२०७६ असोज ७ गते / 24th Sep 2019, Tuesday
investment investment

मैले देखेकै छैन असम्भव भन्ने कुरा

 

विनिता रञ्जित
प्रधानाध्यापक
पञ्चकन्या आधारभूत विद्यालय, बालुवाटार, काठमाडौं


विनिता रञ्जित, गजबकी फुर्तिली व्यक्तित्व । भेटेर बोल्नेबित्तिकै विद्यालयलाई आफूले कसरी परिवर्तन गरेँ भनेर उत्साहसाथ सुनाइहाल्ने । निजी स्कूलको जगजगीबीच काठमाडौं बालुवाटारमा रहेको एक सामुदायिक विद्यालय अहिले उहाँकै नेतृत्वमा साँच्चैको ‘आहा !’ भन्नेखालको बनेको छ । यो कसरी सम्भव भयो त ? प्रस्तुत छ, काठमाडौंमै हुर्कि–बढ्नुभएकी अनि पञ्चकन्या आधारभूत विद्यालयकी प्रधानाध्यापक रञ्जितसँग आजको शिक्षाले गरेको कुराकानी ।    

समग्र विद्यालयको बारेमा बताइदिनुस् ?
यो विद्यालय २०१७ सालमा स्थापना भएको हो । तत्कालीन वडाध्यक्ष स्व. भक्तबहादुर  खड्काले घरको पिँडिमा बच्चाहरु खेलेको देखेपछि यिनीहरुलाई पढाउन पर्ने रहेछ भनेर एकजना शिक्षक बोलाएर घरमै आँगनबाटै पढाउन शुरु गर्नुभएको विद्यालय हो । विद्यार्थी बढ्दै गएपछि नजिकैको वैष्णदेवी मन्दिरको पाटीमा १ देखि ३ कक्षासम्म सञ्चालन गरियो । बिस्तारै यसलाई ४, ५ कक्षा गर्दै लगियो । २०४५ सालमा खड्काले नै तीनकोठे टहरो बनाएर २ रोपनी जग्गामा सारिदिनुभयो । त्यसपछि ६, ७ गर्दै हाल ८ कक्षासम्म सञ्चालन भइरहेको छ । तीनतिरैबाट बाटो भएकाले होला सायद हाल विद्यालयसँग २ रोपनीमा १४ आना मात्रै जग्गा छ । हाल ३ सयबढी विद्यार्थी र उनीहरुका लागि १४ जनाको शिक्षक कर्मचारीको समूह कार्यरत छ ।


विद्यालयको सिकाइ उपलब्धिको अवस्था के छ ?
हरेक कक्षाहरुको सिकाइ उपलब्धि ८० प्रतिशत माथि रहेको छ । गएका वर्षहरुभन्दा हरेक वर्ष केही प्रतिशत बढाउने भनेर हामी लागिरहेको अवस्था छ । त्यो नतिजामा पनि देखिरहेको अवस्था छ । सबै शिक्षकहरु शिक्षण सिकाइ सुधारमै केन्द्रित रहँदै आउनुभएको छ । पढाइ अवरुद्ध नहोस् भनेर नतिजासमेत शनिबार मात्रै घोषणा गर्ने गरेका छौं । सिकाइ राम्रो हुन थालेपछि घरेलु बाल मजदूरबाहेक स्थानीय जनताका छोराछोरी पनि विद्यालयप्रति आकर्षित हुन थालेका छन् । हाल ३० प्रतिशत बालबालिका स्थानीय छन् । पहिले ‘डिस्टर्ब’ भयो भनेर यो स्कूल हटाउनुपर्छ भन्ने स्थानीयहरु पनि अहिले विद्यालयलाई १० कक्षासम्म पु¥याउनु पर्छ भन्न थाल्नुभएको छ ।


सिकाइ सुधारका लागि अन्य विद्यालयभन्दा के–के फरक अभ्यास गर्नुभएको छ ?
यो विद्यालयमा नर्सरी, कक्षा १ र २ सम्म कक्षा शिक्षण गरिएको छ । कक्षा शिक्षणले पनि शिक्षण सिकाइलाई धेरै नै फरक पार्दो रहेछ । नर्सरीदेखि कक्षा ५ सम्म पूर्ण अंग्रेजी माध्यममा पढाइन्छ । ६, ७ र ८ कक्षामा विज्ञान, कम्प्यूटर, ऐच्छिक गणित र अनिवार्य गणित गरी चार विषय पनि अंग्रेजी माध्ययममै राखेका छौं । अतिरिक्त क्रियाकलापलाई बढी जोड दिएर सिकाइने गरिएको छ । परियोजना कार्यहरुमा विशेष सक्रिय बनाउँदै आएका छौं । शिक्षण सिकाइलाई पाठयपुस्तकमा सीमित नराखी विभिन्न स्थानको सिकाइ भ्रमण गरिँदै आएका छौं । शैक्षिक र खोज सामग्री प्रयोगलाई विशेष ध्यान दिँदै आएका छौं । विद्यालयले हरेक शिक्षक र विद्यार्थीको जन्मदिन मनाउने गरेको छ । नर्सरी, १ र २ कक्षाका विद्यार्थीका लागि स्टेशनरी विद्यालयबाटै व्यवस्था गरेका छौं । यस वर्षदेखि शुद्ध ह्याण्ड–राइटिङका लागि मात्रै छुट्टै कपिको व्यवस्था गरिएको छ । हरेक हप्ता प्रत्येक विषयमा १० वटा शब्द लेखिरहन दिइन्छ । उनीहरुले विषयगत रुपमा त्यही शब्द ५ दिन लेखिरहन्छन् ।  छैटौं दिनमा त्यही शब्दहरुको परीक्षा लिने गर्छौं । यसरी ५ दिन हरेक विषयको १० शब्द लेखिरहँदा उनीहरुलाई ती शब्द कण्ठै हुने गर्छ । यसरी विद्यार्थी हरेक हप्ता प्रत्येक विषयको कम्तिमा १० नयाँ शब्द जान्दछन् । हरेक कक्षाकोठा शैक्षिक सामग्रीयुक्त छ । एउटा सुन्दर बाल उद्यान झैं बनाइएको छ कक्षाकोठा । बालकेन्द्रित शिक्षण सिकाइ गर्ने गरिएको छ । ६ देखि ८ सम्म कम्प्यूटर कक्षा सञ्चालन हुने गर्छ । सुन्दर लाइब्रेरीको व्यवस्था गरेका छौं । विद्यालयमा एउटा कार्यक्रम हल पनि छ ।


यो सुधारको प्रेरणा कसरी पाउनुभयो र कहिलेदेखि शुरु गर्नुभयो ?
हामीमा यस्तो गर्नुपर्छ है भनेर ‘सेल्फ मोटिभेसन’ छ । म प्रअ भइनसक्दै मैले यी सुधारको सपना देखेकी थिएँ । तर, हात–खुट्टा बाँधिएका अवस्थामा झैं थिए । स्वतन्त्र रुपमा काम गर्न पाइएको थिइन । जब म २०७१ साउनदेखि प्रअ भएँ, तब मैले शिक्षक साथीहरुलाई राखेर सल्लाह गरेँ । विद्यालय राम्रो बनाउनु पर्छ र हामीले नै बनाउने हो । बाहिरको मान्छे आएर बनाइदिँदैन । अलि मिहिनेत गरौं । यसमा तपाईँहरुको के छ भिजन ? भनेर सोधेँ । पछि शिक्षकहरुले नै धेरै योजनाहरु ल्याउनुभयो । कक्षाहरुको व्यवस्थापन, शैक्षिक सामग्री निर्माण यसरी गरौं भन्नेलगायतका धेरै कुरा उहाँहरुले नै आफैं ल्याउनुभयो । पहिले विद्यालयको राम्रो खेल मैदान नै थिएन । खाल्डैखाल्डो थिए । सबैभन्दा पहिले ग्राउण्डमा टायल बिच्छ्यायौं । त्यसपछि भित्ताहरुमा रङ्गरोगन ग¥यौं । अन्य राम्रा विद्यालय हेरेर, युट्युबमा खोजेर कसरी बालमैत्री विद्यालय बनाउने भन्दै सुधार गर्दै गयौं । पछि भित्ताहरुमा बालमैत्री सन्दैशमुलक चित्रहरु बनायौं । हामी आफैंमा गर्नुपर्छ भन्ने लागेर शिक्षकहरु सबै मिलेर क्रमशः सुधार गर्दै आयौं ।


शुरुमा सुधारका लागि आर्थिक स्रोतको कसरी व्यवस्थापन गर्नुभयो ?
शुरुमा ग्राउण्डमा टायल बिच्छ्याउन जिविसबाट सहयोग माग्यौं । भित्ताहरुमा रङ्गरोगन गर्न वडा कार्यालयको सहयोग मागियो । हामी विद्यालय सुधार गर्न भनेपछि शिक्षकहरुले आफैँपनि सहयोग उठाउँछौं । ३/४ वर्षका साना–साना बच्चाहरुले थोरथोरै भात, चिउरा ल्याउने, कसैले ल्याउँदै नल्याउने, नल्याएकाले हेरेर बस्ने, ती कलिला बच्चाले चिउरा चपाएको हेर्नै नसकिने, रुन मन लाग्ने । विव्यस सदस्य हुनुहुन्छ दुर्गेशनन्दनी भट्टचन्द, उहाँ एकदमै मनकारी । जाडो आयो कि उहाँ सबै बच्चालाई स्विटर ल्याएर बाँड्नुहुन्छ । पानी प¥यो भने रेनकोट प्रदान गर्नुहुन्छ । ‘यसरी भएन, म १० हजार दिन्छु, जाउलो खुवाउनोस्,’ भन्नुभयो उहाँले । १० हजार रुपैयाँले मात्रे पुग्दैन भनेर छलफल गर्दा सबै शिक्षकहरुले ‘हामीले पनि हालौंन’ भन्नुभयो । कसैले ५, कसैले ३ कसैले २ र १ हजार रुपैयाँ गरी सकेको सहयोग गर्नुभयो । यसरी एउटा कोष नै बनायौं । जहाँ ५०÷६० हजार रुपैयाँ जम्मा गर्न सफल भयौं । २०७१ सालदेखि नर्सरी, केजी र कक्षा १ सम्म हामीले निःशुल्क जाउलो कार्यक्रम शुरु ग¥यौं । पछि विद्यालयमा आउनेहरुसँग समेत ‘बच्चालाई जाउलो खुवाउन सहयोग गर्नुस् न’ भनेर समेत सहयोग माग्न थाल्यौं । स्थानीयले पनि तिथि श्राद्धमा सहयोग गर्न थाल्नुभयो । गएको वर्षदेखि जेन्टल रेन्ट नेपाल नामक संस्थाले दिवा खाजामा पूर्ण सहयोग गर्दै आएको छ । त्यसपछिका सुधारका कार्यक्रमहरुमा भने मैले बाहिर सहयोग मागेको छैन । विद्यालयको सटरको भाडाबाटै व्यवस्थापन गर्दै आएका छौं । प्रारम्भिक बालविकास (इसिडि)का शिक्षकलाई सरकारले ६ हजार रुपैयाँ मात्रै दिन्छ । त्यसमा विद्यालयले ४ हजार थपेर १० हजार दिने गरेको छ । निजी स्रोतमा शिक्षक राखिएको छ, भएकै स्रोतको अधिकतम् परिचालन गरेर ।


हरेक कक्षा शैक्षिक सामग्रीले सजिएका छन् । त्यसको व्यवस्थापन कसरी भयो ?
सबै हाम्रै शिक्षकहरु आफैंले स्थानीयस्तरमै उपलब्ध स्रोत–साधन परिचालन गरेर निर्माण गर्नुभएको हो । हरेक वर्ष चैत अन्तिम हप्ता त्यसलाई फेर्दै आएका छौं । नर्सरीमा पढाउने एकजना शिक्षक मन्टेश्वरी तालिम प्राप्त हुनुहुन्छ । उहाँको आइडिया भयो । अन्य शिक्षकहरु पनि रचनात्मक हुनुहुन्छ । गरौं भनेपछि गरौं–गरौं । अलिकति आइडिया शिक्षकहरु र केही युट्युवबाट पनि सिक्यौं । २÷४ राम्रा विद्यालय पनि हेरियो । पछि, यसो गर्नुपर्दो रहेछ भनेर सबै लागेर बनाइएको हो । प्रत्येक विषयका शिक्षकले शैक्षिक सामग्री बनाएर कक्षा शिक्षकलाई दिने र उहाँले विद्यार्थीको समेत सहयोगमा टाँस्ने÷सजाउने गर्नुहुन्छ । हामी पुस्तकमा मात्रै सीमित नभई शैक्षिक सामग्रीमा आधारित भएर खोज विधिबाट सिकाउँछौं । समूहमा कार्य गराउँछौं । विद्यार्थीलाई समेत खोज र परियोजना कार्य अनिवार्य गरेका छौं । बच्चाहरुलाई ठूला डेस्क–बेञ्चमा बस्न साह्रै गाह्रो भयो भनेर विद्यार्थीको उमेर अनुसारको बालमैत्री रङ्गीन डेस्क–बेञ्चको व्यवस्था गरिदिएका छौं ।


एउटा कक्षाकोठामा दिनभर कस्ता–कस्ता फरक अभ्यासहरु गतिविधि हुने गर्छन् ?
बिहान प्रार्थनापश्चात् शिक्षक कक्षाकोठामा छिरेपछि विद्यार्थीलाई २ मिनेट ध्यान गराउनुहुन्छ । त्यसपछि कक्षामै सरस्वती बन्धना गाउन लगाउनुहुन्छ । त्यसपछि सिकाइको काम शुरु हुन्छ । रटाउने, घोकाउने भन्दापनि समूह बनाएर छलफलको विधिद्वारा सिकाउने काम शुरु हुन्छ । समूहकार्य गरिसकेपछि विद्यार्थीले यो भनेको यो हो भनेर उठेर सुनाउँछन् । पढेर भन्दा गरेर बुझेर सिक्ने गर्छन् विद्यालयमा विद्यार्थीले । हामीकहाँ क्रियाकलापमा आधारित शिक्षण सिकाइ हुँदै आएको छ ।


अतिरिक्त क्रियाकलापमा केमा बढी केन्द्रित गर्नुभएको छ ?
हरेक शुक्रबार विद्यालयमा अतिरिक्त क्रियाकलाप हुने गर्छ । विद्यालयमा नृत्य शिक्षक नै राखिएको छ । विद्यार्थी हरेक विधामा उम्दा छन् । विद्यालयमै तेक्वान्दो कक्षा शुरु गरिदिएका छौं । विद्यार्थीले विभिन्न प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गरिरहेका छन् ।


शिक्षण पेशा कहिलेदेखि शुरु गर्नुभयो ? विद्यालय सुधारको प्रेरणा कसरी जाग्यो ?
मैले २०४५ चैतदेखि यही विद्यालयबाट शिक्षण पेशा शुरु गरेकी हुँ । पहिले मैले अंगे्रजी विषय अध्यापन गराउथेँ । पहिले विद्यालय ५ कक्षासम्म सञ्चालनमा थियो । २०६४ सालमा सहायक म प्रअ बनेँ । एउटा शिक्षक मात्रै रहँदा कम जिम्मेवारी हुन्थ्यो । १० बजेर आएर ४ बजेसम्म पढाए पुग्थ्यो । सहायक प्रअ भएपछि प्रशासनिक जिम्मेवारी पनि थपियो । अझ, प्रधानाध्यापक बनेपछि त सबै जिम्मेवारी काँधमा आएको छ । विद्यालयकै आमा बनेर बस्नुपरेको छ । विद्यालयको शैक्षिक, भौतिक, आर्थिक सबै जिम्मेवारी भयो । हामी आफ्ना बच्चाहरुलाई निजी विद्यालयमा भर्ना गर्छौं । सरकारीलाई नपत्याएर त होला नि । निजीमा होमवर्क नदिए हामी दौडेर कराउन जान्छौं । सरकारीमा त्यो हुँदैन । फेरि ‘गरीबका बच्चा पढ्ने’ र ‘हुनेखानेका बच्चा पढ्ने’ भनेर विभेद किन ? त्यसपछि दुईखाले उत्पादन हुनु हुँदैन । विभेद गर्न हुँदैन । निजीमा र सामुदायिक विद्यालयमा फरक हुनुहुँदैन भन्ने लाग्यो । अनि विद्यालय सुधार गर्ने प्रेरणा आयो । आफ्ना छोराछेरी जस्तै सम्झेर सिकाउन शुरु गरेँ । निजीले बच्चाहरुलाई जे सिकाएर पढाएर ँपठाएका हुन्छन्, शुरुमा हामीले विद्यालयमा पनि त्यही सिकाउने गतिविधि ग¥यौं ।


विद्यालयको आगामी योजना के छन् ?
म त पाँच वर्षभित्र विद्यालयलाई नमूना विद्यालय बनाउन भनेर लागेको छु । हरेक कक्षालाई मल्टिमिडियायुक्त बनाउने योजना रहेको छ । पाँच वर्षभित्र पूरा गर्ने लक्ष्य पनि विद्यालयले लिएको छ । एउटा स्मार्ट कक्षा बनाउने योजना पनि छ । हरेक कक्षाको डेस्क–बेञ्चलाई अझै बालमैत्री बनाउने योजना छ । हरेक कक्षाको सिकाइ उपलब्धि ९० प्रतिशतभन्दा माथि पु¥याउने लक्ष्य छ ।


महिला प्रअ भएकै कारण केही समस्या भोग्नुभएको छ कि ?
केही समस्या पर्दोरहेछ । कार्यालयहरुमा गएर डिल गर्दा केही न केही समस्या पक्कै आउने रहेछ । कसैले सम्मान गर्छ, ठीकै छ । कसैको त नजर नै गलत हुने । पुरुष प्रअलाई त चिया खान जाउँ भनेर जान पनि सजिलो । महिला प्रअले ‘चिया खान जाउँ’ भन्दा ‘त्यो म्यामले चिया खान जाऊ भन्नुभयो’ जस्तो हुने । हाम्रो विद्यालयमा एकजना मात्रै पुरुष शिक्षक भएकाले खासै समस्या छैन । बाहिर पनि समस्या नै त होइन, कहिलेकाहीँ त्यस्तो महशूस मात्रै हुने गर्छ । त्यसो त, पुरुषलाई भन्दा महिलालाई कुरा गर्न सहज पनि हुन्छ । हामीहरुलाई ‘तिम्रो विद्यालयको काम हुँदैन’ भन्न पनि गाह्रो हुन्छ । विद्यालयहरुमा पुरुषभन्दा महिला प्रअ हुँदा ठीक हो जस्तो लाग्छ । व्यवस्थापकीय क्षमता महिलामै बढी हुन्छ ।


एउटा राम्रो विद्यालय बनाउन प्रअको कस्तो भूमिका हुन्छ ?
एकदमै ठूलो भूमिका हुन्छ । तर, प्रअ ‘रोलमोडल’ बन्नैपर्छ । भिजनचाहिँ हुनै पर्छ । एक्लैले गर्न सक्ने त केही होइन तर भिजन छ र टिमलाई ‘कन्भिन्स’ गर्न सक्यो भने सुधार गर्न समस्या छैन । तर, एउटा शिक्षकले मात्रै चाहेर सुधार सम्भव छैन । गर्ने/नगर्ने प्रअले नै हो । सबैभन्दा ठूलो कुरा ‘सेल्फ मोटिभेटेड’ हुनुपर्दो रहेछ । ‘म गर्छु–गर्छु’ भन्ने भावना जाग्नुपर्दो रहेछ । चाहना भए बहानाहरु आफैं भाग्दारहेछन् । जागिरे मानसिकताबाट प्रअमाथि उठ्नुपर्दो रहेछ । विद्यार्थीलाई छोराछोरी जस्तै मान्नुपर्दो रहेछ । असम्भव केही पनि छैन । मैले देखेकै छैन असम्भव भन्ने कुरा । चाहना  हुनुप¥यो । म प्रअ हुनसाथ विद्यालयलाई यस्तो बनाउँछु भनेर सपना देखेकी थिएँ । सोही अनुसार कार्ययोजना बनाएँ, अहिले नतिजा तपाईँहरु सामु छ ।



प्रस्तुति : रोशन क्षेत्री गाउँले

प्रमुख समाचार

नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो

–शिक्षक महासंघको प्रथम परिषद्मा शिक्षक संघद्वारा पहिला बहिष्कार, पछि सहभागिता –विधान संशोधनमा कार्यकाल थप्ने/नथप्ने विषय नै विवादको मूल च ...

राजनीतिक खिचातानीका कारण ६ महिनादेखि विद्यालय व्यवस्थापन समितिबिहीन राजनीतिक खिचातानीका कारण ६ महिनादेखि विद्यालय व्यवस्थापन समितिबिहीन

राजनीतितक दलको भागभण्डा नमिल्दा कपिलवस्तुको गौतम बुद्ध माविको व्यवस्थापन समिति ६ महिनादेखि खाली भएको छ । बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा रहेक ...

शिक्षकप्रति उपराष्ट्रपतिको कडा प्रश्न–सार्वजनिक विद्यालयमा खराब नतिजा किन आयो ? शिक्षकप्रति उपराष्ट्रपतिको कडा प्रश्न–सार्वजनिक विद्यालयमा खराब नतिजा किन आयो ?

उपराष्ट्रपति नन्दकिशोर पुनले नेपाल शिक्षक महासंघको कार्यक्रममा खराब नतिजा ल्याउने र आश्चार्यजनक सफलता हासिल गर्ने विद्यालयका शिक्षकहरु एकै ठाउँ जम्मा ...