराउने वातावरण निर्माण गर्न सके मात्र गुणस्तरले नयाँ उचाई प्राप्त गर्नेमा द्विविधा नरहँला । सबैको हित्तचित्त मिलोस् जिम्मेवारी निर्वाहमा । भलो सबैको ।


(लेखक, रिड नेपाल/हिमालयन ट्रष्ट युके नामक गैरसरकारी संस्थाका प्रबन्धक हुनुहुन्छ ।)


rajendra_pant@hotmail.com

 

प्रमुख समाचार

आयोगबाट सिफारिश भएको डेढ महिनापछि बल्ल शिक्षकहरुको पदस्थापना शुरु आयोगबाट सिफारिश भएको डेढ महिनापछि बल्ल शिक्षकहरुको पदस्थापना शुरु

शिक्षक सेवा आयोगबाट सिफारिश भएका माध्यमिक तहका शिक्षकहरुको डेढ महिना पछि बल्ल पदस्थापना शुरु भएको छ । आयोगले खुला प्रतिस्पर्धाबाट छनोट गरेका शिक्षकहरु ...

पहिलो पटक प्रदेशगत रुपमा एसइइको नतिजा सार्वजनिक पहिलो पटक प्रदेशगत रुपमा एसइइको नतिजा सार्वजनिक

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसइइ परीक्षाको नतिजा सार्वजनिक भएको छ । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल नहुने परीक्षा बोर्डले ...

शिक्षक लाइसेन्स परीक्षाको विज्ञापन खुल्यो शिक्षक लाइसेन्स परीक्षाको विज्ञापन खुल्यो

  शिक्षक सेवा आयोगले शिक्षण अनुमति पत्र (लाइसेन्स)को परीक्षाका लागि विज्ञापन आज असार २ गतेबाट खुलाएको छ । प्रशासकीय प्रमुख डा. तुलसी थपलियाका अन ...