२०७६ भदौ १ गते / 18th Aug 2019, Sunday
investment investment

पुरस्कार र सम्मानको व्यवस्था : एक अनुकरणीय पक्ष

 

 

 पृष्ठभूमि

सप्तरी जिल्लाको राजविराज नगरपालिकाको छेवैको बोरिया गाउँमा अवस्थित २०३६ सालमा स्थापित नरेन्द्र मेमोरियल जनता माविमा साधरण र प्राविधिक धारको पढाइ हुन्छ । त्यहाँ यादव, मण्डल, चौधरी, मेहताजस्ता समुदायका बालबच्चा अध्ययन गर्दछन् । २०७२ भदौ १५ गते भोवेन्द्र प्रसाद यादवले उमेर हदका कारण प्रधानाध्यापक पदबाट अवकास पाएपछि सह–प्रधानाध्यापक रूपमा कार्यरत माशि (द्वितीय) शिक्षक खिलानाथ गौतमले अहिले प्रधानाध्यापकको पद समालेका छन् ।

प्रधानाध्यापकले बाटो नभुले बाटो भुल्ने शिक्षकहरू पनि स्वतः टुङ्गामा आउने कथन राख्ने गौतम वर्ग शिक्षकसहित प्रत्येक दिन चार घण्टी पढाउँछन् । उनले आफू पनि बिनाप्रयोजन कार्यालयमा एक क्षण नबस्ने र विद्यालय नछाड्ने साथै आफू मातहतका शिक्षक–कर्मचारीलाई समेत शैक्षिक गतिविधिबाहेक अन्य कामकाजमा अल्झेको खण्डमा राम्रो नमान्ने रणनीति लिएका छन् ।


विद्यालयको शैक्षिक तथा आर्थिक गतिविधिमा पारदर्शीपन रहेको र सरोकारवालाहरूले जतिखेर पनि छर्लङ्ग देख्न÷बुझ्न सक्ने व्यवस्था रहेको भनाइ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रमेश यादवको छ । हेडमाष्टर र अध्यक्ष मिलेर विद्यालय नै कुपुकुपु खान्छन् भन्नेहरू पनि विद्यालयको शैक्षिक सुधार देखेर नतमस्तक छन् भन्दै उनी सफल व्यवस्थापनको पहिलो जस प्रअ गौतमलाई दिन्छन् र दोस्रो जस आफू लिन्छन् । उनको कथन छ– “नेतृत्व वर्ग जोसिलो, आँटिलो र कर्तव्यनिष्ट भए ९० प्रतिशत अव्यवस्था स्वतः व्यवस्थित हुन्छ । अरू १० प्रतिशत मात्र व्यवस्थित गर्न बाँकी रहन्छ । विद्यालयले कुशल प्रशासक र इमान्दार शिक्षकका रूपमा प्रअ गौतमलाई पाएको छ ।”

विद्यालय चर्चाको कारण

नरेन्द्र मेमोरियल जनता मावि बेलाबेलामा चर्चामा आइरहन्छ । व्यापक जनसहभागितासहित प्रत्येक वर्ष भदौ ३० गते विद्यालयको वार्षिक दिवस तथा अभिभावक दिवस मनाउनु, उक्त अवसरमा शैक्षिक क्षेत्रमा उत्कृष्टता प्राप्त गर्ने विद्यार्थी–शिक्षक पुरस्कृत र सम्मानित हुनु, अभिभावक तथा स्थानीय समाजसेवीहरूले विविध नामका छात्रवृति, पुरस्कार र सम्मानको व्यवस्था गर्नु, विद्यालयको चौतर्फी विकासमा महत्त्वपूर्ण योगदान दिने शैक्षिक व्यक्तित्वहरूलाई सम्मान तथा मायाको चिनो दिने व्यवस्था गर्नु, वार्षिक रूपमा विद्यालयको स्मारिका प्रकाशन हुनु, जिल्लास्तरका अतिरिक्त कार्यकलापहरूमा सधैँ विद्यार्थीहरूको सक्रियता रहनु र पुरस्कृत पनि हुनु जस्ता गतिविधिका कारण विद्यालय चर्चामा आउने गर्छ ।

यस बाहेक शैक्षिक सत्र २०७३/०७४ देखि विद्यालयका शिक्षक–कर्मचारीहरूको शिक्षणसिकाइ कार्यका अतिरिक्त कार्यविभाजनले समेत विद्यालयले ख्याति कमाएको छ । जिम्मेवारपूर्वक कार्यसम्पादन गर्ने शिक्षक–कर्मचारीहरू जिल्लाका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिमा पुरस्कृत र सम्मानित गर्नेे कार्यले पनि बेलाबेलामा विद्यालय स्थानीय सञ्चार माध्यमको अखबारीय स्रोत बन्ने गरेको छ ।

सप्तरीको राजविराज क्षेत्रमा ह्यापील्याण्ड मावि, दुर्गा मावि, लिटिल फ्लावर मावि, जानकी मावि र शिव इन्टरनेश्नल मावि विशेष चर्चामा आइरहने संस्थागत विद्यालय हुन् । यसै परिप्रेक्ष्यमा अतिरिक्त कार्यकलाप होस् या अन्य शैक्षिक नतिजाका कुरामा सधैँ संस्थागत विद्यालयहरूले सामुदायिक विद्यालयहरूलाई चार हात परै पार्ने गर्थे । यस्तो अवस्थामा नरेन्द्र मेमोरियल जनता माविले प्रअ गौतमको नेतृत्व पाउना साथ निबन्ध र वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेर सबैलाई चकित तुल्याइदियो । यसको रहस्य खोतल्दै जाँदा उचित दिशानिर्देश गरिएकाले विद्यार्थीहरूमा शैक्षिक जागरण आएको आशयका साथ जिल्ला स्तरीय निबन्ध र वक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हाँसिल गर्ने कक्षा १० का छात्र विकास मण्डलले भने– “नबुझेका कुरा सरहरूबाट बुझ्न पाइन्छ ।

प्रतियोगिताको विषयवस्तु तयारी गर्न प्रअ गौतमबाट नै उचित पृष्ठपोषण प्राप्त भएका कारणले नै हामीले सफलता प्राप्त गर्न सकेका हौँ ।” खेलकुद र नृत्य विधामा भने अर्को सामुदायिक विद्यालय पब्लिक बिन्देश्वरी माविले पनि बेलाबेलामा अरूलाई उछिन्दै आएको पाइन्छ । नृत्य विधामा समेत विद्यार्थीहरूको रूचि बढोस् र हिच्किचाहट हटोस् भनेर प्रअ गौतमले नै सांस्कृतिक कार्यक्रममा आफैँले नृत्य गरेर उद्घाटन गरेको अनुभूति समेट्दै भनेँ– “म विद्यार्थीहरूको प्रतिभा प्रष्फुटनका लागि जस्तोसुकै कार्य गर्न पनि तयार रहन्छु । सरले नाचेर उद्घाटन गरे हामी सबै नाच्न तयार छौँ भनेर धेरै विद्यार्थी र स्टाफहरूले भने । आफूमा भएको हिच्किचाहटपन हटाउन मनलाई बाँधेरै र आँखा चिम्लेरै नाचेँ । सबैले रमाएर ताली बजाए । मसँगै नाचेर साथ पनि दिए । अहिले भने निकै राम्रा प्रतिभाहरू विकसित भइसकेका छन् ।”


हरेक विद्यालयमा सङ्गीत पक्षको विकास हुनुपर्ने आवश्यकता केलाउँदै प्रअ गौतम अगाडि थप्छन्– “सङ्गीतले विद्यार्थीहरूको अन्तर्हृदय खोल्छ । हरेक कामकुरामा होसियार र जागरूक बनाउँछ । लगनशील र अनुशासित बन्न मद्दत पु«याउँछ ।”अर्को महत्त्वपूर्ण पक्ष भनेको एस.एल.सी.÷माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामुदायिक विद्यालयहरूमा उत्तम नतिजा ल्याउनु, नगरमा एक मात्र प्राविधिक धारको पढाइ सुरुआत गराउनु, बुद्धिजीवी तथा शिक्षाप्रेमीहरूलाई विद्यालयको अनुगमन गराई सुझाव लिनु, आफूसँग उपलव्ध साधन र स्रोतको समुचित उपयोग गरी विद्यार्थीहरूलाई लाभान्वित तुल्याउनुजस्ता कार्यले पनि विद्यालयको शैक्षिक सुधारमा थप बल प्राप्त भएको हो ।

शिक्षकको कार्यविभाजन

विद्यालय सपार्ने एक काइदा शिक्षकको कार्यविभाजन, कार्यान्वयन, अनुगमन र पृष्ठपोषण हो । राजनीतिक हस्तक्षेपरहित अवस्था सिर्जना गर्नु पनि अर्को गहकिलो पक्ष हो । यसका अतिरिक्त अभिभावकहरूको सक्रियता र विद्यालयमा शैक्षिक वातावरण निर्माण हो । त्यस पछि आउने कुरो हो– विद्यार्थीहरुको शैक्षिक तत्परता । यी तमाम कुराहरूमा विद्यालय परिवार होसियार छ ।

यसै सन्दर्भमा श्री नरेन्द्र मेमोरियल जनता मावि, बोरिया–४, सप्तरीका शिक्षकहरूको देहायबमोजिम कार्यविभाजन गरिएको छ–
(क) वर्ग शिक्षकको कार्य विभाजन
(ख) अतिरिक्त कार्यकलाप– प्रावि तर्फ, निमावि तर्फ र मावि तर्फ
(ग) पुस्तकालय एवं पत्र–पत्रिकाको सुरक्षा र व्यवस्थापन फाँट
(घ) विद्यार्थी अनुशासन र नियमितता रेखदेख फाँट
(ङ) प्रार्थना÷खेलकुद÷सरसफाई रेखदेख फाँट –
(च) भोज÷निमन्त्रणा तथा सामाजिक उपस्थिति एवं समुदायसँगको सम्बन्ध फाँट
(छ) खेलकुद सामग्री व्यवस्थापन फाँट
(ज) प्रोभिजनल कक्षा तोक्ने र कक्षा सञ्चालनको जिम्मेवारी
(झ) छात्र परामर्श तथा सल्लाह सेवा
(ञ) छात्रा परामर्श तथा सल्लाह सेवा
(ट) कक्षा १–३ का बालबालिकाको अवस्था रेखदेख, सुझाव एवं फूलबारी संरक्षण फाँट


विद्यालयका हरेक शिक्षक–कर्मचारीहरूलाई पदीय जिम्मेवारीका अतिरिक्त कुनै न कुनै अतिरिक्त कार्यभार सुम्पिएको छ । अतिरिक्त कार्यसम्पादन गरे वापत शिक्षक–कर्मचारीहरूलाई केही भत्ताको व्यवस्था गर्ने मनसाय भए पनि विद्यालयको आन्तरिक आर्थिक स्रोत कमजोर भएकाले नसकिएको जनाउ दिँदै प्रअ गौतम भन्छन्– “विद्यालय अझ सपार्ने तौरतरिका त थियो तर गरिव विद्यालय भएकाले पाउने अनुदान र थोरै आन्तरिक आर्थिक स्रोत उपयोग गरी सबैलाई प्रोत्साहन पुग्ने कार्य भने गरिँदै आएको छ । कसैलाई आर्थिक सहयोग र सन्तुष्टि पुग्ने काम गर्न नसके पनि मानसिक सन्तुष्टि दिलाउने प्रयत्न भने हुँदै आएको छ ।”

पुरस्कार र सम्मानको विवरण

विद्यालय स्वयम् र स्थानीय अभिभावक/शिक्षाप्रेमीहरूको सक्रियता र लगानीमा शिक्षक, विद्यार्थी–कर्मचारीलाई आर्थिक राहत र प्रोत्साहन पुग्ने गरी खडा गरिएका विविध छात्रवृति, पुरस्कार र सम्मानहरूको विवरण यस्तो छ–

(क) जागरिलो शिक्षक पुरस्कार – प्रत्येक त्रैमासिक, अद्र्धवार्षिक र वार्षिक परीक्षा पिच्छे सर्वप्रथम कापी निरीक्षणको कार्य फत्ते गर्ने १ जना शिक्षकलाई नगद रू. १,०००।– सहित प्रमाणपत्र ।

(ख) समर्पित शिक्षक पुरस्कार – प्रत्येक त्रैमासिक, अद्र्धवार्षिक र वार्षिक परीक्षा पिच्छे सर्वप्रथम प्रोग्रेस रिपोर्ट तयार गरी प्रअ समक्ष पेस गर्ने १ जना शिक्षकलाई नगद रू. १,०००।– सहित प्रमाणपत्र ।

(ग) नरेन्द्र स्मृति तथा अभिभावक दिवसको अवसरमा प्रत्येक शैक्षिक सत्रको भदौ ३० गते प्रोभिजनल कक्षा बढी लिने एक पुरुष शिक्षक र एक महिला शिक्षक गरी दुई जनालाई दोसल्लासहित प्रमाणपत्र ।


(घ) नरेन्द्र स्मृति तथा अभिभावक दिवसको अवसरमा प्रत्येक शैक्षिक सत्रको भदौ ३० गते वर्षभरि सबैभन्दा बढी उपस्थित हुने एक पुरुष शिक्षक र एक महिला शिक्षक गरी दुई जनालाई दोसल्लासहित प्रमाणपत्र ।


(ङ) अनुशासित विद्यार्थी पुरस्कार –नरेन्द्र स्मृति तथा अभिभावक दिवसको दिन वर्षभरि अनुशासित व्यवहार गर्ने एक छात्र र एक छात्रा गरी दुई जना विद्यार्थीलाई पुरस्कारसहित प्रमाणपत्र ।

(च) नियमित विद्यार्थी पुरस्कार –नरेन्द्र स्मृति तथा अभिभावक दिवसको दिन वर्षभरि सबैभन्दा बढी उपस्थित हुने एक छात्र र एक छात्रा गरी दुई जना विद्यार्थीलाई पुरस्कारसहित प्रमाणपत्र ।

(छ) शिव–सुनिल छात्रवृति पुरस्कार – प्रत्येक शैक्षिक सत्रमा विद्यालयबाट एसएलसी÷माध्यमिक शिक्षा परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने एक छात्र र एक छात्रा गरी दुई जना विद्यार्थीलाई डा. सुनिलकुमार झाले खडा गरेको १ लाख अक्षयकोषको व्याजबाट आएको नगद रकम दामासाहीले वितरण गर्नुका साथै प्रमाणपत्र ।

(ज) जहानदेवी छात्रवृति स्मृति पुरस्कार – प्रत्येक शैक्षिक सत्रमा विद्यालयबाट १०+२ परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने एक छात्र र एक छात्रा गरी दुई जना विद्यार्थीलाई डा. सुनिलकुमार झाले आफ्नी मुमाको नामबाट खडा गरेको १ लाख अक्षयकोषको व्याजबाट आएको नगद रकम दामासाहीले वितरण गर्नुका साथै प्रमाणपत्र ।


(झ) मंंगलादेवी स्मृति पुरस्कार – प्रत्येक शैक्षिक सत्रमा कक्षा ६–१० मा पढ्ने सर्वोत्कृष्ट अङ्क ल्याउने एक दलित छात्र र एक दलित छात्रा गरी दुई जना विद्यार्थीलाई प्रा. अमरकान्त झाद्वारा दामासाहीले रू. २,०००।– नगदका साथै प्रमाणपत्र ।


(छ) मगनु झा स्मृति पुरस्कार – प्रत्येक शैक्षिक सत्रमा विद्यालयबाट एसएलसी/माध्यमिक शिक्षा परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने एक छात्र र एक छात्रा गरी दुई जना विद्यार्थीलाई चाँदीको पदकसहित प्रमाणपत्र ।

(ज) प्रत्येक राष्ट्रिय पर्वको भोलिपल्ट प्रार्थना घण्टीमै सामुहिकरूपमा सोही दिवसका बारेमा सटिक उत्तरात्मक प्रश्न सोधी सर्वप्रथम उत्तर भन्ने तीन जनालाई सोही स्थानमा तत्कालै कापी र डटपेनले पुरस्कृत गर्ने ।

(झ) शैक्षिक समृद्धिमा अनुकरणीय कार्य गर्ने शिक्षकलाई विद्यालय प्रशासनको निर्णयले प्रत्येक महिनाको अन्तिम दिन टिफिनपछि हुने स्टाफ मिटिङमा सम्मानित गर्ने ।

सहयोगी हातहरू
वद्यालयलाई नेपाल सरकारको नियमित अनुदान र व्यवस्थाका अतिरिक्त अन्य संस्थाहरूले पनि विद्यालयको भौतिक व्यवस्थापन र शैक्षिक विकासमा सहयोग गरेका छन् ।
(क) सेभ द सप्तरी – खेल सामग्रीहरू, कार्पेटको व्यवस्था र विद्यालय भवन मर्मत गरी सहयोग गरेको ।
(ख) एन्सेट नेपाल, सप्तरी – अतिरिक्त कार्यकलापमा पुरस्कारको व्यवस्था गर्दै आएको ।
(ग) स्वच्छ र प्रगतिशील समाज, नेपाल, सप्तरी – विद्यालय परिसरमा बृक्षारोपणका लागि धार्मिक बृक्ष रुद्राक्ष र अशोकका बिरुवा प्रदान ।
(घ) दलित जनजागरण सेवा समिति, सप्तरी – कक्षा ८ मा अध्ययनरत् दलित विद्यार्थीलाई लक्षित गरी दुई महिना निःशुल्क कोचिङ कक्षा सञ्चालन । त्यस प्रयोजनका लागि कोचिङ शिक्षकलाई पारिश्रमिक स्वरूप रु १० हजार उपलब्ध गराएको ।

 

निष्कर्ष

विद्यालयको नीति निर्माणमा बालबालिकालाई सहभागिता गराउने, उनीहरूको व्यक्तित्वलाई महत्त्व दिएर बालमैत्री व्यवहार गर्ने, शिक्षण विधि र प्रविधि बालकेन्द्रित बनाउने, उनीहरूले गलत कदम उठाएको देखिएमा त्यसको जरोसम्म पुगी दीर्घकालीन समाधानको बाटो पक्रने जस्ता कुराहरूमा भने विद्यालयले अभ्यास गरी अभ्यस्त हुन बाँकी छ ।


बालिकाको आत्मनिर्णयको अधिकारलाई सम्मान गरेर उनीहरूका कुरा ध्यानपूर्वक सुनी आवश्यकतानुसार उचित प्रतिक्रिया व्यक्त गर्ने संस्कार बसाल्न जोड दिने गरेको भनाइसहित प्रअ गौतमले विद्यालयले धर्म निरपेक्ष नैतिक मूल्य स्थापित गर्न जोड दिने गरेको भावना व्यक्त गरेबाट विद्यालय विद्यार्थीहरूको मौलिक भावनाको कदर गर्न सचेत रहेको देखिन्छ ।

वालमनोविज्ञानुरूपको शैक्षिक संस्कार निर्माणमा नरेन्द्र मेमोरियल जनता मावि, बोरिया–४, सप्तरी परिवारमा केही कमजोर पक्ष देखिए पनि आर्थिक विपन्नताका बाबजुत विद्यालयले बसाएको संस्कार र केही अग्रगामी कदम भने सबैका लागि सधैँका लागि अनुकरणीय छ । कार्यविभाजनअनुसार शिक्षकले शैक्षिक कार्य सम्पादन गर्नु, आर्थिक पारदर्शिपन अङ्गाल्नु, माथिल्ला शैक्षिक निकायहरूलाई विद्यालयको अध्ययन, अवलोकन र पृष्ठपोषण गर्न आमन्त्रित गर्नु, राम्रो काम गर्ने शिक्षकले पुरस्कृत र सम्मानित हुने अवसर पाउनु, समुदायको पूर्ण सहयोग र सद्भाव रहनु, मर्यादित र जेहन्दार विद्यार्थीहरूले बेलामौकामा पुरस्कृत हुने अवसर पाउनु, जेहन्दार विद्यार्थीहरूले समुदायद्वारा प्रदान हुने विविध छात्रवृति प्राप्त गरी अध्ययनलाई अगाडि बढाउन मद्दत पुग्नु जस्ता कार्य अरू विद्यालय र समुदायले सिक्नुपर्ने कुरा हुन् ।

साथै प्रधानाध्यापक पढाउन कक्षामा विरलै प्रवेश गर्छन् भन्ने आमजनगुनासो विपरीत प्रअ गौतमले माध्यमिक तहमा चार घण्टी दैनिक शिक्षण गरेबाट एक खुट्किलो उक्लिएको अनुभूत हुन्छ । विव्यस अध्यक्ष प्रमेश यादवले प्रतिद्वन्द्वी उम्मेद्वार सदानन्द यादवलगायतका अभिभावकहरू विद्यालयको शैक्षिक वातावरणमा सहयोगी बन्दै आएको र कुनै किसिमको अशैक्षिक अवस्था नरहेको कुरा सङ्केत गरेबाट पनि समुदाय विद्यालयको जिम्मेवार सुरक्षाकर्मी सावित भएको देखिन्छ । अतः नरेन्द्र मेमोरियल जनता मावि, बोरिया–४, सप्तरीका राम्रा पक्षलाई हाम्रा बनाउन सके सरकारी विद्यालयप्रति हेरिने आमजनताको दृष्टि पक्कै बदलिनेमा दुई मत रहन्न भन्दा अतिशयोक्ति गरेको नठहर्ला ।

 

 

 

 

प्रमुख समाचार

आयोगबाट सिफारिश भएको डेढ महिनापछि बल्ल शिक्षकहरुको पदस्थापना शुरु आयोगबाट सिफारिश भएको डेढ महिनापछि बल्ल शिक्षकहरुको पदस्थापना शुरु

शिक्षक सेवा आयोगबाट सिफारिश भएका माध्यमिक तहका शिक्षकहरुको डेढ महिना पछि बल्ल पदस्थापना शुरु भएको छ । आयोगले खुला प्रतिस्पर्धाबाट छनोट गरेका शिक्षकहरु ...

पहिलो पटक प्रदेशगत रुपमा एसइइको नतिजा सार्वजनिक पहिलो पटक प्रदेशगत रुपमा एसइइको नतिजा सार्वजनिक

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसइइ परीक्षाको नतिजा सार्वजनिक भएको छ । ग्रेडिङ प्रणालीमा नतिजा प्रकाशित भएकाले कोही पनि फेल नहुने परीक्षा बोर्डले ...

शिक्षक लाइसेन्स परीक्षाको विज्ञापन खुल्यो शिक्षक लाइसेन्स परीक्षाको विज्ञापन खुल्यो

  शिक्षक सेवा आयोगले शिक्षण अनुमति पत्र (लाइसेन्स)को परीक्षाका लागि विज्ञापन आज असार २ गतेबाट खुलाएको छ । प्रशासकीय प्रमुख डा. तुलसी थपलियाका अन ...