२०७६ कार्त्तिक ६ गते / 23rd Oct 2019, Wednesday
investment investment

विद्यालय सुधारका निम्ति ऐना जस्तै बन्दैछ विद्यालय सुधार योजना

बालकल्याण आधारभूत विद्यालय
ढुङ्गो हट्यो, अनियमितता घट्यो

 

 विद्यालय माथितिर रहेको एउटा ठूलो ढुङ्गा भूकम्पले तल खसेपछि विद्यालयको भित्तामै प¥यो । भित्तालाई त असर ग¥यो नै, त्यसले पानी बग्ने खोल्सालाई समेत रोकिदिँदा पानी कक्षाकोठामा छिर्ने अवस्था आयो । विद्यार्थीले पानीमै खुट्टा डुबाएर पढ्नुपर्ने अवस्था आयो । पानीले भिजेर डेस्क–बेञ्चसमेत कुहिन थाले । विद्यार्थीहरु बिरामी हुन थाले । विद्यालय यसरी नै एक वर्ष चल्यो । पछि त्यस कक्षाका विद्यार्थी अन्य कक्षामा सारेर बहुकक्षा शिक्षण गर्न थालियो । अभिभावक भेलामा यस ढुङ्गा तत्काल पन्छाउनेबारे छलफल भयो ।

विद्यालय सुधार योजनामा यसलाई पन्छाउने योजना राखियो । योजना त बन्यो तर स्रोत भएन । अभिभावकहरु नगद सहयोग गर्न नसकेपनि श्रमदान गर्न राजी भए । पछि सोही योजना अनुसार समुदायले श्रमदान र औजार सहयोग ग¥यो र कामदार लगाएर ढुङ्गा पन्छाइयो । विद्यालयले कामदारलाई ८ हजार रुपैयाँ खर्च ग¥यो । फोडिएको ढुङ्गाबाट सिँडी बनाइयो । गाविसले भत्किएको ढोका बनाइदियो । कुहिएका डेस्क–बेञ्च मर्मत गरी विद्यालयमा अहिले पुनः कक्षा सञ्चालन शुरु भएको अवस्था छ । पानीका कारण अनियमित बनेका विद्यार्थीहरु पनि नियमित हुन थालेका छन् । यो त एउटा उदाहरण मात्रै हो, विद्यालय सुधार योजना अनुसार संखुवासभाको बालकल्याण आधारभूत विद्यालयले धेरै काम गरेको छ ।


अस्थायी पुल निर्माण
विद्यालय गैरी खोला र नेवरा खोलाको बीचमा रहेकाले विद्यार्थीहरु दुईपट्टि खोला तरेर विद्यालय आउन बाध्य थिए । ‘जेठ महिना लागे पछि बाढीको समस्याले विद्यार्थी आउनै समस्या हुन्थ्यो,’ प्रधानाध्यापक गोविन्द तामाङले भन्नुभयो, ‘हामीले विद्यालय सुधार योजनामा यसको समाधान गर्ने योजना समेट्यौं । अभिभावकहरुको पनि सहयोग मिल्यो ।’ खोला तरेर विद्यालय आउन विद्यार्थीलाई समस्या भएपछि अभिभावकहरुको भेला डाकियो । अनि विद्यालय सुधार योजनामा नै यसको विकल्पको छलफल भयो । योजना बन्यो । अनि विव्यस, सरोकारवाला र गाउँपालिकाको सहयोगमा दुई खोलामा चारवटा काठ र बाँसको पुल हाल्न विद्यालय सफल भएको प्रधानाध्यापक तामाङले बताउनुभयो । पुल बनेपछि विद्यार्थीको नियमितता बढेको विद्यालयका प्रधानाध्यापक तामाङले जानकारी दिनुभयो । पहिले वर्षायाममा अभिभावक आफैंले साना बालबालिका विद्यालय पठाउदैनथे । अहिले पुल बनेपछि त्यो समस्या हटेको उहाँको भनाइ रहेको छ ।

योजना पछि शुद्ध पिउने पानी
विद्यालयसम्म पानी ल्याउन गाडिएको पाइप पहिरोले बगाएपछि पिउने पानीको समस्या भयो । यस विषयमा विद्यालयले सरोकारवालाहरुसँग छलफल ग¥यो । विद्यालयको सुधार योजनामा समेत पिउने पानीको व्यवस्था गर्ने योजना बन्यो । विद्यालयले योजना मुताबिक सहयोगका लागि जिल्ला खानेपानी कार्यालयमा सहयोग माग्यो । कार्यालयले पाइप सहयोग गरेपछि अभिभावकहरुले ८०० मिटर पर जंगलको मुहानबाट विद्यालयसम्म ल्याउन सफल भए ।

विपत्ति पूर्वतयारी समिति र सरसफाई
विद्यालयले भूकम्पको मार ब्यहोरापछि यस्ता प्राकृतिक विपत्तिबाट कसरी बच्न सकिन्छ भनेर छलफल शुरु ग¥यो । विद्यालय सुधार योजनाबाटै बाढी, पहिरो, भूकम्प, आगालागीलगायतको प्राकृतिक विपत्तिबाट पूर्व सुरक्षाका लागि विपत्ति व्यवस्थापन समिति बनाइएको छ । समितिमा बाल क्लबका विद्यार्थी, शिक्षकहरुको सहभागिता रहेको छ ।


समितिले हरेक दिन प्रार्थना समयमा प्राकृतिक विपत्तिबारे सचेतना फैलाउने, विद्यालयको सरसफाईका बारेमा फोहोर व्यवस्थापन गर्ने काम गर्दै आइरहेको छ । दैनिक सरसफाइ गर्ने, हरेक कक्षामा डस्टबिनको व्यवस्था गर्ने, सड्ने र नसड्ने फोहरको छुट्टा–छुट्टै व्यवस्थापन गर्ने गर्दै आएका छन् ।


पञ्चायत आधारभूत विद्यालयलाई प्राकृतिक विपत्तिको छैन डर

ढुङ्गा र माटोले बनेको चिटिक्कको विद्यालय भवन, अनुशासित विद्यार्थी र मिहिनेती शिक्षक समूह, सफा र सुन्दर विद्यालय परिसर, विद्यालय भवनकै छेऊमा बाँसको चोयाँबाट बनेको तीनकोठे कलात्मक टहरो संखुवासभाको चैनपुर नपा– ४, प्याङकोटस्थित पञ्चायत आधारभूत विद्यालयलाई बाहिरबाट हेर्दा देखिने विशेषताहरु हुन् । विद्यालय भवनको छेऊमा कुनै ऋषिमुनिको कुटी झैँ लाग्ने बाँसको घरमा सबैको पहिलो ध्यान जाने गरेको छ ।


किन बनाइयो त यो बाँसको टहरो ? प्रधानाध्यापक माधवप्रसाद अधिकारी मुस्कानका साथ एकै वाक्यमा उत्तर दिनुहुन्छ– ‘प्राकृतिक विपत्तिबाट बच्न ।’
२०७२ सालको भूकम्पपश्चात् देशभरका विद्यालयहरुमा पुगेको क्षतिले लामो समय पढाइ सञ्चालन हुन सकेन । ‘यसले हामीलाई चनाखो र सचेत बनाइदियो,’ प्रधानाध्यपक अधिकारीले भन्नुभयो, ‘हामीले पनि थोरै भूकम्पको मार ब्यहोरेपछि यस्ता प्राकृतिक विपत्तिबाट कसरी बच्न सकिन्छ भनेर छलफल शुरु ग¥यौं । अभिभावक, शिक्षक, विद्यार्थी र सरोकारवालाकै छलफल र सहकार्यमा हाल विद्यालयमा बाढी, पहिरो, भूकम्प, आगलागी लगायतको प्राकृतिक विपत्तिबाट सुरक्षित हुन एउटा अस्थायी सिकाइ केन्द्रको व्यवस्था गरिएको छ । ‘अब हाम्रो विद्यालयलाई प्राकृतिक विपत्तिको कुनै डर छैन,’ उहाँले भन्नुभयो, ‘विद्यालय भवन भत्किएपनि अस्थायी सिकाइ केन्द्रमा पढाइ सञ्चालन गर्न हामी सक्षम छौं ।’

योजना, कार्यान्वयन र सुधार
‘पहिले मनलाग्दी योजनाबिनाका गतिविधि गर्दै आएका कारण विद्यालयले उल्लेखनीय सुधार गर्न नसकेपछि हामी योजनाबद्ध सुधार गर्ने निधोमा पुग्यौं,’ प्रधानाध्यापक अधिकारीले भन्नुभयो, ‘पहिले पनि विद्यालय सुधार योजना बनाउँदै आएपनि ति कामचलाउ मात्रै थिए । तर, बिस्तारै हामीले सवै सरोकारवालाहरुसँग छलफल गरेर योजनाबद्ध सुधारका काम गर्न शुरु ग¥यौं ।’ अभिभावक, शिक्षक, विद्यार्थीको बैठक बसेर विद्यालयलाई आगामी दिनमा कसरी राम्रो बनाउन सकिन्छ ? भनेर सुझाब मागी त्यसैको आधारमा वार्षिक विद्यालय सुधार योजना बनाइएको उहाँको भनाइ छ । योजना बनाउँदा स्रोत व्यवस्थापनलाई ध्यान दिने गरेको बताउँदै प्रधानाध्यापक अधिकारी पैसा लाग्ने भन्दापनि स्थानीय स्रोत साधनको उपयोगलाई महत्व दिएर योजना बनाउने गरेको बताउनुहुन्छ ।

विद्यालयले बालमैत्री विद्यालय निर्माण गर्ने, स्कूललाई सूचनाप्रविधि मैत्री बनाउने, प्राकृतिक विपत्तिपूर्व सुरक्षा विधि अपनाउने, सिकाइ उपलब्धि बढाउने योजना बनायो नै, यसको कार्यान्वयनमा पनि जोड दिँदै आयो । त्यही योजना अनुसार जिशिकाबाट सहयोग मागेर विद्यालयले प्रोजेक्टर, प्रिन्टर र ल्यापटप जोड्न सफल भयो भने दण्डरहित शिक्षा अपनाउने, शैक्षिक सामग्री स्थानीयस्तरमै निर्माण गरेर बालमैत्री वातावरण बनाउने गर्दै आएको छ । जिशिकाबाट नयाँ २ कोठे पक्की भवन, सबै कक्षाकोठामा सेतोपाटीको व्यवस्था पनि विद्यालयका गरिएको छ । यो सुधार योजना कार्यान्वयनकै प्रतिफल भएको प्रधानाध्यापक अधिकारी बताउनुहुन्छ । हाल बालकक्षा (इसिडि)देखि ५ कक्षासम्म ४५ विद्यार्थी र ५ जना शिक्षक तथा कर्मचारी विद्यालयमा कार्यरत रहँदै आएका छन् ।

योजनाबद्ध सुधार पछि फेरिएको अमरुवा मावि


विद्यालयमा प्रवेश गर्नेबित्तिकै भित्तामा शिक्षक, विद्यार्थी, अभिभावकहरुका लागि छुट्टाछुट्टै आचारसंहिता झुण्ड्याइएको देखिन्छ । हरेक कक्षामा शान्त र अनुशासित ढङ्गमा शिक्षण सिकाइ भइरहेको हेर्दै विद्यालयको कार्यालयमा पुग्दा प्रधानाध्यापक राजुकुमार खनाल कागजमा केही कोरिरहेको भेटिनुभयो । ‘हामी शिक्षण सिकाइमा सूचना प्रविधिको प्रयोग गर्ने अन्तिम तयारी गर्दैछौं,’ स्वागत भावमा उहाँले भन्नुभयो, ‘त्यसका लागि तीनवटा प्रोजेक्टर, ३ ल्यापटप र १२ कम्प्यूटरको व्यवस्था गरिसकेका छौं । अब कक्षाहरुमा जोड्ने कामको योजना बनाउँदैछौं ।’ केही महिनाभित्र साविक प्रावि तहमा १, निमावि तहमा १ र मावि तहमा १ मल्टिमिडिया कक्षा सञ्चालन गर्ने तयारी रहेको उहाँले सुनाउनुभयो ।


संखुवासभा जिल्ला सदरमुकामदेखि ४० किलोमिटर दक्षिण–पूर्वमा रहेको धर्मदेवी नपा–८ फाप्लिङमा अवस्थित यस अमरुवा माविको विद्यालय सुधार योजनाको सही निर्माण र कार्यान्वयनका कारण मुहार फेरिएको छ ।

योजना निर्माणमा सुधार
पहिले पनि विद्यालय सुधार योजना बनाउने गरेपनि अभिभावकको चाहना, वस्तुनिष्ट र समयसापेक्ष योजना बनाउन थालेको भने धेरै भएको रहेनछ । ‘पहिले म एक्लैले योजना बनाउँथे र जिशिकामा बुझाउथेँ, केही वर्ष त १७ करोड रुपैयाँसम्मको सुधार योजना बनाएँ,’ प्रधानाध्यापक खनालले भन्नुभयो, ‘छलफल, कार्ययोजना र स्रोतबिनाको योजना काम लाग्दो रहेनछ ।’ पछिल्ला दिनमा भने विद्यालय सुधार योजना निर्माण प्रक्रियामै सुधार गर्न थालिएको उहाँले जानकारी दिनुभयो । पहिलो चरणमा शिक्षकसँग, दोस्रो चरणमा शिक्षक र विद्यार्थीसँग, तेस्रो चरणमा विव्यस, शिक्षक–अभिभावक संघलगायतसँग र चौथो चरणमा यी सबै पक्ष राखी सम्पूर्ण अभिभावकहरुसँग छलफल गर्ने तथा सुझाव मागेर कार्ययोजनासहितको सुधार योजना बनाउन थालिएको प्रधानाध्यापक खनालले बताउनुभयो । ‘पहिले देखाउन योजना बनाइन्थ्यो, अहिले सुधार गर्नका लागि बनाइन्छ,’ उहाँले स्पष्ट पार्नुभयो ।

योजना पछि सुधार
योजना निर्माणमा सबै सरोकारवालाहरुको सुझाब र संलग्नता थपिएपछि भने त्यसले पछिल्ला दिनमा मूर्त रुप लिँदै गएको छ । विद्यालयमा हाल सुधार योजनाकै कार्यान्वयनका कारण शिक्षक– विद्यार्थीको नियमितामा सुधार भएको छ । पुस्तकालय व्यवस्थापन, भौतिक व्यवस्थापन, अभिभावक एवं सरोकारवालाहरुसँग समन्वय, शिक्षण सिकाइ तथा सिकाइ उपलब्धिमा सुधार भएको प्रधानाध्यापक खनाल बताउनुहुन्छ ।

अभिभावकहरुको साथ
विद्यालयको हरेक प्रयासमा अभिभावकहरुको साथ र सहयोग रहँदै आएको छ । आफ्नै सुझाब अनुसार बनेको विद्यालय सुधार योजना कार्यान्वयनमा उनीहरुको अपनत्व सहजै देखिन्छ । विद्यालयको नियमित अनुगमन, स्रोत व्यवस्थापनमा, छलफलमा सहभागिता, विद्यार्थीको सिकाइमा चासोलगायतमा अभिभावकहरुको सक्रियता बढेको देखिन्छ । ई–लाइब्रेरी बनाउने विद्यालय सुधार योजना बनेपछि त्यसको स्रोत व्यवस्थापनमा स्थानीय पूर्व शिक्षक दामोदर दाहालले बाललक्ष्मी पुस्तकालयका लागि १ लाख २० हजारको अक्षयकोष, मनराम फाउण्डेशनले पनि अर्को अक्षयकोष निर्माण गरिदिएका छन् । त्यस्तै, जिल्ला शिक्षा कार्यालयले ई–लाइब्रेरीका लागि साढे ६ लाख रुपैयाँ सहयोग गरेको छ । विद्यालय सुधार योजनाका सम्बन्धमा वर्षमा २ पटक छुट्टै अभिभावक भेला हुने गरेको छ । पहिलोमा योजना कार्यान्वयन र दोस्रो बैठकमा नतिजाबारे छलफल हुने गरेको छ ।

सिकाइ उपलब्धिमा सुधार
विद्यालयले पहिले सुधार योजना बनाउँदा भौतिक निर्माणका विषयलाई प्राथमिकता दिने गरेको भएपनि पछिल्ला दिनहरुमा सिकाइ उपलब्धिमा सुधारलाई विशेष ध्यान दिइएको छ । २८ प्रतिशत रहेको सिकाइ उपलब्धि २०५९ सालदेखि सुधार योजना बन्न थालेपछि हाल ५६ प्रतिशत पुगेको छ । अर्को वर्ष बढाएर ६० प्रतिशत पु¥याउने विद्यालयको लक्ष्य रहेको छ । यसका लागि विद्यालयले कोचिङ कक्षा सञ्चालन, नियमित गृहकार्य, सिकाइमा शैक्षिक सामग्री र प्रविधिको प्रयोग, नियमितता बढाउन अनियमित हुने विद्यार्थीलाई ५ र बीचमै भाग्नेलाई १० रुपैयाँ जरिवाना गर्न थालेको छ । अनियमित शिक्षकहरुलाई पनि स्पष्टिकरण र तलब कट्टा गर्न शुरु गरिएको छ । यी सबै सुधार योजनाअनुसार नै भएको प्रधानाध्यापक खनालले जानकारी दिनुभयो । शिक्षकहरुले पनि शैक्षिक सामग्री लिएर मात्रै कक्षाकोठामा प्रवेश गर्ने र दैनिक पाठयोजना बनाउन थालेको उहाँले जानकारी दिनुभयो ।

बक्समा


‘विद्यालय सुधार योजना पहिले लेखिन्थ्यो, अहिले बन्न थालेका छन्’


सन्तोष बराल
विद्यालय निरीक्षक

पहिले विद्यालयहरुले सुधार योजना नै बनाउने गरेका थिएनन् । अहिले अधिकांशले बनाउन थालेका छन् । अझै पनि जिल्लाका ३८७ सामुदायिक विद्यालयमध्ये ३२९ ले मात्रै योजना बनाएर बुझाएका छन् । पहिले एउटाले बनाएको कुरा लेख्ने चलन थियो । अहिले छलफल गरेर बन्न थालेका छन् । भवन, शौचालय माग्ने किसिमको भौतिक निर्माणसँग मात्रै निर्भर सुधार योजना बिस्तारै प्राज्ञिक बन्न थालेको छ । २०७२ सालको भूकम्प पछि प्राकृतिक विपत्तिको पूर्व सुरक्षाको खाकासमेत सुधार योजनामा अट्न थालेका छन् । जीर्ण विद्यालय भवन भए फेरि विपत्तिको आँकलन गर्दै आपत्कालीन निकास मार्गको खाका बनाउने, विद्यालयको पछाडि डिलमा ठूला ढुङ्गा भए तह लगाउने, रुखका हाँगा खस्ने अवस्थामा पहिल्यै काट्ने, वरिपरि गाउँ नभएको स्थानमा पहिल्यै अस्थायी सिकाइ केन्द्र बनाउनेलगायतका काम सुधार योजनामार्फत् भएका छन् । सिकाइ उपलब्धि बढाउने, सूचना प्रविधि, ल्याव, पुस्तकालयलगायतका विषयसमेत विद्यालय सुधार योजनामा समेटिन थालेका छन् । जाइकाले यस्ता कार्यक्रम सञ्चालन गर्न शुरु गरेपछि पहिले एउटा शिक्षकले भरेर पठाउँथे, अहिले बन्नुपर्ने ५ सदस्यीय समितिमार्फत् सरोकारवालाहरुको सहभागितामा विद्यालय सुधार योजना बन्न थालेका छन् ।

 

 

प्रमुख समाचार

सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा  प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद

सरकारले अघि सारेको ‘योगदानका आधारमा सामाजिक सुरक्षा कोष’ लागू गर्न निजी विद्यालय सञ्चालकहरु तयार भएको भन्दै त्यसका निम्ति सूचीकृत हुन निजी ...

नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो

–शिक्षक महासंघको प्रथम परिषद्मा शिक्षक संघद्वारा पहिला बहिष्कार, पछि सहभागिता –विधान संशोधनमा कार्यकाल थप्ने/नथप्ने विषय नै विवादको मूल च ...

राजनीतिक खिचातानीका कारण ६ महिनादेखि विद्यालय व्यवस्थापन समितिबिहीन राजनीतिक खिचातानीका कारण ६ महिनादेखि विद्यालय व्यवस्थापन समितिबिहीन

राजनीतितक दलको भागभण्डा नमिल्दा कपिलवस्तुको गौतम बुद्ध माविको व्यवस्थापन समिति ६ महिनादेखि खाली भएको छ । बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा रहेक ...