२०७६ भदौ १ गते / 18th Aug 2019, Sunday
investment investment

विद्यालय सुधारका आधारभूत तत्व


कुनैपनि देशको शिक्षा प्रणाली निरन्तर परिवर्तनीय गतिशील प्रक्रिया हो । त्यसैगरी, विद्यालय सुधार पनि एउटा प्रक्रिया हो जसमा निश्चित प्रकारका परिवर्तनहरूको माध्यमबाट उच्च गुणस्तर र प्रभावकारिता वृद्धिमा ठोस प्रभाव देखा पर्दछ । वास्तवमा, विगत केही पछिल्ला वर्षहरूमा नेपालका सामुदायिक तथा संस्थागत दुबै प्रकारका विद्यालयहरूको नतिजामा क्रमशः गिरावट आउनुले विद्यालय सुधारको अपरिहार्यता देखाउँछ । त्यसो त, हालसम्मकै सबैभन्दा कम अर्थात् मात्रै १०.२३ प्रतिशत बजेट शिक्षामा विनियोजन गरिएको र यसको पनि ८० प्रतिशत बढी शिक्षक तलबमा खर्च हुने भएकाले गुणस्तर सुधारका लागि राज्यको चासो भाषणमा मात्र सीमित छ भन्ने बुझिन्छ । तथापि, राज्यले अपेक्षा गरेको मध्यम दक्षतासहितको जनशक्ति तयार पार्ने कार्यका लागि विद्यालय सुधार अभियानकै रूपमा कार्यान्वयन गर्न सकियो भने राष्ट्रिय अपेक्षाअनुसार नतिजा प्राप्त गर्न सहज हुनेछ । विद्यालय सुधार भन्नाले विद्यालयको नयाँ परिवर्तित स्थिति भन्ने बुझाउँछ । परिवर्तन विशेषगरी सकारात्मक र वृद्धि विकासमा केन्द्रित हुन्छ । परिवर्तन भन्नाले निश्चित समयको अन्तरालमा देखापर्ने प्रभाव भन्ने बुझिन्छ । विद्यालयमा निश्चित समयको अन्तरालमा देखापरेको भिन्न अवस्था परिवर्तन हो, जुन सकारात्मक र नकारात्मक दुबै दिशाउन्मुख हुनसक्छ । यद्यपि, सकारात्मक परिवर्तनको अपेक्षा स्वाभाविक गरिएको हुन्छ, स्वयंसेवी वा स्वप्रेरित भावनाबाट गरिएका प्रयाशबाट सकारात्मक परिवर्तनको बढी सम्भावना हुन्छ भने तोकिएको वा कुनै पदीय वा कानूनी वा व्यवस्थापकीय सम्बन्धका कारण हुने परिवर्तन कम दीगो र सकारात्मक नतिजाको सुनिश्चितता न्यून हुने गर्दछ । विद्यालय—समुदाय सम्बन्ध चिसो, शिक्षकहरूबीच मनमुटाव र साझा दायित्वको अभाव, विद्यार्थी हड्ताल वा शिक्षकहरूप्रति अनादार, आन्तरिक द्वन्द्व जस्ता व्यवहारका कारण सकारात्मक परिवर्तन प्राप्त गर्न नसकिने हुन्छ ।
शैक्षिक पद्धतिमा परिवर्तन ल्याउनका लागि विभिन्न तत्वहरूले उत्प्रेरकको भूमिका खेल्छन् । उदाहरणका लागि गुणस्तरीय शिक्षाका निम्ति समुदायको चासो, प्रविधिको प्रयोग, अनुसन्धान र शैक्षिक पद्धतिको विकास, अभिभावकहरूको शैक्षिक तथा जिविकाको गुणस्तर र शिक्षामा राज्यको लगानी जस्ता पक्षहरूका आधारमा त्यस राज्यको शैक्षिक सुधार तथा गुणस्तरको निर्धारण हुने गर्छ । तसर्थ, नेपालकै सन्दर्भमा पनि विद्यालय सुधारको चर्चा गर्दा यी आधारभूत पक्षहरूलाई छाडेर चर्चा गर्नाले शिक्षाको गुणस्तरमा ठोस सकारात्मक परिवर्तन हुन सकिरहेको छैन । वास्तवमा, शिक्षा वा विद्यालय सुधारका लागि केही नवप्रवर्तनात्मक कार्य गर्नु आवश्यक छ । सुधारका क्षेत्र विविध हुन सक्छन् । नेपालका विद्यालयहरूमा सञ्चालन तरिका, शिक्षा नीति तथा कार्यविधि, शैक्षिक संरचना, संगठन तथा सांगठनिक मूल्य र शैक्षिक दर्शनमै ठोस परिवर्तन आवश्यक छ । यस्ता बृहत् पक्षहरूमा ध्यान नपुगेर सामान्य सुधारका प्रयासबाट तात्विक भिन्नता नदेखिनु स्वाभाविक हो । तसर्थ, केही नवप्रवर्तनात्मक कार्यहरूमा विशेष जोडका साथ लगानी गर्न सकियो भने विद्यालय सुधारका संकेत देख्न सकिन्छ ।


विद्यालय सुधारका लागि विद्यमान प्रविधिगत पक्षमा व्यापक परिवर्तन आवश्यक छ । शैक्षिक प्रविधि भन्नाले व्यापक अर्थमा पाठ्यक्रम, विषयवस्तु र तिनको शिक्षण प्रविधि, शिक्षण सिकाइ प्रक्रियाको आन्तरिक संरचना, व्यवस्थापन र प्रयोग र विद्यालय शिक्षामा प्रविधिको प्रयोग जस्ता पक्षहरूमा सुधार आवश्यक छ । नेपालको पाठ्यक्रम र विषयवस्तुमा समय सान्दर्भिक परिवर्तनका साथै अपेक्षित जनशक्ति पैदा गर्ने विषयवस्तु र सामग्री अभाव पाइन्छ । पटक–पटक झिना मसिना फेरबदलबाहेक पाठ्यक्रममा महत्वपूर्ण परिवर्तन गरिएको छैन । राजनीतिक अस्थिरताबाट विगत तीन वर्षदेखि स्थिरतातर्फ उन्मुख भएको भएतापनि परिवर्तित राजनीतिक तथा सभ्यतालाई मार्गनिर्देश गर्ने र प्रविधिको प्रभावलाई अगुवाइ गर्नेखालका कोर्स निर्माण गरिएका छैनन् । औपचारिक शिक्षाका उच्च कक्षामा विदेशी पाठ्यक्रमप्रतिको आकर्षण बढिरहेको छ । नेपालको शिक्षाको समकक्षता विकास गर्नेभन्दा पनि विदेशी बोर्डहरूका कोर्स सञ्चालन गरेर व्यवसाय गर्न बाध्य छन् यहाँका शैक्षिक माफियाहरू । उनीहरू आफ्नो उत्पादनको बजारभन्दा अर्कैको दलालीमा रमाएका छन् । विद्यालय पाठ्यक्रममा देशका लागि आवश्यक जनशक्तिका लागि आवश्यक सीप समेटिएको छैन । सामान्य साक्षरतामा मात्र सीमित भएको छ । यसैगरी, कक्षा शिक्षणका लागि डेस्क–बेञ्च र सेतोपाटीबाहेक अन्य सन्दर्भ–सामग्री, आवश्यक शैक्षणिक सामग्री तथा शिक्षण सफ्टवेयरको व्यवस्था छैन । केही उदाहरणका लागि इन्ट¥याक्टिभ ह्वाइट बोर्डका एक दुईवटा थान उपलब्ध गराइएको र ती पनि प्रयोगबिहीन अवस्थामा प्लाष्टिकले बेरेर राखिएका छन् । त्यसैगरी, अधिकांश शिक्षकहरू परम्परागत चकटक विधिबाट नै शिक्षण गर्ने गर्छन् । परियोजनामा आधारित, प्रयोग र अनुभवमा आधारित, खोज अनुसन्धानमा आधारित, अन्तक्र्रियात्मक, सहयोगात्मक सिकाइ रणनीतिहरूको प्रयोग बढाउनु अति आवश्यक छ । कोर्स, सफ्टवेयरको विकास साथै यि नवीनतम शिक्षण विधि प्रविधिको व्यवस्थापन र प्रयोगका लागि शिक्षक तयारीमा लगानी बढाउनुपर्ने देखिन्छ ।


विद्यालय सुधारका लागि व्यवहारजन्य पक्षहरूको परिवर्तन अर्को अपरिहार्य शर्त हो । वास्तवमा नेपालको शिक्षामा संलग्न शिक्षक, शिक्षा प्रशासक, प्रधानाध्यापक, अभिभावक, सञ्चालन समिति पदाधिकारीहरू, सरकारका मन्त्री तथा निर्वाचित प्रतिनिधिहरू र विद्यार्थीका व्यवहारमा परिवर्तन आवश्यक छ । उनीहरूका बीचका सम्बन्धमा सुधार गर्नु आवश्यक छ । उदाहरणका लागि शिक्षक तथा प्रधानाध्यापक वा शिक्षक तथा शिक्षा अधिकारीहरूका बीच एक अर्कालाई हेर्ने दृष्टिकोण नै फरक छ । शिक्षकहरू ठगाहा र अधिकारीहरू भ्रष्ट छन् भन्ने बुझाइ पालेर गरिने व्यवहारले कसरी गुणस्तर दिन सक्छ र ? त्यस्तै अभिभावकहरू जिम्मेवार छैनन् भन्छन् शिक्षकहरू । अनि हामीले पैसा तिरेका छौं, सरकारले तलब दिएको छ, शिक्षकले पढाउँदैनन् भन्छन् अभिभावकहरू । जनप्रतिनिधिहरू समेत शिक्षकहरूलाई दोष दिँदै भाषण गर्ने र आफूले सही नीति–नियम बनाउन नसक्ने र उल्टै हैसियत अनुसारको शैक्षिक माफियाको भूमिका खेल्ने गर्छन् भने कसरी विद्यालय सुधार सम्भव छ ? यसरी एक अर्कालाई हेर्ने दृष्टिकोण नै त्रुटिपूर्ण छ भने विद्यालय र कक्षाकोठामा विद्यार्थीसँग गरिने बोलीचाली, कक्षा व्यवस्थापन, अनुशासन, आचारसंहिता पालना, द्वन्द्व व्यवस्थापन, चारित्रिक तथा नागरिक मूल्य–मान्यताको विकास जस्ता पक्षमा धेरै सकारात्मक सुधार गर्नु आवश्यक देखिन्छ ।


विद्यालय सुधारका लागि विद्यालय सांगठनिक व्यवस्थापनमा व्यापक सुधार हुनु आवश्यक छ । हाम्रा विद्यालय असल नेतृत्वको अभावमा अधोगतितिर धकेलिएका छन् । विद्यालय प्रशासकका रूपमा प्रधानाध्यापकहरू नियुक्ति गरिएका छन् । उनीहरूको नियुक्तिको स्पष्ट आधार प्रयोगमा छैन । प्राज्ञिक उच्चताभन्दा पनि सामाजिक तालमेल मिलाउन सकेमा प्रधानाध्यापक हुने र टिकिरहे भएकाले अन्य शिक्षकहरू नेतृत्वका तुलनामा आफूलाई अब्बल ठान्ने गर्छन् । प्रधानाध्यापकहरू शैक्षिक उच्च दक्षता प्रदर्शन गरेर विद्यालय सुधारका लागि भन्दा विद्यालय प्रशासनको नियन्त्रणकारी भूमिकाप्रति शिक्षा अधिकारीहरूप्रति जवाफदेही रहेका पाइएका विद्यालयहरूको गुणस्तर पक्ष अत्यन्त कमजोर भएका कारण नेतृत्व वा प्रधानाध्यापक प्रशासनिकभन्दा शैक्षिक नेतृत्व बन्न् आवश्यक देखिन्छ । तसर्थ प्रधानाध्यापकको भूमिकालाई पुनः परिभाषित गर्नु आवश्यक छ । विद्यालय प्रशासन र व्यवस्थापनका प्रजातान्त्रिक मोडेलहरू अपनाउनाले संलग्न शिक्षकहरूको पेशागत उत्प्रेरणामा सकारात्मक सहयोग पुग्नेछ ।


विद्यालय सुधारका लागि विद्यालयको सामाजिक स्वरूपमा पनि परिवर्तन गर्नु आवश्यक छ । विद्यालयको उद्देश्य र कार्यको व्यापक अर्थमा पुनः परिभाषित गर्नु आवश्यक छ । विद्यालय के का लागि ? चालू शिक्षा नीति तथा कार्यक्रमहरूले देशले प्राप्त गर्ने जनशक्तिको सूचक स्पष्ट निर्देश गर्न सक्नुपर्छ । नीति कार्यक्रममा देशको सामाजिक आर्थिक परिवेशमा शिक्षाको हस्तक्षेपको स्पष्ट खाका हुनुपर्छ । उदाहरणका लागि सन् २०३० को दीगो विकास लक्ष्य हासिल गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धताका सन्दर्भमा अति कम विकसित नेपाललाई विश्वका अन्य विकाससील मुलुकको बराबरी हैसियतमा पु¥याउन चालू विद्यालय क्षेत्र विकास कार्यक्रमले के योगदान गर्छ ? माथि उल्लेख गरिएका प्रविधि, व्यवहार, सांगठनिक संरचना र विद्यालयको सामाजिक स्वरूपमा चालू कार्यक्रमले के भूमिका वा परिवर्तन गर्न सक्छ र ती परिवर्तनको प्रभाव नेपालको अर्थ सामाजिक सम्बन्धमा कति हुन्छ ? त्यो महत्वपूर्ण हुन्छ । यसका लागि हाल चलिरहेका साधारण साक्षरता बढाउने प्रकृतिका विद्यालयहरूबाट केही अपेक्षाा गर्न सकिँदैन । राज्यले मध्यम सीपयुक्त जनशक्ति उत्पादन गर्ने स्थलका रूपमा विद्यालयलाई चिनाउन सक्नु पर्छ । १२ वर्षे विद्यालय यात्रापछि बेरोजगार जमातमा लाइन लाग्नपर्ने ठूलो लगानीको दुरुपयोग हो । तसर्थ नेपालको अर्थसामाजिक विकासका लागि आवश्यकता पहिचान गर्ने र त्यसमा टेवा पुर्याउने खालका कोर्स सञ्चालन गर्नु आवश्यक छ । पछिल्ला केही वर्षमा प्राविधिक माध्यमिक शिक्षाअन्तर्गत कृषि, इञ्जिनियरिङ्क, कम्प्यूटर, पशुपालन जस्ता विषय शिक्षण हुन थालेको छ । यद्यपि, दक्ष शिक्षकको अभावमा अपेक्षित गुणस्तर र नतिजा प्राप्त भइनसकेको भएतापनि केही सुधारको लक्षण देखिएका छन् । विद्यार्थी रोजगारी र स्वरोजगारीतर्फ उन्मुख देखिन्छन् । त्यस्तै हुनसक्छ प्रत्येक संघीय निर्वाचन क्षेत्रमा कम्तिमा एउटा यस्तो विद्यालय होस् जहाँ दुई तीन वर्षको अध्ययनपछि रोजगारीको ग्यारेन्टी होस् । यस्ता विद्यालयको सञ्चालनका लागि अमेरिकाका कम्युनिटी स्कूलबाट धेरै सिक्न सकिनेछ । अर्थात्, विद्यालयको वर्तमान सेवा प्रकृतिमा फेरबदल गर्नु आवश्यक छ । देखिने गरी परिवर्तन हुने, मापन गर्न सकिने उत्पादन दिने र खासगरी देशको आर्थिक सामाजिक अवस्थामा प्रभाव पार्न सक्ने विद्यालयहरू सञ्चालन गर्नु आवश्यक देखिन्छ । यसका लागि विद्यालयको भौतिक र मानवीय पक्षको आमूल परिवर्तनका लागि लगानी वृद्धि हुनु आवश्यक छ ।

 

प्रमुख समाचार

आयोगबाट सिफारिश भएको डेढ महिनापछि बल्ल शिक्षकहरुको पदस्थापना शुरु आयोगबाट सिफारिश भएको डेढ महिनापछि बल्ल शिक्षकहरुको पदस्थापना शुरु

शिक्षक सेवा आयोगबाट सिफारिश भएका माध्यमिक तहका शिक्षकहरुको डेढ महिना पछि बल्ल पदस्थापना शुरु भएको छ । आयोगले खुला प्रतिस्पर्धाबाट छनोट गरेका शिक्षकहरु ...

पहिलो पटक प्रदेशगत रुपमा एसइइको नतिजा सार्वजनिक पहिलो पटक प्रदेशगत रुपमा एसइइको नतिजा सार्वजनिक

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसइइ परीक्षाको नतिजा सार्वजनिक भएको छ । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल नहुने परीक्षा बोर्डले ...

शिक्षक लाइसेन्स परीक्षाको विज्ञापन खुल्यो शिक्षक लाइसेन्स परीक्षाको विज्ञापन खुल्यो

  शिक्षक सेवा आयोगले शिक्षण अनुमति पत्र (लाइसेन्स)को परीक्षाका लागि विज्ञापन आज असार २ गतेबाट खुलाएको छ । प्रशासकीय प्रमुख डा. तुलसी थपलियाका अन ...