२०७६ कार्त्तिक ६ गते / 23rd Oct 2019, Wednesday
investment investment

  यात्रा स्मरण : एक शिक्षकले मुम्बई यात्रामा पाएको शिक्षा

–नन्दलाल आचार्य

म धेरै शिक्षण र थोरै लेखनलाई समय दिँदै जीवन गुजारा गरिरहेको थिएँ । दुई दशकभन्दा बढी समय निजी विद्यालयमा बिताएर सार्वजनिक विद्यालयीय शिक्षण कार्यमा प्रवेश गरेको थिएँ । विशेषतः मैथिली समुदायका विद्यार्थी बाबुनानीहरूलाई नै पढाउने अवसर मिलेको थियो । लेखनमा पनि नेपालयीय मैथिल समाजकै रहनसहन र जनजीवन स्वतस्फूर्त रूपमा आउने गर्दथ्यो । यथार्थ झल्कने कुनै ठाउँमा पात्र र परिवेशअनुसार मैथिली भाषा पनि आउने गर्दथ्यो । आफू बसेको र रमेको ठाउँका कुरालाई आफ्नो लेखनमा स्थान दिन सजिलो पनि थियो । साथै, यसो गर्दा आफैंलाई आनन्द पनि आउँथ्यो । स्थानीय पत्रपत्रिकाहरूले पनि स्थान महत्वका साथ दिन्थे । विशेष अवसरहरूमा निमन्त्रणा पनि गर्थे । यस्तो बेलामा बाह्रौं अन्तर्राष्ट्रिय मैथिली सम्मेलन मुम्बईद्वारा पठाइएको निम्तो साहित्यकारद्वय करुणा झा र रामभरोस कापडी भ्रमरमार्फत् पाइयोे । नेपाली भाषा–साहित्यका लागि दिइने ‘मिथिलारत्न’ सम्मान ग्रहण गर्न मैले पुस ०७, २०७२ मङ्गलबार मुम्बई शहर पुग्नुपर्ने रहेछ ।


त्यसबेला तराई/मधेस अनिश्चितकालीन बन्दको घेरामा थियो । सरकारी कार्यालय नखुलेको निकै महिना भएको थियो । सडकमा गाडी नगुडेको पनि पाँच महिना लागेको थियो । राजविराज शहर दिनदिनैको नारा–जुलुस र अधिकारवादी भाषणले तातेको थियो । स–साना बच्चादेखि प्रौढसम्म सबैले आ–आफ्ना हक–अधिकारका बारेमा यथेष्ट कुरा बुझिसकेका थिए । राजधानीसमेत अघोषित नाकाबन्दीले प्याक–प्याक्ती मुख बाइरहेको थियो । सरकार निरीह भएर तमासा हेरिरहेझैं थियो । आन्दोलनमा मान्छे मरिरहेका थिए । तराई÷मधेसमा जहाँ जे घटना घटे पनि राजविराज अघोरै तात्थ्यो । शासकविरुद्वको आन्दोलन साम्प्रदायिक द्वन्द्वमा बदलिन्छ कि भन्ने त्रास मनग्यै नभएको होइन । भनौं न एक किसिमले मधेसमा नेपाल हराएको थियो । सरकारको उपस्थिति बिल्कुलै थिएन । सडकमा प्रहरी प्रशासन निस्कँदैननथ्यो । सार्वजनिक सम्पत्ति नोक्सान हुन थाल्दा भने बचाऊको लागि बाहिरिन्थ्यो । महङ्गीको कुरै नगरौं । टाठाबाठाले जीवनभरिमा कमाउन नसकेको सम्पत्ति एक–दुई महिनामै कमाएका थिए । राजधानीमा दिनदिनै निष्कर्षविहीन वार्ताको नाटक मञ्चन भइरहेको थियो । जनता आश–आशमै त्रास भोग्न बाध्य थिए ।


बाह्रौं अन्तर्राष्ट्रिय मैथिली सम्मेलन मुम्बईको ‘मिथिलारत्न’ सम्मान ग्रहण गर्ने निम्तो पाउँदा मलाई गर्वबोध र हीनताबोध दुबैको एकसाथ अनुभूति भयो । साहित्यकारद्वय करुणा झा र रामभरोस कापडी भ्रमरलाई मैले उल्टै प्रश्न गरेँ– ‘जान त जानु हुन्थ्यो तर देश ठप्प छ, चारैतिर भयावह अवस्था छ, कसरी जानू ?’ मैले जवाफ भेट्टाएँ– ‘मुलुकबाहिर निस्कने अवसर सधैं आउन्न । अझ मैथिली सम्मेलनले नेपाली भाषा–साहित्यका लागि दिएको यो पहिलो सम्मान हो । सशरीर उपस्थित हुनुको इज्जत अर्कै हुन्छ ।’ जेनतेन जाने निर्णय गरेँ । ट्रेनमा सिट रिजर्भेशन भयो । जनकपुरबाट यात्रा थालिने सल्लाह भयो । मैथिली भाषा–साहित्यका केही विद्वान्हरू तथा कलाकारहरू समेत सम्मेलनमा सहभागी हुने कुराले उत्साह थपियो । तर, मन धमिलाको धमिलै रह्यो । राष्ट्रले निकास पाउला कि भन्ने झिनो आश जिउँदै थियो । तराई÷मधेस र पहाड–हिमालका जनताको मनसमेत अँध्यारै थियो । उज्यालो आएमा प्रफुल्ल मुद्रामा हिँड्न हुन्थ्यो । तर, दुर्भाग्य त्यो दिन नै नआइकन हिँड्नुपर्ने भयो ।


पुस ०३, २०७२, शुक्रबार बिहान १०ः३० बजे शिक्षक मित्र सुनिलकुमार चौधरीको बाइकमा बसेर राजविराजबाट जनकपुर यात्रामा निस्केँ । लहानसम्म त सडक सुनसान थियो । नारा लेखिएका भित्ता जताततै थिए । सडक किनारामा गाडिएका काला झण्डाहरू फरफराइरहेका देखिए । ‘नेपालको संविधान–२०७२’ र शासक विरुद्धका कुरा जताततै सुनिन्थे । बाइकले लहान छाड्नेबित्तिकै कालाम्मे सडकमा सिटी बाइक जुलुसको लाइन लामो देखियो । मधेश आन्दोलनलाई शिष्ट एवं मर्यादित बनाउँदै निष्कर्षमा पु¥याउन सक्रिय सहभागी हुन आह्वान गर्दै एकजना युवक विनम्रतापूर्वक भन्दै थियो – ‘आदरणीय जनसमुदाय ! हमरासभक आन्दोलन आब निष्कर्षमे पहुँचुकल छै । अहङ्कारी शासक ठेहुन (घुँडा) टेकरहल छै । सिर्पm कुछ दिन धैर्यधारण करैला परतै । हमसभ अधिकार सम्पन्न भ’रहल छी । हम दोसर वर्गके जनताके विरुद्ध नही सरकारी रवैयाके विपक्षमे छी । हमसभ अपने देशमे अपना अधिकार खोजिरहल छी । ई आन्दोलनमे अपनअपन तर्फसँ योगदान करैला नही भुलब ।”


मैले त्यस आह्वानमा मनग्यै देश भेटेँ । आफूलाई नेपाली भन्न हिच्किचाउने जड र कृतघ्नहरूको गालामा थप्पड परेको अनुभूत गरेँ । अधिकार पाएको छैन, छ भन्छौ भने कहाँ छ, देखाई देऊ भन्नु प्रजातान्त्रिक परिपाटी नै हो । अरूको सम्मानमा कुठाराघात नगरी आफू सम्मानित हुन खोज्नु पनि स्वभाविक हो । तर, अरूको अस्तित्व मेटेर आफ्नो जग बलियो हुने सम्झनु नितान्त नालायकपन र निरङ्कुश शैली हो । मेरो यस निष्कर्षलाई धक्का लाग्नेगरी एक आवाज मेरै कान नजिकै भएर बिलायो । त्यो आवाज थियो एक उरन्ठेउलो ठिटोको । म बसेको बाइक ऊ नजिक पुगेपछि उसले मतिर दृष्टि दिँदै भनेको थियो– ‘...जिन्दावाद !!! ...मुर्दावाद !!!...लखेट्, लखेट् !!!’ उसलाई साथ दिनेहरू भने मुठ्ठीभर मात्र थिए । मलाई देख्नासाथ उसको रगत उम्लेको देख्दा मलाई पहाडे समुदायमा जन्मेकोमा हीनताबोध समेत भयो । उसको बोली मलिन–मलिन हुँदैहुँदै गयो । हाम्रो बाइक पश्चिमतर्फ हुँइकिरह्यो ।


म तराई÷मधेसमै जन्मँे, संस्कार भेटेँ, शिक्षा–दिक्षा पाएँ, रोजी–रोटीको व्यवस्था भेट्टाएँ र भविष्य हँसाउने झिनो लहरो समेत पाएँ । मैले जे गरेँ, जस्तो परिचय बनाएँ र जे गरिरहेको छु, सबै तराई÷मधेसकेन्द्रित छन् । कसैलाई अनावश्यक उचाल्ने र कसैलाई मारमा पर्नेगरी पछार्ने भूल नहोस् भनी सतर्कता अपनाउने गरेको छु । र, पनि कहिलेकाहीँ अन्तस्करणमा धक्का लाग्ने कुरा सुन्नुपर्दा चोट त नराम्ररी नै लाग्यो । तर, गुनासो पोख्नुपर्ने मान्छे परिचित पनि थिएन र साथमा पनि थिएन । त्यसैले मित्र सुनिलसँगै बह बिसाउने काम गरेँ । उनले सहजताका साथ जवाफ फर्काए– ‘सडकमा थरिथरिका मान्छे हुन्छन् । कोही अज्ञानताबस् त कोही अवसरका लागि नानाभाँतीका कुरा फलाक्छन् । आफूलाई ठूलो भनाउन र बनाउन कोही न्वारानदेखिको बल झिकेर निरर्थक चिच्याउँछन् । तिनको पछि सज्जनहरू लाग्दैनन् । किनभने बहुलाहा कुकुरले टोक्यो भन्दैमा बदला लिन असल मान्छे कुकुरलाई टोक्न जाँदैन ।’ यत्ति सुनेपछि मैले त्यस प्रसङ्गलाई त्यहीँ पूर्णविराम लगाएँ ।


दिउँसो ३ः३० बजे जनकपुरस्थित आनन्द लजमा पुगी झोला बिसाएँ र सुनिलजीलाई राजविराज फर्काएँ । अब म एक्लो भएको थिएँ । अघिल्लो दिन राष्ट्रपति विद्यादेवी भण्डारीको आगमनले रन्केको जनकपुर सेलाएको रहेनछ । एक्लैदोक्लै हिँडेको म बबुरोलाई कसैले जे पनि भन्न सक्थ्यो र जे पनि गर्न सक्थ्यो । मलाई चिन्ने र जान्ने त्यहाँ कोही थिएन । कसैको रिसको तारो बन्न सक्ने खतरासमेत जिउँदै रहेको आशड्ढा गरिरहेँ । प्रहरीहरूलाई जिउँदै जलाएको, कुटीकुटी मारेको, खुद्रा व्यापारीको औंला काटिएको घटना दिमाखमा नाच्न थाल्यो । अर्कातिर सडकमा गुञ्जने भाषण, वर्षने गाली र ढुङ्गामुढा अनि आन्दोलनकारीहरूलाई लघारी–लघारी मरणासन्न तुल्याइएका अनेकन दृश्यहरू नाच्न थाले । जति सम्झियो उत्ति त्रासद् परिस्थितिसँग मुकाबिला गर्नुपथ्र्यो । त्यसैले, त्यस्ता दृश्य बिर्सन पनि सम्झने क्रमलाई पूर्णविराम लगाउने निधो गरेँ । जसले जे गरे पनि र जे भने पनि एक नेपालीले अर्को नेपालीलाई नै गर्ने हुँदा अगाडि आउने चुनौतीलाई सहर्ष स्वीकार गर्नुको विकल्प नरहेको निधो गर्दै मनलाई थुमथुम्याएँ ।


बेलुकी पख कसैले ढोका ढक्ढकायो, खोलेँ । नयाँ स्वर सुनियो– ‘नमस्कार ! अहाँ आचार्यजी छी ?’ मैले मुन्टो हल्लाएर सकारात्मक जवाफ फर्काएँ । रामभरोस कापडी भ्रमर सर बजेने अछि भन्दै उनले सुकिलोमुकिलो मान्छेसँग परिचित गराए । फोन वार्ता धेरैपटक भएपनि सशरीर भेट नभएकोले मैले भ्रमरलाई चिनेको थिइनँ । खासमा साझा प्रकाशनको पूर्व अध्यक्ष र प्रज्ञा प्रतिष्ठानको पूर्व प्राज्ञ हुनुभएको हिसाबले नचिन्ने कुरै थिएन । अर्कातिर म साहित्यको पाठकसमेत रहेका नाताले उहाँका साहित्यगत प्रवृत्ति समेत ठम्याउने सामथ्र्य राख्दथेँ । केहीबेर समसामयिक शिक्षा, साहित्य र राजनीतिका बारेमा भलाकुसारी गरियो । अनि उहाँकै साथमा जानकी मन्दिर परिसरसम्म पुगियो ।


त्यहाँ मान्छेको सानोतिनो भीड थियो । सजावटका सामग्री थन्क्याउने, फोहर सफा गर्नेजस्ता कामहरू भइरहेका थिए । कोही मन्दिर अपवित्र भयो भन्दै थियो– ‘विधुवा प्रवेश करैक अपवित्र करदेलक ।’ देवीदेवताका लागि मान्छे अपवित्र नहुने तर्क गर्दै अर्काले तुरुन्तै जवाफ फर्कायो– ‘देवी–देवता विदुर आ विधुवा, सधुवा सबक खातिर एकसमान अछि । भेदभावक वात आइकाइलक युग मुताविक नही अछि ।’ अर्को समूहमा मन्दिरका पूजारी र महन्थहरूलाई निष्कासन गर्नुपर्ने कुरा हुँँदै थियो । त्यसै बीचमा पूजारी र महन्थहरू बचाउको अर्को आवाज पनि सुनियो– ‘राष्ट्रप्रमुखके खातिर दर्शन बर्जित ठाउँ कोनो नही होइत अछि । बेचारा पूजारी आओर महन्थसभक दोष रत्तिभर नही अछी । दोष त अराजकतावादी सभक छै । मुठभेडके सम्भावना विचार करके काज करैला परैछै । दोसर वात विरोध साङ्केतिकरूपसँ होना चाही, हिंसात्मक कभी नही ।’ यस्ता परस्पर विरोधी वाचचित भइरहेका थिए । म केवल स्रोता र दर्शक मात्र थिएँ ।


साइकल, मोटरसाइकल र पैदले यात्रुले जनकपुर सहर ढाकिएको थियो । सडकमा ट्राफिक प्रहरीको नामोनिशान थिएन । सुरक्षाकर्मीको उपस्थिति कुनै ठाउँमा पनि देखिएनन् । अझ शिवचौकको एउटा दृष्यले भने लामो समयसम्म मलाई रन्थन्याई रह्यो– बीच सडकमा एक धुलाम्मे अधवैंशे मानिस ट्राफिक प्रहरीले झैं हात हल्लाई–हल्लाई चिच्याइरहेका थिए– ‘ए, तूँ रुक ! तूँ आगा बढ ! तूँ ओत जो आ तूँ यत जो ! तूँ तुफानमे गाडी नही हाँक् । हमर बेटासँगमे भेट करवाक बात छै त चला । हमर बेटाक हमर ठीकठाक समाचार सुनादिअ आ हमर आशिर्वाद सेहो सुनादिअ... ।’ यसो भनिरहँदा उनले धुलाम्मे हातले आँसु पुछे र भक्कानिएको आवाजमा अर्थोक बरबराइरहे ।


सडकमा अपर्झट भेटिएका ती पात्र मेरो लेखनीका एक सामग्री बन्थे होलान् । मैले थोरै मात्र जानकारी लिन सकेँ– उनको एक छोरासहितको तीन सदस्यीय सुखी परिवार मधेसको कुनै भू–भागमा रहँदो रहेछ । श्रीमान्–श्रीमतीको आम्दानीले घरपरिवार राम्ररी नै चलेको रहेछ । केही रकम बचाएर राखेका रहेछन् । अचल सम्पत्ति जोडेर सुकुम्बासीबाट प्रमोसन हुने विचारले घडेरी खोज्दै रहेछन् । छोरो स्थानीय बोर्डिङ स्कूलमा दुई कक्षामा पढ्दो रहेछ । एक दिन स्कूलबाट घर फर्कँदा अज्ञात सवारी साधनले किचेर छोरो ठहरै भएछ । त्यसकै शोकले उनीे मानसिक सन्तुलन गुमाएजस्ता भएछन् । उनको अस्तव्यस्तताको फाइदा उठाउँदै अज्ञात जत्थाले उनकै उपस्थितिमा श्रीमतीलाई घरमै बलात्कार गरेछ । त्यो बेइज्जत सहन नसकेर उनले रूखमा झुण्डिने विकल्प रोजिछन् । त्यसपछि उनी त्यस ठाउँलाई सदाका लागि त्यागी सडकलाई नै सर्वस्व बनाउँदै आएका रहेछन् ।


उनको सडकको गतिविधि नियालेर र वास्तविकता बुझेर मन खल्लो भयो । खानपिन गरी म भ्रमर सरले व्यवस्था गरिदिएको आनन्द होटलको कोठा नं. १०९ मा पसेँ र निदाउने चेष्टा गर्न थालेँ । बिहान ३ बजे नै आँखा खुले । सूर्योदयको आगमनसँगै काउण्टरमा पुगेँ । त्यस रातको त्यस कोठाको भाडा रू. ७५०।– बुझाएर भ्रमर निवासतिर पैदलै लागेँ । तीन–चार मिनेटमै भव्य भ्रमर निवास पुगियो । त्यहाँ पुगेपछि बोलेरो आयो । त्यसमा चढ्नेहरू भइयो– पूर्व प्राज्ञद्वय डा. रामदयाल राकेस र रामभरोस कापडि भ्रमर, विद्यापति कोशका पूर्व अध्यक्ष अयोध्यानाथ चौधरी, प्रा.डा. पशुपतिनाथ झा, युवा साहित्यकारद्वय रामराजा सिंह राठौर र विमलकान्त झा, चर्चित गायक नवीन मिश्र, युवा कलाकार रोहित साह र म नन्दलाल आचार्य । सबैका मोटामोटा झोला थिए । राजविराजमा नै करुणा झाले मुम्बईमा जाडो नहुने हुँदा जाडोका कपडा धेरै नबोक्न सल्लाह दिनुभएकै थियो । मैले त्यसलाई नै स्वीकारेको थिएँ । त्यसैले सबैभन्दा पातलो र सानो झोला मेरै थियो । सानो गाडी भएपनि हड्तालले गर्दा चर्को मूल्य तिरेर जनकपुर–दरभङ्गा यात्राका लागि बसियो । एक पछि अर्को गर्दै राठौर, रोहित र म झोलाले पुरिन पुग्यौं । अरूहरू उमेर र अनुभवले पाका हुनाले पनि झोलाको थिचाइबाट बचेका थिए । त्यस बेलाको असहज यात्रा सबैलाई मुखभरी आएको थियो । आन्दोलनरतहरूकै तारो बनिएला भन्ने त्रास विद्वान्हरूमा नै थियो । मैले मुख खोलेँ– ‘गाडी तोडफोड गर्न तम्सने पनि हाम्र्रै इष्ट–मित्र, भाइ–भतिजाहरू त हुँदा हुन् नि ?’ अरूबाट जवाफमा आवाज आयो– ‘आन्दोलनको आँखा हुँदैन । केवल अर्जुनदृष्टि हुन्छ । जो दृष्टिमा पर्छ त्यो कुचिन्छ ।’ राठौर र रोहित भन्दै थिए– ‘फेरि एउटालाई चिने पनि अर्को फटाहा कुडेर (बञ्चरो) लिएर अघि सर्छ । त्यसले विद्वान्सिद्वान् चिन्दैन । आन्दोलनलाई मात्र चिन्दछ । अराजक कर्म गरेर आनन्द लिने धेरै हुन्छन् । त्यसैले सतर्क रहनुपर्छ ।’


गुड्दागुड्दै नेपाल–भारत बोर्डरमा पुगियो । विराटनगरबाट रञ्जुको फोन आयो । भारत बोर्डरमा एनटीसीको नेटवर्क राम्रो नभएकाले राम्ररी कुरा भएन । जे भएपनि साली नानीले सम्झिछिन् भनेर मख्ख पर्दै मोवाइल थन्क्याएँ । केहीबेरमै नेपालका सीमा–सुरक्षाकर्मीले सोधपुछ गरे । जवाफमा भ्रमरले भन्नुभयोे– ‘हामी नेपालका साहित्यकार हौं । साहित्यसम्मेलनमा मुम्बई यात्रामा जाँदैछौं ।’ त्यहाँबाट दुई सय मिटर परको भारतीय सीमा–सुरक्षाबलको रोकावटमा जवाफ दिइयो– हम लोग नेपालके साहित्यकार है । साहित्य–यात्रामे मुम्बई जारहे है ।’ मलाई नेपालका साहित्यकार हौं भनेर परिचय दिँदा बडो गर्वबोध भयो । सबैलाई आफ्नै आफन्त अनुभूत गरेँ । अब त आफ्नो मुलुकको भूमि पनि छाडिसकिएको थियो । अब जो र जे भने पनि यात्रारत् साथीहरू मात्रै थिए । उहाँहरूले नै मलाई मैथिलीमा बोल्न उक्साउनु भयो । म पनि रौसिएँ । मेरो मैथिली बोलाइ र लवजमा अनौठोपन थियो । म खासमा मैथिली भाषामा पारङ्गत छँदै थिइनँ । यात्रावधिभर मैले मैथिलीमै संवाद गर्ने कोसिस गरेँ । तर, उहाँहरू भने किन हो कुन्नि मसँग नेपालीमा नै बातचित गर्नुहुन्थ्यो । मैले बोलेको मैथिली भाषा र लवज सुनेर नेपालबाहिरका मानिसहरूले मलाई भोजपुरी भाषी भारतीय समेत भने । मैले सगर्व नेपाली मातृभाषी भएको नेपाली हुँ भनी भ्रम चिर्ने काम गरेँ । कतिपयले भाषा सिकाइदिन आग्रह गरे । हिन्दी, मैथिली र अङ्ग्रेजीका विविध वाक्य नेपालीमा अनुवाद गर्नसमेत भने । मैले बोलेका कुरा मोवाइलमा रेकर्डसमेत गरे र केही कुरा बोल्ने कोशिससमेत गरे । भाषा सिकाइको त्यो क्षण छोटो तर स्मरणीय थियो ।


दुई महिनापूर्व ट्रेनको सिट रिजर्भेशन गरेपनि अन्य साथीहरूबाट म अलग भएछु । अरू सबैको सिट डिब्बाको सुरुवातमा थियो भने मेरो मात्रै सिट अन्त्यमा थियो । यात्रा फगत एक्लै गर्नुप¥यो । साथका साथीहरूको नाकमुख देख्न नसकिने ठाउँमा पुगियो । बाथरुम जाँदा भने साथीहरू गफिरहेको भेटिन्थे । त्यसभन्दा ठूलो पिरलो त्यसबेला आयो जब पेटमा बेस्कन मुसाहरू दगुर्न थाले । त्यो स्वभाविकै थियो किनभने जनकपुरबाट छुटेपछि तरल पदार्थबाहेक केही खाइएको थिएन । दरभङ्गाामा खाना खाने होटल खोज्दाखोज्दै समय तुरियो । राम्रो र हाम्रो होटल खोज्दा खोज्दै हामी होटलको द्वारसम्म त पुगेका थियौं तर ट्रेन छुट्ने समय खुस्किन लागेको भन्दै केही नखाइकन फर्किन बाध्य भयौं । बेलामा होस् नपु¥याउँदा सामान्यजनलाई मात्र होइन, विद्वान्जनलाई समेत समयले पछार्दो रहेछ भन्ने समझ बढ्यो । ट्रेनमा नै सामान किन्न पाइने र खानासमेत अर्डर गरी खान पाइने कुरामा म ढुक्क थिएँ । एक छाक भोकै भएपनि अर्को छाक त पेटभरि खान पाइएला भन्दैथिएँ । पानी र सुख्खा वस्तुहरू बेच्नेहरू आउँदै थिए । पानी नपाइएला कि भनी तीन बोतल किनेर विश्रामस्थानमा ढल्किएको थिएँ ।


पटना पुग्दा नपुग्दै सयौंका सङ्ख्यामा युवा विद्यार्थीहरू किताब–कापी, झोला लिएर ट्रेनमा छिरे । अरू डिब्बामा के गरे कुन्नि ! हामी बसेको डिब्बामा भने तल–माथि कतै खुट्टा टेक्ने ठाउँ भएन । मेरो सिट माथिल्लो भागमा थियो । त्यसमा पनि ‘प्लिज ! इतना जगह दिजिए’ भन्दै तीनजनाले चाक अड्याए । ‘नो ! नो !’ भन्न नैतिकताले दिएन । अझ अर्को स्टेशनमा युवाको लाइन लामै देखियो । हुँदाहुँदा बाथरुमसम्म पुग्न सक्नु युद्ध जितेझैँ हुन लाग्यो । अल्लारे ठिटाहरूकोे कोलाहल उत्ति नै थियो । न बाहिर न भित्र कतै कोही पनि कुनै सामान बेच्न आएन । आओस् पनि कसरी ! पाइलो राख्ने ठाउँ थिएन । कमजोर मान्छे आयो भने चेप्पिएर त्यहीँ शहादत हुने अवस्था थियो । भोकको सीमा हरायो । पानी त साथमा थियो, पिउन डर लागिरहेको थियो । बाथरुम जाने बाध्यता आयो भने ठिटाहरूको चेपाइमा परेर अधकल्चो हुने निश्चित थियो । अर्कातिर आफ्नो सुत्न पाइने सिटमा मज्जाले बस्नसम्म पाइएको थिएन । त्यसमा पनि कसैको ‘प्लिज ! कुछ समय’ भन्ने आवाजको मारमा परिएलाकी भन्ने त्रास जिउँदै थियो । यात्रामा निक्कै कुरा सुनियो । अधिकृतस्तरको बिहार राज्यको परीक्षा इलाहावादमा राखिएको रहेछ । ती जागिर खान चाहने युवाहरू रहेछन् । उनीहरू त्यसै ट्रेनमा यात्रा गर्न विवश रहेछन् । पटना पछिका स्टेशनमा त कोही पनि चढ्न सकेन । नारा लगाएको ठूलो स्वर भने सुनियो । ढ्याक्–ढ्याक् र ढुक–ढुक पारेर झ्याल नजिकका यात्रुलाई हैरान पारे । अझ झ्यालबाट झोला थुतेर भाग्ने क्रम तीब्र भयो । सामान हराएर बिलौना गर्नेहरूको सङ्ख्या थपिँदै गयो । इलाहावाद कहिले आउला र त्यस भद्रगोलबाट मुक्ति पाइएला भनेर प्रार्थना गर्दैमा बिहानको ३ः३० बजेछ । अब भने फटाफट युवाहरू झर्न थाले । अनि टन्न पानी पिएँ । मनलाई र पेटलाई थामथामथुमथुम पारी निद्रादेवीको शरणमा लम्पसार परेँ ।


बिहानको सूर्योदय आइतबारको थियो । ‘गरम, गरम चाय !’ भन्दै फेरीवाल आउन थाले । त्यसबेला ६ बजेको थियो । म बाथरुम पुगेर लाइनमा उभिएँ । कतिपय मानिसहरू पेट समाउँदै ‘मै आपत मे हुँ, प्लिज’ भन्दै पालो मिच्न खोज्थे । लाजै पचाएर कोशिस गर्नेहरूबाट हार खाँदा खाँदै निकै समय बित्यो । सहनशील र समझदारी नबनूँ बन्नैपर्ने, बनूँ आफैंलाई आपत् परिसकेको थियो ! अझ वहस गर्न वा दोहोरो वार्तालाप गर्न भाषा नै वाधक थियो । म आफ्नो कमजोरी प्रदर्शन गरी अरूलाई हँसाउन चाहन्नथेँ । त्यसैले सङ्केतकै भरमा स्वीकारोक्ति दिने काम गरिरहेँ । बल्लतल्ल छिरियो । सकस बिसाइयो ।


म आफ्नै स्थानमा धुम्मिएर बसेको थिएँ । राठौरजी आए र भलाकुसारी गर्न थाले । मैले पनि हजारौं मान्छेको भीडमा एक्लै यात्रा गरेको र पेटका मुसाहरूलाई ३६ घण्टासम्म थामथामथुमथुम पारेको जीवनको पहिलो र सम्भवतः अन्तिम घटना भएको बताएँ । उनले पनि ठूलाबडाको ठूलो सोंचमा फस्दा यदाकदा यस्तै हुनु स्वभाविक रहेको बताए । सानोतिनो होटल छनौटमा परेको भए दरभङ्गामै पेट भरिन्थ्यो । ठूलो खोज्दाखोज्दै सानै पनि गुम्यो । फर्कँदाफर्कँदै उनले मेरा लागि पनि खानाको अडर गरिएको बताए । नभन्दै घण्टा दुएकमा खाना आइपुग्यो । धेरै स्वादिलो लाग्यो । भोक मीठोे भएकाले नै होला, त्यस बेलाको भोजनको स्वाद म कदापि भुल्न सक्दिनँ । सुरुवात खराब भएपनि त्यसपछिको मुम्बई यात्रा सुखद् नै रह्यो ।


हामीले ०६ पुस, सोमबारको बिहानी पख मुम्बईको भूमि स्पर्श गर्यौं । यात्रावधिभर छोडिएका सबै साथी भेटियौं । कार्यक्रम स्थलसम्म पु¥याउन दुईवटा गाडी लागेका रहेछन् । कार्यक्रम स्थल बिरार भन्ने ठाउँमा रहेछ । त्यहाँ एउटा होटलमा नेपाली प्रतिनिधि मण्डललाई बेग्लै कोठाको व्यवस्था गरियो । केही कुरा हुँदा ‘नेपालके रुममे जाना है’ भन्दै मानिसहरू आउन थाले । नेपालीसँग भेटघाट गर्न भनी निकै शुभचिन्तक त्यस कोठामा छिरे । साहित्यिक र व्यक्तिगत कुरा भए तर राजनीतितिर कोही पनि गएन । सबै काम लाइनमै बसेर गरियो । फुर्सदमा नयाँ स्थान घुम्न जाने मन थियो । तर, हाम्रै व्यवस्थित व्यवस्थापन र सही नेतृत्वको अभावमा मन खुम्चन पुग्यो । प्रौढ स्रष्टाहरू बिरारको प्रशिद्ध जीवदानी देवी मन्दिरसम्म पुग्नुभएछ । अग्लो डाँडामा रहेको सो मन्दिर पुग्न नेपालको स्वयम्भुनाथ मन्दिर झैं सिँढी चढ्नुपर्ने रहेछ ।


२२ डिसेम्बर अर्थात् पुस ०७, २०७२, मङ्गलबार धेरैले सांस्कारिक पाग र केहीले पगरी (गम्छा) शिरमा लगाएर मैथिली पोशाकमा शोभायात्रा थालनी गरियो । त्यसमा नेपालको प्रतिनिधि मण्डलमा मसमेत मिसिन पुगेँ । देवीदेवताका प्रतीकस्वरूप स–साना बच्चाहरू कोही महादेव, कोही पार्वती, कोही राधा त कोही कृष्ण बनेर रथमा चढे । यात्रामा विवाह समारोहमा गरिने संस्कारजन्य कार्य, काँधमा बोकिने भारको व्यवस्थापन आदिसमेत थिए । यस्ता अनौठा झाँकीले मैथिली संस्कार र संस्कृति अत्यन्त धनी रहेको आभाष मिल्दथ्यो । करिव पाँचघण्टे शोभायात्रा कार्यक्रम स्थलमा आई स्थगित भयो । मञ्चमा हुने कार्यक्रमको औपचारिकता शुरु भयो । भौतिक रूपमा व्यवस्थित व्यवस्थापन भएपनि बौद्धिक व्यवस्थापन कतैकतै आलोकाँचोपन देखियो । उद्घोषणको परम्परा भने पूरातन अनुभूत भयो । पेट व्यवस्थापनमा शिलशिलाबद्धता नहुँदा कसैले पेटमा ठेलीठेली कोच्ने र कसैले भने टुलुटुलु हेरर चित्त बुझाउने काम भयो । विशेषतः हुलमुलको माहोलमा काम गर्न सक्नेले राहत भेटे । कसैले बोलाउला र मुख मिठ्याउँला भनी प्रतिक्षारत् रहने हामीहरूजस्ता भने थुक निल्न विवश भइयो । व्यापक व्यवस्थापनमा यस किसिमको अवस्था देखिनु स्वभाविक नै भन्नुपर्छ ।


बेलुका ४ः३० बजे सम्मान गरिने कार्यक्रम रहेको थियो । मैथिली, हिन्दी, मराठी, उर्दू, नेपालीलगायत एक दर्जन जति विविध भाषा–साहित्यमा कार्य गरेका विद्वान्–विदुषीहरूलाई सम्मानोपाधिले विभूषित गरियो । संस्कृत विश्वविद्यालय, वाराणासीका कुलपति डा. देवनारायण झाको हातबाट मैले पाएको सम्मानोपाधिमा लेखिएको थियो– श्री नन्दलाल आचार्य, (नेपाल)के नेपाली भाषाके क्षेत्रमें विशिष्ट योगदानक हेतु ‘मिथिलारत्न’ सम्मानोपाधिसँ अलङ्कृत कएल जाइत अछि । अति हर्षित भएँ । अझ उनले अनौपचारिक रूपमा नेपाल र नेपालीका बारेमा नेपाली भाषामै प्रश्न राख्दा अति चकित भएँ । उत्तरमा मैले भनेको थिएँ– ‘नेपालको राजनीतिको भेउ छिचोल्न त मुस्किल छ, तर जनताबीचको अटुट एकता र भाइचाराको सम्बन्ध भने विश्वलाई लोभ्याउने छ । २०७२ को सुरुवातसँगै प्रकृति र परिस्थिति दुबैले नेपाल र नेपाली जनतालाई ठगिरहेको छ । चाँडै निकास निस्केर सौहार्द्रपूर्ण वातावरण हुनेमा हामी सर्वसाधरण आशावादी छौं ।’ त्यस हल्लामा उनले के बुझे–बुझेनन् मैले दोहोरो कुरा यति मात्र सुनेँ– ‘ठीक छ ! ठीक छ !’


सम्मानको लगत्तै कवि सम्मेलन सुरुवात भयो । नेपालको तर्फबाट म पनि सानो गजल हातमा लिएर एक कुनामा प्रतिक्षारत् थिएँ । मेरो गजल भन्दैथ्यो–

केहेन उजाड जकाँ सुनसान देखैछी
मात्रे पत्थर छै कहाँ भगवान् देखैछी ।

नाम जपिक खाइबला भेलै बुद्धिमान्
भ्रष्ट पदलोलुप मात्रे महान् देखैछी ।

बहुत भेलै विचारके रौदी यत्रतत्र
पैग स्वरक मात्रे यशगान देखैछी ।

दोसरके छिड्की–मारि आगा बडैबलाके
कोहुलका नेपालके दरबान देखैछी ।

पसिनाके मूल्य खोजते खोजते हम त
बडका–छोडका सबके एकसमान देखैछी ।

नेपाली अनुवाद–
कस्तो निर्जन जस्तो सुनसान देख्दछु
मात्रै पत्थर छ कहाँ भगवान् देख्दछु ।

नाम जपेर खाने जति भए बुद्धिमान्
भ्रष्ट पदलोलुप मात्रै महान् देख्दछु ।

धेरै भयो विचारको खडेरी यत्रतत्र
ठूलै स्वरको मात्रै यशगान देख्दछु ।

अर्कालाई छिर्के लगाई अघि बढ्नेलाई
भोलिको नेपालको दरबान देख्दछु ।

वाचनका क्रममा करुणा झाले व्यङ्ग्यात्मक छोटो कविताका साथमा मधेस आन्दोलन केन्द्रित कविता सुनाइन् । त्यसबेला कविताको विषयवस्तुलाई गाढा रङ्ग दिनेखालका दर्शक त्यहाँ थिएनन् । रामभरोस कापडी भ्रमरको कवितासमेत राजनीतिकेन्द्रित छोटै थियो । अयोध्यानाथ चौधरीको कविता भने लयात्मक र श्रृङ्गार रसयुक्त थियो । अढाई दर्जन जति सर्जकले कविता पाठ गर्न पाए पनि नपाउनेले विरसिलो अनुभव गरे । जे भए पनि कवि सम्मेलनमा नेपालको महत्वपूर्ण सहभागिता रह्यो ।


रातभरिजसो वाद्यवाधन र गायनका एक से एक कलाकारले प्रतिभा देखाए । भोलिपल्ट २३ डिसेम्बर अर्थात् पुस ०८ का दिन ‘प्रवासी मैथिली आ हुनक गाम’ शीर्षकमा अन्तर्राष्ट्रिय सेमिनार भयो । नेपालका तर्फबाट रामभरोस कापडी भ्रमर, डा. रामदयाल राकेस र प्रा.डा. पशुपतिनाथ झाले भाग लिनुभयो । बाँकी हामी दर्शक मात्र रह्यौं । डा. राकेसले सेमिनारको शीर्षकमा प्रश्न उठाउँदै डाएस्पोरिक चिन्तन स्वदेशमा नभई विदेशबाट स्वदेशका लागि व्यक्त गरिने भावना हो भन्ने अनुभव बाड्नुभयो । प्रा.डा. झाले नेपालमा मैथिली भाषा–साहित्य र शिक्षणको विकास सन्तोषप्रद रहेको पुष्टि गर्नुभयो । साथै, कतिपयको मन्तव्य शीर्षकको छेउछाऊ पनि पुगेन । कतिपयले मैथिल र मैथिलीलाई प्रेम गर्ने सच्चा मैथिल रहेको वाक्य फुटाए । कोही आफ्नै विज्ञापन गर्न व्यस्त भए । कतिपयले भने साँच्चै बौद्धिक मन्तव्य राखेर ताली पाए ।


त्यसपछि अघिल्लै दिनको गायन, वाद्यवाद्यनको कार्यक्रमलाई निरन्तरता दिइयो । हामीले पनि सकेसम्म साथ दियौं । सबैभन्दा बढी त राठौरजीले ताली दिए । कम्मर मर्काएर कलाकारहरूलाई ऊर्जा प्रदान गरे । हाम्रा गायक नवीन मिश्रा पनि आफ्नो पालो कतिखेर आउला भनेर लाइनमा खडा भए । पर्खँदा–पर्खँदा बिहान २ः३० बजे पो उनको पालो आयो । ताली बजाएर उनलाई साथ दियौं । कलाकार रोहित साहले भने आफ्नो नृत्यकला देखाएर दर्शकको ध्यानलाई नै खिच्ने काम गरे । कार्यक्रम सेलाएकै थिएन । नेपालको पालो सकिनासाथ हामी भने सेलायौं । लुखुरलुखुर फर्कियौं र विस्ताराका प्रिय भयौं ।


बिहानको सूर्य जवान भएपछि मात्र आँखा खुले । बुढाखाल घुमफिरमा निस्किसकेका रहेछन् । हामी युवाखालसमेत योजना बनाउन थाल्यौं । समुद्र दर्शन, ताज होटल भ्रमण, एलिफेण्टा अवलोकन, पानीजहाज यात्रा आदि ठाउँहरूको नाम आए । यसो गर्दा र उसो गर्दा समय भागिरहेको थियो । बल्लतल्ल भ्रमणको साइत जु¥यो । प्रौढ वर्गको पछि युवा वर्ग पनि लाग्यौं । बिरार रेल्वे स्टेशनमा पुगेपछि नखाएको विषले पिरोल्यो । स्थानीय पुलिसले विमलकान्त झा र मलाई नराम्ररी उल्लू बनायो । जथाभावी थुकेको आरोप थियो । बहस गर्न भाषा बाधक थियो । उसले भनेको नमाने अरू साथीहरूको यात्रासमेत अवरुद्ध हुने निश्चित थियो । धेरै समय नलगाइकनै हामीले जरिवानास्वरूप भारू १००÷१०० रुपैयाँ गन्यौं । पैसा तिर्न नमान्दा रसिद काट्न तयार भएको नगर पुलिस पाएपछि रसिद नै नदिइकन सुइकुच्चा ठोक्यो । बहस गर्न इज्जतको डरले नदिएको कुरा मित्रवृत्तबाटै सुनियो । कोही घटना सम्झी–सम्झी हाँस्न थाले । आफू त उल्लू बनेको मान्छे, लाटै रहँदा जित हुने ठहर गरेँ । चुपचाप पछि–पछि लागेँ । त्यस बखत मेरो टिकटे साथी बन्नुभएको थियो– डा. रामदयाल राकेस । उहाँले मेरो कानैमा भन्नुभयो– ‘अरूलाई पर्दा हाँस्ने मन आफूलाई पर्दा रुन्छ । तिर्नै नपर्ने दण्ड तिरियो । त्यस चुत्थाले दण्डित गरेको होइन, लुटेको हो । जे भो–भो मन अँध्यारो नबनाउनुस् । हँसिलो बनाएर हँसिमजाक गर्ने आफ्नै साथीको मुख लोप्रयाइदिनुस् ।’ मैले मुन्टो हल्लाएरै स्विकारोक्ति दिएँ ।


महाराष्ट्र राज्यमा पर्ने मुम्बई र बिरार शहरहरूमा मराठी भाषा बोलिँदो रहेछ । सम्मेलनमा सहभागी भएका जो कोहीले पनि मैथिली भाषामा संवाद गरेको देख्दा र सुन्दा मलाई त्यो माहोल नेपालको राजविराजभन्दा भिन्न लागेन । अर्कातिर त्यहाँको भौगोलिक बनावट र वरपरको पहाडी डाँडाकाँडाले त्यो नेपाल नै हो भन्ने लाग्यो । जहाँ पहाडी क्षेत्र देख्यो त्यो नेपाल नै हो भन्ठान्नु मेरो भ्रम मात्र थियो । नेपाल र त्यहाँका पहाडी डाँडाकाँडामा फरक के थियो भने यहाँ पानी रसाउँछ । झरनाहरू बग्छन् । त्यसैले रुखबिरुवा मनग्यै हुन्छन् । त्यहाँ भने बिल्कुलै सुख्खापन देखियो । पानीको अभावले रुखविरुवा नभएको श्रापित ठाउँ जस्तो आभाष भयो । यहाँ मान्छेको वस्ती छ, त्यहाँ वन्यजन्तुको बसोवास पनि विरलै छ । समुद्र किनारमा त ठूला रुख विरुवा पटक्कै देखिएनन् । फर्निचर बनाउन लायकको काठ उत्पादन त्यस्ता वनमा सम्भव नै थिएन । तातो हावा थियो । दिउँसो त पङ्खा चलाउनै पथ्र्यो । राती सिरक ओड्ने नामै नलिए हुन्थ्यो । यहाँ नेपालमा कठ्याङ्ग्रिने जाडो छोडेर गएको मान्छे, त्यहाँ अनौठो हावापानी पाउँदा आश्चर्यचकित भइयो ।


भोलिपल्ट मुम्बई स्टेशन पुगियो । झोला बिसाएर समुद्र नियाल्न गइयो । ताज होटलको कलाकृतिले चकित तुल्यायो । अझ समुद्र किनाराको मस्जिदमा पुग्दा भने मुस्लिम संस्कृतिका अनौठा कुरा बुझ्न पाइयो । रातको ११ बजे मुम्बई–दरभङ्गा ट्रेन छुट्ने रहेछ । यसपटक भने अन्य साथीहरूसँगै यात्रा गर्न पाइयो । मिलाइजुलाई आनन्दपूर्वकै आइतबार दिउँसो १ बजे राजविराजको भूमि टेक्न भेटियो ।

 

(लेखक, सिरहाको कर्जन्हा–४ स्थित श्री जनसेवा माविका शिक्षक हुनुहुन्छ ।)

 

 

प्रमुख समाचार

सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा  प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद सामाजिक सुरक्षा कोष लागू गर्ने विषयमा प्याब्सन, एन प्याब्सन र इस्टुबीच त्रिपक्षीय विवाद

सरकारले अघि सारेको ‘योगदानका आधारमा सामाजिक सुरक्षा कोष’ लागू गर्न निजी विद्यालय सञ्चालकहरु तयार भएको भन्दै त्यसका निम्ति सूचीकृत हुन निजी ...

नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो नेपाल शिक्षक महासंघ फुट्नबाट धन्न जोगियो

–शिक्षक महासंघको प्रथम परिषद्मा शिक्षक संघद्वारा पहिला बहिष्कार, पछि सहभागिता –विधान संशोधनमा कार्यकाल थप्ने/नथप्ने विषय नै विवादको मूल च ...

राजनीतिक खिचातानीका कारण ६ महिनादेखि विद्यालय व्यवस्थापन समितिबिहीन राजनीतिक खिचातानीका कारण ६ महिनादेखि विद्यालय व्यवस्थापन समितिबिहीन

राजनीतितक दलको भागभण्डा नमिल्दा कपिलवस्तुको गौतम बुद्ध माविको व्यवस्थापन समिति ६ महिनादेखि खाली भएको छ । बुद्धभूमि नगरपालिका–२ गोरुसिङ्गेमा रहेक ...