२०७६ असोज ७ गते / 24th Sep 2019, Tuesday
investment investment

पराशर विद्यालयः सीमान्तकृत समुदायका निम्ति वरदान

 


तनहुँ जिल्लामा विद्यालय व्यवस्थापनमा सुधार सहयोग परियोजना दोस्रो चरण (सिसम–२) को प्रभाव कस्तो छ ? विद्यालयहरुले के कस्ता राम्रा अभ्यास गरेका छन् ? तनहुँका पराशर आधारमूत विद्यालय पाटन, पार्वती आधारभूत विद्यालय म्याग्दे र भानु मावि बन्दिपुरका सबल अभ्यास र पक्षलाई यो अंकमा समेट्ने प्रयास गरेका छौं ।



व्यास नगरपालिका–५, पाटनमा रहेको यो विद्यालय २०४९ सालमा वर्तमान प्रधानाध्यापकको अगुवाइमा स्थापना भएको हो । गरीब समुदाय बसोबास भएको यस स्थानमा आधारभूत विद्यालय स्थापना हुनुले स्थानीयबासी निकै खुशी देखिन्छन् । खासगरी बोटे (दराई) समुदायका बालबालिकाका निम्ति यो विद्यालय वरदान सावित देखिन्छ ।


विद्यालयको तथ्याङ्क २०७४ अनुसार यहाँ १८१ विद्यार्थी पढ्छन् । सुखद पक्ष त, वरिपरि निजी विद्यालय पनि छैनन् । यही विद्यालयमा बालमैत्री पढाइ हुने गर्छ । बाल कक्षा सफा, बालमैत्रीपूर्ण र शिक्षकहरु उस्तै माया गर्नेखालका रहेका छन् । यसले गर्दा अभिभावकको विश्वास पनि यो विद्यालयप्रति बढेको छ । विद्यालय व्यवस्थापन राम्रो छ । विद्यालयको प्राङ्गण साँघुरो छ तर सेवाक्षेत्रमा यही मात्र विद्यालय रहेको छ । समुदायले यसलाई ठूलो उपलब्धि ठानेका छन् ।


अभिभावक र शिक्षकमा अपनत्व
शिक्षकहरु नियमित पढाउँछन् । चार नबजी विद्यालयबाट निस्कँदैनन् । कुनै पनि पिरियड खाली हुने गरेको छैन भन्नुहुन्छ विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरबहादुर रानाभाट । १ देखि ५ सम्मका बोटे विद्यार्थीलाई निःशुल्क खाजाको व्यवस्था गरिएको छ । ३२ जना अभिभावकले दिनको १ रुपैयाँ दिने गरेका छन् । त्यो जेहेन्दार विद्यार्थीका निम्ति नै खर्च हुने गर्छ । त्यसो त, शिक्षकहरुको अक्षय कोषबाट विद्यार्थीलाई पोशाक तथा स्टेशनरीका सामान दिने गरिएको छ । शिक्षकहरु पढाइ सुधारका निम्ति एकजुट छन् ।


प्रधानाध्यापक हेम पौडेल भन्नुहुन्छ, ‘शिक्षकहरु राजनीति पटक्कै गर्दैनन् ।’


विद्यार्थीलाई ‘तँ’ भनिँदैन
विद्यार्थीलाई सबै शिक्षकले ‘तपाईँ’ भन्ने गर्छन् । शिक्षक श्रीमाया रानाभाट भन्नुहुन्छ, ‘यहाँ कसैलाई पनि उपनामले बोलाइँदैन । विद्यालयमा लठ्ठी र चर्काे स्वर पूरै निःषेध छ । बाहिरबाट गएका कोही व्यक्तिले पठनपाठसम्बन्धी सोधेमा विद्यार्थीले उत्तर सजिलै र निर्धक्क दिन सक्दा रहेछन् ।

समस्या बाटो र गणितको
विद्यालयको आँगनसँगै जोडिएको बाटोको खतरा छ । तनहुँ जल विद्युत योजना निर्माणाधीन रहेकाले यसले असजिलो बनाइदिएको छ । खेल मैदान छैन ।
विद्यालय व्यवस्थापन समिति सदस्य रमीला बोटे भन्नुहुन्छ, ‘मेरा बालबच्चा चार कक्षामा पढ्छन् । अरुमा राम्रो भएपनि गणितमा कम्जोर छन् ।’ अर्का अभिभावक दिलबहादुर बोटे पनि आफ्नो छोरा गणितमै कमजोर रहेको सुनाउनुहुन्छ ।


विद्यार्थी कृष्णमाया थापा कक्षा ८ मा पढ्नुहुन्छ । उहाँ खेलकुद र सरसफाइमा विद्यालय प्रशासनले आफूहरुसँग सरसल्लाह लिने गरेको बताउनुहुन्छ । कक्षा ८ पढ्ने सन्ध्या बोटेलाई पनि गणित विषय नै गाह्रो लाग्ने रहेछ ।


विद्यालयले भने यो विषयसहित समग्रमा सिकाइ उपलब्धि बढाउने योजना बनाएको छ । यसापलि भर्खरै लिइएको पहिलो त्रैमासिक परीक्षामा ४४.१२ प्रतिशत सिकाइ उपलब्धि रहेको छ । समग्रमा हाल रहेको ६१ प्रतिशत सिकाइ उपलब्धिलाई आउँदो वर्ष ६५ पु¥याउने लक्ष्य राखिएको प्रधानाध्यापक हेम पौडेल बताउनुहुन्छ । विद्यालयमा अंग्रेजी माध्यममा पुराना शिक्षकबाट मात्र सम्भव नहुने देखेर निजी स्रोतमा पनि शिक्षक राखिएको बताइन्छ । विद्यालयले विद्यार्थी वर्गिकरण गरी सुधार थाल्ने प्रअ पौडेलले बताउनुभयो । उहाँले चार विषयभन्दा बढीमा कमजोर विद्यार्थी छानेर त्यही अनुसार पठन विधि अपनाइनेछ भन्नुभयो ।

सूचना प्रविधिमै पढाउँदै पार्वती विद्यालय
तनहुँको म्याग्देस्थित पार्वती आधारभूत विद्यालय वरिपरिका अरु विद्यालयभन्दा भिन्न विशेषता र अनुकरणीय तरिकाले चलिरहेको छ । मूलतः सूचना प्रविधिलाई आत्मसात गरी शिक्षण कार्य भइरहेको यो विद्यालय अभिभावकहरुको प्रत्यक्ष रेखदेख र सामुहिक संकल्पमा चलिरहेको छ ।


आफ्नै पहलमा कम्प्यूटर व्यवस्था गरेर विद्यालयले सूचना प्रविधिमा विद्यार्थीलाई सक्रिय बनाएको छ । प्रधानाध्यापक सागर आचार्य भन्नुहुन्छ, ‘अर्काे विद्यालयको कक्षा ६ मा पढ्न जाँदा यहाँका विद्यार्थी कमजोर हुन्थे । अरु विद्यालयका विद्यार्थीले ४–५ कक्षामै कम्प्यूटर सिकेका हुँदा रहेछन् । अब हाम्रोबाट माथिल्लो कक्षा पढ्न जाने विद्यार्थीले यस्तो अनुभव गर्नुपर्ने छैन ।’ प्रअ आचार्यका अनुसार कम्प्यूटर किन्न विद्यालयले देउसी–भैलो खेल्ने निर्णय ग¥यो । ‘कम्प्यूटर शिक्षा शुरुवात गरौं’ भन्ने नारा नै तय गरियो । देउसी–भैलोबाट करिव ९९ हजार रुपैयाँ जम्मा भयो । त्यही रकमले कम्प्यूटर किनिएको प्रधानाध्यापक आचार्य बताउनुहुन्छ । त्यसपछि शैक्षिक तालिम केन्द्रसँग कम्प्यूटर तालिम दिलाइदिनका लागि विद्यालयले माग राख्यो । ‘शुरुमा त म आफैंले इन्स्टिच्युटमै गएर सिकेँ,’ प्रअ आचार्यले भन्नुभयो, ‘अहिले त एकजना शिक्षकमार्फत् सबैलाई तालिम दिइएको छ ।’


यतिबेला विद्यालयसँग ६ वटा कम्प्यूटर र १ वटा ल्यापटप रहेको छ । विद्यालयले जिल्ला शिक्षा कार्यालयबाट प्राप्त एक लाख ४० हजार रुपैयाँ रकमबाट ल्यापटप, कम्प्यूटर र श्रव्यदृश्य प्रोजेक्टर पनि किनेको छ । अहिले त विद्यालयले इन्टरनेट नै जोडेको छ । यसका लागि विद्यालयले मासिक एक हजार रुपैयाँ शुल्क तिर्नु पर्छ । कम्प्यूटर मर्मत गरिरहनुपर्ने हुन्छ । तर, विद्यालयसँग त्यसका लागि स्रोत नभएको आचार्य बताउनुहुन्छ ।
शिक्षकहरुकोे अक्षय कोषको ब्याजबाट विद्यार्थीलाई पोशाक र स्टेशनरीको पनि व्यवस्था गरिएको छ ।

विद्यार्थीमा कस्तो परिवर्तन ?
कम्प्यूटर व्यवस्था गरेपछि विद्यार्थीको सिकाइ उपलब्धिमा सबभन्दा सकारात्मक प्रभाव परेको छ । कुनै विषयमा अवधारणा दिन कम्प्यूटर माध्यमको सिकाइ प्रभावकारी हुँदोरहेछ भन्छन् शिक्षकहरु । वास्तवमा, पढाइ÷सिकाइका लागि विद्यार्थीमा लगाव बढेको र छिटो सिकेको उनीहरुको भनाइ छ ।
सविना अधिकारी कक्षा १, ४ र ५ कक्षामा पढाउनुहुन्छ । उहाँको अनुभवमा कम्प्यूटरबाटै पढाउँदा शिक्षक–विद्यार्थीका निम्ति शैक्षिक सामग्री यथेष्ट पाउन सकिन्छ । ‘इन्टरनेट खोलेपछि युटुवमार्फत् हलो निर्माण गर्न, बाँसको डोको बुन्न, चित्र आदि बनाउन पनि विद्यार्थीले सिकेका छन्, नेटमा उनीहरुले कहिल्यै नदेखेका कुरा हेर्न पाएका छन्,’ अधिकारीले भन्नुभयो । त्यसो त, विद्यार्थीले ‘हाउ टु मेक केक’ अर्थात् केक कसरी बनाउने भनेर गुगल÷युटुवमा खोज्ने गर्दा रहेछन् ।


स्रोतव्यक्ति हुतमणि अधिकारीको भनाइमा सबै शिक्षकको मोवाइलमा विषयगत सामग्री हुनु पर्छ । श्रव्य/दृश्य (अडियो÷भिजुवेल)मा पढाउनका लागि अहिले गाउँपालिकासित कुराकानी भइरहेको स्रोतव्यक्ति अधिकारी बताउनुहुन्छ ।


सूचना प्रविधिलाई बढी जोड दिनुको कारणबारे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकुमार मल्ल भन्नुहुन्छ, ‘विद्यार्थीले संसारका जानकारी लिन सकून् भन्ने नै हाम्रो उद्देश्य हो ।’ कक्षा ५ की सरु राना आफूले कम्प्यूटर चलाउन आधारभूत ज्ञान जानेको बताउनुहुन्छ । अर्का विद्यार्थी इसान श्रेष्ठले नजानेका र किताबीभन्दा बाहिरी ज्ञान पनि कम्प्यूटरमार्फत् इन्टरनेटबाट पाउन सकेको सुनाउनुभयो ।

पाँच कक्षासम्म अन्त नपढाउने अभिभावकको नियम
कक्षा पाँचसम्म विद्यालय सेवाक्षेत्रका अभिभावक कसैले पनि आफ्ना बालबालिका अर्काे विद्यालयमा पढाउन नपाउने नियम यहाँ लगाइएको रहेछ । निजी विद्यालयमा त कुरै छाडौं, अर्काे सामुदायिक विद्यालयमा पनि बालबालिका भर्ना नगरी यही पार्वती स्कूलमै पढाउन अभिभावकहरु प्रतिबद्ध छन् ।

समुदायको सक्रियता
कसले कति सहयोग गरेको छ भन्ने फेहरिस्त विद्यालय प्रवेश द्वारमै टाँसिएको छ । त्यसो त, कार्यालयमा छिर्नेबित्तिकै यहाँ सहयोगी व्यक्तिहरुको तस्बिरसहित परिचय राखिएको देख्न पाइन्छ । विद्यालयलाई एक हजार रुपैयाँसम्म चन्दा दिने दाताहरुको नाम सार्वजनिक गर्ने गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकुमार मल्ल स्थानीयबासीबाट विद्यालयका निम्ति चन्दा सहयोगमा धेरै नै साथ पाइएको बताउनुहुन्छ ।

कसरी चल्छ विद्यालय ?
विद्यालयको ६ रोपनी १ आना आफ्नै जग्गा रहेको छ । सबै जग्गा स्थानीयको दाताबाट प्राप्त भएका हुन् । स्थानीय पार्वती मन्दिर, वन, आमा समूह, नेवार गुठी र विद्यालयको आय–स्रोत हुन् । द्वन्द्वकालमा बाँसको कप्टेराबाट शुरु यो विद्यालय अहिले सुन्दर भवनमा चलिरहेको छ ।
विद्यालयमा निजी स्रोतमा तीनजना शिक्षक राखिएका छन् । बालविकास कक्षा पनि सञ्चालनमा रहेको हुँदा तिनलाई राम्ररी पढाउन निजी शिक्षक राखिएको विद्यालय प्रशासनको भनाइ छ । निजी स्रोतका शिक्षकलाई पनि पेशागत विकास (टिपिडि) तालिम दिइएको छ ।

‘वार्षिक कार्यक्रम हाते पुस्तिका’को अभ्यासमा
बन्दिपुरको भानु मावि


पर्यटकीय क्षेत्र बन्दिपुरमा रहेको भानु मावि जिल्लाकै पुरानो विद्यालयमध्ये एक हो । वि.सं. २००८ सालमा स्थापित यो विद्यालयले ‘विद्यालय सुधार योजना’ बनाई शैक्षिक सुधारका कार्यक्रम अघि बढाएको देखिन्छ । यो विद्यालयको सुधार योजना हेर्दा निकै आशलाग्दो र व्यवहारिक पनि लाग्दछ । भूकम्पले छियाँ–छियाँ बनेको पुरानो भवनलाई विस्थापित गरिएको छ । १६ कोठे नयाँ पक्की भवन ८ महिनामै सम्पन्न गरिएको छ । भवन बनाउँदा बन्दिपुरको मौलिक पहिचान नहराउनेगरी बनाइएको रहेछ । जहाँ पठनपाठन सञ्चालन गर्नुका साथै अतिरिक्त कार्यालय, शिक्षक तथा कम्प्यूटर कक्ष राखिँदैछ ।

विद्यालयले विद्यार्थीको ‘बसाइ समय वृद्धि’ गर्ने योजना अघि सारेको छ । खासगरी, कक्षा १० का विद्यार्थीका लागि विद्यालयमा दैनिक १३ घण्टा शिक्षकसँगै रहेर पढ्ने व्यवस्था गर्ने योजना अघि सारिएको छ । त्यस्तै, कक्षा अभिभावकको भेला गर्ने, बीचैमा पढाइ छोड्ने (ड्रप–आउट) दर घटाउने, विद्यार्थी उत्तीर्ण दर बढाउने र दिवा खाजा खुवाउने विद्यालयले भावी योजना बनाएको छ । कम्प्यूटर कक्षाका निम्ति प्राविधिक र कर्मचारी नियुक्त गर्ने कार्यक्रम अघि सारिएको छ ।

 

 

विद्यार्थीको सहयोगी हाते पुस्तिका
विद्यालयले विद्यार्थीको पठनपाठनलाई मद्दत पुगोस् भन्नका खातिर ‘वार्षिक कार्यक्रम हाते पुस्तिका’ प्रकाशन गरेको छ । यसले खासगरी घरमा कतिबेला पढ्ने, गृहकार्य कसरी र कुन समयमा सक्ने भन्नेमा विद्यार्थीलाई अनुशासनमा बाँधेको छ । यसका अतिरिक्त विद्यार्थीको व्यक्तिगत र पारिवारिक प्रोफाइल, विद्यालय व्यवस्थापन समिति पदाधिकारीका विवरण, विद्यार्थी, शिक्षक र विव्यसका लागि आचारसंहिता, अतिरिक्त क्रियाकलाप, विव्यस–शिक्षक अभिभावक संघको बैठक तालिका, परीक्षा मिति, विद्यार्थीले पालना गर्नुपर्ने नियम तथा विद्यालयको वार्षिक गतिविधि हाते पुस्तिकामा उल्लेख गरिएका छन् । पुस्तिकामा शिक्षक–विद्यार्थीले प्रतिक्रिया दिनका लागि केही खाली पन्नासमेत राखिएका छन् ।


सहयोगी पुस्तिकाले आफूहरुलाई निकै नै सघाऊ पु¥याएको कक्षा ९ की आस्था खत्री र रश्मी गुरुङको अनुभव छ । कक्षा १० का भिमनाथ पाठक भन्नुहुन्छ, ‘यो पुस्तिका अनुसार होमवर्क गर्न धेरै सहज भएको छ ।’ निमित्त प्रअ डिल्ली तिवारी ‘मुख्य कुरा विद्यार्थीको सिकाइ उपलब्धि बढाउनु नै विद्यालय सुधार योजनाको मूल लक्ष्य हो । र, खास केन्द्रविन्दु पनि विद्यार्थी नै हुन्,’ भन्नुहुन्छ ।



पानीको समस्या जब विद्यार्थीले सुनाए...
विद्यालयमा पानीको समस्या सबैभन्दा बढी देखिएको छ । विद्यालय सुधार योजनामा आकाशे पानी संकलन ट्यांकी मर्मत गर्ने भनिएपनि कसरी पर्याप्त पानी उपलब्ध गराउने भन्नेमा चाहिँ योजना बनाउन चुकेको देखिन्छ । विद्यालयमा भएको आकाशे पानी संकलन ट्यांकी पनि बिग्रिएको अवस्थामा छ । दर्जनभन्दा बढी शिक्षक र सयौं विद्यार्थीलाई दैनिक दुई हजार लिटर पानी चाहिन्छ । बजार तल्लो भागमा हुँदा विद्यालयपट्टिको पाइपलाइनमा पानी सजिलै आउँदैन । खानेपानीकै समस्या हुँदा शौचालय सफा नहुँदा आफूहरुको पठनपाठन प्रभावित हुनेगरेको सुनाउनुहुन्छ विद्यार्थी आस्था खत्री । छलफलका क्रममा आस्थाले यो विषय सुनाउनेबित्तिकै शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–अभिभावक संघका अध्यक्ष, वडा अध्यक्षलगायत सबै अवाक भए र सबैले यो समस्या स्वीकार गरे पनि । ‘यो सबै व्यवस्थापनको कुरा पनि रहेछ, व्यवस्थित गर्न लाग्ने हो भने यत्तिको समस्या हुँदैनथ्यो,’ निवर्तमान प्रधानाध्यापक दीपबहादुर खत्रीले भन्नुभयो । त्यसो त, खानेपानी संस्थानलाई पटक–पटक आग्रह गरेपनि समस्या समाधान भएको रहेनछ । वडाका तर्फबाट विद्यालय व्यवस्थापन समितिमा प्रतिनिधित्व गर्नुभएका २ नं वडाध्यक्ष कृष्णप्रसाद लामिछानेले अब आफ्नो ध्यान खानेपानी संस्थानसँग कुराकानी गरी समस्या समाधानतिर जाने बताउनुभयो । बजारको माझमा रहेको यो विद्यालयको जग्गा सीमित भएकाले खेल मैदान पनि यथेष्ठ छैन ।

जिल्ला शिक्षा अधिकारी भन्नुहुन्छ...

तीनवटा विद्यालयमा रिपोर्टिङ गरेपश्चात् सफल अभ्यास र विविध समस्याका विषयमा जिल्ला शिक्षा कार्यालय तनहुँका जिशिअ रुद्रहरि भण्डारीसँग जिज्ञासा राखियो । खासगरी, विद्यालयमा देखिएका साझा समस्यालाई ‘विद्यालय सुधार योजना’मै सम्बोधन गरिनुपर्नेमा उहाँको जोड छ । ‘विद्यालय सुधार योजना आवश्यकताका आधारमा बन्नु पर्छ । अहिले विद्यालय म यो अवस्थामा छु । शैक्षिक, प्रशासनिक, भौतिक पूर्वाधार अवस्था, अभिभावकसँगको सम्बन्धमा, शिक्षकहरुको योग्यता कस्तो छ ? उनीहरुको व्यवस्थापन गर्ने दायित्व के हुनुपर्ने ? यी सबै विद्यालय सुधार योजनामा प्रतिविम्बित हुनुपर्नेमा हुनसकेको छैन,’ जिशिअ भण्डारीले भन्नुभयो, ‘राम्रा शिक्षक राख्ने, भौतिक व्यवस्थापन गर्ने अनि नवीन योजना बनाउने काम पनि विद्यालय सुधार योजनामै उल्लेख हुनु पर्छ । यसका लागि जिशिका सहयोग गर्न सधैं तत्पर छ ।’

प्रमुख समाचार

नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो

–शिक्षक महासंघको प्रथम परिषद्मा शिक्षक संघद्वारा पहिला बहिष्कार, पछि सहभागिता –विधान संशोधनमा कार्यकाल थप्ने/नथप्ने विषय नै विवादको मूल च ...

राजनीतिक खिचातानीका कारण ६ महिनादेखि विद्यालय व्यवस्थापन समितिबिहीन राजनीतिक खिचातानीका कारण ६ महिनादेखि विद्यालय व्यवस्थापन समितिबिहीन

राजनीतितक दलको भागभण्डा नमिल्दा कपिलवस्तुको गौतम बुद्ध माविको व्यवस्थापन समिति ६ महिनादेखि खाली भएको छ । बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा रहेक ...

शिक्षकप्रति उपराष्ट्रपतिको कडा प्रश्न–सार्वजनिक विद्यालयमा खराब नतिजा किन आयो ? शिक्षकप्रति उपराष्ट्रपतिको कडा प्रश्न–सार्वजनिक विद्यालयमा खराब नतिजा किन आयो ?

उपराष्ट्रपति नन्दकिशोर पुनले नेपाल शिक्षक महासंघको कार्यक्रममा खराब नतिजा ल्याउने र आश्चार्यजनक सफलता हासिल गर्ने विद्यालयका शिक्षकहरु एकै ठाउँ जम्मा ...